सौन्दर्य प्रशाधनमा घातक रसायन

रामचरित्र साह

काठमाडौँ — गरगहना र सौन्दर्य प्रशाधनको प्रयोग प्राचीन कालदेखि नै हुँदै आएको हो । हिजोआज सुन–चाँदीले बनेका सक्कली गहना महङ्गो र चोरिने डरका कारण मानिस नक्कली सुन, चाँदीका गरगहनातर्फ बढी आकर्षित भएको पाइएको छ ।

त्यस्तै बजारमा नानाथरीका सौन्दर्य प्रशाधान सामग्रीको विभिन्न भ्रामक प्रचार–प्रसारका साथ अनियन्त्रित रूपमा बिक्री–वितरण भैरहेको छ । चाडपर्वदेखि बिहेबारीका कार्यक्रममा अनेक थरी सक्कली एवं नक्कली गरगहनासँगै अत्यधिक मात्रामा सौन्दर्य प्रशाधन (क्रिम, लिपिस्टिक) लगाउने प्रचलन बढेको छ । तर यस्ता गरगहना, क्रिम र लिपिस्टिकमा अत्यधिक मात्रामा हानिकारक रसायन जस्तै– लेड (सिसा), मर्करी (पारो) प्रयोग गरिएको पाइएको छ । कानुन, मापदण्ड एवं आधिकारिक अनुगमन र नियमनकारी निकायको अभावमा निर्वाध रूपमा तिनीहरूको उत्पादन, आयात, बिक्री–वितरण तथा प्रयोग भैरहेको हो । यसले गर्दा आम जनस्वास्थ्य खासगरी महिला तथा बालबालिकाको स्वास्थ्य जोखिममा पारेको छ ।


सौन्दर्य प्रशाधन सामग्रीमा हानिकारक रसायनको मात्रा अनुगमन र नियमन गर्ने प्रमुख दायित्व भएको कुनै आधिकारिक सरकारी निकाय छैन । महिला र बालबालिकालाई घातक रसायनबाट जोगाउन सरकारसँग कुनै नीति, कार्यक्रम र योजना छैन । लेडको प्रयोग खासगरी घर, फर्निचर तथा स्कुल रङ्गाउने पेन्ट्सका साथै शृंगारका विभिन्न समान (लिपिस्टिक, क्रिम, गाजल, नक्कली सुन–चाँदीका गरगहना आदि) बढी मात्रामा भएको पाइएको छ । लेड गहना बनाउने धातुमा मिसाउँदा गहनाको चाहेको आकार र स्वरूप दिन सजिलो हुन्छ, यसले गहनालाई गहुङ्गो बनाउँछ र लेड अरू धातुभन्दा सस्तो छ । त्यस्तै छाला गोरो पार्ने क्रिमहरूमा मर्करी र मर्करीजन्य रसायन प्रयोग गरिएको हुन्छ । चाँदीका गहनामा क्याडमियम जस्ता धातक रासायनको मिलावट ब्यापक पाइने गरेको छ ।


जनस्वास्थ्य तथा वातावरण प्रबद्र्धन केन्द्र (सिफेड) ले सौन्दर्य प्रशाधन र नक्कली गरगहनामा रहेका रासायनबारे गरेको अध्ययनले डरलाग्दो नतिजा देखाएको थियो । बजार सर्वेक्षणपछि सबैभन्दा नाम चलेको र बढी मानिसले रुचाउने सौन्दर्य प्रशाधनका सामग्रीमा लेडको मात्राको परीक्षण गरिएको थियो । परीक्षण गरिएका नमुनामा विभिन्न रसायनहरूको नतिजा एकदमै अत्यधिक र डरलाग्दो पाइएको थियो । आठवटा ब्रान्डका लिपिस्टिकमा लेडको मात्रा ३० देखि १४५ पीपीएम पाइएको थियो । जुन अमेरिकी मापदण्ड (०.१ पीपीएम) भन्दा तीन सयदेखि १४५० गुणाले बढी हो ।


सात ब्रान्डका स्किन ह्वाइटनिङ क्रिममा मर्करी ०.०२५ भन्दा पनि कमदेखि सबैभन्दा बढी ०.५२१ एमजी/केजी पाइएको थियो । दैनिक रूपमा पटक–पटकको प्रयोगबाट यसले अत्यधिक जोखिम निम्त्याउन सक्छ । नक्कली गरगहनामा लेड २८ देखि ७,७५,५०० पीपीएम (तौलको हिसाबले) सम्म पाइएको थियो । परीक्षण गरिएका सबै नमुनामा पाइएको अत्यधिक लेड एवं मर्करी सम्बन्धी कुनै सूचना दिइएको थिएन । सौन्दर्य प्रशाधन सामग्रीमा लेड एवं मर्करीको मापदण्ड तोकिएको छैन ।


महिला र बालबालिका गरगहना, खेलौनादेखि विभिन्न सौन्दर्य प्रशाधनका सामग्रीमा पाइने विभिन्न घातक रसायनको उच्च जोखिममा छन् । अन्तत: यी रसायन वातावरणमै मिसिने हुनाले अरूलाई असर परिरहेको छ । महिलाको साधारण स्वास्थ्यदेखि प्रजनन स्वास्थ्यमा समेत असर गर्नेगरी कष्मेटिक र गरगहनामा अत्यधिक मात्रामा हानिकारक रसायन प्रयोग भइरहनु दुर्भाग्यपूर्ण छ । यो समस्याप्रति महिला लगायत सम्बन्धित सरकारी निकाय र उच्चपदस्थ जनप्रतिनिधि एवं नेतृत्व वर्गको ध्यानाकर्षण हुन जरुरी छ । खासगरी सम्बन्धित स्वास्थ्यसेवा विभाग, औषधी व्यवस्था विभाग, वाणिज्य विभाग, आपूर्ति विभाग, नापतौल तथा गुणस्तर विभाग, भन्सार विभाग, उपभोक्ता हकहित संरक्षण विभाग एवं जिल्ला प्रशासन कार्यालय तथा उपभोक्ता हकहित संरक्षणका लागि स्थापित संघ–संस्था एवं उपभोक्ताकर्मीले नक्कली गरगहना एवं प्रदूषित कस्मेटिकको आयत, बिक्री–वितरण नियन्त्रणमा तदारुकता देखाउनुपर्छ । सौन्दर्य प्रशाधनमा घातक रसायन रोक्न तत्काल कानुन र मापदण्डको खाँचो छ ।

[email protected]

प्रकाशित : फाल्गुन २१, २०७४ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?