कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

देशले बिर्सिएको राजनेता

आशा राखौं, कांग्रेस सुवर्ण शमशेरलगायत नेताहरूले देखाएको आदर्शको मार्गमा आउनेछ । 
लोकेश ढकाल

काठमाडौँ — आज राजनेता सुवर्ण शमशेर राणाको १०७ औं जन्म–जयन्ती । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा लज्जास्पद पराजय भोगेर आहत भएर बसेको नेपाली कांग्रेसलाई आफ्नो संस्थापक नेता, पूर्व सभापति सुवर्ण शमशेर राणाको जन्म–जयन्तीको हेक्का होला, नहोला ! सम्भवत: पार्टीको कुनै तहले आफ्ना यी महान नेताको सम्मानमा आज कतै–कुनै कार्यक्रम आयोजना गरेको समाचार पढ्न पाइने छैन ।

देशले बिर्सिएको राजनेता

नेपाल प्रजातन्त्र कांग्रेसको संस्थापक अध्यक्ष, आधुनिक नेपालका प्रथम अर्थमन्त्री (…०७), मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, त्रिभुवन विश्वविद्यालयका संस्थापक उपकुलपति तथा नेपाली कांग्रेसका पूर्वसभापति सुवर्ण शमशेर राणा कांग्रेसले मात्र सम्झनुपर्ने वा सम्मान गर्नुपर्ने व्यक्तित्व होइन । पूरै देश, प्रजातान्त्रिक आन्दोलन र कांग्रेसलाई अतुल्य योगदान दिएका राजनेता सुवर्ण शमशेरलाई कुनै न कुनै रूपमा राज्यले सम्झनुपथ्र्यो, त्यो भएको छैन । पूर्व सभापतिका नातामा पार्टी कार्यालयमा उहाँको तस्वीर राख्नलाई राम्रै रस्साकस्सी भएको प्रसङ्ग अन्य कुनै सन्दर्भमा उल्लेख गरौंला । तर कांग्रेसले कार्यालयमा आफ्ना संस्थापक नेताहरू बीपी, सुवर्ण, गणेशमान र किसुनजी लगायत नेताको तस्वीर झुन्ड्याएर वा तुल–व्यानरमा तस्वीर राखेर मात्र उहाँहरूप्रतिको कर्तव्य र जिम्मेवारी पूरा हुँदैन । सिद्धान्तहीन राजनीति र सत्ताको नशामा डुबेको कांग्रेस पनि यसमा चुक्दै आएको छ ।

राजनीतिक दल र दलको नेताको शक्ति र पहुँचका आडमा देशलाई खासै उल्लेख्य योगदान नदिएका दलका नेतालाई विभिन्न प्रतिष्ठानका नाममा राज्यले करोडौं रकम लुटाइरहँदा देशका लागि अतुल्य योगदान दिने सुवर्ण शमशेरका नाममा राज्यले सिन्का भाँचेको छैन । सुवर्ण शमशेरको एउटा पुत्रलाई राष्ट्रियसभा सदस्य, राजदूत बनाइँदैमा उहाँको योगदानको भर्पाइ भयो भनी राज्य वा कांग्रेसले ठानेको हो भने त्यो सुवर्णजी प्रतिको ठूलो अपमान हो ।

२००७ सालको जनक्रान्तिको लागि गठन भएको जनमुक्ति सेनाको प्रमुख कमाण्डर सुवर्ण शमशेरका बारेमा त्यसै क्रान्तिका कमाण्डर सन्तनेता कृष्णप्रसाद भट्टराईले कुनै प्रसङ्गमा– ‘विश्वेश्वरप्रसाद कोइराला नभएको भए ००७ सालको जनक्रान्ति सम्भव थिएन, त्यसैगरी त्यो क्रान्तिमा सुवर्णजी नलागेको भए सफलता असम्भव थियो’ भनी भन्नुभएको मार्मिक टिप्पणी विशेष उल्लेख्य छ ।

निश्चय: नै सुवर्णजी ००७ सालको क्रान्तिमा सरिक नभएको भए क्रान्ति त्यति छिटै सफल हुने थिएन । त्यो कालमा क्रान्तिका लागि बर्माबाट मान्छेले खर्पन वा डोकोमा बोकेर हातहतियार ल्याउने कुरा भएन, त्यस्तै निरंकुश राणाशासनका विरुद्ध जनक्रान्तिका पक्षमा जनतालाई जागृत गर्न काठमाडौं उपत्यका लगायत देशभर आकासबाट पर्चा छर्न (महावीर शमशेर) राणाजीकै हवाइजहाज नभएको भए सम्भव थिएन । मुक्तिसेनाको गठन, तालिम र बन्दोबस्ती गर्नेदेखि पार्टी संगठन परिचाल कुनै सम्भव नै थिएन, सिङ्गो क्रान्तिका लागि सुवर्णजीले आर्थिक व्यवस्थापनको भार नबोकेको भए ।

