नारीवाद : समानता कि अग्रता ?

नारी वस्तु नभई मान्छे हो । अत: हरेक मान्छे आफ्नो जीवनयापन गर्नका लागि सक्षम हुन्छ, चाहे त्यो जुनसुकै सामाजिक भूमिकामा किन नहोस् ।
साधना प्रतीक्षा

काठमाडौँ — एउटा जागिरे पति आफ्ना घरेलु आवश्यकता तत्कालै पूरा हुन नसक्दा गृहिणी पत्नीलाई हकार्छ, ‘मरीमरी कमाएर यसरी सुखशयलमा राखेको छु र पनि यति गर्न सक्दिनस् ?’ पत्नी उसका यस्ता हप्काइलाई सहजै शिरोधार्य गरेर उसको सेवामा खटिन्छे । कुनै प्रतिक्रिया या नौलो अनुभूति हुँदैन उसलाई, किनकि यो नै उसको दैनिकी हो ।

उसलाई आफ्नो स्वास्थ्यको समेत पर्वाह हँुदैन । आफ्नो खुसी–बेखुसी, इच्छा–अनिच्छा आदिको हेक्का छैन उसलाई, हेक्का छ त केवल पतिको सेवा र आज्ञा पालनको, किनभने युगौँदेखि समाजमा स्थापित पितृसत्तात्मक मानसिकतामा पोषित हुनाले उसले यही बुझेकी छ कि ऊ पतिको सम्पत्तिमा आश्रित छ, पतिले कमाएर उसलाई पालेको छ, त्यसैले उसको कर्तव्य केवल पतिको सेवा र ऊप्रतिको समर्पण हो । धन्य नारी तिम्रो त्याग र समर्पण † तिमीले सोचेकी छैनौ या सोच्ने समय नै पाएकी छैनौ कि तिमीले पतिबाट जे प्राप्त गरेकी छौ, त्यसको बदला उसलाई के दिएकी छौ ? बिहानदेखि साँझसम्म तिमीले गर्ने घरेलु श्रमको मूल्य खै ? त्यही श्रम तिमीले श्रम बजारमा गरेको भए....? अब कसरी तिमी आफूलाई पतिको उपकारमा बाँचेको ठान्छ्यौ ? पतिले त केवल अर्थोपार्जन गर्छ, तर तिमीले त उसको सारा घर–गृहस्थी, बालबच्चा अर्थात् उसको वर्तमान र भविष्य दुबै सम्हालिरहेकी छौ, तैपनि किन तिमी अपमानित ? तिमीले त पतिबाट सम्मान पाउनुपर्ने हो, किनकि तिमीले जे गरिरहेकी छौ, त्यो तिम्रो पतिले गर्न सक्दैन । यसर्थ तिम्रो स्थान अग्र हुनुपर्छ ।

Yamaha

विजय मल्लका नाटकहरूमाथि नारीवादी अनुसन्धान गर्ने क्रममा सर्वाधिक चुनौती थियो, ‘बहुला काजीको सपना’ नाटकको नारीवादी विश्लेषण । न नारी पात्र नत नारी सम्बन्धी पर्याप्त प्रसङ्ग यस्तोमा कसरी हुन्छ, नारीवाद ? सबैको यस्तै धारणा हुन्थ्यो । तर मैले त्यही नाटकको एउटा प्रसङ्गमा अत्यन्त मार्मिक रूपमा फेला पारेँ, नारीवादी चिन्तन । एउटा गरिब भरिया आफ्नो बालक छोरो बिग्रिएकोमा दु:खी भएको हुन्छ । दुर्घटनामा पत्नीको मृत्यु भएपछि आफूले छोरालाई उचित लालनपालन र संस्कार दिन नसकेकोमा ग्लानि गर्छ । आफू एक्लैले छोरो स्याहार्नु कि भारी बोक्न जानु भन्दै बालक छोरोमाथि रिस पोख्छ । हामीलाई थाहा छ, त्यस भरियाकी पत्नीको सट्टा उसको मृत्यु भएको भए पत्नीले भारी बोकेर जीविका चलाउनुका साथै बालक छोरालाई माया–ममता र उचित संस्कार पनि दिन्थी । त्यो बालक सडकमा मागेर हिँड्दैनथ्यो । समाजमा यस्ता कैयौँ आमा छन्, जो भारीमाथि छोराछोरी बोकेर आफ्नो गृहस्थी धानिरहेका छन्, जुन बाबुहरूले गर्न सक्दैनन् । त्यसैले यो नारीवाद बराबरीको भन्दा पनि अग्रताको नारीवाद हो ।

