कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

महिला श्रमको ओज

यस्ता धेरै महिला छन्, जसले घरभित्र र बाहिरका दुवै काम गरेर पनि आफूलाई घरमूली भन्दैनन् ।
नारायणी देवकोटा

काठमाडौँ — वर्षभरि केही यस्ता दिन छन्– अभियन्ता महिलाले बोल्नैपर्ने, महिला लेखकले लेख्नैपर्ने र महिलाका मुद्दामा काम गर्ने संस्थाले कार्यक्रम गर्नैपर्ने । बाध्यता वा रहरले । ती केही दिनमध्ये ८ मार्च एउटा हो । ८ मार्च अर्थात् हामीमध्ये धेरैले पहिलोपटक महिलाको जुलुस देखेको दिन, पहिलोपटक कार्यक्रममा महिलाका विषयमा कुरा सुनेको दिन र हरेक वर्ष यसको वरपर रहेर गरिने कार्यक्रममा महिलाका विषयमा बाध्य भएर पुरुषहरूले पनि बोल्ने दिन ।

महिला श्रमको ओज

विस्तारै यो एक दिनबाट बढेर ‘मार्च अर्थात् महिला महिना’ र कुनै एउटा विषयमा मात्र केन्द्रित नभई महिलाका विविध मुद्दामा केन्द्रित हुनथालेको छ । आठ मार्च कहिलेदेखि, किन, कसको नेतृत्वमा, कहाँदेखि मनाउन थालिएको थियो भन्नेमा आउनुअघि गत वर्षका केही सम्झना राख्न चाहन्छु । गतवर्ष यही सन्दर्भमा लेखक सरिता तिवारीले श्रमिक महिला दिवस कसरी ‘नारी दिवस’ मात्रै भयो भन्ने प्रश्न फेसबुकमा राख्नुभएको थियो । अनि गत वर्षकै आठ मार्चको बिहान काठमाडौंमा निस्किएको र्‍यालीमा वामपन्थी राजनीतिक पार्टीका भगिनी संगठनहरू सहभागी थिएनन् । मैले राजनीतिक दलका महिला संगठन किन नआएका भनेर र्‍यालीमा सहभागी कार्यकर्ता तर एनजीओमा कार्यरत दिदीहरूलाई सोध्दा थाहा भयो, कार्यक्रमको ब्यानरमा ‘नारी दिवस’ मात्रै लेख्ने भन्ने सरकारी पक्ष र ‘श्रमिक महिला दिवस’ लेख्ने भन्ने वामपन्थी दलका महिला बीचमा विवाद हुने गरेको रहेछ । नारी दिवस, महिला दिवस वा श्रमिक महिला दिवस नाम के राख्ने भन्ने विवादले केही प्रश्न उब्ज्याएको छ । ती प्रश्न हुन्, नेपालको वामपन्थी (माक्र्सवादी) महिलाहरू किन श्रमिक महिला दिवस भन्ने नाम राख्न चाहन्छन् ? श्रमिक महिला दिवस र महिला दिवसमा फरक के हो ? अनि श्रम र श्रमिक महिला भनेकै के हो ?


वामपन्थी र आठ मार्चका कुरा

नेपालमा वामपन्थ वा कम्युनिजमलाई आफ्ना–आफ्नै पाराले बुझ्ने चलन छ, अर्थात् एकीकृत बुझाइको कमी छ । त्यसमाथि आफ्ना–आफ्ना बुझाइलाई सौहार्द रूपमा छलफल गर्न धेरै ‘समाजवादी’ नेताहरूभित्र भएको सामन्ती सोचले रोक्ने गरेको छ । यस विषयमा घनश्याम भूषाल, बाबुराम भट्टराईजस्ता नेता र चैतन्य मिश्रजस्ता प्राज्ञहरूले पटक–पटक लेखी र बोलिसक्नुभएको छ । महिलाको श्रम अधिकारको विषयमा कुरा गर्दा हामी (वामपन्थीहरू) जर्मन नेता क्लारा जेट्किनको नाम बडो सम्मानपूर्वक लिने गर्छौं । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने प्रस्ताव राख्ने र श्रमिक (महिलाहरू पनि) को अधिकारका लागि लड्ने क्लारा जेट्किन जरुर सबैले सम्झनुपर्ने नाम हो । तर बिर्सन नहुने कुरा के हो भने युरोपमा उद्योगमा आधारित मजदुरहरू बढ्दै गर्दा, कार्लमाक्र्सको कम्युनिस्ट घोषणापत्रमा रहेको ‘संसारभरका मजदुर एक हौँ’ भन्ने नारामा विश्वास गर्ने सोसल डेमोक्र्याटिक पार्टी जर्मनीले मजदुरका मुद्दालाई मुख्य केन्द्रमा राखेको थियो । यस्तो अवस्थामा महिला पनि भएको र मजदुर आन्दोलनमा पनि भएको नाताले क्लारा जेट्किनको जिम्मा महिला मजदुरका आवाज बुलन्द पार्ने हुनसक्छ ।


