कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

राष्ट्रपति भण्डारीको जिम्मेवारी

सम्पादकीय

काठमाडौँ — पहिलो महिला राष्ट्रपतिको इतिहास कायम गरिसकेकी विद्यादेवी भण्डारी पुन: राष्ट्रपतिमा निर्वाचित भएकी छन् । राष्ट्रपति भण्डारीले संविधान र संघीय कानुनले तोकेको अधिकार क्षेत्रमा रहेर आगामी पाँच वर्षसम्म अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्नेछ ।

राष्ट्रपति भण्डारीको यसअघिको कार्यकाल समग्रमा सन्तोषजनक रहे पनि उत्तराद्र्धतिर कतिपय प्रसंगमा विवादित बन्नुपरेको थियो । दुईवर्षे कार्यकालको अनुभवका आधारमा भण्डारीले संविधानको पालना र संरक्षणमा परिपक्वता देखाउन सके राष्ट्रपति पदकै गरिमा उँचो बन्नेछ र त्यसबाट संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणमा टेवा पुग्नेछ ।

संविधानसभाबाट जारी संविधानबमोजिम भएको पहिलो राष्ट्रपति निर्वाचनमा भण्डारी सत्तारूढ एवं सत्ता समर्थक दलहरूको मतबाट विजयी भएकी हुन् । फरक–फरक मतभार रहेका संघीय संसद् र प्रदेशसभाका सदस्य सम्मिलित निर्वाचक मण्डलले मंगलबार उनलाई निर्वाचित गरेको हो ।

मुलुकले सर्वोच्च पद राष्ट्रपतिमा महिला आसीन हुनु लैंगिक समता एवं समावेशीकरणको आन्दोलनका लागि महत्त्वपूर्ण उपलब्धि एवं ऊर्जा पनि हो । भण्डारीले विगतमा प्रतिनिधिसभा सदस्य रहेका बेला संसद्मा महिलाको एकतिहाइ प्रतिनिधित्व सुनिश्चितताका लागि गरेको पहल स्मरणीय छ । उनी अहिले कुनै लिंग, समुदाय वा दलको भन्दा पनि सिंगो मुलुकको प्रमुख अर्थात् अभिभावक बनेकी छन् । भण्डारीले पाँचवर्षे कार्यकालमा निर्वाह गर्ने अभिभावकीय भूमिकाले उनीप्रतिको सम्मान पनि बढाउनेछ ।

राजतन्त्र अन्त्यपछि मुलुकले फरक–फरक राजनीतिक पृष्ठभूमिका दुई जना राष्ट्रपति पायो । दुवै सक्रिय राजनीतिक पृष्ठभूमि भएका हुन् । पहिलो राष्ट्रपति रामवरण यादव ‘सेनापति’ प्रकरणका कारण विवादित बनेका थिए । तत्कालीन राष्ट्रपति यादवकै कदमबाट कार्यकारिणी अधिकार रहेका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता छाड्नुपरेको थियो । पदबाट बाहिरिएपछि यादवले त्यतिबेला आफूले संवैधानिक सीमा मिचेको स्विकारेका थिए ।

संविधानको संक्रमणकालीन व्यवस्थाअनुसार राष्ट्रपति भएकी भण्डारी राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेश लामो समय अलमल्याइदिँदा आलोचित बन्नुपर्‍यो । पछिल्लो समय राष्ट्रियसभा सदस्य मनोनीत गर्ने विषयमा पनि खास गरी नेपाली कांग्रेसले राष्ट्रपतिमाथि आलोचना गर्‍यो । त्यही कारण भण्डारीलाई समर्थन गर्ने दलहरूको पक्षमा करिब तीन चौथाइ मत हुँदाहुँदै पनि कांग्रेसले निर्विरोध निर्वाचित हुन दिएन ।

राष्ट्रपतिमा दोस्रोपटक उम्मेदवार बन्ने बेला पूर्वपार्टी एमालेभित्रै पनि एक पक्षबाट छताछुल्ल हुने गरी भण्डारीमाथि आरोप लाग्यो । त्यसैले दोस्रो कार्यकालका लागि नवनिर्वाचित राष्ट्रपति भण्डारीसामु अहिले कुनै दल, समूहको दायराबाट माथि रहेको आफूलाई प्रमाणित गर्नुपर्ने मुख्य चुनौती छ ।

मुलुकमा अढाई सय वर्ष पुरानो राजसंस्था अन्त्य भएको करिब एक दशक भएको छ । नागरिक राष्ट्राध्यक्ष भए पनि उनीहरूले कतिपय दरबारिया संस्कार र शैलीलाई भने निरन्तरता दिएको भनेर गुनोसो यदाकदा आउने गरेका छन् । राजनीतिक विषयमा बेला–बेला देखाउने सक्रियता, धार्मिकस्थल भ्रमण तथा पूजापाठ, सवारी शैलीका कारण यस्ता गुनासा आउने गरेका हुन् ।

कपितय अवस्थामा पदीय गरिमालाई ख्याल नगरी अनावश्यक औपचारिक कार्यक्रममा सरिक हुने गरेको पनि देखिन्छ । त्यसैले राष्ट्रपतिले आफ्ना कार्यशैली, अभिव्यक्ति र निर्णयको संवेदनशीलतालाई बुझ्नुपर्छ । राष्ट्रपतिबाट हुने कुनै पनि सार्वजनिक गतिविधिले संस्थागत सन्देशसमेत प्रवाह गर्ने भएकाले बढी सावधानी अपनाउनुपर्छ । राष्ट्राध्यक्षको भूमिका राष्ट्रिय एकतालाई प्रवद्र्धन हुने खालको पनि हुनुपर्छ । धर्मनिरपेक्ष मुलुकका राष्ट्राध्यक्षबाट सबै धर्म र समुदायको भावनालाई समान दृष्टिले कदर गरेको सन्देश पनि प्रवाह हुनुपर्छ ।

राष्ट्रपतिलाई निर्विवाद र सम्मानित बनाउने मुख्य दायित्व राष्ट्रपति कार्यालयको हो । राष्ट्रपति पदको मर्यादित बनाइराख्न राजनीतिक दलहरूको भूमिका पनि जिम्मेवार हुनुपर्छ । राष्ट्रपतिको भूमिका समन्वयकारी र सन्तुलित हुनुपर्छ । संघीयता कार्यान्वयनका क्रममा केन्द्र, प्रदेश र स्थानीय सरकारबीच क्षेत्राधिकार र कामका विषयमा असमझदारी उत्पन्न हुने सम्भावना अधिक छ, त्यस्ता विवाद सुल्झाउन राष्ट्रपतिको भूमिका अर्थपूर्ण हुन्छ । त्यसले गर्दासमेत राष्ट्रपति भण्डारीको दोस्रो कार्यकाल महत्त्वपूर्ण छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुभकामना !

प्रकाशित : चैत्र १, २०७४ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?