१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

महिलाको होस्टे, पुरुषको हैंसे

सन्दर्भ : अन्तर्राष्ट्रिय नारी दिवस
महिलाका सवाल महिलाले मात्रै बोल्नुपर्छ भन्ने मान्यता विस्तारै भत्किँदैछ । यो क्रम बढोस् । अग्रजहरू पथप्रदर्शक बनुन् ।
दुर्गा कार्की

काठमाडौँ — भारतीय महिला अधिकारकर्मी कमला भासिनले बारम्बार भन्ने गर्छिन्– ‘पितृसत्ताले जति महिलालाई हिंसा गरिरहेको छ, त्योभन्दा बढी पीडित पुरुषलाई बनाएको छ ।’ 

महिलाको होस्टे, पुरुषको हैंसे

पितृसत्ता वा पितृसत्तात्मक सोचजस्ता शब्द सुन्ने बित्तिकै धेरैले निधार खुम्च्याउँछन् र झिञ्जो मान्छन् । तर यो शब्दले खालि पुरुषलाई मात्र जनाउँदैन, महिलामा पनि यस्तो सोच हुन्छ । पितृसत्ता वा पितृसत्तात्मक सोच भनेको शक्ति सम्बन्ध हो । यसको अर्थ जो शक्तिमा हुन्छ, ऊसँग स्रोतको पहँुच हुन्छ र उसले आफूभन्दा कमजोरलाई विभेद र हिंसा गर्छ । यसर्थ महिला पनि शक्तिमा छन् भने आफूभन्दा कमजोरलाई विभेद गर्छन् । यही हो, पितृसत्तात्मक सोच ।


महिलामाथिको हिंसाका कुरा गर्ने बित्तिकै हामीमध्ये धेरैले सामना गर्ने प्रश्न हो, महिलाले महिलालाई धेरै हिंसा गरिरहेछन् । जस्तै– सासुले बुहारीलाई, नन्दले भाउजुलाई, जेठानीले देवरानीलाई यस्तै–यस्तै । यो मात्रै होइन, घरमा काम गर्न राखेको मानिस पुरुष छ भने पनि ऊमाथि महिलाबाटै उत्तिकै हिंसा र विभेद हुन्छ, भइराखेको छ । त्यसैले यस्तो सोच वा व्यवहार शक्ति सम्बन्ध र स्रोतमाथिको नियन्त्रण वा पहुँचको उपज हो र यो पितृसत्तात्मक सोचले ल्याएको परिणाम हो । किनभने त्यहाँ सबैभन्दा निरीह, स्रोत र शक्तिविहीन जो छ, उसैमाथि हिंसा भइरहेछ । त्यसैले यो सोच पुरुषमा मात्रै निहित हुँदैन, महिलामा पनि हुन्छ ।


सामान्यतया धेरैजसो घर र सम्पत्तिका मालिक, कार्यालयका हाकिम लगायत देशको नेतृत्व तहमा पुरुष छन् । सम्पत्ति वा स्रोतसाधन पुरुषको नियन्त्रणमा छ, कानुन पुरुषले बनाउँछन्, घरदेखि सबै निर्णय गर्ने ठाउँमा पुरुष छन्, त्यसैले यस्तो शक्तिको अभ्यास पुरुषबाट धेरै भैरहेको छ, त्यसैले विभेद र हिंसामा प्रत्यक्ष संलग्न पनि पुरुष नै धेरै देखिन्छन् ।


नेपाल प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७२/०७३ मा ११ हजार ४ सय ७२ जना महिलामाथि हिंसा भयो । तीमध्ये ९ हजार २ सय ९८ महिला घरेलु हिंसाका सिकार भए । यो तथ्याङ्कले महिला आफ्नै र आफन्तबाटै सबैभन्दा धेरै असुरक्षित छन् भन्ने देखाउँछ । घरेलु हिंसामा सबैभन्दा धेरै श्रीमान र त्यसपछि परिवारको संलग्नता देखिएको प्रहरीको भनाइ छ । यस्तै इन्सेकले निकालेको मानवअधिकार वर्ष पुस्तक २०१८ का अनुसार गतवर्ष मानवअधिकार उल्लंघनका ६ हजार ५९ वटा घटना भए । यी मध्ये ५ हजार २ सय ८२ वटा महिलासँग सम्बन्धित थिए ।


यहाँ सबै पुरुषलाई आरोप लगाउन खोजिएको पटक्कै होइन र सबै पुरुष पीडकमात्रै हुन् भन्न खोजिएको पनि होइन । तर दाइजो कम ल्याएको नाममा श्रीमती जलाउनेदेखि आफ्नै छोरी–बुहारी, नातिनी, भतिजी, भान्जी बलात्कार गर्ने पुरुषहरूका कारण विश्वास गर्ने वातावरण नभएको र सबै पुरुष परपीडक हुन् भन्ने नराम्रो खालको सन्देश गएको देखिन्छ । त्यसैले यस्तो नराम्रो सन्देशलाई चिर्न अब महिला आन्दोलन वा महिला हिंसा विरुद्धको आन्दोलनमा पुरुषको सहभागिता अनिवार्य देखिन्छ, ताकि हिंसामा संलग्नहरूमा पनि केही चेतना आओस्, हिंसा गर्न निरुत्साहित बनुन् । किनकि अझै पनि यो मुद्दा महिलाको मात्रै छ र उनीहरूको कुरा कमैमात्र सुनिन्छ । त्यसैले पुरुषले महिला हिंसा विरुद्ध आवाज उठाउँदा यो बलियो हुन्छ र सुनिन्छ भन्ने विश्वास छ ।


अहिले महिला अधिकार र उनीहरूमाथि भइरहेको हिंसा विरुद्ध आवाज उठाउने पुरुषहरूको जमात उल्लेख्य बढेको छ । सामाजिक सञ्जालमा बलात्कार विरुद्ध आत्मग्लानि सहितका सन्देश बेला–बेला देखिन्छ । ‘आफूलाई पुरुष हुँ भन्न लाज लाग्छ’ भन्ने अभिव्यक्ति पनि निकै देखिन थालेका छन् । लैंगिक हिंसा विरुद्ध युवा पुरुषको अभिव्यक्ति सुन्दा र अभियानमा उनीहरूलाई पाउँदा लाग्छ, अब आउँदो पुस्ताका महिलाले यस्ता निकृष्ट खालका हिंसाबाट गुज्रनु पर्दैन कि !


‘जसको सवाल उसकै अगुवाइ’ भन्दै महिला तथा दलित, जनजाति, मधेसी, अपांगता भएकाले आफ्नो अधिकार प्राप्तिका लागि लडेको लामै समय भयो । अधिकार पाउँदै नपाएको होइन, कानुनी रूपमा पनि निकै उपलब्धि हासिल भएको छ, जुन यस्तै आन्दोलनका कारणले पाएकोमा दुईमत छैन । तर अब यी सिमान्तकृत र विभेदमा परेकोहरूको अधिकारको आवाजमा अरुको पनि आवाज मिसिनु अत्यन्त जरुरी भइसकेको छ । जसले हरेक मुद्दालाई राष्ट्रिय मुद्दा बनाउन सकोस् । अहिले यस्ता अभियान एक्लिँदै गएर यो सामाजिक समस्या वा सवालभन्दा पनि सम्बन्धितहरूको मात्र सवाल भएजस्तै भएको छ । यी सवाल राष्ट्रिय र राजनीतिक सवालसमेत बन्नसकेको छैन ।


पछिल्लो समय नेताहरूले भाषण गर्दा माथि उल्लेखित कुनै पनि समुदायलाई सम्बोधन गर्न छुटाउँदैनन्, तर जब उनीहरूलाई अवसर दिने पालो आउँछ, ती सबै बिर्सिन्छन् । त्यस्तै महिलाका विषयमा कार्यक्रम भए वा समाचार लेख्ने काममा महिलालाई नै खटाइन्छ, यो चलन अब तोड्नुपर्ने बेला भएको छ । महिलाका विषय अब महिलाले मात्र बुझेर नहुने भएको छ । कार्यक्रममा आउने धेरै महिलाको कुरा हुन्छ, ‘हामीले त बुझ्यौं, परिवारलाई पनि बुझाइदिनुपर्‍यो ।’


महिला अधिकार र महिला हिंसाका कुरा महिलाले मात्र बुझ्दा कतिपय अवस्थामा घरपरिवारमा द्वन्द्व निम्तिएको छ । महिलाहरू अहिले घर बाहिरका काममा पनि उत्तिकै संलग्न हुनथालेका छन् । आफूले गर्दै आएका घरभित्रका काम अनि कार्यालयको कामका कारण दोहोरो जिम्मेवारीले महिला निकै मारमा परेका छन् । तर घरपरिवार र श्रीमानले यी कुरा नबुझिदिँदा द्वन्द्व हुने सम्भावना बढेको छ । सहयोग माग्दा वा कामको भारबारे कुरा उठाउँदा घरपरिवारमा द्वन्द्व सुरु हुन्छ । परिवारका सदस्य र खासगरी श्रीमान यस्ता कुरामा संवेदनशील भइदिँदा परिवार सञ्चालन सहज हुन्छ । परिवारमा द्वन्द्व हुँदा महिला पीडित त हुन्छन् नै, पुरुषलाई झन् धेरै पीडा दिन्छ, किनकि उसमाथि परिवारका सम्पूर्ण सदस्यको जिम्मेवारी छ । कमाएर ल्याउनुपर्छ । यसका लागि मानसिक रूपमा स्वस्थ हुनु जरुरी छ ।


त्यसैले अब महिला अधिकारका पक्षमा, महिला हिंसा विरुद्ध बोल्ने र बुझ्ने पुरुषहरूको संख्या बढाउनुछ । उनीहरूलाई महिलाप्रति संवेदनशील हुन र सम्मान गर्न सिकाउनुछ । उनीहरूको कामलाई सम्मान गर्न सिकाउनुछ । घरभित्रको काम गरे पनि पुरुषहरूको सम्मान घट्दैन भन्ने सन्देश दिनुछ । श्रीमतीलाई माया वा सम्मान गर्नु र काममा सघाउनु भनेको जोइटिङ्ग्रे हुनु होइन भन्ने बुझाउनुछ । त्यसैले महिला आन्दोलनमा पुरुषको सहभागिता जरुरी छ ।


हरेक वर्ष अन्तर्राष्ट्रिय नारी दिवस ८ मार्चमा थुप्रै महिला अधिकारका क्षेत्रमा काम गर्ने संघ–संस्थाले कार्यक्रम गर्छन्, सरकारी आयोजनामा भब्य जुलुस निस्किन्छ । मन्त्रालयले त्यस दिन निकाल्ने जुलुसमा सरकारी कर्मचारीलाई उपस्थितिका लागि उर्दी जारी हुन्छ र बाध्य भएर ती कर्मचारी जुलुसमा सहभागी हुन्छन् । त्यसैले यस्ता औपचारिकताका लागि आयोजना गरिने जुलुस कर्मकाण्डी बाहेक केही होइनन् । बाध्यतावश कार्यक्रममा हुने सहभागिताले सहभागीमा कुनै परिवर्तन आउँछ भन्ने विश्वास लाग्दैन ।


तर यहाँ छोरा पुस्ताका यस्ता युवा पुरुष अभियन्ता छन्, जसले कुनै दाताको सहयोगविना प्रत्येक वर्ष आफ्नै पहलमा महिला हिंसा विरुद्ध कार्यक्रम गर्छन्, जुलुस निकाल्छन्, कविता र गीतमार्फत महिलामाथि हुँदै आएको हिंसा विरुद्ध खबरदारी गर्छन् । महिला अधिकार र उनीहरूमाथि भइरहेको हिंसा विरुद्ध खुलेर बोल्छन् र अरुलाई पनि बोल्न आह्वान गर्छन् । यस्ता कार्यक्रमले अब महिलाका सवाल महिलाले मात्रै बोल्नुपर्छ भन्ने मान्यता विस्तारै भत्किँदैछ । यो क्रम बढोस् । अग्रजहरू पथप्रदर्शक बनुन् । अन्तर्राष्ट्रिय नारी दिवसमा मात्रै हैन, प्रत्येक दिन हिंसा विरुद्ध आवाज उठाउन र यस्तो काम घरैबाट सुरु गर्न प्रेरणा मिलोस् । शुभकामना !

प्रकाशित : फाल्गुन २४, २०७४ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?