प्रजातान्त्रिक आन्दोलन र कांग्रेसको संगठन निर्माणमा दानवीर सुवर्णको योगदानको चर्चा गर्दा उहाँको आर्थिक योगदानको मात्र चर्चा गर्‍यौं र समग्र योगदान र विशाल व्यक्तिलाई अनदेखा गर्‍यौं भने उहाँप्रति अर्को ठूलो अपमान हुनेछ, जो हामी गरिरहेका छौं ।

श्री ३ महाराज भीम शमशेर जबराको नाति, कमाण्डिङ जनरल हिरण्य शमशेर राणाको छोरा जनरल सुवर्ण शमशेर जबरा त्यस कालमा त्यो सम्भ्रान्त राणा परिवारको संकुचित घेरालाई तोडेर राणा परिवारको नामको पछाडि परम्परागत रूपमा गौरवका साथ लेखिँदै आएको जङ्गबहादुरलाई त्यागेर सुवर्ण शमशेर राणामात्र लेख्ने साहस गर्नु र आफ्नै वंशको विरुद्ध लागेर प्रजातन्त्रको लागि क्रान्तिको नेतृत्व गर्न आइपुग्नु आफैमा एउटा अद्भुत घटना तथा क्रान्तिकारी कदम थियो ।

अत्यन्त नै शालिन व्यक्तित्वका सुवर्णजी, राणा सरकारले देश निकाला गरेको लगायत प्रतिशोधका कारणबाट प्रजातन्त्रको आन्दोलनमा लागेको किञ्चित पनि कतै ऐतिहासिक तथ्य भेटिँदैन । पढेलेखेको, दुनियाँ बुझेको सुवर्णजी राष्ट्रवादी सोच र प्रजातान्त्रिक चेतनाकै कारण प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गर्न अग्रसर भएको देखिन्छ ।

राष्ट्रप्रेम, प्रजातन्त्र र समाजवादप्रति जीवनभर प्रतिबद्ध सुवर्णजीले यदि सिद्धान्त र आदर्शको राजनीति छोडेर अहिलेको नेताले जस्तो केवल पद र सत्ता केन्द्रित राजनीति गर्‍या’ भए उहाँकै अध्यक्षतामा रहेको सरकारले सम्पन्न गरेको ०१५ सालको प्रथम संसदीय निर्वाचनपछि बीपीको ठाउँमा उहाँ प्रधानमन्त्री बन्न सक्नुहुन्थ्यो र राजा महेन्द्रको २०१७ पुस १ गतेको निरंकुश कदमपछि पनि उहाँ नै प्रधानमन्त्री बन्न सक्नुहुन्थ्यो । बीपी कोइरालाको विशाल व्यक्तित्वबाट ईश्र्यालु बनेका नेहरू र राजा महेन्द्र दुवै बीपी प्रधानमन्त्री नबनोस्, त्यसको तुलनामा शालिन स्वभावका सुवर्णजी प्रधानमन्त्री बनेको देख्न चाहन्थे । त्यो मनोविज्ञानलाई बुझेका बीपीले सुवर्णजीलाई नै संसदीय दलको नेता बन्न अनुरोध गर्दा सुवर्णजीले बीपी नै संसदीय दलको नेता बन्नुपर्छ भनी अडान राख्नुभयो । सुवर्णजीको कति अद्भुत राजनीतिक हार्दिकता थियो । सत्ताका लागि सबै थोक जायज मानिने आजभोलिको नेपाली राजनीतिमा यस्तो सुन्दर राजनीतिक हार्दिकताको कल्पना पनि गर्न सकिन्न । २०१७ सालको कदमका लागि त राजा महेन्द्रले आफ्नो कदममा साथ दिन अनुरोध नै गरेका थिए । तर सुवर्णजीले त्यो प्रस्तावलाई अस्वीकार गर्दै महेन्द्रको निरंकुश कदम विरुद्ध सशस्त्र क्रान्ति नै गर्नुभयो ।

