अमेरिकी दूतावासलाई प्रश्न

मधु राई

काठमाडौँ — २ वर्षअघि छोरा पोषण विषय लिएर स्नातक गर्न क्यालिफोर्निया र ८ महिनाअघि छोरी पूर्ण छात्रवृत्ति पाएर पत्रकारिता विषयमा १० महिने स्नातकोत्तर गर्न न्युयोर्क गएकाले हामी अभिभावकलाई छोरीले आफ्नो दिक्षान्त समारोहमा सहभागी हुन बोलाइन् र हामीले आवेदन दियौं ।

आवेदन फारमसँगै परामर्श सेवा केन्द्रलाई जनही १ हजार रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट बैंकमा जनही १६ हजार ८ सय बुझायौं ।

रकम जम्मा गरेको १ घन्टापछि बल्ल अन्तर्वार्ताको मिति र समय तोकियो र सोही अनुसार अघिल्लो बुधबार साढे २ बजे हामी महाराजगन्जस्थित अमेरिकी दूतावास पुग्यौं । दूतावासको सुरक्षा जाँचपछि बल्ल पालो आयो, अन्तर्वार्ताको । प्रश्नकर्ताले हामीलाई नेपालीमै ‘किन अमेरिका जान लाग्नुभको ?’ भनी सोधेपछि हामीले, ‘छोरीको दिक्षान्त समारोहमा जानलागेको’ भन्ने जवाफ फर्कायौं । मैले अंग्रेजीमा ‘कन्भोकेसन’मा भन्ने शब्द दोहोर्‍याएँ । त्यसपछि प्रश्नकर्ताले कम्प्युटरमा हाम्रो पारिवारिक विवरण हेर्दै ‘छोरा पनि उतै रै’छ, के गर्दैछ ?’ भनी सोधेपछि मैले ‘पोषण विषय लिएर स्नातक गर्दैछ’ भनेंँ । प्रश्नकर्ताले पुन: ‘तपाईहरूको कतिजना छोराछोरी छन् ?’ भनी सोधेपछि हामीले ‘दुइटा मात्रै’ भन्यौं । त्यसपछि प्रश्नकर्ताले ‘तपाईहरूको कतिवटा घर छ ?’ भनी सोधेपछि मैले ‘एउटामात्रै घर छ’ भनेंँ ।

Yamaha

यति सोधेपछि प्रश्नकर्ता एकछिन कम्प्युटरमा घोत्लिन् र हामीलाई ‘सरी, तपाईहरूले भिसा पाउनु भएन, यो मेरो हैन, अमेरिकी सरकारको निर्णय हो’ भन्दै पासपोर्ट हामीलाई फर्काइन् । र हामीले पनि ‘हुन्छ, धन्यवाद’ भन्दै राहदानी थाप्यौं । यद्यपि हामीले आवेदन दिनुअघि नै अरूबाट आवेदन दिनेहरूमध्ये १० प्रतिशतले मात्र प्रवेशाज्ञा पाउँछन् भनी सुनेकाले हामीले यसलाई असामान्य रूपमा लिएनौं र हाँस्दै घरतिर लाग्यौं । तथापि बाटैभरि हामी दुईले प्रवेशाज्ञा नपाउनुको खास कारण फेला पारेनौं र एकछिन भए पनि सोच्न बाध्य भयौं ।

वास्तवमा अन्तर्वार्ता भन्ने बित्तिकै प्रश्नकर्ताले सोध्ने सान्दर्भिक प्रश्नको जवाफ उत्तरदाताले दिनुपर्ने हुन्छ र प्रश्नकर्ताले आवेदन फारममा भरिएको विवरण अनुसार सोध्नुपर्ने हुन्छ । विशेषगरी हामी नेपालीलाई सोधिने कतिपय असान्दर्भिक प्रश्न जस्तै– कतिवटा छोराछोरी छन्, कतिवटा घर छ भनी सोधिने प्रश्नले साँच्चै धेरै घर हुनेहरूले मात्र अमेरिकाको प्रवेशाज्ञा पाउने रहेछन् भन्ने दर्शाउँछ । यस्तै पहिले–पहिले अमेरिकी प्रवेशाज्ञा पाउन नेपालीले थुप्रै कागजात दूतावासलाई बुझाउनुपथ्र्यो भने पछिल्लो समय यस्ता कागजात बुझाउनु पर्दैन भन्ने दूतावासले नियम बनाएको रहेछ ।

यसरी अहिले अमेरिकी प्रवेशाज्ञा पाउन पहिलेको जस्तो कागजात चाहिँदैन भनेपछि के कस्तो मापदण्ड चाहिन्छ, प्रवेशाज्ञा पाउन ? यी र यस्ता कतिपय प्रश्नको जवाफ अनुत्तरित छन् । यसको चित्तबुझ्दो जवाफ दूतावासले दिनुपर्छ, आवेदकहरूलाई । दूतावासले आवेदन फारम भर्नुअघि नै निश्चित मापदण्ड पुर्‍याउनेले मात्र फारम भर्न पाउँछन् भन्ने नियम बनाउने हो भने ती १० प्रतिशतले मात्र फारम भरे भइहाल्थ्यो नि, किन ९० प्रतिशत नेपालीले समय र पैसा खर्चने ? बाहिर हल्ला सुनिएझैँ यदि आवेदन दिनेमध्ये १० प्रतिशतले मात्र प्रवेशाज्ञा पाउँछन् भने हामी ९० प्रतिशत नेपालीलाई दूतावासले किन र के कारणले सास्ती दिएको ? ९० प्रतिशत हामीलाई सास्तीको साथै ठग्ने काम पनि भइरहेको छ । सुनिन्छ, यही रकमले नेपालस्थित अमेरिकी दूतावास चल्छ रे ।

यसरी अमेरिकी दूतावासको अल्पबुझाइ भन्नुपर्छ, हामीमध्ये धेरै नेपालीका छोराछोरी गाँस, बास र कपास लगायत सीप सिक्न विदेशिए पनि हामीजस्ता कतिपय अभिभावक आफ्नै देशमा रमाउँछौं, नकि विदेशमा । अझ उदेकलाग्दो कुरा त के भने अधिकांश हाम्रा छोराछोरी चाहे उच्चशिक्षा हासिल गर्न होस् वा सीप सिक्न, तिनीहरूमध्ये औंलामा गन्न सक्नेहरूले मात्र पूर्ण छात्रवृत्तिमा उच्चशिक्षा हासिल गर्दै आएका छन्
भने बहुसंख्यक नेपाल लगायत अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अमेरिकी शिक्षण संस्थाहरूलाई मोटो रकम बुझाएर उच्चशिक्षा हासिल गर्दै आएका छन् भने यस्ता आप्रवासी विद्यार्थीहरूले प्रत्यक्ष र परोक्ष रूपमा आफ्नो सीप र श्रम खर्चेर अमेरिकी अर्थतन्त्रलाई भरथेक गर्दै आइरहेको कुरा अमेरिकी सरकारले बिर्सेको देखिन्छ ।

यसरी लामो समय विदेशिएका छोराछोरीलाई भेट्न चाहने ९० प्रतिशतलाई प्रवेशाज्ञा नदिनु भनेको अमेरिकाजस्तो प्रजातान्त्रिक मुलुकले मानवीय पक्षलाई चटक्क बिर्सनु हो । किनभने उच्चशिक्षाका लागि विदेशिएका छोराछोरीले गरेको उन्नति, प्रगति हेर्ने चाहना सबै अभिभावकको हुन्छ । यस्ता अभिभावकलाई प्रवेशाज्ञा नदिँंदा छोराछोरीमा मात्र हैन, अभिभावकहरूमा पनि त्यस देशप्रति वितृष्णा जाग्छ । र ९० प्रतिशत अभिभावकलाई प्रवेशाज्ञा नदिएर अमेरिकी सरकारले आफ्नो देशप्रति वितृष्णा जगाउने काम गर्दैछ ।

हुन त गरिब देशको निरीह जनताले भोग्नुपर्ने नियति हामी नेपालीले भोग्दैछौं भन्दा फरक नपर्ला । किनभने दातृ निकायमध्ये अमेरिकी सरकार अग्रपंक्तिमा पर्ने गरेकोले पनि हाम्रा नीति निर्माताहरू लगायत विशेषगरी परराष्ट्र मन्त्रालयले पनि यस विषयमा त्यति चासो नदेखाएकोले प्रवेशाज्ञा पाउनबाट बञ्चित ९० प्रतिशत नेपालीको सुनुवाइ कहीँ कतै भएको पाइँदैन । यस्तै हाम्रा राजनीतिज्ञहरूले पनि प्रवेशाज्ञा पाउनबाट बञ्चित ९० प्रतिशत नेपालीले भोग्दै आएको नियतिलाई सामान्य रूपमा लिएको देखिन्छ । सरकारी निकाय लगायत राजनीतिज्ञले जस्तै सञ्चार माध्यमहरूले पनि यी र यस्ता विषयमा खोजमूलक सामग्री प्रचार–प्रसार गर्न कञ्जुस्याइँ गर्दै आएका छन् । यस्तै दु:खजिलो गरी हुर्काएको छोराछोरीको सीप र ऊर्जा काम लाग्ने तर उनीहरूको अभिभावक काम नलाग्ने भनी बनाएको दूतावासको नीति नियमबारे हामी अभिभावकले मात्र हैन, हाम्रा नीति निर्माताले पनि प्रतिप्रश्न गर्न जरुरी छ । यस्तै अमेरिकी सरकारले पनि प्रवेशाज्ञा पाउनका लागि निश्चित मापदण्ड बनाई नीति नियमहरू समय–सापेक्ष परिमार्जन गर्न जरुरी छ।

Esewa Pasal

प्रकाशित : फाल्गुन ३०, २०७४ ०८:३२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

मागेर होइन, कमाएर बचत

महिला बचतकर्तालाई आफैं कमाएर बचत गर्ने बानी बसालौं भन्ने सकारात्मक सन्देश दिने विज्ञापन सामग्री सञ्चार माध्यमहरूले बनाउन जरुरी छ ।
मधु राई

काठमाडौँ — ‘अलिकति पैसा देऊ न, म पनि बचत गर्छु ।’ यो कान्तिपुर एफएमबाट प्रसारित हुने विज्ञापन हो । यसमा श्रीमतीले श्रीमानसँग बचत गर्न पैसा माग्छिन् र श्रीमानले पनि खुसी हुँदै दिन्छन् । सञ्चार माध्यमबाट प्रसारित हुने यस्ता विज्ञापनमा जस्तै वास्तविक जीवनमा सधैं मागेर बचत गर्ने श्रीमतीका श्रीमानहरू त्यति खुसी नहुन पनि सक्छन् ।

यसरी महिलाले श्रीमानसँग मागेर भए पनि बचत गर्नुपर्छ है भन्ने सन्देश रेडियो, टेलिभिजनबाट प्रवाह भइरहँदा त्यसै पनि अधिकांश गृहिणी महिला श्रीमानले दिएको घर खर्चबाट बचत गरिरहेका हुन्छन् । उनीहरूलाई आफूले कमाएर हैन, मागेरै भए पनि बचत गर्नुपर्ने रहेछ भनेर प्रोत्साहित गरिरहेको देखिन्छ ।

यस्तै अर्को एक विज्ञापनमा आफूले नकमाए पनि पेवा र विदेशबाट भाइले पठाइदिने गरेको पैसा बैंकमा जम्मा गर्दा आफ्नो रकम सुरक्षितमात्र हैन, ब्याजसँगै साह्रोगाह्रो पर्दा ऋणसमेत पाइन्छ भनी श्रीमानले श्रीमतीलाई सल्लाह दिन्छन् । यसरी उक्त विज्ञापनमा श्रीमानले श्रीमतीलाई आफ्नो पेवा लगायतको पैसा बैंकमा राख्नुपर्छ भन्ने सकारात्मक सन्देश प्रवाह गर्ने विज्ञापनले अन्य गृहिणी महिलालाई पनि आफूले नकमाए पनि पेवापातको पैसा बैंकमा राख्न प्रोत्साहित गर्छ ।

त्यसो त गाउँघरमा अझै पनि गृहिणीहरूले पशुपालन, कृषि वा अन्य उद्यम व्यवसायबाट प्राप्त पेवा पैसा बचत गर्ने गरे पनि सहर–बजारमा अधिकांश गृहिणी श्रीमानले दिएको घर खर्चबाटै बचत गरेको देखिन्छ । फेरि वित्तीय संस्थाहरू चाहे सहकारी होस् या बैंक, श्रीमानले दिने गरेको घर खर्चबाट बचत गर्दै आएका आफ्ना महिला बचतकर्ताहरूलाई आयमूलक सीप सिकाउन नसक्दा पनि गृहिणीहरूमा आर्थिक परनिर्भरता बढ्दै गएको देखिन्छ । त्यसमाथि सञ्चार माध्यमहरूबाट प्रसारित हुने विज्ञापनले आफैले कमाएर बचत गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्नुको साटो मागेरभए पनि बचत गर्नुपर्छ भन्ने नकारात्मक सन्देश प्रवाह गरिरहेकाले पनि आर्थिक परनिर्भरता बढ्दै गएको देखिन्छ । यस्ता विज्ञापनले सधैं श्रीमानसँग मागेर बचतगर्दै आएका महिलालाई थप माग्न प्रेरित गरिरहेको देखिन्छ ।

पछिल्लो समय सहर–बजारमा बैंकसँगै टोलैपिच्छे सहकारी संस्थाहरू खुलेका छन् । त्यस्ता सहकारी संस्थाहरूमा महिलाको उल्लेख्य सहभागिता रहँदै आए पनि त्यस्ता सहकारीमा आफै उद्यम व्यवसाय गरेर बचत गर्ने महिलाहरू नगन्य छन् । कतिपय यस्ता सहकारीहरू महिलाले मात्रै सञ्चालन गर्दै आएका छन् । यसरी हिजो श्रीमानले दिएको घर खर्चबाट बचत गर्दै आएका गृहिणीहरू आज सहकारी संस्था स्थापना गरी वित्तीय व्यवस्थापनको सीप सिक्दै अरू महिलाका लागि प्रेरकसमेत बन्दैछन् । तथापि सहर केन्द्रित अधिकांश यस्ता सहकारी संस्थामा आबद्ध थोरै महिलाले वित्तीय व्यवस्थापन सम्बन्धी सीप सिक्दै आए पनि यस्ता संस्थाले आफ्ना महिला बचतकर्ताहरूलाई आफूले उद्यम व्यवसाय गरेर बचत गर्नुपर्छ भनी आर्थिक परनिर्भरता घटाउन आयमूलक तालिम सञ्चालन गरेको देखिँंदैन ।

त्यस्तै बहुसंख्यक गृहिणी पनि आफूले कमाएर बचत गर्ने कुरा सोच्नसम्म सक्दैनन् । किनभने हुनेखाने घरका कतिपय महिला ‘आ, श्रीमानले कमाएर दिएकै छन्, किन पो कमाउनुपर्‍यो र ?’ भन्ने सोच राख्छन् । हुन पनि हो, यस्ता गृहिणीका कतिपय श्रीमान पनि ‘मैले कमाएर दिएकै छु, किन कमाउनुपर्‍यो ?’ भन्ने गर्छन् । वास्तवमा यस्ता श्रीमानहरूलाई पनि आफ्ना श्रीमतीहरू घरबाहिर निस्केको त्यति मन पर्दैन । आफ्ना श्रीमानले घरबाहिर निस्केको मन नपराएपछि महिलाहरूमा आार्थिक परनिर्भरता बढ्दै गएको देखिन्छ ।

यसरी एकातिर श्रीमानले घरबाहिर निस्केको मन नपराउने अर्काेतिर महिलाहरू स्वयं पनि आर्थिक उपार्जन गर्ने कार्यमा संलग्न हुन नचाहँदा कतिपय संघ/संस्थाले दिने गरेको आयमूलक तालिम त्यति फलदायी हुनसकेको छैन । त्यसो त पछिल्लो समय कतिपय तालिम प्राप्त नगन्य महिलाले यस्ता वित्तीय संस्थाबाट ऋण लिएर उद्यम व्यवसायसमेत थालेका छन् । तथापि त्यस्ता उद्यमी महिलाहरू समग्र गृहिणीहरूका लागि प्रेरक व्यक्ति भने बन्नसकेका छैनन् ।

यस्तै पछिल्लो समय वैदेशिक रोजगारीले पनि गृहिणीहरूमा नकारात्मक प्रभाव पारेको छ । घर बसी–बसी घरखर्च लगायत आफूनो यावत आवश्यकता पूरा हुने भएपछि गृहिणीहरूमा परनिर्भरता बढ्दै गएको देखिन्छ । वैदेशिक रोजगारीबाट श्रीेमानहरूले पठाएको रकम गृहिणीहरूले घरखर्च लगायत अनुत्पादक कार्यमा खर्च गर्ने हुँदा यसले महिलामा आर्थिक परनिर्भरता बढाएको छ । महिलाहरूमा बढ्दै गएको आर्थिक परनिर्भरताले एकातिर पुरुषहरूको जिम्मेवारी बढाएको छ भने अर्कोतिर श्रीमानहरूलाई अतिरिक्त कमाइ गरेर भए पनि घरपरिवार पाल्नुपर्ने बाध्यता छ ।

महिलाहरूको आर्थिक परनिर्भरता र वैदेशिक रोजगारीबाट प्राप्त ठूलो रकम अनुत्पादक कार्यमा खर्च गर्ने प्रवृत्तिले नेपालको समग्र विकासमा नकारात्मक असर परेको अध्ययन, अनुसन्धानले देखाएको छ । हुन पनि हो, आर्थिक उपार्जनको कार्यमा महिलाहरूको संलग्नता न्यून हुनु वा नहुनु भनेको समग्र परिवार त्यसपछि समाज र देशको अर्थतन्त्र र विकासमा नकारात्मक असर पर्नु हो ।

विकसित मुलुकको कुरा गर्ने हो भने त्यहाँ आर्थिक उपार्जनको कार्यमा महिलाहरूको समान सहभागिता रहँदै आएको छ । स्वीडेन र फिनल्यान्डमा ८०–८५ प्रतिशत महिलाको सहभागिता हरेक क्षेत्रमा रहँदै आएकोले त्यहाँको अर्थतन्त्र बलियो पार्न महिलाहरूको महत्त्वपूर्ण भूमिका रहने गरेको अध्ययन, अनुसन्धानले देखाएको छ । आर्थिक उपार्जन कार्यमा महिलाहरूको समान सहभागिता हुँदा देशको अर्थतन्त्र बलियो हुन्छ भन्ने उदाहरण पेस गरेका छन्, स्वीडेन र फिनल्यान्डले ।

हामीकहाँ यस्तो अभ्यासको सुरुवात हुन अझै केही दशक कुर्नैपर्छ । तथापि यहाँ पनि श्रीमान–श्रीमती दुवै आर्थिक उपार्जन कार्यमा संलग्न हुनेहरूले आफ्ना छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिलाएका छन् भने भविष्य सुखमय बनाउन अझै संघर्षरत छन् । विडम्बना भन्नुपर्छ, यस्ता घरपरिवार बहुसंख्यकका लागि अनुकरणीय र आदर्श घरपरिवार बन्न भने सकेका छैनन् । गृहिणीहरूलाई आर्थिक उपार्जन कार्यमा संलग्न गराउन सर्वप्रथम घरपरिवारमा श्रीमानले पनि सहयोगीको भूमिका निर्वाह गर्नुपर्छ । गृहिणीहरूमा पनि श्रीमानले १ हजार रुपैयाँ कमाउँदा मैले पनि सय रुपैयाँ कमाएर सहयोग गर्नुपर्छ भन्ने भावनाजाग्न जरुरी छ ।

बैंक लगायत सहकारी संस्थाहरूले पनि आफ्ना महिला बचतकर्ताहरूलाई आयमूलक तालिम दिएर उद्यम व्यवसाय गर्न सुलभ ब्याजदरमा ऋण दिई प्रोत्साहित गर्नुपर्छ । सञ्चार माध्यमहरूले पनि वित्तीय संस्थाहरूको विज्ञापन प्रचार–प्रसार गर्दा महिलाको विषयमा संवेदनशील हुन जरुरी छ । वित्तीय संस्थाहरूले दिने गरेको प्रचार सामग्री जस्ताको त्यस्तै प्रचार–प्रसार गर्नुभन्दा महिला बचतकर्तालाई आफै कमाएर बचत गर्ने बानी बसालौं भन्ने सकारात्मक सन्देश दिने विज्ञापन सामग्री सञ्चार माध्यमहरूले बनाउन जरुरी छ।

प्रकाशित : माघ २२, २०७४ ०७:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT