१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

प्रजातन्त्रको प्रत्याभूति

आफ्नै परिवेश
नेपाली नागरिक अब गुलियो बोली र लोलीमा मात्र होइन, वास्तविक जीवनमा प्रजातन्त्र र गणतन्त्रको आभास गर्न चाहन्छन् ।
झमक घिमिरे

काठमाडौँ — सन्दर्भ यही साताको छ । प्रत्येक वर्ष फागुन ७ गते नेपालमा भव्यतापूर्वक प्रजातन्त्र दिवस मनाइन्छ । यसपालि पनि औपचारिक रूपमा प्रजातन्त्र दिवस धुमधामसँग मनाइयो । 

स्टेजमा उक्लिएर विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ताले प्रजातन्त्रका बारेमा दुहाई दिए, विभिन्न तर्क–वितर्क गरे । यी तर्क–वितर्क गर्दै गर्दा औषधि उपचार नपाएर छटपटिँदै गरेका, भोकमरीको चपेटामा परेका हुम्ला, डोटीका नागरिकले प्रजातन्त्रको आभास पाउन सके ?

माथिल्लो स्तर प्रजातन्त्र र स्वतन्त्रताका ठूल्ठूला बहस गर्दैमा ठिक्क छ । तल्लो स्तरमा मान्छेले अकाल र अनिकालसँग संघर्ष गर्नु परिरहेको छ । यही हो नेपालको प्रजातन्त्रको वास्तविक हालत, जसलाई देखेर सचेत नेपाली नागरिकले चित्त बुझाउने ठाउँसम्म भेट्दैनन् । कहिलेकाहीँ यस पंक्तिकारको मनमा प्रश्नहरूको चाङ थुप्रिन्छ । के यही हो त प्रजातन्त्र ? जसका लागि वर्षौंदेखि विभिन्न योद्धाले आफ्ना रगत, पसिना मात्र बगाएनन्, आफ्नो ज्यानको बलिसमेत दिए । त्यसैको मर्मलाई कुल्चिएर राजनीतिज्ञहरूले भाषण राम्रा, गुलिया गर्छन् । हाम्रा राजनीतिज्ञहरू जसले देशका एक–एक स्पन्दन छामेको ठान्छन् । जसले जनताका लागि आफ्नो जीवन बिताएको ठान्छन् । अहिले यही सिद्धान्तको कित्तामा उभिएर कैयौं दीनहीन जनले प्रश्न गरिरहेका छन्– ‘खोइ हाम्रा लागि प्रजातन्त्र ?’ हुन पनि हो, देशमा वर्षाैंदेखि गरिबी, पछौटेपन उस्तै छ । जनस्तर माथि उठेको छैन । देशमा सरकारले करोडौं रुपैयाँ औषधि किन्न खर्चिन्छ, त्यही देशका नागरिक दूरदराजमा एक गोली सिटामोल खान नपाएर मर्छन् ।

यो एक्काइसौं शताब्दीमा अल्पविकसित देशका नागरिकले अकाल मर्नुपर्ने कस्तो विडम्बना ? यहाँ उच्च ओहदाका व्यक्ति अकाल मर्दैनन् । उनीहरूका लागि त राज्यकोषबाट विशेष रकम छुट्टिएको हुन्छ । उनीहरू यही देशमा उपचार सम्भव छ भने पनि विदेश जान्छन् । यो कस्तो ढर्रा हो ? उनीहरूले देशमा सहज उपचार यहीं किन लिँदैनन् ? उनीहरूलाई त के फरक पर्छ र ? उनीहरूका लागि राज्यको ढुकुटी जुनसुकै बहानामा खुलिहाल्छ । भोक, शोक, रोगले मर्ने त तलका नागरिक हुन् । यो देशमा बर्सेनि तराईमा नागरिक जाडोले कठ्यांग्रिएर मर्छन् । पहाडका कुनाकाप्चामा औषधि उपचार नपाएर कैयौं नागरिकले ज्यान गुमाउँछन् । यो कारुणिक यथार्थ चित्र हो, देशको र यहाँका नागरिकको वास्तविक दृश्य । जहाँबाट देश र जनताको वास्तविक रूपरेखा छर्लङ्ग देख्न सकिन्छ । उसो त देशमा भर्खरै विभिन्न तहका सरकारहरू बनिसकेका छन् । यी संघीय सरकारहरूले नागरिकलाई स्थानीय रूपमा नै विकास निर्माणमा सहभागी गराएर जीवनस्तर कतिको उकास्लान् ? जनजीविकाको सवाललाई कतिको गम्भीर रूपमा उठाउलान् ? त्यो हेर्नै बाँकी छ । जनता अब साँच्चै समृद्ध, समुन्नत नेपालको निर्माणमा आफूलाई सहभागी गराउन चाहन्छन् ।

भर्खरै गठन भएको वाम सरकारले दिएको समृद्ध नेपाल र समृद्ध नेपालीको नारा अब व्यावहारिक रूपमा साकार भएको हेर्न चाहन्छन् । हो, नेपाली नागरिक अब गुलियो बोली र लोलीमा मात्र होइन, वास्तविक जीवनमा प्रजातन्त्र र गणतन्त्रको आभास गर्न चाहन्छन् । वर्षाैंदेखिको नारकीय जीवनबाट मुक्त हुन र स्वतन्त्रताको प्रत्याभासमा खुला रूपमा विचरण गर्न चाहन्छन् । साँच्चै नेपाल तबसम्म समृद्ध हुन सक्दैन जबसम्म नेपाली युवा जनशक्तिका लागि रोजगारीको सिर्जना गर्न सकिँदैन । नेपाली युवा जनशक्तिको रगत र पसिना नेपाली भूमिमा बग्ने वातावरणको सिर्जना जबसम्म हुँदैन, तबसम्म देशको विकास र समृद्धिको नारा नारामा मात्र सीमित हुनेछ । हाम्रा राजनीतिक दलहरूले र तिनका नेतृत्वकर्ताले गम्भीर भएर यसतर्फ सोच्नु आवश्यक छ । प्रजातन्त्र र स्वतन्त्रताको अर्थ यहाँनेर सार्थक बन्नेछ, हामी सबै समृद्ध नेपालको निर्माणमा जुटौं, प्रजातन्त्रको वास्तविक आभास गर्न मद्दत गरौं ।

प्रकाशित : फाल्गुन ९, २०७४ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?