कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

क्रिकेटमा नयाँ चुनौती

सम्पादकीय

काठमाडौँ — नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने ऐतिहासिक उपलब्धि हात पारेको छ । आधिकारिक रूपमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २२ वर्षपछि नेपालले यो सफलता पाएको हो ।

क्रिकेटमा नयाँ चुनौती

जिम्बावेमा भएको विश्वकप छनोट क्रिकेट प्रतियोगितामा आठौं हुँदै नेपालले एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएको हो । अब नेपालले सन् २०२२ सम्म एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताका रूपमा आफुभन्दा शीर्ष १५ राष्ट्रसँग खेल्न पाउनेछ । एक महिनाको अन्तरमा विश्व क्रिकेट लिग डिभिजन २ र विश्वकप छनोटमा पाएको सफलताले नेपाली क्रिकेटलाई उचाइमा पुर्‍याएको छ ।

नेपाली क्रिकेटको आधिकारिक निकाय नेपाल क्रिकेट संघ (क्यान) निलम्बनकै स्थितिमा रहेका बेला नयाँ सफलता हात परेको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले क्यानलाई सहयोग दिनै रोकेको ३ वर्षभन्दा बढी भइसकेको छ । क्यान आईसीसीबाट निलम्बित भएको दुई वर्ष भइसकेको छ । विवादकै कारण क्यानले घरेलु लिग गराउन छाडेको वर्षौं भइसकेको छ । नेपाली क्रिकेट प्रशासन शून्य अवस्था रहेको समयमा खेलाडीले मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई क्रिकेट खेल्ने शीर्षस्थ राष्ट्र बनाउनु चानचुने सफलता होइन । यतिबेला अन्तर्राष्ट्रिय समुदायबाट नेपाली टिमलाई बधाईको ओइरो आइरहेको छ । तर विडम्बना, नेपाली क्रिकेटको व्यवस्थापनसँग सरोकार राख्ने निकायले भने यो सफलतामा न जस लिने अवसर पाए न त बधाई दिने वातावरण छ ।

नेपाली क्रिकेटका लागि थप सफलताका सिँढी चढ्न मात्र नभएर अहिले प्राप्त उपलब्धि टिकाइराख्न पनि चुनौतीपूर्ण छ । यसका लागि क्यानमाथि आईसीसीको निलम्बन फुकुवा अत्यावश्यक छ । क्यान निलम्बन भएयता नेपाली क्रिकेटलाई ब्युँताउन आइसीसीले गरिरहेको पहललाई जतिसक्दो छिटो टुंगोमा पुर्‍याउनुपर्छ । आईसीसीले बनाएको सल्लाहकार समितिले विधान तयार गरिसकेको छ । तर त्यसको कार्यन्वयनमा विभिन्न आशंका उत्पन्न हुँदा नेपाली क्रिकेट बन्दी बनिरहेको छ । विभिन्न चरणका वार्ता र बैठकले निकास दिन सकेका छैनन् । सरकारले क्रिकेट व्यवस्थापन पक्षमा देखिएको यो समस्यालाई निकास दिनका लागि प्रभावकारी कदम चाल्नु जरुरी छ । सबैलाई समेट्ने नाममा विवादलाई तन्काइरहनु आवश्यक छैन । सरकारले पनि आईसीसीलाई आफ्नो बलियो समर्थन छ भनेर विश्वास दिलाउनुपर्छ । अहिले नेपाली क्रिकेटको विवाद मिलाउन आईसीसी आफैंले नेपालको ढोका ढकढकाइरहेको छ । अब सरकारले निकास दिने बहानामा विगतको जस्तो राजनीतिक हस्तक्षेप गर्ने भूल पनि गर्नु हुँदैन ।

१० वर्षअघि डिभिजन ५ मा रहेको नेपालले प्रतिकूल घरेलु वातावरणका बाबजुद एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको हो । अब नेपालको लक्ष्य विश्वकप हुनुपर्छ । हिजोका दिनमा पनि नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । तर क्यान बलियो नहँुदा त्यो उपलब्धि सार्थक बन्न सकेन । त्यसैले अहिले प्राप्त एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई टिकाइराख्न र अझै अरू फड्को मार्न सक्षम क्यान चाहिन्छ । क्यानमा काम गर्ने अधिकार व्यवस्थापनमा रहेका कर्मचारीलाई हुनुपर्छ । क्यानमा बसेर आफुलाई ‘स्वयंसेवी’ पदाधिकारी भनेकै भरमा अब नेपाली क्रिकेट चल्न सक्दैन ।

नेपाली खेलकुदको भौतिक पूर्वाधार निकै कमजोर छ । अहिलेको पूर्वाधारले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता धान्न धेरै गाह्रो हुन्छ । देशकै एक मात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा पर्याप्त सुविधा छैन । बहुप्रतीक्षित मूलपानीको दुईमध्ये एक मैदान कामचलाउ हिसाबमा प्रयोगमा आए पनि अर्को मुआब्जा विवादका कारण निर्माण बिचैमा रोकिएको छ । भौतिक पूर्वाधारमा सरकारको लगानी अत्यावश्यक छ । क्रिकेट खेलका गतिविधि बढाउँदै नयाँ खेलाडी उत्पादन गर्न समेत हरेक प्रदेशमा कम्तीमा एउटा अन्तर्राष्ट्रिय मैदान अत्यावश्यक जस्तो भइसकेको छ ।

नेपालले पाएको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता निश्चित समयका लागि मात्र हो । यो मान्यतालाई जोगाइराख्ने नीति तथा कार्यक्रम अत्यावश्यक छ । यसपालिको विश्वकप क्रिकेट छनोटमा नेपालभन्दा पछाडि परेका हङकङ र पपुवा न्यु गिनी डिभिजन २ मा झरेका छन् । केन्या एक समय एसोसिएट क्रिकेटका लागि उदाहरण थियो । ५ पटक विश्वकप खेलिसकेको केन्या लथालिंग व्यवस्थापनकै कारण दशकदेखि थलिएर डिभिजन ३ मा झरिसकेको छ । यी दृष्टान्त नेपाली क्रिकेटका लागि पाठ बन्नुपर्छ ।

प्रकाशित : चैत्र ५, २०७४ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?