कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

नेपाल विकासको मार्गमा

आफ्नै परिवेश
झमक घिमिरे

काठमाडौँ — भर्खरै प्रदेश नं. १ का मुख्यमन्त्री बनेका शेरधन राईले आफ्नो प्रदेशलाई साँच्चै समृद्ध बनाउने उद्घोष गरेका छन् । उनले भनेका छन्, जलविद्युतको क्षेत्रमा हाम्रो प्रदेश निकै धनी छ । त्यसतर्फ प्रदेशको ध्यान जानुपर्छ । उनले भनेजस्तै प्रदेश नं. १ मा जलको सम्भाव्यता निकै छ ।

आवश्यकता छ त स्थानीय पुँजीको उचित लगानी । स्थानीय लगानीकर्ताहरूले पनि यो सोच्नुपर्‍यो कि सधैं अर्काको ठाउँमा लगानी गरेर आफ्नो ठाउँको विकास हुनसक्दैन । संघीय संरचनाको सिर्जना त्यसै गरिएको होइन । सबै ठाउँमा समान रूपले विकास निर्माण हुनुपर्छ भन्ने धारणाले गरिएको हो । सबै तहतप्काका जनताले सहज रूपमा राज्यका सुविधा कुनै झन्झटविना प्राप्त गर्न सकुन् भन्ने उद्देश्यको साथमा सिर्जना गरिएको हो ।


हाम्रा प्रदेशका मुख्यमन्त्रीको दिमागमा थुप्रै कुराहरू खेलिरहेका होलान् । यो प्रदेशलाई कसरी आत्मनिर्भर बनाउनबारे पनि उनको भिन्न सोच होला । तर यो प्रदेशको आफ्नै भौगोलिक विशिष्टता छ । सांस्कृतिक रूपमा, भाषिक रूपमा पनि यसको आफ्नै विशिष्टता छ । यहाँ हिमाल छ, पहाड छ, तराई पनि छ । एक हिसाबले भन्ने हो भने साह्रै सुन्दर प्रदेश छ । तराईमा हरिया खेतका फाँटमा धान फुलेर झुल्ने, पहाडमा विभिन्न खालका फलफूलहरू फल्ने, अनि हिमालमा विभिन्न अनमोल जडीबुटी मात्र पाइने होइन, पर्यटनको विकासको निकै सम्भावना छ । हाम्रा नेपाली युवा जनशक्तिलाई यहीं रोजगारको सिर्जना गर्न सक्ने हो भने यो देशको मुहार फेरिन लामो समय लाग्दैन । हाम्रा खोलानालाबाट बिजुली पर्याप्त निकाल्न सकिन्छ भने पाखापखेराबाट आन्तरिक पर्यटनको प्रबद्र्धन गर्न सकिन्छ । तिनको सौन्दर्यताबाट व्यवस्थित रूपमा व्यवस्थापन गर्नसक्ने हो भने, यसको प्रमुख पर्यटकीय स्थलहरूको प्रचार–प्रसार गर्नसक्ने हो भने पर्यटन व्यवसायबाट पनि यस प्रदेशले निकै फाइदा लिन सक्छ । यस प्रदेशमा विभिन्न कृषि उत्पादनहरू हुन्छन् । यो प्रदेशका मान्छेहरू खाद्यान्नमा विस्तारै आत्मनिर्भर बन्दै जाने सम्भावना पनि छ । खाँचो छ त देशलाई समृद्ध बनाउने इच्छाशक्ति र युवाशक्तिको ।


युवा जनशक्ति विना यो प्रदेशमा मात्र होइन, देशै बन्दैन । अर्काको देशमा बगाउने रगत–पसिना यहीं बगाउने वातावरणको सिर्जना गर्न सक्नुपर्छ । यो प्रत्येक प्रदेशका सरकारहरूले गम्भीरतापूर्वक सोच्नुपर्छ । हाम्रा प्रादेशिक सरकारहरूको मुख्य उद्देश्य भनेको वर्षौं विदेशिले लाखौं युवा जनशक्तिलाई यहीं देशमा रोकेर तिनलाई यही आफ्नो श्रम र शक्तिको प्रयोग गर्न लगाउनु हो । जब देशलाई माया गर्छौं भने आफ्नो श्रम, शक्तिको यही धर्तीमा खर्चिनुपर्छ । रगत–पसिना यहीं बगाउनुपर्छ । हाम्रा राजनीतिक नेताहरूले स्वीटजरल्यान्ड बनाउने सपना देखेर मात्र हँुदैन । भाषणमा फलाकेर मात्र हुँदैन । त्यसका लागि हाम्रो देशको भौगोलिक संरचना कस्तो छ ? कुन ठाउँमा के गर्दा राम्रो हुन्छ ? यसको स्पष्ट खाका कोरेर त्यसमा लाग्नुपर्‍यो । अनि मात्र स्वीटजरल्यान्डभन्दा राम्रो देश बन्छ, नेपाल । त्यसैले नेपालका राजनीतिज्ञहरूको दिमागमा अहिले के कुरा खेलिरहेको छ, कुन्नि । तर यिनको दिमागले अब राष्ट्रिय समृद्धिको पक्षमा सोचोस् ।


राष्ट्र कसरी उन्नति प्रगतिको बाटोमा अगाडि बढ्छ भन्ने पक्षमा सोचोस्, कसरी समृद्ध राष्ट्र बनाउने सन्दर्भमा सोचोस् । स्थानीय तहका सरकारहरूले पनि कहाँ के गर्दा उचित हुन्छ, त्यसको पहिचान गरुन् । राष्ट्र भनेको एकैचोटी ठूलो कुरा गरेर बन्ने होइन, साना–साना कुराबाटै ठूलो कुरा बन्ने हो । अर्थात् स्थानीय नागरिकहरूको साथ र सहयोगबिना कसैले समृद्धिको सपना देख्दै नदेखे पनि हुन्छ । त्यसैले विकास निर्माणका अभियानमा कसरी जनसहभागिता जुट्न सक्छ भन्नेतर्फ पनि हाम्रा राजनीतिकर्मीहरूले सोच्न आवश्यक छ । हाम्रा प्रदेश नं. १ का माननीय मुख्यमन्त्री राईले यसतर्फ सोचेका छन् कि छैनन् ? जुन उद्घोष गरेका छन्, त्यो अब विस्तारै कार्यान्वयनतर्फ लैजालान् भन्ने आस छ । यो जनताको आसलाई पुरा गरेनन् भने उनको छविमा दाग लाग्नेमात्र होइन, संघीयतामाथि नै प्रश्नचिन्ह लाग्नेछ । त्यसैले हाम्रा सबै प्रदेश सरकारका प्रमुखहरूले आफ्ना प्रदेशहरूलाई कसरी आत्मनिर्भर बनाउनेतर्फ सोचुन् र त्यसतर्फ तीव्र गतिमा काम गरुन् । यस विषयमा केन्द्र सरकारको पनि अनावश्यक हस्तक्षेप नहोस्, साथ र सहयोगले नेपाल विकासको मार्गमा हिँड्न सकोस् ।

प्रकाशित : फाल्गुन २९, २०७४ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?