कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गरिबको परिचयपत्र

सिउँडी
विमल निभा

काठमाडौँ — एउटा लामो समयदेखि पहिचानको मागको नैरन्तर्यता थियो, अब उपरान्त त्यो अविलम्ब पूरा हुने भएको छ । किनभने नेपाल सरकारले गरिबहरूका निम्ति एक–एक थान परिचयपत्रको भव्य बन्दोबस्त गरेको छ ।

गरिबको परिचयपत्र

यसको अर्थ के हो भने पहिलेदेखि नै गरिब नेपाली जनता आइन्दा कुनै सामान्य प्रकारको गरिब नभएर विशुद्ध सरकारी मान्यता प्राप्त गरिब हुने भएका छन् ।

‘बधाई छ, गरिबज्यू ।’ यही सन्दर्भमा मैले एक गरिबलाई भनिहालेंँ ।

‘केको बधाई कविजी ?’ उसले अनजान भावमा भन्यो, ‘त्यस्तो के भयो र ?’

‘के तपाईलाई थाहा छैन ?’

‘अखबार पढ्नु भएन ?’

‘होइन, कुरो के हो ?’

‘अब तपाईहरूले परिचयपत्र पाउनु हुनेछ ।’

म मुस्कुराएँ ।

‘कस्तो परिचयपत्र कविजी ?’ उसको निधारमा बल पर्‍यो ।

‘गरिबको परिचयपत्र नि !’ अन्तत: मैले कुरा खुलाएर भनेंँ ।

‘गरिबको परिचयपत्र ?’ उसले विस्तारै दोहोर्‍यायो ।

‘हो, तपाई एक परिचय भएको गरिब हुनुभएको छ ।’ मैले भनेंँ, अब आफूलाई एक अपरिचित गरिब नठान्नु होला, गरिबज्यू ।’

यहाँका समस्त गरिबहरूले परिचयपत्र प्राप्त गरिसकेपछि एउटा ठूलो समस्या उत्पन्न हुनसक्छ ।

अब यसलाई समस्या–बमस्या पनि के भन्ने, यो त विलकुलै जायजै प्रश्न हो नि † मेरो भन्नु के हो भने गरिबहरूका सहजै परिचयपश्चात धनीहरूका चाहिंँ के हुनेछ ? याद रहोस्, हामीकहाँ केवल गरिबहरूका उपस्थिति रहेको छैन । वास्तवमा धन–धान्यले सम्पन्न धनीहरूका पनि सामाजिक हिस्सेदारी रहेको छ । त्यसउसले धनीहरूलाई सरक्क पन्छाएर फगत गरिबहरूका एकछत्रता चल्नै सक्दैन । एक चलनचल्तीको समाज विज्ञानीको भावभंगिमा धारण गरेर भन्ने हो भने समाज भनेकै गरिब तथा धनीहरूका समुच्चय हो । (अहो, मैले गजबै वाक्य बनाएछु †) । त्यसकारण मेरो जोडदार माग के हो भने हाम्रा धनीहरूलाई पनि एकुन्टा परिचयपत्र दिनु पर्दैन ? यो त सरासरी विचरा धनीहरूप्रति नेपाल सरकारको पक्षपात भयो । पुरै सौतेनी व्यवहार । यसले धनीहरूलाई आक्रोशित बनाउने नै भयो ।

‘यो हामीप्रति सरकारको गलत रवैया हो ।’ एक आक्रोशित धनीले मसँग भन्यो, ‘यसलाई हामी पटक्कै मान्दैनौं ।’

‘के मान्नुहुन्न धनीज्यू ?’ मैले केही नबुझेर सोधेंँ ।

‘गरिबहरूलाई परिचयपत्र बाँड्न लागेको खबर सुन्नुभएको छैन कविजी ?’

‘अलि–अलि सुनेको थिएँ ।’

‘गरिबहरूलाई मात्र परिचयपत्र दिएर हुन्छ ?’ उसको आक्रोशमा बढोत्तरी भयो, ‘हामीलाई परिचयपत्र

दिनु पर्दैन ?’

‘ठिक भन्नुभयो, धनीज्यू ।’ मैले उसको समर्थनमा भनेंँ, ‘धनीहरूलाई पनि परिचयपत्र दिनैपर्छ ।’

‘यी सरकारी नेताहरूले धनीहरूलाई किन उपेक्षा गरेका हुन् ?’ उसले आफ्नो ओंठैओंठमा सुस्तरी भन्यो, ‘आखिरमा यिनीहरू पनि धनी नै हुन् ।’

‘के भन्नुभएको धनीज्यू ?’ उसको आवाज मसम्म नपुगेकोले भनेंँ ।

‘के नेताहरू पनि धनी होइनन् त कविजी ?’ उसले मेरो आँखामा हेरेर भन्यो ।

होइन, यो धनी र गरिबको बीचमा नेता कहाँबाट आयो ? म केही नभनेर सोच्न थालेंँ । वस्तुत: उसले भनेको कुरा त्यति असही पनि होइन । हाम्रा अधिकांश नेता धनी नै छन् । के कुनै गरिब नेतालाई देख्नुभएको छ ? मैले त देख्न पाएको छैन । हो, कुनै–कुनै नेता गरिबजस्तो पनि लाग्न सक्छ । यसको उदाहरणका लागि मेरो जिल्ला (अब प्रदेश भन्नुपर्ला) को पटके माननीय नेतालाई लिनोस् । हेर्नाेस्, उनी खाली खुट्टा हिँंड्छन् (कहिलेकाहीं फित्ता चुँडिएको चप्पल पनि) र उताउता च्यातिएको वस्त्र पहिरिने गर्छन् । कहाँसम्म भने टाउकोको टोपी पनि उही खाले । (कदापि टुपी भए छर्लंग देखापर्ने) । यस्तोलाई के धनी भन्ने ? तर होइन, यो उनको गरिबीको सफल सजधज हो । यही स्थायी रूपमा उनी घर–घर डुलेर भोट माग्ने गर्छन् । र आफू जस्तै गरिब ठानेर गरिब–गुरुवाले पनि प्रशस्त भोट दिन्छन् । यसको परिणामस्वरुप प्रत्येक चुनावमा विजयी भव: । कहिलेकाहीं मलाई के भ्रम हुन्छ भने नेताजी कुनै पनि गरिबभन्दा अपेक्षाकृत बेसी गरिब हुन् । अर्काे शब्दमा अब्बल दर्जाको गरिब । तर यथार्थमा उनी शतप्रतिशत धनी हुन् । अशंकास्पद धनी । असलमा कुरो के हो भने हाम्रा नेताहरूले आफ्नो कुस्त धन र धनीपन आफूसँग राख्ने गर्दैनन् । सम्भवत: कुनै

बैंकको गोप्य लकरमा सुरक्षित राख्ने गर्छन् । (विदेशी बैंक पनि हुनसक्छ) ।


अन्त्यमा

हाम्रा नेताहरूले गरिबहरूलाई परिचयपत्र वितरण गर्नुमा कुनै अस्वाभाविकता छैन । एक प्रकारले नेताहरू पनि गरिब नै त हुन् नि † इतिहासलाई साक्षी राखेर भन्ने हो भने के हाम्रा नेताहरू भूतपूर्व गरिब होइनन् र ? त्यसकारण भूतपूर्व गरिबले वर्तमान गरिबलाई साथ दिएकोमा आश्चर्य मान्नुहुन्न । यसैको शुभ परिणाम हो– गरिबको परिचयपत्र ।

प्रकाशित : फाल्गुन १९, २०७४ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?