कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

शौचालयविहीन देवालय

डा. अरूणा उप्रेती

काठमाडौँ — केही महिनाअघि एक दिदीले मसँग भनिन्, ‘मेरो टोलमा एक मन्दिर बनाउन थालेकी छु, केही पैसा दान देऊ न ।’

शौचालयविहीन देवालय

मैले भनेंँ, ‘नेपालमा अब पहिले बनेका मन्दिरहरूको संरक्षणमात्रै गरे पुग्छ । किन नयाँ मन्दिर चाहियो ? बरु तिम्रो टोल नजिकै भएको राम मन्दिरमा आउने भक्तजनलाई शौचालय बनाइदिने हो भने म केही योगदान गर्छु ।’

मेरो कुरा सुनेपछि उनले ‘देवालय र शौचालयलाई एकै ठाउँमा राखी’ भनेर मेरी आमालाई गुनासो गर्न पुगिछन् । ८० वर्षीया मेरी आमाले मलाई झपारिन्, ‘बरु पैसा नदिए हुन्थ्यो, देवालयको सट्टा शौचालय बनाउ भनेर अरूको हाँसो किन उडाउनुपर्‍यो र †’ मैले भनेँ, ‘मैले के नराम्रो बोलेँ र ? मन्दिरमा आउने भक्तजनहरू शौचालय नपाएर छट्पटिन्छन् । शौच रोक्न सकिन्छ र ? अनि त्यही मन्दिर वरिपरिको झाडी वा कुनामा पिसाब–दिसा गर्दा अन्य भक्तजनलाई समस्या पर्दैन र ? शौचालय बनाउनु देवालय बनाउने जतिकै पुण्य काम हो नि ।’ मेरो भनाइ आमालाई चित्त त बुझेन । ‘तिमीसँंग कसले पो बहस गर्न सक्छ’ भन्नुभयो ।

मेरो बोलीले मेरी आमाको चित्त नदुखोस् भन्ने मनसाय राख्दाराख्दै पनि कहिलेकाहीं शब्दवाणले आमाको चित्त दुखाउँदा म आफै पनि उदास त बन्छु । तर नयाँ मन्दिर बनाउनुभन्दा नयाँ शौचालय बनाएर पानी र सफाइको व्यवस्था गरे बढी धर्म लाग्छ भन्ने कुरामा चाहिँ म विश्वस्त छु ।

नेपालका मन्दिरहरू घुमिरहँदा मलाई जहिले पनि केही प्रश्न मनमा आउँछन्– किन हाम्रो धर्मले हामीलाई सफा हुन सिकाएन ? वातावरणको रक्षा गर्न किन सिकाएन ? पशुपतिदेखि बुढानीलकण्ठ वा शैलेश्वरी जहाँ पुग्छु, फोहोर र पिसाबको गन्धमात्र आउने हुनाले मन्दिरमा शौचालयको प्रबन्ध गर्नुपर्छ भन्ने मेरो भनाइमा के गल्ती छ र ?

गल्ली–गल्लीमा ठडिएका भगवानका मूर्तिजस्तै ठाउँ–ठाउँमा पानीको व्यवस्थासहित शौचालय भएको भए काठमाडौं सायद बढी सुन्दर हुन्थ्यो होला । तर मन्दिर बनाउने कसैले पनि शौचालयको जस्तो अति महत्त्वपूर्ण ‘आलय’लाई किन वास्ता नरेका होलान्, बुझिनसक्नु छ । आफ्ना आमाबुबाको नाममा मन्दिरको भर्‍याड वा गजुर बनाउनेहरूलाई कसैले पनि गजुरभन्दा बढी जरुरी मन्दिर वरिपरि शौचालय छ भन्ने जानकारी किन नदिएका होलान् ?

प्राय: ठूलठूला मन्दिर नजिकै जंगल हुन्छ, भक्तजनहरू केही घन्टा मन्दिरमा प्रार्थना/भजन गरेर बस्दा पिसाब–दिसा लागे जंगलको कुनामा गएर आफूलाई हलुको पार्छन् । के कुनै गिर्जाघर र मस्जिदमा जाने भक्तजनले पनि आफ्ना यी धर्मिक स्थलको कुनामा गएर आफूलाई ‘हलुको’ पारेछन् होला ?

नेपालमा भूकम्पमा धरहरा भत्किएपछि धरहरा ठड्याउन योगदान दिनुपर्छ भनेर धेरैले फेसबुकमा लेखे । तत्कालीन प्रधानमन्त्री केपी ओलीले त धरहरा ठड्याउन एक महिनाको तलब नै दिए । त्यो बेला मैले त्यसको औचित्य नभएको बरु त्यो ठड्याउने पैसाचाहिँ नेपालमा शौचालय बनाएर सरसफाइ र पानीको व्यवस्था गर्नुपर्नेमा जोड दिएकी थिएँ । अहिले पनि म त्यसैमा अडिग छु ।

कतिले आमाबुबाका नाममा श्राद्धको पैसा देवालय बनाउँछौं भनेर सर्गव घोषणा गर्छन् । तर कसैले पनि स्कुल वा देवालय नजिकै आमाबुबाको श्राद्धका लागि राखेको पैसाले शौचालय बनाउँछु भन्ने साहस गर्दैनन् । ‘शौचालय’ फोहोरीपनसँंग जोडिएको हुनाले यस्तो साहस नआएको हुनसक्छ । तर जब विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले ‘नेपालमा शौचालय बनाउनुपर्छ’ भन्छन्, कोही नेता सरकारी कर्मचारीले ‘छ्या यस्तो फोहोरी कुरा पनि गर्ने हो र ?’ भन्दैनन्, बरु संस्थाले पैसा दिएर बनाएको विद्यालयको शौचालयको उद्घाटन गर्नचाहिँ जान्छन्, अनि शौचालयका बारे बखान गर्छन् । तर जब समारोह खतम हुन्छ, उनीहरूले शौचालयको महत्त्व पनि बिर्सिन्छन् ।

संस्थाहरूले पनि हजारौं भक्तजन आउने मन्दिरमा शौचालय बनाउने कुरा किन नसोचिदिएका होलान् ? शिवरात्रि, दसैंजस्ता चाडमा पशुपतिमा लाखांै मानिस ५ घन्टा लाइन बस्दा उनीहरूलाई कति छट्पटी हुँदो हो । तर खोइ त त्यो बेलाको लागि शौचालय बनाएको ? राजनीतिक दलका नेताहरूलाई शौचालयको व्यवस्था नभएर जनस्वास्थ्यमा कति समस्या पर्छ भन्ने थाहा छैन कि † नेताहरूको बोलीमा शौचालयको भाषण हुँदैन ।

महिलालाई त झन् व्यवस्थित शौचालय आवश्यक हुन्छ । उनीहरूले पिसाब धेरै बेरसम्म च्यापेर राखे मूत्राशयको संक्रमण हुन्छ र बारम्बार यस्तो भए मृगौलामा पनि नराम्रो असर पर्छ । तर यति साधारण कुरा न मन्दिरको व्यवस्थापन, न ठूला भक्त नेता, न सरकारी कर्मचारीले सोचविचार गर्ने गरेका छन् ।

दिसा–पिसाब लागिहाले कहाँ जाने भन्ने चिन्ताले ठूलठूला जात्रा, मन्दिर, भिडभाड हुने क्षेत्रमा म कहिल्यै जाँदिन । चाडपर्वमा मन्दिर नजाने हुनाले कतिले मलाई ‘नास्तिक’ भन्छन् । तर म शरीर धर्मको वास्ता गर्ने भएकोले आफूलाई आस्तिक भन्छु । बरु शरीर धर्मको वास्ता नगरेर शौचालय नभएको ठाउँमा घन्टौं उभिरहने र रोग निम्ताउनेहरू पो नास्तिक हुन् कि !

माघे संक्रान्तिमा देवघाटको मेला जाने श्रद्धालुले सायद नदीमै पिसाब गर्छन् । के यसले नदी अपवित्र हुँदा भक्तजनहरू पापको भागी हुँदैनन् र ? यस्ता ठाउँमा कतै–कतै अस्थायी शौचालय त देखिन्छन् । तर दुर्गन्धले त्यहाँ जाने कसैको साहस हुँदैन । शौचालय वरिपरि नै ‘शरीर धर्म’ निर्वाह गरेको दृश्य कुनैबाट छिपेको छ र ? कुनै नयाँ देवताको मूर्ति उभ्याएर नजिकै शौचालय बनाएर पानीको व्यवस्थापनसमेत गरिदिए समाजमा बढी योगदान हँुदैन र ? पितृहरू पनि खुसी नै हुन्थे । देवतालाई पनि गन्धबाट मुक्ति मिल्थ्यो होला ।

प्रकाशित : चैत्र ५, २०७४ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?