त्यस बाहेक पहिलोपटक गार्मेन्ट उद्योगमा पन्द्र हजार महिलाले राम्रो ज्यालाको माग गरेर आन्दोलन गरेको देश जर्मनी नभएर अमेरिका थियो र त्यो महिना मार्च नभई फेब्रुअरी थियो । जसको सम्झनामा १९०९ को २८ फेब्रुअरीमा अमेरिकामा पहिलोपटक महिला दिवस मनाइएको थियो । निसन्देह अन्तर्राष्ट्रिय (श्रमिक) महिला दिवसको नाम प्रस्ताव गर्ने र अन्तर्राष्ट्रिय महिला सम्मेलनको आयोजनाको जश क्लारा जेट्किनलाई जान्छ । विस्तारै यो सबै देशमा मानिने दिवस बन्दै गयो र संयुक्त राष्ट्र संघले १९७५ मा नेतृत्व दियो ।


नेपालको महिला आन्दोलनसँग आठ मार्चको सम्बन्ध

नेपालको महिला आन्दोलन लेखनमा गहन रूपमा काम भएको छैन । तर स्पष्ट रूपमा के भन्न सकिन्छ भने नेपालको महिला आन्दोलन विषयगत आधारमा उभिएको आन्दोलन हो । जसको सुरुवात योगमायाले गरिन्, जुन आफ्नै जीवनमा भोगेका तमाम दु:खबाट प्रेरित भएर गरिएको पाइन्छ । योग मायापछि दिव्या कोइरालाहरूले विराटनगरमा निकालेको जुलुस होस् वा काठमाडौंमा साहना, साधना, मंगलाहरूको डेलिगेसन नेपालको सुरुवाती महिला आन्दोलन परिस्थितिमा आधारित थियो ।


नेपालमा आठ मार्च सरकारी तवरबाटै संयुक्त राष्ट्र संघ हुँदै आएको हो । विश्वभरिका समाजवादी महिलाले ६५ वर्ष महिला दिवस मनाएपछि नेपालमा आठ मार्चमा कार्यक्रम हुन सुरु भयो । त्यही समयदेखि सरकारी तवरबाट र भूमिगत राजनीतिमा रहेका महिलाले समानान्तर रूपमा यो दिवस मनाउन थालेको पाइन्छ । पञ्चायती राजतन्त्र र भूमिगत राजनीतिमा रहेका दुई फरक धारका महिलाका मुद्दा र मन पक्कै एकै थिएनन् । त्यसमाथि कम्युनिस्ट प्रशिक्षण पनि भयो, जसमा देशमा निक्कै सानो समुदाय भएको मजदुरका विषयमा लामा–लामा भाषण र प्रशिक्षण हुने समय थियो । र कम्युष्टि भनेको अर्कै कुरा हो भन्ने सोच सरकारमा थियो । विक्रम सम्वत् २०३८ मा हेटौंडाको औद्योगिक क्षेत्रमा कार्यक्रम भएपछि ४६ सालसम्म हरेक आठ मार्च वामपन्थी महिलाहरू पक्राउ पर्ने दिनका रूपमा रह्यो ।