बीपी कोइरालाको तुलनामा सुवर्ण शमशेरले राजनीतिक, आर्थिक लगायत विषयमा धेरै विचार–चिन्तन दिनुभएन होला, तापनि ००७ को क्रान्ति र पछि बीपी कोइरालाले लिनुभएको राष्ट्रिय एकता र मेलमिलाप नीतिको सैद्धान्तिक आधार सुवर्णजीकै सोच र चिन्तन थियो भन्यौं भने अन्यथा हुँदैन ।

२००३ सालमा बीपीको अगुवाइमा गठन भएको नेपाल राष्ट्रिय कांग्रेस अहिंसावादी वा गान्धीवादी मार्गमा थियो, भारतमा गान्धीजीले अंग्रेजलाई पराजय गरेको शैलीमा राणालाई पराजय गर्ने सोचमा थियो । २००५ सालमा सुवर्ण शमशेरको नेतृत्वमा गठन भएको नेपाल प्रजातन्त्र कांग्रेस गान्धीवादी बाटोबाट राणाशासनलाई परास्त गर्न सम्भव छैन, सशस्त्र क्रान्ति नै एकमात्र उपाय हो भन्ने सोचबाट स्थापना भएको थियो । पछि ००६ साल चैत २७ गते दुई कांग्रेस मिलेर नेपाली कांग्रेस गठन हुँदा सुवर्णकै सशस्त्र क्रान्तिको लाइनलाई पार्टीले अवलम्बन गर्‍यो र त्यही अनुसार ००७ सालको जनक्रान्ति सफल भएको थियो । पुस १, ०१७ को राजा महेन्द्रको निरंकुश कदम विरुद्ध सुवर्णजीको नेतृत्वमा सशस्त्र क्रान्ति भयो । तर पछि भारत–चीन युद्ध लगायतको राजनीतिक जटिलतालाई विश्लेषण गरी सुवर्णजीले सशस्त्र क्रान्तिको बाटोलाई छोडेर शान्तिपूर्ण बाटो अवलम्बन गरी राजासँग मेलमिलापको हाथ बढाउँदै प्रेस विज्ञप्ति जारी गर्नुभयो र सुवर्णजीको त्यही विज्ञप्तिलाई समर्थन गर्दै निरन्तर ८ वर्षदेखि कठोर कारावास सजाय भोगिरहनुभएका बीपी र गणेशमानजी जेलमुक्त हुनुभएको थियो । बीपीले ८ वर्षपछि त्यही सुवर्णजीकै मेलमिलापको सोचलाई विकसित एवं व्याख्या गर्दै राष्ट्रिय एकता र मेलमिलापको प्रस्ताव लिएर आफ्नो अनन्य मित्र गणेशमान सिंहसहित सयौं कार्यकर्तासाथ भारत स्वनिर्वासनलाई परित्याग गर्दै नेपाल फर्कनुभएको थियो ।

वर्तमान नेपाली राजनीति र कांग्रेस सिद्धान्त र आदर्शलाई छोडेर केवल सत्ता केन्द्रित राजनीतिको भ्रष्टपथबाट हिँडिरहेको छ । सुवर्णजीले राष्ट्रभक्ति, राजनीतिक आदर्श, सैद्धान्तिक निष्ठा र नैतिकतालाई कहिल्यै छोड्नु भएन । आदर्श पुरुष सुवर्ण शमशेर राणाको १०७ औं जन्मजयन्ती मनाइरहँदा आज कांग्रेस इतिहासमै सबैभन्दा कमजोर स्थितिमा उभिन बाध्य भएको छ । पार्टीको पछिल्ला नेताहरूको उग्रराजनीतिक महत्त्वाकांक्षा र सत्ता…–लिप्सामा फसेर, पार्टीका परम्परागत आदर्श र सिद्धान्तलाई छोडेर वामपन्थी भासमा पार्टी फँसेकै कारण कांग्रेस आजको हविगत भोग्न विवश छ । पार्टीले आफ्ना गल्ती र कमी–कमजोरीलाई यथाशक्य छिटो आत्मसात गर्दै निष्ठा, आदर्श र सिद्धान्तको बाटोमा पुन: पार्टीलाई डोर्‍याउन सक्यो, प्रजातन्त्रलाई बलियो बनाउँदै देशलाई प्रगतिको मार्गमा लैजान समर्थ गतिशील कांग्रेस बनाउन सक्यो भने अहिलेका लागि सुवर्णजीप्रति सबैभन्दा ठूलो सम्मान यही हुने थियो । अहिलेलाई आशा राखौं, कांग्रेस सुवर्ण शमशेर लगायतका नेताहरूले देखाएको आदर्शको मार्गमा आउनेछ ।

प्रकाशित : फाल्गुन १७, २०७४ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?