अहिलेसम्म हामीले पढेको र बुझेको नारीवाद समानताको नारीवाद थियो । उन्नाइसौँ शताब्दीमा पश्चिमी महिलाहरूले पितृसत्तात्मक संरचनाभित्र महिलामाथि हुने लैङ्गिक उत्पीडन विरुद्ध विद्रोह गर्दै राजनीतिक, आर्थिक, सामाजिक–सांस्कृतिक समानता र स्वतन्त्रताका लागि गरेको संघर्षबाट यसको उद्भव भएको हो । त्यसै संघर्षको फलस्वरूप ८ मार्चले विश्वभर नारी दिवसको मान्यता प्राप्त गर्‍यो । विश्वभर फैलिएको नारी अस्तित्व र पहिचानको संघर्षको प्रभावस्वरूप हाम्रो समाजमा पनि नारी सम्बन्धी पुरातन मान्यतामा परिवर्तन आएको छ । अबको हाम्रो पहिचानको खोजी समानतामा सीमित हुनसक्दैन, अग्रतामा स्थापित हुनुपर्छ । किनभने आज जति पनि महिला स्वअस्तित्वबोध गर्दै पहिचानको खोजीमा संघर्षरत छन्, उनीहरू पुरुषका तुलनामा अग्रस्थानमा पनि देखिएका छन् ।

नारीवाद सम्बन्धी नयाँ परिभाषा बन्नुपर्ने मेरो मान्यताले थप ऊर्जा त्यतिबेला प्राप्त गर्‍यो, जब म स्वास्थ्य उपचारका क्रममा शिक्षण अस्पताल पुगेँ । मेरो शल्यक्रिया गर्ने डाक्टर जसलाई नेपालको पहिलो महिला सर्जन भनी पढेकी थिएँ । प्रसङ्गवश उनले भनिन्, ‘म नारीवादी होइन, किनभने महिला र पुरुष समान हुन्छन् भन्ने मान्यतालाई म स्वीकार गर्दिन । हामी महिला पुरुषभन्दा कति अगाडि छौँ कति † हामीले सन्तान जन्माउँछौ–हुर्काउँछौँ, कति कठिनाइ झेलेर घरपरिवार व्यवस्थापन गरेर पनि आफ्नो पेसामा सधैँ अगाडि नै छौँ ।’ उनको भनाइको आशय पनि अबको नारीवाद समानताको नभएर अग्रताको हुनुपर्छ भन्ने थियो । दिनभर थरीथरीका रोगी, अपरेसन थिएटर आदि अनि घरपरिवारको व्यवस्थापन र मातृत्वधर्म निर्वाह गरेर पनि आफ्नो पेसामा अब्बल बन्नु अग्रता होइन र ? उनी त एउटा उदाहरण मात्र हुन् । आज हाम्रै समाजमा कैयौँ महिला आ–आफ्नो कार्यक्षेत्रमा यसरी नै खरो उत्रिएका छन् । उनीहरूको कार्यकौशल पुरुषको तुलनामा कम होइन, बढी नै देखिन्छ । कामकाजी पुरुषहरू घरेलु कामदेखि अनभिज्ञ हुन्छन् या हुन चाहन्छन्, तर कामकाजी महिलाहरू घरभित्र र बाहिरको दोहोरो जिम्मेवारी कुशलतापूर्वक पूरा गरिरहेका छन् । यति मात्र होइन, उनीहरूमध्ये कतिपय त सामाजिक जीवनका विशिष्ट स्थानमा पनि पुगेका छन् । के यो नारी–अग्रता होइन र ?

