कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हार्दिक श्रद्धाञ्जली स्रष्टा राई

सम्पादकीय

काठमाडौँ — नेपाली भाषा–वाङ्मयमा इन्द्रबहादुर राई (विसं १९८४–२०७४) लाई साहित्यिक प्रयोग, लेखनशिल्प र अति साधारण विषयमा मानवीय संवेदना भरेर लेख्न सक्ने सिद्धहस्त स्रष्टाका रूपमा चिनिने गरेको छ ।

भारतको दार्जिलिङमा जन्मे–हुर्केर नेपाली भाषा साहित्यको वृहत्तर चिन्ता र प्रवद्र्धनमा लागिपरेका स्रष्टा राईले लेखकीय धर्म निर्वाह गर्ने कुरामा नेपाली जाति, सभ्यता, संस्कृति र कठिनाइका मिहिन विषयहरूलाई मात्रै आफ्नो लेखनमा उठाइरहे । उनको ९० वर्षको उमेरमा मंगलबार निधन हुँदा केवल एक नेपालीभाषी भारतीय लेखकको निधन भएको नठानी देश–विदेशमा रहेका नेपालीभाषी पाठक तथा शुभेच्छुकहरूले ‘एकजना नेपाली बौद्धिक, प्राज्ञिक र लोकप्रिय लेखक’को युग टुंगिएको अनुभूति गरेका छन् ।


बौद्धिक र प्राज्ञिक धरातलमा उभिएर पनि अति सामान्य जनचासोका विषयलाई सामान्य तवरमै उठाउन सक्ने क्षमता राख्ने साहित्यकार राईको ‘आज रमिता छ’ उपन्यासले पूर्वी नेपालदेखि दार्जिलिङसम्मको जनजीवन र अस्थिर समाजको चित्रलाई उतारेको छ । उनका ‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’, ‘जार : भएको एउटा कथा’, ‘खिर’, ‘रातभरि हुरी चल्यो’ जस्ता कथाले नेपाली साहित्यमा अति सीमित पृष्ठभूमि र कथासार समातेर पनि कालजयी प्रभाव छाड्न सकेका छन् ।


नेपाली साहित्यमा गुरुप्रसाद मैनालीको परम्परागत शैली र सिर्जनाको लगातारको प्रभाव कायमै रहेका बेला दार्जिलिङवासी आईबी राईले विषयवस्तु, लेखन र शैलीमा समेत पुन:व्याख्या तथा पुन:संरचना भित्र्याएका थिए । साहित्यिक आन्दोलनका रूपमा आयामेली र लीला लेखनका भिन्न स्वरूपहरूमा लागिपरे पनि लेखनमा ‘सम्पूर्णता’ भित्र्याउने सिद्धान्त र प्रयोगको सेतु बनेर आईबी उभिएका थिए । भारतीय संविधानमा नेपाली भाषालाई मान्यता दिलाउन चलेको आन्दोलनदेखि गोर्खाल्यान्ड अभियानसम्म समन्वयी नाम बनेर भारतभर चिनिएका राई नेपालमा हुने साना वा ठूला साहित्यिक कार्यक्रमहरूमा निम्तो पाउनासाथ आइपुग्थे ।


भाषा, साहित्य र संस्कृतिका हिसाबमा नेपालीभाषीलाई एउटै छातामा राखेर व्याख्या गर्न रुचाउने राई नेपाली जाति र जातित्वको मन्त्र सबैलाई सुनाउन चाहन्थे । नेपाली भाषाका साधक र सेवक भएकै कारण राईलाई नेपालबाट प्रतिष्ठित जगदम्बा पुरस्कार दिइएको थियो भने भारतले प्रतिष्ठित साहित्य अकादमी पुरस्कार दिएको थियो । नेपाली भाषा–वाङ्मयको श्रीवृद्धिमा लेखक आईबी राईले दिएको योगदान र नेपाल–भारतका साहित्यिकारबीच उनले बनाएको भावना–संवेदनाको साहित्यिक–पुल सधैंसधैं स्मरणमा आइरहनेछ ।


साहित्यलाई सधैं पूजनीय सिर्जना ठान्ने आईबीले साहित्यलाई गहिरो साधना र चिन्तनको माध्यम मात्रै बनाइरहे । आफ्नो भाषा–साहित्य र वाङ्मय जगत्सँग पाश्चात्य लेखन, शैली र प्रयोगको तुलना गर्दै सकेसम्म परिष्कार खोज्ने आईबीको शैली आफैंमा अनुकरणीय थियो । एक/दुईवटा हलुका गीत/कविता वा रचना कोरेकै भरमा वरिष्ठ र विशिष्टको पगरी आफैंले आफैंलाई भिराउने नेपाली लेखकहरूको भीडमा आईबी अपवाद थिए ।


उनले नेपाल र भारतका केही विश्वविद्यालयबाट महाविद्यावारिधि उपाधिसमेत पाए, तर सधैं एउटा साधारण लेखकको साधारण जीवनशैलीमै उनले आफ्नो सिर्जनधर्मलाई निर्वाह गरिरहे । ‘अहम्, दम्भसहित म मात्रै राम्रो’ भन्ने भ्रम पालेर बसिरहेका जोकोहीलाई आदरणीय आईबी राईले भन्ने गरेको ‘मैले राम्रै–राम्रो काम गरेको हुँला भन्ने छैन । मलाई सम्झनेले मेरो भूलसहित सम्झना गरिदियून्’को सत्विचार आफैंमा मननीय हुन सक्छ । नेपाल–भारतबीच र विश्वभरका नेपालीभाषी पाठकका बीच प्रिय लेखकको सेतु बनेका इन्द्रबहादुर राईलाई हार्दिक श्रद्धाञ्जली !

प्रकाशित : फाल्गुन २४, २०७४ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?