२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

नारीवाद : समानता कि अग्रता ?

नारी वस्तु नभई मान्छे हो । अत: हरेक मान्छे आफ्नो जीवनयापन गर्नका लागि सक्षम हुन्छ, चाहे त्यो जुनसुकै सामाजिक भूमिकामा किन नहोस् ।
साधना प्रतीक्षा

काठमाडौँ — एउटा जागिरे पति आफ्ना घरेलु आवश्यकता तत्कालै पूरा हुन नसक्दा गृहिणी पत्नीलाई हकार्छ, ‘मरीमरी कमाएर यसरी सुखशयलमा राखेको छु र पनि यति गर्न सक्दिनस् ?’ पत्नी उसका यस्ता हप्काइलाई सहजै शिरोधार्य गरेर उसको सेवामा खटिन्छे । कुनै प्रतिक्रिया या नौलो अनुभूति हुँदैन उसलाई, किनकि यो नै उसको दैनिकी हो ।

नारीवाद : समानता कि अग्रता ?

उसलाई आफ्नो स्वास्थ्यको समेत पर्वाह हँुदैन । आफ्नो खुसी–बेखुसी, इच्छा–अनिच्छा आदिको हेक्का छैन उसलाई, हेक्का छ त केवल पतिको सेवा र आज्ञा पालनको, किनभने युगौँदेखि समाजमा स्थापित पितृसत्तात्मक मानसिकतामा पोषित हुनाले उसले यही बुझेकी छ कि ऊ पतिको सम्पत्तिमा आश्रित छ, पतिले कमाएर उसलाई पालेको छ, त्यसैले उसको कर्तव्य केवल पतिको सेवा र ऊप्रतिको समर्पण हो । धन्य नारी तिम्रो त्याग र समर्पण † तिमीले सोचेकी छैनौ या सोच्ने समय नै पाएकी छैनौ कि तिमीले पतिबाट जे प्राप्त गरेकी छौ, त्यसको बदला उसलाई के दिएकी छौ ? बिहानदेखि साँझसम्म तिमीले गर्ने घरेलु श्रमको मूल्य खै ? त्यही श्रम तिमीले श्रम बजारमा गरेको भए....? अब कसरी तिमी आफूलाई पतिको उपकारमा बाँचेको ठान्छ्यौ ? पतिले त केवल अर्थोपार्जन गर्छ, तर तिमीले त उसको सारा घर–गृहस्थी, बालबच्चा अर्थात् उसको वर्तमान र भविष्य दुबै सम्हालिरहेकी छौ, तैपनि किन तिमी अपमानित ? तिमीले त पतिबाट सम्मान पाउनुपर्ने हो, किनकि तिमीले जे गरिरहेकी छौ, त्यो तिम्रो पतिले गर्न सक्दैन । यसर्थ तिम्रो स्थान अग्र हुनुपर्छ ।


विजय मल्लका नाटकहरूमाथि नारीवादी अनुसन्धान गर्ने क्रममा सर्वाधिक चुनौती थियो, ‘बहुला काजीको सपना’ नाटकको नारीवादी विश्लेषण । न नारी पात्र नत नारी सम्बन्धी पर्याप्त प्रसङ्ग यस्तोमा कसरी हुन्छ, नारीवाद ? सबैको यस्तै धारणा हुन्थ्यो । तर मैले त्यही नाटकको एउटा प्रसङ्गमा अत्यन्त मार्मिक रूपमा फेला पारेँ, नारीवादी चिन्तन । एउटा गरिब भरिया आफ्नो बालक छोरो बिग्रिएकोमा दु:खी भएको हुन्छ । दुर्घटनामा पत्नीको मृत्यु भएपछि आफूले छोरालाई उचित लालनपालन र संस्कार दिन नसकेकोमा ग्लानि गर्छ । आफू एक्लैले छोरो स्याहार्नु कि भारी बोक्न जानु भन्दै बालक छोरोमाथि रिस पोख्छ । हामीलाई थाहा छ, त्यस भरियाकी पत्नीको सट्टा उसको मृत्यु भएको भए पत्नीले भारी बोकेर जीविका चलाउनुका साथै बालक छोरालाई माया–ममता र उचित संस्कार पनि दिन्थी । त्यो बालक सडकमा मागेर हिँड्दैनथ्यो । समाजमा यस्ता कैयौँ आमा छन्, जो भारीमाथि छोराछोरी बोकेर आफ्नो गृहस्थी धानिरहेका छन्, जुन बाबुहरूले गर्न सक्दैनन् । त्यसैले यो नारीवाद बराबरीको भन्दा पनि अग्रताको नारीवाद हो ।


अहिलेसम्म हामीले पढेको र बुझेको नारीवाद समानताको नारीवाद थियो । उन्नाइसौँ शताब्दीमा पश्चिमी महिलाहरूले पितृसत्तात्मक संरचनाभित्र महिलामाथि हुने लैङ्गिक उत्पीडन विरुद्ध विद्रोह गर्दै राजनीतिक, आर्थिक, सामाजिक–सांस्कृतिक समानता र स्वतन्त्रताका लागि गरेको संघर्षबाट यसको उद्भव भएको हो । त्यसै संघर्षको फलस्वरूप ८ मार्चले विश्वभर नारी दिवसको मान्यता प्राप्त गर्‍यो । विश्वभर फैलिएको नारी अस्तित्व र पहिचानको संघर्षको प्रभावस्वरूप हाम्रो समाजमा पनि नारी सम्बन्धी पुरातन मान्यतामा परिवर्तन आएको छ । अबको हाम्रो पहिचानको खोजी समानतामा सीमित हुनसक्दैन, अग्रतामा स्थापित हुनुपर्छ । किनभने आज जति पनि महिला स्वअस्तित्वबोध गर्दै पहिचानको खोजीमा संघर्षरत छन्, उनीहरू पुरुषका तुलनामा अग्रस्थानमा पनि देखिएका छन् ।


नारीवाद सम्बन्धी नयाँ परिभाषा बन्नुपर्ने मेरो मान्यताले थप ऊर्जा त्यतिबेला प्राप्त गर्‍यो, जब म स्वास्थ्य उपचारका क्रममा शिक्षण अस्पताल पुगेँ । मेरो शल्यक्रिया गर्ने डाक्टर जसलाई नेपालको पहिलो महिला सर्जन भनी पढेकी थिएँ । प्रसङ्गवश उनले भनिन्, ‘म नारीवादी होइन, किनभने महिला र पुरुष समान हुन्छन् भन्ने मान्यतालाई म स्वीकार गर्दिन । हामी महिला पुरुषभन्दा कति अगाडि छौँ कति † हामीले सन्तान जन्माउँछौ–हुर्काउँछौँ, कति कठिनाइ झेलेर घरपरिवार व्यवस्थापन गरेर पनि आफ्नो पेसामा सधैँ अगाडि नै छौँ ।’ उनको भनाइको आशय पनि अबको नारीवाद समानताको नभएर अग्रताको हुनुपर्छ भन्ने थियो । दिनभर थरीथरीका रोगी, अपरेसन थिएटर आदि अनि घरपरिवारको व्यवस्थापन र मातृत्वधर्म निर्वाह गरेर पनि आफ्नो पेसामा अब्बल बन्नु अग्रता होइन र ? उनी त एउटा उदाहरण मात्र हुन् । आज हाम्रै समाजमा कैयौँ महिला आ–आफ्नो कार्यक्षेत्रमा यसरी नै खरो उत्रिएका छन् । उनीहरूको कार्यकौशल पुरुषको तुलनामा कम होइन, बढी नै देखिन्छ । कामकाजी पुरुषहरू घरेलु कामदेखि अनभिज्ञ हुन्छन् या हुन चाहन्छन्, तर कामकाजी महिलाहरू घरभित्र र बाहिरको दोहोरो जिम्मेवारी कुशलतापूर्वक पूरा गरिरहेका छन् । यति मात्र होइन, उनीहरूमध्ये कतिपय त सामाजिक जीवनका विशिष्ट स्थानमा पनि पुगेका छन् । के यो नारी–अग्रता होइन र ?


गर्भाशय अर्थात् मातृत्व गुणका आधारमा महिलामाथि हुने उत्पीडन सोही गुणको अभावका कारण पुरुषमा उत्पन्न हीनताबोधको क्षतिपूर्तिस्वरूप उसले लिएको प्रतिशोध हो । किनभने मातृत्व गुणले नारीलाई पुरुषभन्दा श्रेष्ठ बनाएको हुनाले पुरुषले त्यसलाई आत्मसात गर्न नसकी पुरुष श्रेष्ठताका अनेक सामाजिक–सांस्कृतिक मान्यता स्थापित गरेर नारीलाई स्वेच्छिक दासत्वतर्फ प्रेरित गरिदियो । आर्थिक जिम्मेवारी सबै पुरुषले लिएको हुनाले नारी आफूलाई पुरुषमा आश्रित ठान्न थाली । जैविकीय आधारमा नारीले खेप्नुपरेको उत्पीडनका सन्दर्भमा उन्नाइसौँ शताब्दीमा नै नारीवादी विचारक एभलिन रिडले ‘जीवविज्ञान नारी जातिको नियति होइन’ भन्दै नारी मुक्तिको आवाज उठाएकी थिइन् । अर्कातिर पुरुषसत्ताले जीवविज्ञानलाई नै नारी जातिको नियति मान्दै उसलाई प्रताडित गर्दै आइरहेको छ । पुरुष लिङ्गलाई महिलामाथि शासन गर्ने आधार तथा उनीहरूलाई दण्ड दिने हतियार ठानिनुले आज समाजमा बलात्कार र यौन उत्पीडन महिलाका लागि त्रासदीय सजाय बनिरहेको छ । जुनसुकै उमेर समूहका महिला पनि यसबाट पीडित देखिएका छन् ।


