कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

पूर्वएकता उत्तरएकता

सिउँडी
नेकपा एमाले सिद्धान्तहीनताको पराकाष्ठामा पुगेकोले मैले त्यहाँ टिकिरहनु असम्भवप्राय: थियो । अत: एक क्रान्तिकारीको नाताले मैले पार्टी परित्याग गरेको हुँ । 
विमल निभा

काठमाडौँ — नेकपा एमाले अतिशय दक्षिणपन्थी भासमा सम्पूर्ण गाडिएको भनी कमरेडले पार्टी छाड्ने अन्तिम निर्णय गरे । अनि लगत्तै अर्काे कम्युनिस्ट पार्टी नेकपा माओवादी (केन्द्र) मा पसे ।

ठिक्क, यही समय आफ्नो पार्टी नेकपा माओवादी (केन्द्र) लाई उग्रवादीको कडा आरोप लगाएर म नेकपा एमालेको मुख्यालय रहेको दिशातर्फ तीव्र गतिले लम्किएँ । दुवै कम्युनिस्ट पार्टीहरूका हठात् एकताको अलि–अलि भारी एवम् घुर्मैलो साँझमा नयाँसडक, पीपलबोटमा मेरो कमरेडसँग जम्काभेट हुन्छ ।


पहिले भएको भए उनले परक्क अर्काेतिर मुन्टो बटार्ने थिए, अहिले असमञ्जसको भावमा मलाई हेरिरहेका छन् ।


कमरेड केही भन्नलाई टाउको उचाल्छन्, तर भन्दैनन् । यो देखेर मैले पनि बोल्नलाई मुख खोल्नै लागेको थिएँ, आखिरीमा चुपो लाग्छु । यसको अर्काे कारण के हो भने फ्लेसब्याकको पुरानो फिल्मी शैलीमा मेरो स्मृति चम्किन्छ ।


सात महिनाअघि एक वाम विचार गोष्ठीमा हाम्रो प्रत्यक्ष देखादेख भएको थियो ।

मलाई देखेर कमरेडका दुवै आँखा खुम्चिएर गोलो भए । र, किनाराका स–साना रौंहरू ठाडठाडो । उनी एक्कासि ममाथि खनिए, ‘तपाईंजस्तो विचार छाडिसकेको व्यक्ति यहाँ किन ?’

‘कसले भन्यो, मैले विचार छाडिसकें ?’ म पनि तातिएँ ।


‘म भनिरहेको छु ।’

‘तपाईंहरूले नै विचार छाडेको हो ।’

‘हाम्रो वैचारिकतामा शंका गर्ने तपाईं को ?’

‘यही मेरो विचार हो ।’ म हलुका मुस्कुराएँ ।

‘यो तपाईंको गलत विचार हो ।’ कमरेड फेरि क्रोधमा आए ।

‘तपाईंको नक्कली विचारसँग म पनि अनजान छैन ।’ म पनि तनक्क तन्किएँ ।

‘तपाईंहरू विचारद्रोही हो ।’

‘तपाईंहरू विचारघाती ।’

‘यस्तो वाहियात विचार काम लाग्दैन ।’

‘यो त तपाईंको कुविचार हो ।’

‘चुऽऽप, व्यभिचारी !’


म झसंग हुन्छु । र, पुरानो स्मृतिबाट फुत्त बाहिर निस्केर कमरेडतिर हेर्छु । कमरेड पनि मलाई हेरिरहेका छन् । म एक हात अघि बढाएर भन्छु कमरेडलाई, ‘एकता त भयो नि कमरेड !’

‘एक दिन अघिसम्म यस्तो कुनै छाँटकाँट नै थिएन ।’ कमरेड मेरो हात दह्रोसित समाउँछन् ।

‘कुराकानी त भई नै रहेको थियो क्यारे !’

‘मलाई त विश्वास नै भइरहेको छैन कमरेड ।’

‘मलाई पनि त्यति विश्वास भइरहेको छैन ।’ म हात छुटाउन खोज्छु,’ तर एकता त भएकै हो कमरेड ।’

‘जे भयो, त्यो चमत्कार नै भयो कमरेड ।’

‘म पनि चकित भएको छु कमरेड ।’


त्यसपछि हामी दुवै चुपचाप । यो मौनता अलिक बेरसम्म चल्छ । यही डेढ मिनेटसम्म । (मेरो आँखा घडीमा जान्छ) । अन्तत: म नै मुख खोलेर भन्छु, ‘एकता भएकै हो त कमरेड ?’

‘कुन्नि, कसरी भयो एकता ?’ कमरेडको ओठ फैलिन्छ ।

म पुन: पुरानो फ्लेसब्याकमा गएर स्थिर हुन्छु । (सम्झन्छु) ।


नेकपा एमाले सिद्धान्तहीनताको पराकाष्ठामा पुगेकाले मैले त्यहाँ टिकिरहनु असम्भवप्राय: थियो । अत: एक क्रान्तिकारीको नाताले मैले पार्टी परित्याग गरेको हुँ । अब एक क्रान्तिनिष्ठ व्यक्तिले त्यसै बसिरहनु अनुपयुक्त भएकाले मैले नेकपा माओवादी (केन्द्र) मा लाग्नुपरेको हो । किनभने नेकपा माओवादी (केन्द्र) एक पूर्णरुपेण क्रान्तिकारी पार्टी भएकोमा कुनै सन्देह छैन ।


झन्डै यही आशयको एक लामो लेख कमरेडको प्रकाशित भएको थियो ।

यसको प्रत्युत्तरमा मैले सोही दैनिक अखबारको ‘प्रश्नोत्तर’ स्तम्भमा चिठी लेखें– ‘सम्पादकज्यू, तपाईंको पत्रिकाको १३ गते छापिएको राजनीतिक लेख त्यति संगतिपूर्ण छैन । त्यसमा अनाहकमा नेकपा एमालेको आलोचना गर्ने दुष्प्रयास गरिएको छ । वास्तवमा नेकपा एमाले नै सही अर्थमा एक क्रान्तिकारी पार्टी हो । हामी शान्तिपूर्ण क्रान्तिमा विश्वास गर्छौं । तर नेकपा माओवादी (केन्द्र) का जडसूत्रवादीहरूले न त शान्तिलाई राम्ररी बुझ्न सकेका छन् न क्रान्तिलाई नै । यही अज्ञानी जडतालाई सहन गर्न नसकेर मैले त्यो पार्टीलाई छाड्नुपरेको हो ।’ तपाईंको...... ।


म स्मृतिबाट उछिट्टिएर यथार्थमा आउँछु । र, एकनासले टोलाइरहेका कमरेडलाई भन्छु (दङ्ग पर्दै), ‘कमरेड, मैले तपाईंको पार्टी नेकपा माओवादी केन्द्रलाई छाडेको थिएँ ।’ र, एकछिन अड्किँदै भन्छु फेरि, ‘अब त एकताले गर्दा हामी एकै भयौं नि !’

‘त्यो पहिले तपाईंकै पार्टी हो नि †’ कमरेड पनि दंग परेका छन्, ‘म त पछि नेकपा माओवादी भएको हुँ ।’

‘ठीक भन्नुभयो कमरेड ।’ म पूरै दंगदास हुँदै भन्छु, ‘म पहिले नेकपा माओवादी केन्द्रमै थिएँ ।’

‘यो त साह्रै गजब भयो कमरेड ।’

‘हो, एकताले गजबै गर्‍यो कमरेड ।’


हामी दुवै यही व्यापक गजबागजबको मुद्रामा छौं । र, एक पटक फेरि कस्सिएर हात मिलाउँछौं । म उनको हात दबाएर भन्छु, ‘एकताका लागि बधाई छ कमरेड ।’

‘तपाईंलाई पनि एकताका लागि बधाई छ ।’ उनी मेरो हातलाई आफ्नो दुवै हातले बेस्सरी समातेर हल्लाउन थाल्छन् ।

प्रकाशित : फाल्गुन १२, २०७४ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?