गर्भाशय अर्थात् मातृत्व गुणका आधारमा महिलामाथि हुने उत्पीडन सोही गुणको अभावका कारण पुरुषमा उत्पन्न हीनताबोधको क्षतिपूर्तिस्वरूप उसले लिएको प्रतिशोध हो । किनभने मातृत्व गुणले नारीलाई पुरुषभन्दा श्रेष्ठ बनाएको हुनाले पुरुषले त्यसलाई आत्मसात गर्न नसकी पुरुष श्रेष्ठताका अनेक सामाजिक–सांस्कृतिक मान्यता स्थापित गरेर नारीलाई स्वेच्छिक दासत्वतर्फ प्रेरित गरिदियो । आर्थिक जिम्मेवारी सबै पुरुषले लिएको हुनाले नारी आफूलाई पुरुषमा आश्रित ठान्न थाली । जैविकीय आधारमा नारीले खेप्नुपरेको उत्पीडनका सन्दर्भमा उन्नाइसौँ शताब्दीमा नै नारीवादी विचारक एभलिन रिडले ‘जीवविज्ञान नारी जातिको नियति होइन’ भन्दै नारी मुक्तिको आवाज उठाएकी थिइन् । अर्कातिर पुरुषसत्ताले जीवविज्ञानलाई नै नारी जातिको नियति मान्दै उसलाई प्रताडित गर्दै आइरहेको छ । पुरुष लिङ्गलाई महिलामाथि शासन गर्ने आधार तथा उनीहरूलाई दण्ड दिने हतियार ठानिनुले आज समाजमा बलात्कार र यौन उत्पीडन महिलाका लागि त्रासदीय सजाय बनिरहेको छ । जुनसुकै उमेर समूहका महिला पनि यसबाट पीडित देखिएका छन् ।

नारीवादले नारीको यौनिकताका पक्षमा बहस गर्छ । उसको यौनिक अधिकार पुरुषमा नभई नारीमा निहित हुनुपर्ने मान्यता यसले स्थापित गरेको छ । तर यौनिक अधिकारका नाममा महिलालाई यौन व्यापारमा लगाउनु तथा यदाकदा उनीहरू स्वयम्बाट यौनकर्मीको पेसागत माग गरिनु भने यसको विरोधाभाष हो । किनभने नारीवादले नारीलाई यौनदासीका रूपमा स्वीकार गर्दैन, चाहे त्यसका लागि उसले पारिश्रमिक नै किन नपाओस् । पुँजीवादी अर्थतन्त्रले विज्ञापनका नाममा नारी देहलाई वस्तुका रूपमा निरन्तर प्रदर्शन र व्यापार गर्दै आइरहेको छ । महिला उपभोक्ता नभएका र महिलाको सम्बन्धै नभएका वस्तुको प्रचारका लागि पनि महिलाले स्वेच्छा (बाध्यता ?) ले आफ्नो देह र सौन्दर्य प्रदर्शन गर्नु नारी अस्मिता र पहिचानको खोजी हुनसक्दैन । नारीवादी मान्यता अनुरुप त नारीले आफ्नो क्षमता र श्रमको व्यापार गर्नुपर्छ, नकि शरीर र सौन्दर्यको । नारी यौनिकता तथा शरीरमाथिको अधिकारको बहस शरीर संरचनाका आधारमा नारीमाथि हुने उत्पीडन र नारी देहलाई वस्तुका रूपमा हेरिने प्रवृत्तिका विरुद्ध थियो । नारी देह पुरुषको भोगविलासको साधन र आयआर्जनको सरल माध्यम मान्ने प्रवृत्तिको समर्थनका लागि थिएन । त्यसैले नारीवादीहरूले महिला बेचबिखन तथा विज्ञापन र अश्लील सामग्रीहरूमा उनीहरूको प्रयोगको खुलेर विरोध गरे, तर आजसम्म पनि यस्तो प्रवृत्ति कायमै रहनुलाई नारी अग्रगमनको सुसंकेतका रूपमा लिन सकिँदैन । नारी यौनिकताको सवाल पुरुषको मनोरञ्जनको साधन बन्नुसँग होइन, स्वतन्त्र र स्वाधीन भएर बाँच्नुसँग सम्बन्धित छ । त्यसैले जबसम्म देहव्यापार तथा देह प्रदर्शनको पुँजीवादी संस्कृतिबाट मुक्त हुने प्रयास महिला स्वयम्बाट गरिँदैन, तबसम्म जीवविज्ञानलाई नारी जातिको नियति मानेर प्रताडित गर्ने प्रवृत्तिको अन्त्य पनि सम्भव देखिँदैन ।

