मनोविज्ञान बुझेर उपचार

पविता मुडभरी पुडासैनी

काठमाडौँ — नेपालमा गुणस्तरीय स्वास्थ्यसेवा प्रदान गर्ने सम्बन्धमा स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी र सेवा प्रणालीमै मुख्य समस्या देखिन्छ । चिकित्सक उत्पादन गर्ने मेडिकल कलेजदेखि चिकित्सा सेवा पुर्‍याउने अस्पतालसम्म ठगी र लापरबाही व्यापक छ ।

मेडिकल शिक्षामा योग्यता, क्षमताभन्दा पनि आर्थिक सक्षमताका आधारमा विद्यार्थी भर्ना हुने र डाक्टरको प्रमाणपत्र लिने विगविगीले स्वास्थ्य क्षेत्रलाई बदनाम र अविश्वासिलो बनाएको छ । चिकित्सकका लापरबाहीका कारण उपचारकै क्रममा बिरामीको मृत्यु भएका समाचार बारम्बार आइरहन्छन् । मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा उल्लेख्य संख्यामा असफल हुने गरेको तथ्यले पनि नेपालको चिकित्सा शिक्षा गिर्दै गएको प्रस्ट हुन्छ ।

बिरामीको स्वस्थता र सुरक्षाका हिसाबले चिकित्सा सेवा निकै संवेदनशील छ । बिरामीको रोग खुट्याउने र त्यही बमोजिम उपचार पद्धति अपनाउनुपर्नेमा आधारभूत ज्ञानसमेत नभएका स्वास्थ्यकर्मीको प्रवेशले स्वास्थ्योपचार सेवालाई विकृत बनाएको छ । राम्रा अनुभवी र योग्य डाक्टर भनिएका कतिपय चिकित्साकर्मीहरूले बिरामीको शारीरिक अशक्ततसँगै जोडिएर आउने मनोविज्ञानको मर्ममाथि खेलाँची गर्ने गरेको पनि पाइन्छ । डाक्टरले आफ्नो रोगबारे स्पष्ट जानकारी दिई उपचार प्रक्रिया सहज र छिटोछरितो गरोस् भन्ने बिरामीको मनोविज्ञान हुन्छ । बिरामीको सामान्य वा जटिल जुनसुकै शारीरिक अस्वस्थताको अवस्थालाई पनि सहज रूपमा डाक्टरले बुझाउन सक्नुपर्छ ।

Yamaha

बिरामीलाई शारीरिक मात्र नभई मनोवैज्ञानिक रूपमै स्वस्थ राख्न स्वास्थ्यकर्मीको मनोवृत्ति सुधार्न जरुरी देखिन्छ । आफूले अध्ययन गर्दा लागेको महँंगो शुल्क र आफ्नो चिकित्सकीय उच्च ओहदा बिर्सिएर डाक्टरले बिरामीको सेवकका रूपमा आफूलाई स्थापित गर्नुपर्छ । कतिपय असाध्य रोगका बिरामीलाई मनोवैज्ञानिक असर नपरोस् भन्नका लागि बिरामीलाई रोगबारे लुकाएर उसका आफन्तलाई बताउने गरिन्छ । यो विश्वव्यापी प्रचलन नै हो । तर सामान्य उपचारका क्रममा जाने जोकोही बिरामीलाई चिकित्सकले रोगका असर, परिणाम र नतिजाबारे स्पष्ट पारी औषधी सेवन तथा आराम र खानपानबारे स्पष्ट जानकारी गराउनुपर्छ ।

सरकारी अस्पतालमा दुर्गन्धित शौचालय, फोहोर वातावरण अनि यथेष्ट उपकरणका अभावका कारण उपचार गर्न जान नचाहनेको जमात ठूलै छ । तर त्यहाँ स्वास्थ्य संस्थाले धान्नै नसक्नेगरी बिरामीको चाप बढेको बढ्यै छ । सरकारी अस्पतालमा यथेष्ट आधुनिक उपकरण नभएर पुरानै उपकरणबाट सेवा लिनुपर्दा बिरामी गुणस्तरीय स्वास्थ्यसेवा पाउनबाट बञ्चित छन् । सस्तो स्वास्थ्यसेवा प्राप्त गर्न सरकारी अस्पताल पुगेका कैयौं बिरामी रेडियोलोजी लगायतका सेवा लिन निजी अस्पतालमा जाने गरेका छन् । कतिपय चिकित्सक नै बिरामीलाई आफ्नो क्लिनिकमा आउन सल्लाह दिने गर्छन् र महंँगो स्वास्थ्यसेवा भिडाउँछन् । आईसीयु कक्षमा आवश्यक बेड नहुँदा बिरामी अलपत्र पर्ने वा निजी अस्पताल जानुपर्ने अवस्था छ ।

