मिर्गौला बचाऔं

सन्दर्भ : विश्व मिर्गौला दिवस
डायलाइसिस र प्रत्यारोपण नि:शुल्क भए पनि औषधि आफैं खरिद गर्नुपर्छ, जुन महँगो छ ।
डा. ऋषिकुमार काफ्ले

काठमाडौँ — प्रत्येक मानिसभित्र शरीर स्वस्थ राख्न मद्दत गरिरहेको एउटा अंग हो, मिर्गौला । मेरुदण्डको दुवैतर्फ एक–एक मिर्गौला हुन्छ । कैयांै व्यक्ति एउटामात्र मिर्गौला लिएर जन्मेका हुन्छन् ।

पूर्ण जीवन स्वस्थ बाँच्नका लागि स्वस्थ मिर्गौला एउटैमात्र पनि काफी छ । अहिले के प्रमाणित भएको छ भने मिर्गौला कति गतिलो र बलियो छ भन्ने आमाको कोखमा रहँदै टुंगो लाग्ने गर्छ ।

Yamaha

आमाको खानपिनसन्तुलित रहे बच्चाको मिर्गौला बलियो हुने रहेछ । सामान्यतया हुनुपर्ने तौल लिएर जन्मेको बच्चामा मात्र मिर्गौलाले काम गर्ने इकाइ–नेफ्रोन १० लाख हुने रहेछ । त्यसैगरी ३० वर्षपछि मिर्गौला बूढो हुनथाल्छ र क्रमश: ती नेफ्रोन घट्न थाल्छन् । स्वस्थ व्यक्ति ९० वर्ष पुग्दा मिर्गौलाले जम्माजम्मी ५० प्रतिशतमात्र काम गर्छ । तर त्यो स्वस्थ रहन पर्याप्त रहेछ ।

मिर्गौला बलियो भए पनि अस्वस्थ जीवनशैली, उच्च रक्तचाप, मधुमेह, जथाभावी कडा औषधि सेवनले बिगार्न सक्ने रहेछ । कमसल मिर्गौला भएको व्यक्तिको के गति हुन्छ, स्वत: बुझ्न सकिन्छ । भित्र रोग सुरु हँुदा र त्यो रोगले मिर्गौला बिगँ्रदै जाँदासमेत उक्त व्यक्तिमा कुनै लक्षण नदेखिने हुनाले समयमै परीक्षण गर्ने प्रश्न त उठ्ने नै भएन । यसरी बाहिरबाट स्वस्थ हँुदैमा मिर्गौला स्वस्थ नहुन सक्छ ।

त्यसैले यो देशमा ३० लाख व्यक्तिमा केही न केही मिर्गौलाको समस्या रहेको अनुमान गरिएको छ । त्यसैगरी ३ लाख व्यक्तिको मिर्गौला बिग्रन थालिसकेको छ । ३० हजार व्यक्तिको मिर्गौला निको पार्न नसक्नेगरी बिग्रिसकेको अनुमान छ र प्रत्येक वर्ष ३ हजार व्यक्ति मिर्गौला बिग्रेर अन्तिम अवस्थामा पुग्ने रहेछन्, जसलाई बचाउन डायलाइसिस वा मिर्गौला प्रत्यारोपण चाहिन्छ ।

डायलाइसिस अर्थात रगतबाट फोहोर घटाउने उपचारविधि प्रत्येक साता तीनपटक गर्नुपर्छ र एक पटकमा कम्तीमा चार घन्टा गरिन्छ । पानी डायलाइसिस अर्थात पेटभित्र विशेष पानी हाली रगतमा रहेको विकार घटाउने विधिलाई पेरिटोनियल डायलाइसिस भनिन्छ । यो प्रत्येक दिनमा तीनपटक घरमै गर्नुपर्छ । यो बिरामी आफै वा परिवारका सदस्यले गर्न सक्छन् । यो गर्न डाक्टर, नर्स वा मेसिन चाहिँदैन । यो उपचार बाँचुन्जेल वा मिर्गौला प्रत्यारोपण नगरुन्जेल जारी राख्नुपर्छ ।