संघर्ष गरेर स्वतन्त्रतापूर्वक जिउनुभन्दा पुरुषको अधीनमा सुखपूर्वक जिउन चाहने एक किशोरीको भनाइ सम्झन पुग्छु, ‘भो, अब म यसभन्दा बढी पढ्दिन र काम खोज्ने त कुरै छैन । बरु आफ्नालागि योग्य वर पो खोज्ने हो । यस्तो वर जोसँग रूप, बल, धन सबै होस्, अनि त आनन्दको जीवन....।’ कलेज जाँदै गर्दा आफ्ना साथीहरूसँग उनले भनेको यो भनाइ उनको मात्र कहाँ हो र ? अल्लारे उमेरका उनीजस्ता धेरै किशोरीहरूको हो । पुरुषप्रधान संस्कृतिमा हुर्किएका उनीहरूको अचेतनमा सञ्चित यस प्रकारको रक्षिता भावले उनीहरूलाई पुरुषको संरक्षण खोज्न प्रेरित गर्छ । यही प्रेरणा नै अन्तत: उनीहरूले खेप्ने लैङ्गिक उत्पीडन र दासत्वको कारक बन्ने गर्छ । आर्थिक आधार र स्वावलम्बनको अभाव नै आज आम महिलाको समस्या बनिरहेको छ, तापनि यसप्रतिको सचेतता भने कमै महिलामा मात्र देखिन्छ । नारी वस्तु नभई मान्छे हो । अत: हरेक मान्छे आफ्नो जीवनयापन गर्नका लागि सक्षम हुन्छ, चाहे त्यो जुनसुकै सामाजिक भूमिकामा किन नहोस् । यही चेतना नै नारीवाद हो, जसले अबका दिनमा समानताको मात्र नभएर अग्रताको खोजी गर्न थालेको छ । आम दृष्टिले महिला र पुरुषबीच समानताको अवस्था पनि नभएको हाम्रो सामाजिक परिवेशमा नारी अग्रताको प्रसङ्गलाई मुर्खतापूर्ण महत्त्वाकांक्षा ठानिएला । यथार्थमा हरेक नारीभित्रको यही महत्त्वाकांक्षाले नै उसलाई आफ्नो पृथक अस्तित्वबोध गराउँदै पहिचानको खोजीतर्फ प्रेरित गराउनेछ । यही अस्तित्वबोधको संगठित बलले अन्तत: नारी अग्रताको मान्यता स्थापित गराउन नसक्ला र ?

pratikshagunjan@gmail.com

Esewa Pasal

प्रकाशित : फाल्गुन २३, २०७४ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अब्बासीको ‘प्रो–एक्टिभ’ भ्रमण

हङकङबाट प्रकाशन हुने साउथ चाइना मर्निङ पोस्टले गत साता छापेको आवरण सामग्री ‘के नेपाल नयाँ श्रीलंका बन्दैछ ?’ सँगै केपी–ग्राफिक्स पनि उस्तै गजबको देखिन्छ— चीनतिर फर्केर नमस्कार गरिरहेका प्रधानमन्त्री ओली ।
देवेन्द्र भट्टराई

काठमाडौँ — पाकिस्तानका प्रधानमन्त्री शाहिद खकान अब्बासीको १८ घन्टे नेपाल भ्रमण अन्तिम घडीमा मात्रै ‘औपचारिक’ बन्यो । नवनियुक्त समकक्षीलाई भेटेरै बधाई ज्ञापन गर्न काठमाडौं आउने भनिएका पाकिस्तानी प्रधानमन्त्री अब्बासीको भ्रमणलाई सुरुमा ‘सद्भावपूर्ण र अनौपचारिक’ भनियो ।

तर भ्रमणको महत्त्वपूर्ण समय, जटिल अवस्था र रणनीतिक अवस्थितिलेपनि पाकिस्तानी प्रधानमन्त्रीको भ्रमणलाई ‘औपचारिक’ बनायो । भ्रमणको अघिल्लो दिन गत आइतबार पाकिस्तानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा क्षेत्रीय मुलुकहरूलाई जोड्ने अर्थमा पाकिस्तानको ‘प्रो–एक्टिभ’ र ‘आउटरिच’ प्रयत्नका रूपमा प्रधानमन्त्री अब्बासी नेपाल भ्रमणमा जानलागेको अर्थपूर्ण शब्दावली प्रयोग गरिएको थियो । यसरी अनेक अर्थको पछिल्तिर नलागी भन्ने हो भने पनि तत्कालीन पाकिस्तानी प्रधानमन्त्री बेनजिर भुट्टोको सन् १९९४ मा भएको नेपाल भ्रमणपछिको विशिष्ट कूटनीतिक तहबाट भएको भ्रमण यही थियो ।

विशेषत: १९ औं सार्क शिखर सम्मेलनको आयोजक राष्ट्रका रूपमा पाकिस्तानले अवरुद्ध बनिरहेको सार्क प्रक्रिया र क्षेत्रीय समृद्धिका गतिविधि अघि बढाउन चाहेको स्पष्ट देखिन्छ । सन् २०१६, नोभेम्बरमा हुनुपर्ने भनिएको सार्क शिखर अहिलेसम्म ‘पोष्टपेन्ड’ अवस्थामा छ । न आयोजकले केही भनेरकेही हुने अवस्था छ, न संगठन अध्यक्ष राष्ट्र (नेपाल) ले केही भनेर केही भएको अवस्था छ । भारत–पाकिस्तानको स्थायी समस्या रहिआएको कास्मिर विवादमा आज द्वैपक्षीयर क्षेत्रीय सरोकारका मामिलाहरूसमेत तानिन थालेको स्थिति स्पष्ट छ, द्वैदेशीय तनावको छायामा अरू सबै क्षेत्रीय मामिलाहरूपुरै ओझेलमा छन् भन्ने पनि स्पष्टभैसकेको छ ।

यो बेला क्षेत्रीय सम्बन्ध सहजीकरणर सुदृढीकरणको दिशाभन्दा पनि आपसी सु–सम्बन्धको उपाय अवलम्बन गर्नु बढी श्रेयस्कर देखिएको छ । भू–राजनीतिक अवस्थिति र रणनीतिका आधारमा पनि नेपालसँगको बढी सान्निध्य तथा निकटता राख्न चाहने दक्षिण एसियाली वा बाहिरी मुलुकहरूका निम्ति सधैंजसो ‘इन्डिया–फ्याक्टर’ अहम् सरोकारको केन्द्रमा उभिएको छ । त्यसपछिको अवस्थामा पछिल्ला वर्षहरूमा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) सँगको प्रतिबद्धता र व्यापार–पारवहनसँग जोडिएको उत्तरी नाकासँगको नेपालको बढ्दो सम्बन्धका कारण चीनसँग पनि सतर्क भएर बस्ने मनस्थिति हुर्किएर गएको छ । सार्क क्षेत्रीय संगठनको भविष्यको कुरामा मात्रै होइन, ‘बीआरआई’ प्रतिबद्धता र कार्यान्वयनको विस्तृत सञ्जालमा अझैसम्म भारतले देखाइरहेको उदासीनता (असहमति) अबका दिनमा निकै अर्थपूर्ण बनेर जाने देखिएको छ । ‘बीआरआई’ प्रस्तावना अघि नबढ्दै अर्को दक्षिण एसियाली छिमेकी पाकिस्तानले चिनियाँ सहयोगमा १३ सय किलोमिटर लम्बाइको विश्वमै प्रतिष्ठित काराकोरम हाइवे निर्माण गरेर सञ्चालनमा ल्याइसकेको छ भने अहिले चीनकै सहयोग–भरथेगमा पाकिस्तानले बन्दरगाह, सडक, उद्योग, निर्माणका दर्जनौं योजना अघि बढाइरहेको छ । यसरी नेपाल र पाकिस्तानका निम्तिसमेत ‘चीन फ्याक्टर’ले जसरी प्रत्यक्ष काम गरिरहेको देखिन्छ, यो विषय अरूभन्दा बढी दक्षिणको प्रगतिउन्मुख मुलुक भारतका निम्ति चुनौतीको विषय बनेको छ । कूटनीति र रणनीतिक महत्त्वका विषयमा यदाकदा ‘सन्तुलन’ खोज्नुपर्ने तथ्य–तथ्यांक र यथार्थमा भारतका निम्ति चीनको चौतर्फी सदाशयता नसोचेको चुनौती बनेर अगाडि आएको देखिन्छ ।

पाकिस्तानी प्रधानमन्त्री अब्बासीको छोटो नेपाल भ्रमणले ल्याएको तरंगमा यसपटक एकैसाथ चीन र भारत पनि जोडिएका छन् । प्रधानमन्त्री केपी ओलीले आफू पदासिन हुनुअघि रसुवागढी नाकासम्म पुगेर केरुङ दिशातिर देखाउँदै ‘यहींबाट आउनेछ, चिनियाँ रेल’ भनेर दिएको प्रतिक्रिया र प्रतिकात्मक बनेको औंलाको दिशाले जसरी नजानिँंदो ढङ्गमा उत्तर–दक्षिण कूटनीतिक सन्तुलनको दिशामा गतिलो संकेत गरेको थियो, यसपटक पाकिस्तानी प्रधानमन्त्रीको आकस्मिक नेपाल भ्रमणको सन्देशले पनि त्यस्तै संकेतगरेको छ ।

