३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

भुइँकुहिरो प्रतीकमा नगेन्द्र

कलात्मक शैलीको लेखन र रोचक विवरण भरेर निबन्ध लेख्ने नगेन्द्र आईबी राईका समकालीन थिए, कतिपय बहस र चिन्तनको कालखण्डमा दार्जिलिङमा एउटै कित्तामा उनीहरू उभिएका थिए
देवेन्द्र भट्टराई

काठमाडौँ — ‘एउटा सानो खरसाङे खहरेको भुल्को बग्दै–बग्दै बङ्गोपसागर छोएर फेरि वाफ र बादलको रूपमा उड्दै वागमती किनाराको भुइँकुहिरो बन्न आइपुगेको कथा हो यो ।’

भुइँकुहिरो प्रतीकमा नगेन्द्र

भारत, पश्चिम बंगालको दार्जिलिङ–खर्साङको निकटवर्ती सम्बन्धमा जोडिएका पात्र नगेन्द्र शर्मा (ढुङ्गाना) एक साता अघिमात्रै पनि आफ्ना दौंतरी इन्द्रबहादुर राईका बारेमा कुरा गरिरहेका थिए । झन्डै डेढ वर्षयता किड्नीको नियमित डाइलासिस गर्नुपर्ने उपचार तालिका र एक सातामा चार दिन थलिएर सुत्नुपर्ने दैनिकीमाझ नगेन्द्र मुस्किलले आफ्नो समयको अभिलेख उतार्न व्यस्त थिए । कलात्मक शैलीको लेखन र रोचक विवरण भरेर निबन्ध लेख्ने नगेन्द्र इन्द्रबहादुरका समकालीन थिए, कतिपय बहस र चिन्तनको कालखण्डमा दार्जिलिङमा एउटै कित्तामा उनीहरू उभिएका थिए ।


खर्साङमा जन्मे–हुर्केका शर्मा कानुन पढाइका क्रममा पश्चिम बंगालको मुख्यालय कलकत्ता झरेपछि उनले आफैंले लेखेजस्तै ‘वागमती किनारामा भुइँकुहिरो’ बन्न आएका थिए । पञ्चायती रजगज र विशेषत: समयानुसार ‘चाकडी चलाएर’ बिभिन्न सरकारी निकायको हाकिम बन्न सफल नगेन्द्र त्यो परिस्थितिबारे कम्तीमा आफ्नो लेखाइमा ‘मौन’ थिएनन् । अशक्त अवस्थामा घरमा आराम गरिरहेका नगेन्द्रले हालैको भेटमा पनि ‘आफूले सरकारी ओहदामा आउन र काम पाउन चाकडी गरेको’ स्वीकारोक्ति जनाएका थिए । आफ्नो रूप एउटा भएर पनि सतहमा अर्कै रूपमा ढाकछोप गरिरहने अधिकांश पात्र–प्रवृत्तिका निम्ति नगेन्द्र यसकारण आज स्मरणीय बनेका छन् ।


साहित्यिक अन्वेषक शिव रेग्मीको अध्ययन र बुझाइमा निबन्ध लेखनका दृष्टिमा नगेन्द्र शर्मा आफैंमा ‘बेजोड शिल्पी’ थिए, एकसाथ अंग्रेजीमा पनि कलम चलाउन सक्ने स्रष्टा थिए । ‘मलाई अचम्म लाग्छ, नगेन्द्रलाई जिउँदो छइन्जेल हामी कसैले पनि सम्झना गरेनौं,’ रेग्मी भन्छन्, ‘उनले आफ्नो जागिरे जीवन र जीवनयापनको पाटोबाहेक नेपाली भाषा–साहित्य तथा अनुवादकै क्षेत्रमा समेत पुर्‍याएको योगदान अविस्मरणीय छ ।’ लेखकका रूपमा नगेन्द्र शर्माको जन्म झन्डै ५० वर्षअघि भएको थियो । उनको पहिलो कृति ‘नगेन्द्रका निबन्ध’ २०२६ सालमा साझा प्रकाशनबाट छापिएको थियो । ‘डाइलासिसको दिन शरीर–मन सबै शिथिल हुन्छ,’ नगेन्द्र भन्थे, ‘फेरि दोस्रो दिन लेखनकर्ममा जागृत भइहाल्छु, अधुरा काम चाँडै सक्ने हुटहुटी पलाइहाल्छ ।’


झन्डै डेढ शताब्दीअघि पूर्वी पहाड तेह्रथुममा फैलिएको हैजाबाट जोगिन नगेन्द्रका बाबुबाजेहरू भारत पश्चिम बंगालको खर्साङ पुगेका रहेछन् । यो यायावर परिवारको वंशजमा नगेन्द्र खर्साङमै जन्मेका रहेछन्, त्यसपछि पढाइ दार्जिलिङ हुँदै कलकत्ता पुगेका रहेछन् । उसो त खर्साङ स्कुलमा पढ्दै २००६ सालतिर एकजना राणा परिवारका छोरासँग नगेन्द्र पहिलोपटक काठमाडौं आएका रहेछन् । त्यस लगत्तै अल नेपाल इन्डिया नेपाली स्टुडेन्ट कन्फरेन्समा सहभागी हुन दार्जिलिङको ५ सदस्यीय प्रतिनिधिमण्डलमा मिसिएर उनी काठमाडौं आएका रहेछन् ।


‘पछि २००९ सालतिर कलकत्तामा कानुन पढिरहेको थिएँ । उच्च न्यायालयमा अधिवक्ताको अभ्यासमा पनि थिएँ । त्यसबेला रमेश उपाध्याय भन्ने नेपाल वायुसेवाका पाइलटको आग्रहमा काठमाडौं आएँ । उनको पैतृक सम्पत्तिको मुद्दामामिला सुल्झाउन म काठमाडौं आएको थिएँ’, मूल पितृथलो फर्कन पाउँदाको खुसीलाग्दो संयोग बारेमा नगेन्द्रले सुनाएका थिए ।


काठमाडौं आएपछिको अवसर र मौका आफूले सोचेभन्दा राम्रो बन्दै गयो । उनले अमेरिकी दूतावासमा आंशिक काम पाएछन्, कानुनी र आर्थिक कागजी मामला हेर्ने । लगत्तै औद्योगिक प्रशिक्षण प्रतिष्ठान, शाही नेपाल वायुसेवा हुँदै राजा वीरेन्द्रको राज्याभिषेकका बेला प्रचार–प्रसार गराउन सूचना विभागको निर्देशकसमेत बने । ‘मसँग अंग्रेजी–नेपाली दुबै भाषामा योग्यता–क्षमता त थियो नै, समय अनुसार थोरबहुत चाकडीले पनि काम गर्ने समय थियो त्यो,’ नगेन्द्र हक्की बनेर भनिरहेका हुन्थे ।


जस्तो– साहित्यकार ध.च. गोतामेको ‘आरोह–अवरोह’ संस्मरणको एक प्रसङ्गमा उल्लेख भएअनुसार २०४० सालपछिको एक मन्त्रिपरिषदमा एकजना विश्वकर्मा मन्त्री थिए । एउटा सन्दर्भमा ती मन्त्रीले नेपालको विदेश नीति र सम्बन्धबारे भाषण दिएका थिए । त्यसबेला सूचना विभागमा रहेका साहित्यकार गौतमले मन्त्रीको त्यो वक्तव्यलाई (भाषण दिइरहेकै बेला) सिधै अंग्रेजीमा अनुवाद गर्न नगेन्द्र शर्मालाई अह्राएका रहेछन् । ‘भाषण नेपालीमा धाराप्रवाह थियो, मैले अंग्रेजीमा उतारेको थिएँ । त्यसपछि तत्कालीन सञ्चारमन्त्री राधाप्रसाद घिमिरेलाई त्यो अनुवाद देखाएको थिएँ, भोलिपल्टै गोरखापत्र संस्थानको अध्यक्ष बनाएर अर्को काममा खटाइएको थियो,’ नगेन्द्रले यो स्मरणलाई निबन्धमा उतारेका छन् पनि ।


संगतका हिसाबमा ‘रूपरेखा’ पत्रिकाको समयदेखि नै साहित्यिक पत्रकार उत्तम कुँवर हुँदै नगेन्द्रले धेरै स्रष्टासँग मित्रलाप गर्न पाएका थिए । भूपी शेरचन, उत्तम नेपाली, रत्नशमशेर थापा, अम्बर गुरुङ, शंकर लामिछाने लगायतको संगतले आफूलाई उत्तिकै सिर्जनशील र फरक धारको बनाउन मद्दत मिलेको नगेन्द्रले आफ्ना निबन्धमा सम्झेका छन् । उनका ‘अन्डादेखि भ्यागुत्तोसम्म’ (निबन्ध संग्रह), बनारसमा बेचिएकी बहिनी (निबन्ध संग्रह), मेचीदेखि महाकालीसम्म (सह–लेखन), फोल्क टेल्स अफ नेपाल (जापानीमा अनुदित), अनुस्मरण (निबन्ध), नेपाल ए टु जेड, नेपाली लिट्रेचर इन ए नटसेल, सेक्रेटस अफ सांग्रिला, ‘अनुस्मरण’ संस्मरण) सहितका झन्डै दुई दर्जन कृति प्रकाशित भइसकेका छन् । यो साता मात्रै ओरिएन्टल बुक्सबाट नगेन्द्रको २५ निबन्धको सँगालो आएको छ ।


नगेन्द्र आफू लहडमा अथवा रहरमा नेपाल नछिरेको भए कलकत्तातिरै ‘कतै हराइरहेको हुन्थेंँ’ भनेर नेपालमा पाएको अवसर र मौकाप्रति विनित पनि देखिन्थे । नगेन्द्रले बीपीको ‘हिटलर र यहुदी’ र झमक घिमिरेको ‘जीवन काँडा कि फूल’लाई अंग्रेजी अनुवादमा ल्याएका छन् । नगेन्द्रको आफ्नै भनाइमा ‘एउटा नेपाली राजनीतिज्ञ बीपीले देखेको विश्व–दृष्टि भनेर ‘हिटलर र यहुदी’ अंग्रेजी अनुवादमा ल्याउन चाहेको’ र झमकको जीवनमा रहेको संघर्ष र कठिनाइको कथा ‘बाहिरी दुनियाँले पनि पढोस्’ भनेर उनको कृतिलाई पनि आफूखुसी स्वतन्त्र अनुवाद गरिएको हो ।

९० को दशकमा नगेन्द्र शर्मासँग पत्रकारिताको सहकार्य गर्न पाएका पत्रकार शरद प्रधानका बुझाइमा नेपाली भाषा–साहित्यसँगै अंग्रेजी भाषाको पत्रकारितामा पनि नगेन्द्रको विशेष दख्खल थियो । सन् १९९५ पछि झन्डै एक दशकसम्म प्रकाशित भएको ‘द विकेन्ड’ अंग्रेजी साप्ताहिकमा शरदले पनि काम गरेका रहेछन् । हङकङबाट प्रकाशित हुने ‘एसिया विक’ पत्रिकाका नेपाल संवाददाता समेत रहेका नगेन्द्र कलकत्ता छँदा ‘पश्चिम बंगाल’ पत्रिकाको सम्पादक बनेका थिए ।


नगेन्द्रलाई मौलिक लेखन ‘ठिक र सजिलो’ लाग्ने गरेको थियो । ‘अनुवादमा त एक–एक शब्दमा बाँधिनुपर्ने हुन्छ । यसमा व्याख्या अथवा अपव्याख्या जे पनि हुनसक्छ,’ उनको बुझाइ थियो, ‘मौलिक लेखनमा मनमौजी बन्न पाइन्छ ।’

नगेन्द्र के कुरामा खुसी थिए भने ‘भित्ताले पनि सुन्छ कि’ भन्ने मुस्किलको समयबाट गुज्रिएर उनी आजको ‘गुगल’ दुनियाँमा आइपुगेका थिए । ‘आज समय थप परिष्कृत भएको छ । यो ओछ्यानमै बसेर म गुगल गर्दै फेरिएको संसार हेरिरहेको छु । आफ्नो लेखन र सिर्जनाको स्वमूल्यांकन गर्न सक्ने भएको छु । एकान्तिकता, निराशा, रोग र अनेक समस्या साथैमा भए पनि म थप ऊर्जाशील बनेको छु । र अब कुनै दिन, कुनै घडी यो चोला छाडेर जानुपर्ने भए पनि म पछुताउने ठाउँमा कहीं कतै छैन’, ८८ वर्षीय नगेन्द्रले आफ्ना बारेमा गरेको मूल्यांकन र उद्घोष अलिक चाँडो सुनिए जस्तो भएको छ ।


‘भुइँकुहिरो’को प्रतीकमा खुबै खेल्न र लेख्न मनपराउने स्वभाव थियो, नगेन्द्र शर्माको । ‘भुइँकुहिरो छिनभरमै आउँछ, थुप्रन्छ । हेर्दा, अनुभूत गर्दा आनन्दमयी लाग्छ । अनि फेरि हराइहाल्छ,’ नगेन्द्रले प्रतिकात्मक बोलीमा भनेका थिए, ‘त्यही भएर मैले आफूलाई वागमती किनाराको भुइँकुहिरो भनेको हुँ, भएर पनि नभए जस्तो अनुभूति भइरहने ।’

[email protected]

प्रकाशित : फाल्गुन २६, २०७४ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?