१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

ताप्लेजुङलाई सधैं अन्याय !

भौगोलिक हिसाबले विकट, पूर्वको अन्तिम जिल्ला ताप्लेजुङका धेरै अपेक्षा छन् । यहाँका जनताको अपेक्षाले मुलुककै समृद्धिमा टेवा पुर्‍याउँछ ।
आनन्द गौतम

काठमाडौँ — २०७१ सालमा नेकपा एमाले ताप्लेजुङले जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा रजत महोत्सव मनायो । महोत्सवका प्रमुख अतिथि थिए, माधवकुमार नेपाल । महोत्सव उद्घाटनमा जानुअघि सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा पंक्तिकारले २५ वर्षसम्म जनताले लगातार नेतृत्व दिँदा तपाईंको पार्टीले के दियो भन्ने जिज्ञासामा नेपालले ‘ध्यानाकर्षण भएको छ’ मात्रै भने ।

यही सवाल महोत्सव समापनका क्रममा पार्टी अध्यक्ष बलबहादुर साम्सोहाङले पनि उठाए । ईश्वर पोख्रेलको आतिथ्यमा भएको कार्यक्रममा एमाले नेता कृष्णगोपाल श्रेष्ठले जवाफ दिँंदै भने, ‘हामी राजधानीकाले पनि केही पाउन सकेका छैनौं । ज्वाइँ–भान्जाहरूलाई दिँदै ठिक्क छ ।’ त्यतिबेला केपी शर्मा ओली प्रधानमन्त्री थिए । ओली नेवारकै ज्वाइँ भएकाले पनि उनले यो कटाक्ष गर्ने मौका पाएका थिए । उनले ४२ सदस्यीय मन्त्रिपरिषद बनाएका थिए, त्यो बेला । जम्बो मन्त्रिपरिषदमा पनि ताप्लेजुङका कोही अटाएका थिएनन् । निर्वाचनमा जिताएर पठाए पनि आफूहरूले हार्नुपरेको गुनासो ताप्लेजुङवासीको अहिलेसम्म छ ।


ताप्लेजुङको त्यही अवस्था बुझेर हो या चुनावी नारा, यो पटक निर्वाचन प्रचारका क्रममा आएका एमाले अध्यक्ष केपी शर्मा ओलीले भने, ‘तपाईहरू प्रतिनिधिसभामा योगेश भट्टराईलाई जिताएर पठाउनुहोस्, म मन्त्री बनाउँछु ।’ आमसभाको सुरुमै जनचाहना अनुसारको शब्दावली सुन्न पाएकाले हुनसक्छ, सहभागीले यति लामो ताली पड्काए कि ओलीले निकै लामो समयसम्म थप बोल्न पर्खनुपर्‍यो । ओलीको बोली र आग्रहलाई ताप्लेजुङले शिरोपर गर्‍यो । एक प्रतिनिधि र दुई प्रदेशसभा रहेको जिल्लाका सबै निर्वाचन क्षेत्रबाट वाम गठबन्धनलाई जिताए र पठाए । भलै, रजत महोत्सव मनाएको क्षेत्र ०७४ को निर्वाचनमा एमालेले माओवादीलाई जिम्मा दियो । आफूहरूको बर्चस्व भएको क्षेत्र दिएको भन्दै कार्यकर्ताले केही समय असन्तुष्टि जनाए । तर व्यवहारमा असन्तुष्टि व्यक्त गरेनन् । एमालेका इमानदार कार्यकर्ताले तुलनात्मक रूपमा कम भोट भएको माओवादीका टंक आङवोहाङलाई जिताएर पठाए । विगतका दुई निर्वाचनमा पराजय भोगेका उनले गठबन्धन बन्नु अघिसम्म नउठ्ने बताएका थिए । तर गठबन्धन भए जित्ने निश्चित भएपछि उठेका थिए । उनी पनि प्रदेशमा मन्त्री हुनसकेका छैनन् ।


अहिले मन्त्रिपरिषद विस्तारको प्रक्रिया चलिरहेको छ । ओलीले कात्तिक १९ गते सदरमुकाम फुङलिङको तोक्मेडाँडामा दिएको वचन पूरा गर्ने दिन आएको छ । ताप्लेजुङवासी त्यही दिनको प्रतीक्षामा छन् । यस अघि जिल्लाबाट अम्बिका साँवा र डम्बरध्वज तुम्वाहाम्फेलाई दुई/दुईपटक, ओम ओझा, कुलप्रसाद उप्रेती, तिलकुमार मेन्याङवो र भुपेन्द्र थेवे एक/एकपटक सांसद भए । मन्त्री बन्ने अवसर साँवाले मात्रै पाए, त्यो पनि एमाले र माले विभाजित हुँदा मालेमा गएर । कांग्रेसमा भने जतिले जिते मन्त्री हुने मौका पाए । मणि लामा र सूर्यमान गुरुङले एक/एकपटक क्षेत्र नम्बर १ बाट निर्वाचन जितेका थिए । गुरुङले श्रम तथा रोजगार र लामाले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हाल्न पाए । शाही कालमा ओलाङचुङगोलाकी याङकिला शेर्पा पनि पर्यटन राज्यमन्त्री बनिन् । सबैभन्दा बढी जनमत भएको एमालेले कार्यकारी जिम्मेवारी दिएको छैन ।


भौगोलिक हिसाबले विकट, पूर्वको अन्तिम जिल्ला ताप्लेजुङका धेरै अपेक्षा छन् । यहाँका जनताको अपेक्षाले मुलुककै समृद्धिमा टेवा पुर्‍याउँछ । यहाँको चीन जोड्ने सडक निर्माणले मात्रै गति पाए प्रदेश नम्बर १ को राजधानी विराटनगर जोड्ने सबैभन्दा छोटो मार्ग हुनेछ । तमोर, काबेली, मेवा, मैवा, फावाखोला, घुन्साजस्ता ठूला नदीबाट विद्युत उत्पादन हुनसके लाभ सिंगो देशलाई नै हुनेछ । अहिले एमालेलाई ताप्लेजुङवासीको अपेक्षा सम्बोधन गर्ने अवसर छ ।

प्रकाशित : फाल्गुन ८, २०७४ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?