पाकिस्तानी प्रधानमन्त्री अब्बासीले आफ्नो भ्रमण क्रममा गतवर्ष अप्रिल पहिलो साताबाट लुम्बिनी क्षेत्रबाट हराइरहेका पाकिस्तानी सैन्य पूर्व अधिकृत मोहम्मद हविव जाहिरका बारे प्रधानमन्त्री ओलीसमक्ष सरोकार राखेका रहेछन् । परराष्ट्र मन्त्रालयले यो मामिलामा गम्भीरतापूर्वक खोजबिन भैरहेको जवाफ पनि फर्काएको रहेछ । तर आफ्नै भू–राजनीतिक कठिनाइ र साह्रोगाह्रोमाझ परराष्ट्रका पदाधिकारी वा प्रधानमन्त्री ओली स्वयम्ले पाकिस्तानको बलुचिस्तान क्षेत्रमा वर्षौंदेखि अलपत्र रहेका नेपाली नागरिक नरेन्द्रबहादुर चन्दलाई घर फिर्ता ल्याउन पहल गर्दिनेबारे पाकिस्तानी प्रधानमन्त्रीसमक्ष सरोकार राख्नै चाहेका रहेनछन् । ‘किनभने नेपाली नागरिक नरेन्द्रबहादुरसँग उनका श्रीमती र छोराछोरी अफगानी शरणार्थीको हैसियतमा जोडिएका छन्,’ परराष्ट्रका एक अधिकारी भन्छन्, ‘अफगानिस्तान मामला जोड्नासाथ पाकिस्तानलाई असहज हुने गरेको थाहा पाएरै यो सरोकार स्पष्ट रूपमा नउठाइएको हो ।’

परराष्ट्रका अधिकारीले कतिसम्म संकेतगरे भने अफगानिस्तानमा रहेका नेपालीको मामला हेर्दै आएको पाकिस्तानस्थित नेपाली दूतावासको यो अधिकार अहिले (एकाएक) कटौतीमा परेको छ । दिल्लीको नेपाली दूतावासले अफगान मामलासमेत हेर्ने भनिएको एक वर्ष भैसक्यो । तर यो निर्णयबारे दिल्ली नियोग अझै बेखबरझैं छ । कसको सिफारिस, निर्देशन वा मूल्यांकनमा यो सहप्रमाणीकरणको जिम्मेवारी हेरफेरबारे निर्णय भएको हो— परराष्ट्रमा पनि कसैले जवाफ दिन सक्दैन । यसरी आफूभित्रैका द्वैपक्षीय र क्षेत्रीय सम्बन्धका अनेक अन्योल थाती रहेका बेला पाकिस्तानी प्रधानमन्त्री अब्बासीको नेपाल भ्रमण निकै ‘अर्थपूर्ण’ देखिएको छ ।

यसो भन्दैमा साह्रै पक्षधर बनेर चीन वा पाकिस्तानको ‘गुड–विसेज’का पक्षमा रमाइहाल्नुपर्ने अवस्था पनि देखिन्न । किनभने इतिहास साक्षी छ— २०१७ सालको पञ्चायती सुरुवात होस् वा माघ १९ को ‘शाही कू’— सबैभन्दा खुलेर र होडबाजी गर्दै समर्थन गर्ने राष्ट्रहरू पनि यिनै पाकिस्तान र चीन थिए । अहिले गणतन्त्र नेपालको शासन पद्धति र वामपन्थी गठबन्धनको विजयमा सबैभन्दा बढी ‘हार्दिक’ पनि यिनै देखिएका छन् । यो सबैभन्दा बढी नेपालको रणनीतिक अवस्थिति र भू–राजनीतिको उहापोह मात्रै हो । यतिखेर हङकङबाट प्रकाशन हुने साउथ चाइना मर्निङ पोष्टले गतसाता छापेको आवरण सामग्री
(के नेपाल नयाँ श्रीलंका बन्दैछ ?) सँगैको प्रधानमन्त्री ओलीको प्रचार–ग्राफिक्स पनि उस्तै गजबको देखिन्छ— चीनतिर फर्केर नमस्कार गरिरहेका प्रधानमन्त्री ओली ।

devendelhi@gmail.com

प्रकाशित : फाल्गुन २३, २०७४ ०७:३०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT