१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

नवजात शिशु बचाऔँ

दक्षिण एसियामा हरेक वर्ष झन्डै १० लाख शिशु जन्मेको पहिलो महिनामै बित्छन् । अनि त जन्मको खुसी छिटै शोकमा परिवर्तन हुन्छ । 
करिना कपुर

काठमाडौँ — हरेक आमाको लागि आफ्नो नवजात शिशुसँग बिताएका पहिला दिनहरू सम्झनायोग्य हुने गर्छन् । यी दिनहरू आमाहरूका लागि चुनौतीपूर्ण त हुन्छन् नै, साथै सन्तोषजनक पनि हुन्छन् । मलाई सुत्न नपाएका अनेकन रातहरूको सम्झना अझै पनि छ ।

अनि तीमध्ये कुनै दिक्क लाग्ने क्षणहरू पनि याद छ, जब म हतासपूर्वक रोइरहेको मेरो शिशुलाई शान्त गर्न प्रयास गर्थेँ । जब मैले यो दुनियाँमा ल्याएको त्यो नयाँ जीवनलाई अनुभूत गर्थेँ, मलाई निकै आनन्द लाग्थ्यो ।


मातृत्वको यो यात्रामा हिँड्न पाएकोमा म आफूलाई भाग्यमानी ठान्छु । म मेरो बच्चाको जीवनको सुरुवातका ती दिनहरू सधंै सम्झनेछु । म भाग्यमानी नै हो, किनकि दक्षिण एसियाका धेरै आमाहरू आफ्ना बच्चाहरूका ती पहिला दिनहरू अर्कै कारणले सम्झन बाध्य छन् । दक्षिण एसियामा हरेक वर्ष झन्डै १० लाख शिशु जन्मेको पहिलो महिनामै बित्छन् । अनि त जन्मको खुसी छिटै शोकमा परिवर्तन हुन्छ ।


दक्षिण एसियामा कलिला शिशुहरूको मृत्यु कस्तो छ भन्ने थाहा पाउँदा म निकै स्तब्ध भएँ । हो, हामी सबैलाई थाहा छ कि नवजात शिशुहरू एकदम नाजुक हुन्छन् र उनीहरूको जीवन सजिलै खतरामा पर्न सक्छ । तर दक्षिण एसियामा हरेक दिन २ हजार ८ सय शिशुको जीवन एक महिना पनि नबित्दै जाँदो रहेछ । त्यसमा पनि ती मृत्युलाई रोक्न सकिन्थ्यो भनेर थाहा पाउँदा मलाई सहनै गाह्रो हुन्छ, म त्यो स्वीकार्नै सक्दिन । आफ्नो पेटमा ९ महिनासम्म हुर्केको बच्चालाई यो दुनियाँमा आएको केही दिनमै गुमाउनुपर्ने त्यो पीडा म कल्पना पनि गर्न सक्दिन ।


यो दु:खद वास्तविकताबारे आवाज उठाउन युनिसेफले आज ‘एभ्री चाइल्ड अलाइभ (हरेक बालक जीवित)’ अभियान सुरु गरेको छ । दक्षिण एसियामा ३६ मध्ये एक नवजात शिशुले जन्मेको पहिलो महिनामै ज्यान गुमाउँछन् । युनिसेफको पछिल्लो तथ्यांक अनुसार, नवजात शिशुको लागि दक्षिण एसिया संसारकै सबैभन्दा खतरनाक क्षेत्र हो । उनीहरूका लागि योभन्दा खतरनाक क्षेत्र संसारमा अन्त कतै छैन ।


धेरै नवजात शिशुलाई बचाउन र स्वस्थ राख्न सम्भव हुँदाहुँदै यस्तो अवस्था रहिरहन दिनुहुन्न । सरकारहरूले गुणस्तरीय सेवा प्रवाह गर्न हरेक प्रयास गरिरहेका छन् । तर मलाई यसमा सरकारको कोसिसको साथै नागरिक समाजले सान्दर्भिक र संयुक्त अभियान सञ्चालन गर्न पनि उत्तिकै जरुरी छ जस्तो लाग्छ ।


हामी आमाहरू र समुदायहरूले पनि यी तीन कुरा गर्नुपर्छ :

पहिलो, हामीले नवजात शिशुलाई सर्वोत्तम मानिने खुराक खुवाउनुपर्छ । त्यो हो– आमाको दूध । हाम्रा बच्चाहरूलाई जीवनको उत्तम सुरुवातको लागि, जन्मेको एक घन्टामै स्तनपान सुरु गर्नुपर्छ र आमाको दूध बाहेक अरू केही खुवाउनुहुन्न ।


दोस्रो, शिशुलाई हानि पुर्‍याउने परम्परागत रीतिरिवाजलाई चुनौती दिनुपर्छ । जन्मदिने समयमा हामीले आमा र शिशुलाई राम्रो स्याहार गर्नसक्ने तालिम प्राप्त प्रसूतिकर्मीलाई मात्र विश्वास गर्नुपर्छ । यदि दक्ष प्रसूतिकर्मी उपलब्ध छैनन् भने हामीले त्यसका लागि माग गर्नुपर्छ । कुनै पनि महिलाले दक्ष प्रसूतिकर्मी विना जन्म दिनुहुन्न । दक्ष प्रसूतिकर्मी विना बच्चा जन्माउनु धेरै नै जोखिमपूर्ण हुन्छ ।


तेस्रो, हामीले हाम्रा छोरीहरूलाई छोराहरू जत्तिकै ध्यान दिने र स्याहार गर्नुपर्छ । महिलाको रूपमा मैले हेर्दा मलाई छोरीहरूले छोराजत्तिकै रेखदेख नपाएको देख्दा अति नै दु:ख लाग्छ । तपाईंको सानी नवजात छोरी बिरामी परेमा, छोरा बिरामीपर्दा जस्तै तुरुन्तै स्वास्थ्यसेवाको मद्दत लिनुहोस् ।

हाम्रो दक्षिण एसिया क्षेत्रका नवजात शिशुहरूलाई बचाउन हामीले एकीकृत तरिकाले काम गर्ने समय आएको छ । दक्षिण एसिया जन्मिनका लागि एकदम सुरक्षित क्षेत्र बन्न सक्छ । यो हासिल गर्न धेरै गाह्रो पनि छैन । त्यति धेरै जटिल पनि छैन । त्यसैले हामी सबै हाम्रा नवजात शिशुहरूका निम्ति लागिपरौँ ।

कपुर बलिउड कलाकार, आमा र युनिसेफको सेलिब्रिटी समर्थक हुन् ।

प्रकाशित : फाल्गुन ८, २०७४ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?