असमानताविरूद्ध संघर्ष

सामाजिक, राजनीतिक, आर्थिक हरेक क्षेत्रमा महिला र पुरुषबीच ठूलो खाडल छ ।
दुर्गा घिमिरे

काठमाडौँ — अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थालेको एक शताब्दी नाघिसकेको छ । यो दिवस संसारैभरि उत्साह, उमंग र बिभिन्न नाराका साथ मार्च ८ मा मनाउने गरिएको छ ।

यस वर्ष नेपालको नारा छ– आर्थिक सशक्तीकरण सहितको सामाजिक जागरण : ग्रामीण तथा सहरी महिलाको जीवनस्तर रूपान्तरण । यो नारा समय सान्दर्भिक छ । अन्तर्राष्ट्रिय नारी दिवस मनाएको यति लामो समय बितिसक्दा पनि अझै विश्वब्यापी रूपमा महिलाको जीवनमा रूपान्तरण आएको छैन । सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रमा महिला र पुरुषका बीचमा प्रशस्त असमानता छ । अहिले स्थानीय तहमा ४० प्रतिशत र संसदमा ३३ प्रतिशत प्रतिनिधित्व निश्चित गरिएपछि महिलाको राजनीतिक सहभागिता उल्लेख्य वृद्धि भएको छ ।

Yamaha

अमेरिकाको न्युयोर्कमा कपडा कारखानामा काम गर्ने महिलाले सन् १९०९ मा पहिलोपटक आफूहरूमाथि भएको शोषण, असमानता र बढी समय काम गर्नुपर्ने प्रावधान विरुद्ध सडकमा आन्दोलन गरेका थिए । सन् १९११ मा अन्तर्राष्ट्रिय समाजवादी समूहहरूले डेनमार्कको कोपेनहेगनमा महिला अधिकार र महिला आन्दोलनको समर्थनमा सम्मेलन आयोजना गरेका थिए, जसमा १७ देशका १ सय महिलाको सहभागिता थियो । १९११ मा पहिलोपटक, अस्ट्रिया, डेनमार्क, जर्मनी, स्विजरल्यान्ड आदि देशमा नारी दिवस मनाइयो । विगत केही वर्षदेखि सयुक्त राष्ट्र संघले पनि यो दिवसलाई निकै महत्त्व दिएको छ ।

दस वर्ष यताका नारा १९९५ को चीनको राजधानी बेइजिङमा भएको महिलाको चौथो विश्व सम्मेलनका महिला सरोकारका बाह्रवटा विषयसँग सम्बन्धित देखिन्छन् । ती सरोकारका विषय थिए– महिला र गरिबी, महिला र आर्थिक सशक्तीकरण, महिला विरुद्ध हिंसा, महिलाको मानवअधिकार, शक्ति संरचनाका बिभिन्न तहमा महिला सहभागिता, संस्थागत संरचनामा महिला सहभागिता, बालिका, महिला र वातावरण, महिला र स्वास्थ्य, महिला । आज पनि विश्वका महिलाको प्रमुख सरोकारका विषय यिनै देखिन्छन् ।

सरसर्ती हेर्दा महिलाले समानताको लडाइँ लडेको १०९ वर्ष भइसकेको छ । तर पनि महिला विरुद्ध असमानता, विभेद, शोषण धेरै देशमा अन्त्य भइसकेको छैन । कतै धर्म र संस्कृति, कतै परम्परा र प्रचलन, कतै मानव निर्मित कानुनले महिलालाई विभेद र शोषण गरेका छन् । सामाजिक, राजनीतिक, आर्थिक हरेक क्षेत्रमा महिला र पुरुषबीच ठूलो खाडल छ । अझ महिलामाथि हुने हिंसा चरम उत्कर्षमा देखिन्छ । संयुक्त राष्ट्र संघले विश्वका महिलाको अवस्थाबारे सन् २०१० मा गरेको अध्ययन प्रतिवेदनले महिलाको जनसंख्या, स्वास्थ्य, शिक्षा, आर्थिक अवस्था आदिमा केही सकारात्मक परिवर्तन देखिए पनि महिलामाथि हुने हिंसामा कमी नआएको देखाएको छ ।
नेपालमा मात्र हैन, अन्य धेरै देशमा भएका हिंसाका घटनाले पनि यस कुरालाई पुष्टि गर्छन् ।

बालिका, महिलामाथि यौन दुव्र्यवहारका घटनाका खबर दिनानुदिन आइरहेका छन् । बलात्कारका कैयौं घटनापछि बालिकाको हत्यासमेत गरिएको पाइन्छ । मानव बेचबिखन सम्बन्धी अपराध, बालविवाह, बहुविवाह, घरेलु हिंसा, बोक्सीको आरोपमा महिलामाथि हुने गरेको हिंसा र हत्याका घटना नियन्त्रण प्रभावकारी बन्नसकेको देखिँदैन । कतिपय अवस्थामा कानुन पनि प्रभावकारी पाइँदैन । महिलाको अधिकार स्थापित गर्न र लैंगिक समानता कायम गर्न प्रशस्तै चुनौती छन् । कानुनले व्यवस्था गरेका अधिकार बहुसंख्यक महिलाका लागि आकाशको फलजस्तो भएका छन् । त्यसैले सबैले चनाखो भएर कानुन कार्यान्वयनमा जोड दिन आवश्यक छ ।

महिलाले आफूमाथि भएको असमान व्यवहार, अन्याय र अत्याचार विरुद्ध संगठित रूपमा दरिलो आवाज उठाउनुपर्छ । किनभने संगठित रूपमा उठाएको आवाजमा ठूलो शक्ति हुन्छ । महिलामाथि विभेद र कुनै पनि किसिमको शोषण गरिनु हुँदैन । महिलाको अधिकार पनि मानवअधिकार हो भन्ने कुरालाई आत्मसात गर्न जरुरी छ । विशेष गरेर यो कुरा नीति निर्माणमा बस्नेहरूले राम्ररी बुझ्नुपर्छ । यस्तै आफूमाथि हुने अन्याय विरुद्ध बोल्नुपर्छ ।

महिलाले आफूमाथि भएका असमानता र अन्याय विरुद्ध मौन भएर बस्नु हँुदैन । सबैले बुझ्नुपर्ने कुरा के हो भने महिलाको आवाजलाई दबाउन सकिँदैन । नीति निर्माता, प्रशासक, राजनीतिक पार्टीका नेताहरूले पनि महिलाको आवाजलाई सुन्नुपर्छ । विकासका हरेक आयाममा महिलालाई समावेश नगरे दिगोपन हुनसक्दैन ।

आज संसारैभरि नारी दिवस महिलाले मात्र मनाउँदैनन्, पुरुषले पनि बिभिन्न कार्यक्रमका साथ मनाउँछन् । पुरुष र महिला दुबै मिलेरै नारी दिवस मनाए यसको महत्त्व अझ बढ्दै जान्छ ।

प्रकाशित : फाल्गुन २४, २०७४ ०७:१७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

राईको बिदाइ

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रवासमा बसेर पनि नेपाली साहित्यको श्रीवृद्धिमा जीवनपर्यन्त समर्पित हुने भाषासेवीमध्ये इन्द्रबहादुर राईको नाम अग्रणी पङ्क्तिमा आउँछ । नेपाल भाषा जाति र संस्कृतिको सेरोफेरोमा रचना गरिएका उनका काव्यकृति नेपाली साहित्यमा रुचाइएका र कहिल्यै नमेटिने सितारा हुन् ।

उनका सबै कृतिको आआफ्नै विशेषता भए पनि‘आज रमिता छ’ उपन्यासले प्रस्तुत गरेको देशभक्ति र ‘रातभरि हुरी चल्यो’ कथाको जीवन दर्शनले पाठक,श्रोता सबैलाई पटक–पटक आफू र देशका लागि सोच्न बाध्य तुल्याउँछन् ।
तेस्रो आयाम र लीला लेखनका माध्यमबाट नेपाली साहित्यमा विभिन्न तरङ्ग सिर्जना गरेर भाषा साहित्यको विकासमा महत्त्वपूर्ण भूमिका खेलेका राई नेपाली साहित्याकाशका कहिल्यै ननिभ्ने चम्किला तारा हुन् । करिब ६ दशकको जोशिलो साहित्यिक यात्रा र ९० वर्षको पाको शरीरले मङ्गलबार दार्जिलिङमा विश्राम लियो । राईको निधनले तेस्रो आयामको खम्बामात्र ढलेन, लीला लेखनको दीयो मधुरो भएको छ ।
जीवनको अर्थ बुझ्न र त्यसलाई सार्थकता दिन जोकोहीका लागि सम्भव छैन । राईले आफूलाई मात्र बुझेनन्, आफ्ना काव्यकृतिका माध्यमबाट अरुले पनि आफूलाई बुझ्ने दरिलो आधारसमेत तयार गरे । यही नै महानताको चिनारी हो, जातिप्रतिको आत्मीयता हो र भाषा, साहित्यप्रतिको सच्चा उपासना पनि । ‘आज रमिता छ’ उपन्यासको अंग्रेजी अनुवादका माध्यमबाट विश्व साहित्यले पनि उनको बौद्धिकता, हार्दिकता र भाषा साहित्यप्रतिको आत्मीयताको मूल्याङ्कन गर्नसके उनको मृतात्माले अझ बढी शान्तिको महसुस गर्ने थियो । भौतिक रूपमा यो संसारमा नरहे पनि उनी नेपाली जाति र नेपाली साहित्यका सदैव प्रेरणाका स्रोत बनेका छन् । उनको मृतात्मालाई शान्ति मिलोस् ।
– लक्ष्मीनारायण मिश्र
शिवसताक्षी नपा–११, झापा
***
बर्माबाट लखेटिएका नेपालीहरूमध्ये जयमायालाई लिखापानीसम्म ल्याएर उद्धार गर्‍यौ । सुखका लागि गाउँ छोडेर सहर अनि सहर छोडेर गाउँको बसाइँ खोज्ने निम्न वर्गीय नेपालीको घरमा रातभरि हुरी चलिरहेको चित्रण गरिरह्यो । तेस्रो आयामको तेस्रो आँखाले नेपाली साहित्यलाई हेर्न खोजेर हलचल नै मच्चायौ । अन्तत: ‘आज रमिता छ’ भन्दाभन्दै सांसारिक लीलालेखन सबैलाई बुझाएर तिमी सदाका लागि सशरीर अस्तायौ । तर तिम्रो कीर्तिमय उज्यालो नेपाली वाङ्मयमा सदैव जीवन्त रहिरहने छ । तिम्रो शाश्वत महाप्रयाण सुखद रहोस् !हार्दिक श्रद्धाञ्जली ।
– डा. मतिप्रसाद ढकाल
गैंडाकोट, नवलपुर

प्रकाशित : फाल्गुन २४, २०७४ ०७:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT