कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

मिर्गौला बचाऔं

सन्दर्भ : विश्व मिर्गौला दिवस
डायलाइसिस र प्रत्यारोपण नि:शुल्क भए पनि औषधि आफैं खरिद गर्नुपर्छ, जुन महँगो छ ।
डा. ऋषिकुमार काफ्ले

काठमाडौँ — प्रत्येक मानिसभित्र शरीर स्वस्थ राख्न मद्दत गरिरहेको एउटा अंग हो, मिर्गौला । मेरुदण्डको दुवैतर्फ एक–एक मिर्गौला हुन्छ । कैयांै व्यक्ति एउटामात्र मिर्गौला लिएर जन्मेका हुन्छन् ।

मिर्गौला बचाऔं

पूर्ण जीवन स्वस्थ बाँच्नका लागि स्वस्थ मिर्गौला एउटैमात्र पनि काफी छ । अहिले के प्रमाणित भएको छ भने मिर्गौला कति गतिलो र बलियो छ भन्ने आमाको कोखमा रहँदै टुंगो लाग्ने गर्छ ।


आमाको खानपिन सन्तुलित रहे बच्चाको मिर्गौला बलियो हुने रहेछ । सामान्यतया हुनुपर्ने तौल लिएर जन्मेको बच्चामा मात्र मिर्गौलाले काम गर्ने इकाइ–नेफ्रोन १० लाख हुने रहेछ । त्यसैगरी ३० वर्षपछि मिर्गौला बूढो हुनथाल्छ र क्रमश: ती नेफ्रोन घट्न थाल्छन् । स्वस्थ व्यक्ति ९० वर्ष पुग्दा मिर्गौलाले जम्माजम्मी ५० प्रतिशतमात्र काम गर्छ । तर त्यो स्वस्थ रहन पर्याप्त रहेछ ।


मिर्गौला बलियो भए पनि अस्वस्थ जीवनशैली, उच्च रक्तचाप, मधुमेह, जथाभावी कडा औषधि सेवनले बिगार्न सक्ने रहेछ । कमसल मिर्गौला भएको व्यक्तिको के गति हुन्छ, स्वत: बुझ्न सकिन्छ । भित्र रोग सुरु हँुदा र त्यो रोगले मिर्गौला बिगँ्रदै जाँदासमेत उक्त व्यक्तिमा कुनै लक्षण नदेखिने हुनाले समयमै परीक्षण गर्ने प्रश्न त उठ्ने नै भएन । यसरी बाहिरबाट स्वस्थ हँुदैमा मिर्गौला स्वस्थ नहुन सक्छ ।


त्यसैले यो देशमा ३० लाख व्यक्तिमा केही न केही मिर्गौलाको समस्या रहेको अनुमान गरिएको छ । त्यसैगरी ३ लाख व्यक्तिको मिर्गौला बिग्रन थालिसकेको छ । ३० हजार व्यक्तिको मिर्गौला निको पार्न नसक्नेगरी बिग्रिसकेको अनुमान छ र प्रत्येक वर्ष ३ हजार व्यक्ति मिर्गौला बिग्रेर अन्तिम अवस्थामा पुग्ने रहेछन्, जसलाई बचाउन डायलाइसिस वा मिर्गौला प्रत्यारोपण चाहिन्छ ।


डायलाइसिस अर्थात रगतबाट फोहोर घटाउने उपचारविधि प्रत्येक साता तीनपटक गर्नुपर्छ र एक पटकमा कम्तीमा चार घन्टा गरिन्छ । पानी डायलाइसिस अर्थात पेटभित्र विशेष पानी हाली रगतमा रहेको विकार घटाउने विधिलाई पेरिटोनियल डायलाइसिस भनिन्छ । यो प्रत्येक दिनमा तीनपटक घरमै गर्नुपर्छ । यो बिरामी आफै वा परिवारका सदस्यले गर्न सक्छन् । यो गर्न डाक्टर, नर्स वा मेसिन चाहिँदैन । यो उपचार बाँचुन्जेल वा मिर्गौला प्रत्यारोपण नगरुन्जेल जारी राख्नुपर्छ ।


मिर्गौला प्रत्यारोपणमा आफन्तको मिर्गौला अपरेसन गरी निकालेर बिरामी व्यक्तिको शरीरमा जोडिन्छ । तर जति नजिकको आफन्त भए पनि राखेको मिर्गौलाले काम गरोस् भनी विशेष औषधि जीवनभरि सेवन गर्नुपर्ने हुन्छ । हाम्रो देशमा हाल आएर डायलाइसिस र प्रत्यारोपण निशुल्क छ । तर त्यो औषधि आफै खरिद गर्नुपर्छ, जुन महँगो छ ।


एकातर्फ मिर्गौला रोगी बढ्दै जाने अर्कोतर्फ उपचार महँगो हुँदा सबैले धान्न नसक्ने अवस्थामा विश्वभरि मार्च महिनाको दोस्रो बिहीबार विश्व मिर्गौला दिवस मनाउन थालिएको हो । यसलाई सार्थक बनाउन नयाँ प्रयासको सुरुवात भएको छ– मिर्गौला बचाऔं अभियान । रोकथाम उपचारभन्दा वेश हुन्छ भनेर मात्र भएन, गरेर देखाउनुपर्ने हुन्छ । मिर्गौलाबारे जानकारी दिने, मिर्गौला स्वस्थ राख्ने तरिकाबारे ज्ञान बाँड्ने, मिर्गौला स्वस्थ छ–छैन भनी वार्षिक परीक्षण गर्ने बानी बसाल्ने, समय–समयमा निशुल्क मिर्गौला परीक्षण शिविर सञ्चालन गर्ने र उपचार विधिमा सर्वसाधारण जनताको पहुँच बढाउने उद्देश्यले सञ्चालित यो अभियानमा जतिसक्दो बढी मानिसको सहभागिता आवश्यक देखिन्छ ।


प्रत्येक व्यक्तिबाट वार्षिक पाँच सय नेपाली रुपैयाँँ सहयोग आह्वान गरिएको छ । मानिसले यो रकमलाई दान सम्झेर दिनु वेश हुनेछ । केही पाउने प्रलोभनको व्यवस्थापन सजिलो हुने रहेनछ । त्यसैले राम्रो काममा सहयोग पुर्‍याउने यो अभियानमा सहभागी होऔं । थोपा–थोपाबाट समुद्र बनेझंै एक–एक रुपियाँबाट यथेष्ट रकम जम्मा हुनसक्छ, जसबाट मिर्गौला बचाऔं अभियान सशक्त हुनसक्छ । यसले स्वस्थ मिर्गौला स्वस्थ नेपाल बनाउन मद्दत गर्छ ।

प्रकाशित : फाल्गुन २४, २०७४ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?