कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

हिंसा अन्त्य

आफ्नै परिवेश
२१ औं शताब्दी हिंसा र हत्याको शताब्दी नबनोस् । सबै खालका युद्ध अन्त्य होस् ।
झमक घिमिरे

काठमाडौँ — विश्वको ध्यान अहिले सिरियाली भूमिमा छ, जहाँ अहिले बमबारुद पड्किएको मात्र छैन, हजारौंको ओत लाग्ने ठाउँ ध्वस्त पारिएका छन् । मान्छेको बाँच्न पाउने अधिकारसम्म खोसिएको छ । यो हिंसाको सिकार अशक्त वृद्धवृद्धा, साना बालबालिका बनेका छन् ।

जसले जीवनको पूर्ण आभास गर्न नपाई, जसको जीवन पूर्ण नफुली जबर्जस्ती मृत्युकाण्डमा धकेलिदिएर मारिँदैछ । बिनाकसुर कलिला नानीलाई किन द्वन्द्वको बलिवेदीमा चढाइँदैछ ?


सिरियाको भूमिमा लामो समयदेखि न्याय, स्वतन्त्रता, लोकतान्त्रिक जनआवाजलाई निमोठिँदै आइएको थियो । त्यहाँका जनताले लोकतन्त्रको लागि लामो समयदेखि संघर्ष गर्दै आएका थिए । पछिल्लो समय यो आवाज निकै चर्काे रूपमा उठ्न थालेपछि सिरियाली सरकारले जनतालाई निर्ममतापूर्वक दमन गर्ने मात्र होइन, उनीहरूको बाँच्न पाउने अधिकारकोसम्म सम्मान गरेन । त्यहाँका विद्रोही (आन्दोलनकारी) हरूलाई दबाउन रूसको सहयोग लिएको छ ।


आफूलाई समाजवादको पहरेदार ठान्ने रूसको बुद्धिको विर्काे किन खुल्न सकेन । अर्काको देशको स्वाधीनतामाथि जबर्जस्ती हस्तक्षेप गर्नु विश्वव्यापी मान्यता विरुद्ध हो । आफूलाई समाजवादको अनुयायी ठान्ने अर्काको देशमा पसेर मानवअधिकार हनन गरिरहँदा लज्जाबोध हुनुपर्ने होइन ? गैरदेशको नागरिक मारिरहँदा रूसी प्रशासनको शिर कसरी माथि उठ्छ ? यहाँनेर प्रश्न उठ्न सक्छ, किन रूसको हस्तक्षेप सिरियाका निर्दाेष नागरिकमाथि ? किन अरु देशको आन्तरिक मामिलामा हस्तक्षेप ? यहाँनेर रूसले आफ्नो सामथ्र्य शक्तिको नांगो प्रदर्शन गरेको छ भने अमेरिकाले मानवअधिकारको सम्मान गर्ने नाममा त्यहाँ आन्दोलनकारीलाई सघाएको छ । शक्तिशाली राष्ट्रहरूको उद्देश्य एउटै हुन्छ, कसरी आफूभन्दा साना राष्ट्रहरूमाथि प्रभाव जमाउने भन्ने । प्रजातन्त्र, स्वतन्त्रता र मानवअधिकार ठूलो हुंकार दिने अमेरिकी प्रशासन पनि विगतको इतिहास हेर्दा साँच्चै मानवअधिकारको सम्मान गर्ने काम गरेको देखिँंदैन ।


अहिले सिरियाली नागरिकको सम्मान गर्ला भन्ने विश्वास गर्न सकिंँदैन । विगतमा उसले इराकी भूमि र अफगानिस्तानी भूमिमा भएको आक्रमणलाई हेर्दा अमेरिका जसरी हुन्छ, आफूभन्दा कमजोर मुलुकहरूमा आफ्नो प्रभाव र प्रभुत्व जमाउने र कसरी उनीहरूको कमजोरीमाथि खेल्ने भन्ने ध्याउन्नमा हुन्छ । सिरियामाथि पनि यही शृङखला मच्चाउन नचाहला भन्न सकिँंदैन । सिरियाली सरकार पनि रूसको आडभरोसामा किन आफ्ना नागरिकमाथि यतिविघ्न क्रूर बन्दैछ । कुनै देशको शासनसत्तालाई फाल्न र राख्न त्यही देशका नागरिकमाथि भर पर्ने कुरा हो । त्यसमा कुनै देशको नांगो हस्तक्षेप हुनु भनेको उसको अस्मितामाथि हस्तक्षेप

हो । त्यसो हुनु भनेको यो संसारको मानवअधिकार, प्रजातन्त्र र स्वतन्त्रताका लागि एउटा कालो धब्बा हो ।


अहिले रूसी राष्ट्रपतिले आक्रमण रोक्न निर्देशन दिए पनि रूस समर्थित सिरियाली सरकारी सेनाले आक्रमण गरेकै छ, रोकेको छैन । युद्ध पीडित महिलाहरू यौन हिंसामा परेका छन्, निर्दाेश बालबालिका कैयौं मारिएका छन् । विश्वमा नरसंहार मच्चाउने काम जोकसैले पनि बन्द गरोस् । विश्वका जुनसुकै देशका नागरिकले पनि सुशासन, शान्ति, प्रजातन्त्र, स्वतन्त्रता, मानवअधिकारको प्रत्याभूति गर्ने आकांक्षा राख्नु कुन अपराध हो ?


सिरियाली कलिला निर्दाेष बालबालिकाको आलो रगत लतपतिएको अनुहारले यो युगसँग जीवनको गुहार मागिरहेको छ । यस युगका क्रूर शासकहरूले यो जीवनको गुहार के सुन्लान् र ? मान्छे किन यति क्रूर बनिरहेका छन् ? उनीहरू भित्रको मानवता किन मरिरहेको छ ? यो सारा प्रश्न समयलाई छाडेर यही कामना छ– यो २१ औं शताब्दी हिंसा र हत्याको शताब्दी नबनोस् । विश्व शान्तिको शताब्दी बनोस् । सबै खालका युद्ध अन्त्य होस् ।

प्रकाशित : फाल्गुन १८, २०७४ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?