मिर्गौला प्रत्यारोपणमा आफन्तको मिर्गौला अपरेसन गरी निकालेर बिरामी व्यक्तिको शरीरमा जोडिन्छ । तर जति नजिकको आफन्त भए पनि राखेको मिर्गौलाले काम गरोस् भनी विशेष औषधि जीवनभरि सेवन गर्नुपर्ने हुन्छ । हाम्रो देशमा हाल आएर डायलाइसिस र प्रत्यारोपण निशुल्क छ । तर त्यो औषधि आफै खरिद गर्नुपर्छ, जुन महँगो छ ।

एकातर्फ मिर्गौला रोगी बढ्दै जाने अर्कोतर्फ उपचार महँगो हुँदा सबैले धान्न नसक्ने अवस्थामा विश्वभरि मार्च महिनाको दोस्रो बिहीबार विश्व मिर्गौला दिवस मनाउन थालिएको हो । यसलाई सार्थक बनाउन नयाँ प्रयासको सुरुवात भएको छ– मिर्गौला बचाऔं अभियान । रोकथाम उपचारभन्दा वेश हुन्छ भनेर मात्र भएन, गरेर देखाउनुपर्ने हुन्छ । मिर्गौलाबारे जानकारी दिने, मिर्गौला स्वस्थ राख्ने तरिकाबारे ज्ञान बाँड्ने, मिर्गौला स्वस्थ छ–छैन भनी वार्षिक परीक्षण गर्ने बानी बसाल्ने, समय–समयमा निशुल्क मिर्गौला परीक्षण शिविर सञ्चालन गर्ने र उपचार विधिमा सर्वसाधारण जनताको पहुँच बढाउने उद्देश्यले सञ्चालित यो अभियानमा जतिसक्दो बढी मानिसको सहभागिता आवश्यक देखिन्छ ।

प्रत्येक व्यक्तिबाट वार्षिक पाँच सय नेपाली रुपैयाँँ सहयोग आह्वान गरिएको छ । मानिसले यो रकमलाई दान सम्झेर दिनु वेश हुनेछ । केही पाउने प्रलोभनको व्यवस्थापन सजिलो हुने रहेनछ । त्यसैले राम्रो काममा सहयोग पुर्‍याउने यो अभियानमा सहभागी होऔं । थोपा–थोपाबाट समुद्र बनेझंै एक–एक रुपियाँबाट यथेष्ट रकम जम्मा हुनसक्छ, जसबाट मिर्गौला बचाऔं अभियान सशक्त हुनसक्छ । यसले स्वस्थ मिर्गौला स्वस्थ नेपाल बनाउन मद्दत गर्छ ।

प्रकाशित : फाल्गुन २४, २०७४ ०७:१९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

हार्दिक श्रद्धाञ्जली स्रष्टा राई

सम्पादकीय

काठमाडौँ — नेपाली भाषा–वाङ्मयमा इन्द्रबहादुर राई (विसं १९८४–२०७४) लाई साहित्यिक प्रयोग, लेखनशिल्प र अति साधारण विषयमा मानवीय संवेदना भरेर लेख्न सक्ने सिद्धहस्त स्रष्टाका रूपमा चिनिने गरेको छ ।

भारतको दार्जिलिङमा जन्मे–हुर्केर नेपाली भाषा साहित्यको वृहत्तर चिन्ता र प्रवद्र्धनमा लागिपरेका स्रष्टा राईले लेखकीय धर्म निर्वाह गर्ने कुरामा नेपाली जाति, सभ्यता, संस्कृति र कठिनाइका मिहिन विषयहरूलाई मात्रै आफ्नो लेखनमा उठाइरहे । उनको ९० वर्षको उमेरमा मंगलबार निधन हुँदा केवल एक नेपालीभाषी भारतीय लेखकको निधन भएको नठानी देश–विदेशमा रहेका नेपालीभाषी पाठक तथा शुभेच्छुकहरूले ‘एकजना नेपाली बौद्धिक, प्राज्ञिक र लोकप्रिय लेखक’को युग टुंगिएको अनुभूति गरेका छन् ।