महिलाको श्रम र महिला श्रमिक दिवस

अपवादलाई छाड्ने हो भने हरेक घरमा महिलाहरूको परिश्रम पुरुषहरूको तुलनामा धेरै खर्च भइरहेको हुन्छ । अर्थात घर भित्रको काम शताब्दीयौंदेखि महिलाको भागमा परेको छ । अर्थात ‘भातै पकाउने त हो नि’ भनेर बुझ्ने गरिन्छ । जसले गर्दा कुनै कार्यालयमा जागिर नगर्ने महिलालाई ‘उनको त कुनै कामै छैन, घरमै बस्छिन्’ भन्ने वा कुनै कार्यालयमा काम गर्ने महिलालाई ‘कामकाजी’ महिलाको ट्याग लगाइन्छ । जसले कार्यालय वा तलब ज्याला बाहेकको कामलाई ‘श्रम’का रूपमा स्वीकार नगरेको देखाउँछ । घरभित्र महिलाको श्रमको मूल्यांकन त गरिन्न नै, घर बाहिर पनि महिलाको कामलाई समाजले सामान्य रूपमा लिनसकेको छैन । महिलालाई घर भित्रको काम गरेर मात्रै पुग्दैन । घर भित्रको काम जसरी पनि सकेपछि महिलाका लागि कामको अर्को तह सुरु हुन्छ । गाउँघरमा खेतीपाती, वस्तुभाउको काम हुन्छ भने सहरमा ज्याला मजदुरी, कार्यालयको वा अरू काम होलान् । घर बाहिरको कामलाई पनि नेपाली समाजले बिहान–बेलुका घर (धन्दा) सकेर मात्रै गर्ने कामको रूपमा लिने गरेको छ । अर्थात् एउटै काम गर्ने महिला र पुरुषलाई हेर्ने परिवार र समाजको धारणा फरक छ । त्यही काम पुरुषका लागि जागिर हुन्छ भने त्यही काम महिलाका लागि ‘समय कटाउने’, ‘यस्सो कमाउने’ वा ‘स्वतन्त्रताको’ विषय बन्ने गरेको छ । आफ्नो कार्यालयको काम जत्ति नै महत्त्वपूर्ण भए पनि धेरै महिलाको पहिलो प्राथमितामा घरको काम नपरेको अवस्थामा घरपरिवारमा खटपट सुरु हुने गरेका थुप्रै उदाहरण छन् । जसले महिलालाई अर्ध–बँधुवा मजदुरका रूपमा सीमित गरिदिएको भनाइलाई पुष्टि गरिरहन्छन् ।


अर्कातर्फ पुँजीवादी उत्पादन प्रणालीले महिलालाई खेत, बारी र गोठका कामबाट बजारमा ल्याएको छ । महिलाले अब अलिकति भए पनि कमाएर घर–व्यवहारमा योगदान दिनु जरुरी हरेक घरले सम्झन थालेको छ । यो ‘अलिकति’बाट महिलाले सम्पूर्ण रूपमा घर चलाउनेको सरकारी तथ्यांक नै २५.७ प्रतिशत पुगेको छ । तथ्यांकमा नसमेटिएका यस्ता धेरै महिला छन्, जसले घरभित्र र बाहिरका दुबै काम गरेर पनि आफूलाई घरमूली भन्दैनन् । घर चलाउने, कार्यालयमा काम गर्ने, विदेश गएर घरपरिवारमा योगदान गर्ने वा समग्रमा भन्नुपर्दा ‘पुरुषका नियन्त्रणमा रहेका क्षेत्रमा’ काम गर्ने महिलाको संख्या दिनदिनै बढ्दो छ । तर समाजमा रहेको महिला र महिलाले गर्ने श्रमलाई हेर्ने दृष्टिकोण फेरिएको छैन । महिलाको श्रमको व्याख्या, श्रमिक महिलाको परिभाषा निर्माण गर्दै महिलाको श्रमको मूल्य स्थापित गर्न सरकारी, व्यक्तिगत र कार्यकर्ताको तहबाट अहिले वामपन्थी महिलाले नै नेतृत्वदायी भूमिका खेल्न सक्ने ठाउँ छ । देशको अनुहार बदल्न हिँडेका मान्छेहरूले कार्यक्रमको ब्यानरमा राख्ने नाममा होइन, महिलाको हरेक श्रमको मूल्य स्थापित हुनेगरी काम गर्न सकुन्, महिला दिवसको शुभकामना ।

प्रकाशित : फाल्गुन २२, २०७४ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?