नारीवादले नारीको यौनिकताका पक्षमा बहस गर्छ । उसको यौनिक अधिकार पुरुषमा नभई नारीमा निहित हुनुपर्ने मान्यता यसले स्थापित गरेको छ । तर यौनिक अधिकारका नाममा महिलालाई यौन व्यापारमा लगाउनु तथा यदाकदा उनीहरू स्वयम्बाट यौनकर्मीको पेसागत माग गरिनु भने यसको विरोधाभाष हो । किनभने नारीवादले नारीलाई यौनदासीका रूपमा स्वीकार गर्दैन, चाहे त्यसका लागि उसले पारिश्रमिक नै किन नपाओस् । पुँजीवादी अर्थतन्त्रले विज्ञापनका नाममा नारी देहलाई वस्तुका रूपमा निरन्तर प्रदर्शन र व्यापार गर्दै आइरहेको छ । महिला उपभोक्ता नभएका र महिलाको सम्बन्धै नभएका वस्तुको प्रचारका लागि पनि महिलाले स्वेच्छा (बाध्यता ?) ले आफ्नो देह र सौन्दर्य प्रदर्शन गर्नु नारी अस्मिता र पहिचानको खोजी हुनसक्दैन । नारीवादी मान्यता अनुरुप त नारीले आफ्नो क्षमता र श्रमको व्यापार गर्नुपर्छ, नकि शरीर र सौन्दर्यको । नारी यौनिकता तथा शरीरमाथिको अधिकारको बहस शरीर संरचनाका आधारमा नारीमाथि हुने उत्पीडन र नारी देहलाई वस्तुका रूपमा हेरिने प्रवृत्तिका विरुद्ध थियो । नारी देह पुरुषको भोगविलासको साधन र आयआर्जनको सरल माध्यम मान्ने प्रवृत्तिको समर्थनका लागि थिएन । त्यसैले नारीवादीहरूले महिला बेचबिखन तथा विज्ञापन र अश्लील सामग्रीहरूमा उनीहरूको प्रयोगको खुलेर विरोध गरे, तर आजसम्म पनि यस्तो प्रवृत्ति कायमै रहनुलाई नारी अग्रगमनको सुसंकेतका रूपमा लिन सकिँदैन । नारी यौनिकताको सवाल पुरुषको मनोरञ्जनको साधन बन्नुसँग होइन, स्वतन्त्र र स्वाधीन भएर बाँच्नुसँग सम्बन्धित छ । त्यसैले जबसम्म देहव्यापार तथा देह प्रदर्शनको पुँजीवादी संस्कृतिबाट मुक्त हुने प्रयास महिला स्वयम्बाट गरिँदैन, तबसम्म जीवविज्ञानलाई नारी जातिको नियति मानेर प्रताडित गर्ने प्रवृत्तिको अन्त्य पनि सम्भव देखिँदैन ।


संघर्ष गरेर स्वतन्त्रतापूर्वक जिउनुभन्दा पुरुषको अधीनमा सुखपूर्वक जिउन चाहने एक किशोरीको भनाइ सम्झन पुग्छु, ‘भो, अब म यसभन्दा बढी पढ्दिन र काम खोज्ने त कुरै छैन । बरु आफ्नालागि योग्य वर पो खोज्ने हो । यस्तो वर जोसँग रूप, बल, धन सबै होस्, अनि त आनन्दको जीवन....।’ कलेज जाँदै गर्दा आफ्ना साथीहरूसँग उनले भनेको यो भनाइ उनको मात्र कहाँ हो र ? अल्लारे उमेरका उनीजस्ता धेरै किशोरीहरूको हो । पुरुषप्रधान संस्कृतिमा हुर्किएका उनीहरूको अचेतनमा सञ्चित यस प्रकारको रक्षिता भावले उनीहरूलाई पुरुषको संरक्षण खोज्न प्रेरित गर्छ । यही प्रेरणा नै अन्तत: उनीहरूले खेप्ने लैङ्गिक उत्पीडन र दासत्वको कारक बन्ने गर्छ । आर्थिक आधार र स्वावलम्बनको अभाव नै आज आम महिलाको समस्या बनिरहेको छ, तापनि यसप्रतिको सचेतता भने कमै महिलामा मात्र देखिन्छ । नारी वस्तु नभई मान्छे हो । अत: हरेक मान्छे आफ्नो जीवनयापन गर्नका लागि सक्षम हुन्छ, चाहे त्यो जुनसुकै सामाजिक भूमिकामा किन नहोस् । यही चेतना नै नारीवाद हो, जसले अबका दिनमा समानताको मात्र नभएर अग्रताको खोजी गर्न थालेको छ । आम दृष्टिले महिला र पुरुषबीच समानताको अवस्था पनि नभएको हाम्रो सामाजिक परिवेशमा नारी अग्रताको प्रसङ्गलाई मुर्खतापूर्ण महत्त्वाकांक्षा ठानिएला । यथार्थमा हरेक नारीभित्रको यही महत्त्वाकांक्षाले नै उसलाई आफ्नो पृथक अस्तित्वबोध गराउँदै पहिचानको खोजीतर्फ प्रेरित गराउनेछ । यही अस्तित्वबोधको संगठित बलले अन्तत: नारी अग्रताको मान्यता स्थापित गराउन नसक्ला र ?


[email protected]

प्रकाशित : फाल्गुन २३, २०७४ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?