सरकारले स्वास्थ्यसेवामा गरिब विपन्नको पहुँच पुर्‍याउन सेवासुविधा वृद्धि गर्दै लगेको छ । तर जब बिरामी अस्वस्थ भएर अस्पताल पुग्छन्, शौचालयको दुर्गन्ध, उपकरणको अभाव र स्वास्थ्यकर्मीको रुखो र अधकल्चो सेवा र सल्लाहबाट बिरामी आजित भएको देखिन्छ । राजधानीकै सरकारी अस्पतालमा क्यान्सरजस्ता जर्जर रोगका बिरामीलाई रेडियसन थेरापीका लागि महिना दिनसम्म पर्खनुपर्ने अवस्था छ । प्रसूति गृह, टिचिङ, कान्ति लगायतका अस्पतालमा कतिपय अवस्थामा उपकरणको अभावमा बिरामीले बाहिर गएर उपचार गराउनुपर्ने बाध्यता छ । सुविधा सम्पन्न अस्पताल खोलेर गरिब विपन्न जनतासम्म गुणस्तरीय स्वास्थ्यसेवा प्रदान गर्न सरकारले किन ढिलाइ गरिरहेको छ ? अस्पतालका मेसिन तथा औजार किन्न सरकारले किन आवश्यक बजेट व्यवस्था गर्न सक्दैन ? पर्याप्त स्वास्थ्यकर्मी र भौतिक संरचनाको व्यवस्थासँगै समय–समयमा स्वास्थ्य संस्थाहरूको अनुगमन, निरीक्षण किन गर्दैन ?

सरकारले जिल्ला अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ र स्वास्थ्य चौकीमा ३५ प्रकारका औषधी निशुल्क उपलव्ध गराउने घोषणा भएको छ । तर धेरैतिर बिरामीले औषधी नपाएको गुनासो गरिरहेको सुनिन्छ । स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकी, झाडाबान्ता जस्ता स्वास्थ्य समस्याका लागिसमेत औषधीको पर्याप्त व्यवस्था हुनसकेको पाइँदैन । अर्कातिर निजी क्षेत्रले अस्पताल खोल्ने क्रम बढिरहको छ । निजी अस्पतालहरूले पनि बिरामीलाई कसरी सस्तो दरमा गुणस्तरीय स्वास्थ्यसेवा दिन सकिन्छ भन्नेतिर लाग्नुपर्छ । सामुदायिक अस्पताल भन्ने बित्तिकै सेवामुखी र सस्तो स्वास्थ्यसेवा दिने अस्पताल भनेर चिनिन्छ । तर तिनीहरूले पनि सस्तो र सुलभ स्वास्थ्यसेवा दिनुपर्छ।

Esewa Pasal

प्रकाशित : चैत्र ३, २०७४ ०८:४१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सिरिया द्वन्द्व : गुटा र अफ्रिनमा ७७ मारिए

५० हजार विस्थापित
बीबीसी/एएफपी

दमास्कस — सिरियाका द्वन्द्वग्रस्त पूर्वी गुटा र अफ्रिन क्षेत्रमा शुक्रबार गरिएका हिंसात्मक कारबाहीका क्रममा कम्तीमा ७७ जनाको मृत्यु भएको छ । आक्रमणपछि कम्तीमा ५० हजार सर्वसाधारण उक्त क्षेत्रबाट बाहिरिएका छन् ।

पूर्वी क्षेत्र गुटामा रूसको सहयोगमा सरकारी सेनाले गरेको कारबाहीका क्रममा कम्तीमा ५९ जनाको मृत्यु भएको एएफपीले जनाएको छ । हवाई आक्रमणपछि उक्त क्षेत्रबाट २० हजारभन्दा बढी सर्वसाधारण अन्यत्र भागेका छन् । शुक्रबार गुटाको काफर बट्ना र सक्बा सहरमा गरिएका आक्रमणका क्रममा उनीहरूको मृत्यु भएको ‘सिरियन अब्जर्भेटरी फर हयुमन राइट्स’ ले जनाएको छ ।

त्यसैगरी, उत्तरी क्षेत्र अफ्रिनमा टर्किस फौजले ‘पिपुल्स प्रोटेक्सन युनिट (वाईपीजी)’ विरुद्ध गरेको आक्रमणका क्रममा १८ जनाको मृत्यु भएको छ । आक्रमणका कारण ३० हजारभन्दा बढी विस्थापित भएको बीबीसीले जनाएको छ ।

सिरियामा ७ वर्ष लामो गृहयुद्धका कारण हालसम्म करिब ४ लाख सर्वसाधारणको ज्यान गइसकेको छ । द्वन्द्वका कारण करिब ६१ लाख आन्तरिक रूपमा विस्थापित छन् भने ५६ लाखले विभिन्न देशमा शरणार्थी जीवन बिताइरहेको बीबीसीले जनाएको छ ।

द्वन्द्वमा प्रत्यक्ष रूपमा संलग्न टर्की, रूस र इरानका विदेशमन्त्रीहरू कजाक राजधानी अस्तानामा भेटवार्ता गरी आगामी महिना टर्कीको राजधानी इस्तानबुलमा हुने सिरियाबारे हुने सम्मेलनको तयारी गरेका छन् । सरकारी टेलिभिजनले अधिकांश महिला तथा बालबालिकाहरू सिरियाको उत्तरी र दक्षिणी क्षेत्रबाट बाहिरिएका दृश्यहरू प्रसारण गरेको बीबीसीले जनाएको छ ।

सन् २०१३ देखि विद्रोहीको नियन्त्रणमा रहेको पूर्वी गुटामा तीन सातायता भएका भिषण कारबाहीपछि करिब ७० प्रतिशत भू–भाग नियन्त्रणमा लिएको सरकारी सेनाले जनाएको छ । सिरियाको पूर्वी क्षेत्र गुटामा हाल दर्जनौं जिहादी समूहहरूले सशस्त्र विद्रोह गर्दै आइरहेका छन् । तीमध्ये जैस अल–इस्लाम र यसको विपक्षी फालक अल–रहमान मुख्य छन् ।

त्यसैगरी, सिरियाको उत्तरी क्षेत्र अफ्रिनमा गत जनवरी २० यता टर्कीको सरकारी सेनाले शक्तिशाली सिरियन कुर्दिस विद्रोही ‘पिपुल्स प्रोटेक्सन युनिट (वाईपीजी)’ विरुद्ध आक्रमण गर्दै आइरहेको छ ।

टर्कीले वाईपीजी कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) को विस्तारित संगठन भएको दाबी गर्दै आक्रमण गरेको हो । तर वाईपीजीले पीकेकेसँग आफ्नो कुनै सांगठनिक सम्बन्ध नरहेको बताउँदै आएको छ । पीकेकेले टर्कीको दक्षिणी क्षेत्रमा वर्षौंदेखि छुट्टै राज्यको मागसहित विद्रोह गर्दै आइरहेको छ ।

गत मंगलबार टर्कीले अफ्रिन क्षेत्रमाथि आफूले नियन्त्रण कायम गरेको जनाएको थियो । इस्लामिक स्टेटविरुद्धको कारबाहीमा अमेरिकाको एउटा महत्त्वपूर्ण साझेदार रहेको वाईपीजीले उत्तर–पूर्वी सिरियाका अधिकांश क्षेत्रमा नियन्त्रण कायम गरेको छ । सन् २०१६ मा इस्लामिक स्टेटलाई परास्त गर्दै मानविजमाथि कुर्दिस नेतृत्वको फौजले नियन्त्रण कायम गरेको थियो ।

अंकराले इस्लामिक स्टेटविरुद्धको कारबाही अन्त्य भइरहेको दाबी गर्दै अमेरिकाले वाईपीजी लगायतसँगको साझेदारी अन्त्य गर्नुपर्ने माग गर्दै आएको छ । सिरियाली राष्ट्रपति बसर अल–असदले टर्कीले कारबाहीका नाममा ‘अतिक्रमण’ गर्दै आइरहेको भन्दै निन्दा गर्ने गरेका छन् । उनले टर्कीले आतंकवादलाई सघाइरहेको आरोप लगाउँदै आएका छन् । उक्त क्षेत्रमा हाल करिब ३० हजार टर्किस सेना तथा उसको समर्थनमा हजारौं लडाकु कारबाहीमा संलग्न छन् ।

प्रकाशित : चैत्र ३, २०७४ ०८:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्