बौद्धिक र प्राज्ञिक धरातलमा उभिएर पनि अति सामान्य जनचासोका विषयलाई सामान्य तवरमै उठाउन सक्ने क्षमता राख्ने साहित्यकार राईको ‘आज रमिता छ’ उपन्यासले पूर्वी नेपालदेखि दार्जिलिङसम्मको जनजीवन र अस्थिर समाजको चित्रलाई उतारेको छ । उनका ‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’, ‘जार : भएको एउटा कथा’, ‘खिर’, ‘रातभरि हुरी चल्यो’ जस्ता कथाले नेपाली साहित्यमा अति सीमित पृष्ठभूमि र कथासार समातेर पनि कालजयी प्रभाव छाड्न सकेका छन् ।

नेपाली साहित्यमा गुरुप्रसाद मैनालीको परम्परागत शैली र सिर्जनाको लगातारको प्रभाव कायमै रहेका बेला दार्जिलिङवासी आईबी राईले विषयवस्तु, लेखन र शैलीमा समेत पुन:व्याख्या तथा पुन:संरचना भित्र्याएका थिए । साहित्यिक आन्दोलनका रूपमा आयामेली र लीला लेखनका भिन्न स्वरूपहरूमा लागिपरे पनि लेखनमा ‘सम्पूर्णता’ भित्र्याउने सिद्धान्त र प्रयोगको सेतु बनेर आईबी उभिएका थिए । भारतीय संविधानमा नेपाली भाषालाई मान्यता दिलाउन चलेको आन्दोलनदेखि गोर्खाल्यान्ड अभियानसम्म समन्वयी नाम बनेर भारतभर चिनिएका राई नेपालमा हुने साना वा ठूला साहित्यिक कार्यक्रमहरूमा निम्तो पाउनासाथ आइपुग्थे ।

भाषा, साहित्य र संस्कृतिका हिसाबमा नेपालीभाषीलाई एउटै छातामा राखेर व्याख्या गर्न रुचाउने राई नेपाली जाति र जातित्वको मन्त्र सबैलाई सुनाउन चाहन्थे । नेपाली भाषाका साधक र सेवक भएकै कारण राईलाई नेपालबाट प्रतिष्ठित जगदम्बा पुरस्कार दिइएको थियो भने भारतले प्रतिष्ठित साहित्य अकादमी पुरस्कार दिएको थियो । नेपाली भाषा–वाङ्मयको श्रीवृद्धिमा लेखक आईबी राईले दिएको योगदान र नेपाल–भारतका साहित्यिकारबीच उनले बनाएको भावना–संवेदनाको साहित्यिक–पुल सधैंसधैं स्मरणमा आइरहनेछ ।

साहित्यलाई सधैं पूजनीय सिर्जना ठान्ने आईबीले साहित्यलाई गहिरो साधना र चिन्तनको माध्यम मात्रै बनाइरहे । आफ्नो भाषा–साहित्य र वाङ्मय जगत्सँग पाश्चात्य लेखन, शैली र प्रयोगको तुलना गर्दै सकेसम्म परिष्कार खोज्ने आईबीको शैली आफैंमा अनुकरणीय थियो । एक/दुईवटा हलुका गीत/कविता वा रचना कोरेकै भरमा वरिष्ठ र विशिष्टको पगरी आफैंले आफैंलाई भिराउने नेपाली लेखकहरूको भीडमा आईबी अपवाद थिए ।

उनले नेपाल र भारतका केही विश्वविद्यालयबाट महाविद्यावारिधि उपाधिसमेत पाए, तर सधैं एउटा साधारण लेखकको साधारण जीवनशैलीमै उनले आफ्नो सिर्जनधर्मलाई निर्वाह गरिरहे । ‘अहम्, दम्भसहित म मात्रै राम्रो’ भन्ने भ्रम पालेर बसिरहेका जोकोहीलाई आदरणीय आईबी राईले भन्ने गरेको ‘मैले राम्रै–राम्रो काम गरेको हुँला भन्ने छैन । मलाईसम्झनेले मेरो भूलसहित सम्झना गरिदियून्’को सत्विचारआफैंमा मननीय हुन सक्छ । नेपाल–भारतबीच र विश्वभरका नेपालीभाषी पाठकका बीच प्रिय लेखकको सेतु बनेका इन्द्रबहादुर राईलाई हार्दिक श्रद्धाञ्जली !

प्रकाशित : फाल्गुन २४, २०७४ ०७:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT