कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

फेरि यस्तो नहोस्

सम्पादकीय

काठमाडौँ — यूएस बंगलाको विमान सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार ५१ जनाले ज्यान गुमाउनुपर्‍यो भने विमानमा रहेका २० जना घाइते छन् ।

यो नेपालमा भएको आठौं अन्तर्राष्ट्रिय विमान दुर्घटना हो भने यहाँको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा मानवीय क्षति हुने गरी भएको सम्भवत: पहिलो दुर्घटना हो । विमान दुर्घटना हुनु र मानवीय क्षति हुनु आफैंमा दु:खद छ । सरकारबाट गठित छानबिन समितिले दुर्घटनाको कारक पहिचान गर्ने नै छ । यो दुर्घटनाबाट नेपाली आकाशको सुरक्षाबारे नकारात्मक सन्देश प्रवाह हुने विषय भने गम्भीर छ ।

चालक दलका चार सदस्यसहित ३६ बंगलादेशी, ३३ नेपाली, एक चिनियाँ र एक माल्दिभ्सका नागरिकसहित बंगलादेशको राजधानी ढाकाबाट उडेको विमान सोमबार अपराह्न दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा यूएस बंगलाको उडान दुई वर्षअघि नेपाल भित्र्याउन पहल गरेका शंकर पौडेल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका न्युरो सर्जन डा. बालकृष्ण थापालगायतको मृत्यु भएको छ ।

बंगलादेशमा एमबीबीएसको अन्तिम परीक्षा सकेर घर आउने क्रममा रहेका ११ जना नेपाली पनि दुर्घटनामा परे । विमानमा आगो लागेर ५१ जनाको हताहत हुँदा २० जनाको भने जीवितै उद्धार भएको छ । यो सेना–प्रहरी, अग्नि नियन्त्रक, चिकित्सकलगायतको सक्रियता र विमानमा सवार यात्रु स्वयंको साहसले सम्भव भएको हो । यद्यपि उद्धार व्यवस्थापनका विषयमा प्रश्न गर्ने ठाउँ नरहेको भने होइन । विभिन्न अस्पतालमा उपचाररत घाइतेहरूको शीघ्र स्वास्थ्यलाभका लागि सरकारले विशेष ध्यान दिनुपर्छ ।

धावनमार्ग प्रवेशविन्दुका विषयमा उत्पन्न अलमलले विमान दुर्घटना भएको प्रारम्भिक आकलन गरिएको छ । यस विषयमा पनि तर्क–वितर्क सुरु भएको छ । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले चेतावनी दिँदादिँदै पाइलटले गलत ‘एप्रोच’ बाट अवतरण गराउन खोज्दा दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरणको भनाइ छ । यूएस बंगलाले भने एयर ट्राफिक कन्ट्रोल (एटीसी) को लापरबाहीका कारण दुर्घटना भएको दाबी गरेको छ ।

विमान दुर्घटनाका विषयमा छानबिन गर्न सरकारले सोमबारै पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिसकेको छ । दुर्घटनाबारे बुझ्न नागरिक उड्डयन तथा पर्यटनसहित बंगलादेशका उच्च अधिकारीको टोली पनि मंगलबार नेपाल आइपुगेको छ । एक पक्षले अर्को पक्षको कमजोरी औंल्याइरहेका बेला हुने छानबिन विश्वसनीय र तथ्यपरक हुन जरुरी छ । किनभने नागरिक उड्डयनका क्षेत्रमा नेपालको अन्तर्राष्ट्रिय छवि कस्तो हुने भन्ने कुरा पनि यसले निर्धारण गर्छ ।

हवाई सेवा अत्यन्तै संवेदनशील भए पनि यस्ता दुर्घटना भएपछि मात्र सुरक्षा व्यवस्थापनमा चनाखो हुने र विस्तारै लापरवाह बन्दै जाने गुनासो बेला–बेला आइरहेकै हुन्छन् । यस्ता गुनासो रहने ठाउँ नबनाउन नागरिक उड्डयन प्राधिकरणले विशेष ध्यान दिनैपर्छ । सोमबारको घटनाले एटीसीमाथि प्रश्न उठ्ने अवस्था नै नआउने गरी दक्ष, योग्य कर्मचारी व्यवस्थापन गर्नुपर्ने आवश्यकता पनि औंल्याएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो भएकाले पनि ठूला विमान उडान–अवतरण जोखिमपूर्ण देखिन्छ ।

सरकारले यसको विस्तार गर्न जरुरी छँदैछ, सोमबारको दुर्घटनापछि वैकल्पिक विमानस्थलको खाँचो पनि खड्किएको छ । दुर्घटनापछि करिब तीन घण्टा विमानस्थल बन्द हुँदा नेपाल आउने क्रममा रहेका विदेशी विमानलाई भारतीय तथा उनीहरू आएकै विमानस्थलमा डाइभर्ट गर्नुपरेको थियो । त्यसैले प्रक्रिया अघि बढेका निजगढ र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई जतिसक्दो छिटो पूर्णता दिएर विकल्प तयार गर्नुपर्छ ।

नेपालमा हवाई दुर्घटनाको ६ दशक लामो इतिहासमा सयौं मानिसले ज्यान गुमाइसकेका छन् । विमानस्थल, भौगोलिक अवस्थिति र मौसमी फेरबदलका कारण आन्तरिक उडान पनि जोखिमपूर्ण देखिन्छन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को गम्भीर सुरक्षा चासोको सूचीबाट तीन वर्षपछि नेपाल हटेको केही महिना मात्र भएको छ ।

युरोपेली युनियन (ईयू) ले नेपालको आकाशलाई असुरक्षित भन्दै कालोसूचीमा चार वर्षयता राखिरहेकै छ । त्यसैले नेपाली आकाशको सुरक्षा सुनिश्चितताका लागि विशेष ध्यान दिनैपर्छ ताकि यस्तो दुर्घटना यहाँ नदोहोरियोस् ।

प्रकाशित : फाल्गुन ३०, २०७४ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?