देउकलियाका व्याधा र सिंहदरबारका प्यादा

के हाम्रो विवेक मरिसक्यो ? किन दण्डित हुँदैनन्, देउकलियाका व्याधाहरु ? बेला छँदै किन जाग्दैनन्, सिंहदरबारका प्यादाहरु ?
कृष्ण पहाडी

काठमाडौँ — ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस, विश्वभरि नै कतै धुमधामसाथ कतै औपचारिकतावश मनाइँदै थियो । त्यही दिन नेपालको कैलाली जिल्लाको घोडाघोडी नगरपालिकास्थित देउकलियाका व्याधाहरूले भने फरक ढंगले नारी दिवस मनाए ।

देउकलियाका व्याधा र सिंहदरबारका प्यादा

त्यो दिन एक जमातले किशोर वयकी राधालाई घरबाट लछारपछार गर्दै बाँधेर अर्काको आँगनमा पुर्‍याए र बोक्सीको आरोप लगाउँदै हुर्मत लिन थाले, जहाँ तमासेहरूको ठूलै भिड जम्मा भएको थियो । नागहरूको कथामा आधारित हिन्दी चलचित्रमा देखिने सपेराजस्तै एउटा आततायी पात्रले बोक्सी बकाउने निहुँमा तमासा सुरु गर्‍यो । त्यसैको मतियार अर्को नारी आकृतिबाट पनि त्यही अभिनय दोहोरियो । वरिपरि सयौँको संख्यामा तमासे, रमितेहरू थिए, राधामाथि निरन्तर लात र घुस्सा प्रहार भइरह्यो । रमितेहरू तमासा हेरिरहे । राधाको गलाबाट आर्तनाद र चित्कार निस्किरह्यो, देउकलियाका व्याधाहरूले राधामाथि अत्याचार गर्नेहरूलाई हौस्याइरहे । यसरी देउकलियाका व्याधाहरूले नारी दिवसमा नारी अस्मितामाथि धावा बोल्दै नारी मर्यादाको सिकार गरे ।

देउकलियामा राधाको चीरहरण हुँदा कुनै कृष्णहरू देखिएनन् । दुर्योधन र दुशासनहरूले घन्टौंसम्म ताण्डव गरिरहँदा भिड मौन मात्र रहेन, अपितु दुशासनहरूको समर्थनमा ताली बजाइरह्यो । धिक्कार छ, आफूलाई अभिभावक ठान्ने देउकलियाका धृतराष्ट्रहरूलाई अनि धिक्कार छ, देउकलियाका निर्वाचित पाण्डवहरूलाई अनि एकमुष्ट धिक्कार छ, देउकलियाका व्याधाहरूलाई । किन यो समाजमा पटक–पटक राधाहरूको चीरहरण हुन्छ ? किन मीराहरू बलात्कृत हुन्छन् ? किन सीताहरूको अपहरण हुन्छ ? के यो समाज बौलाइसक्यो ? किन यो समाजमा ताराहरूको सतित्व हरण हुन्छ ? किन यो समाजमा सरस्वतीहरूलाई मानव मलमूत्र खुवाइन्छ ? किन यो समाजमा पार्वतीहरूलाई जिउँदै जलाइन्छ ?

त्यो दिन दुर्योधनको विषाक्त नङ्ग्राले राधालाई कोपरिरह्यो । दुशासनको वज्रमुक्का राधामाथि निरन्तर वर्षिरह्यो । एकातिर आत्मा नै डामिनेगरी शब्दको घाउ त अर्कोतिर शरीरभरि निलडाम । राधाको आत्मा र शरीर चहराइरह्यो, देउकलियाका व्याधाहरूले नुन–खुर्सानी छर्किरहे । ६ घण्टासम्म देउकलियामा नारी अस्मिताविरुद्ध ताण्डव चलिरहँदा प्रतिवाद गर्ने कुनै प्राणी देखिएन, न त जनप्रतिनिधि नामका कुनै जीवले त्यो अत्याचारविरुद्ध एक शब्द बोले । त्यसको समापन भने स्थानीय प्रहरी कार्यालयमा मञ्चन भयो, जसको प्रमुख अतिथिका रूपमा स्थानीय मेयर झुल्किए अनि आधाभन्दा बढी गाउँले झारफुक गर्ने ठेट्नाको पक्षमा रहेको भन्दै पक्राउ परिसकेको आततायीलाई छुटाएर लगे ।

एउटी चेलीको स्वाभिमान, मर्यादा आहत भएको र समग्र सभ्यता लज्जित भएको त्यो घटना सामान्य होइन । अक्सर हामी बुद्ध र सगरमाथाको दुहाइ दिएर फुर्किन्छौं, तर हामी यो बिर्सन्छौं कि राधाहरूमाथि अत्याचार भइरहँदा त्यो क्रूर एवं बर्बर समाजको सदस्यको खराब पहिचान पनि छाया भएर हामीसँगै हिँडिरहेको हुन्छ । थाहा छैन, देउकलियाका व्याधाहरूको आँखा कहिले खुल्छ ? थाहा छैन, सिंहदरबारका प्यादाहरूको चेत कहिले खुल्छ ?

विगत ३ दशकमा नेपालमा ठूलठूला राजनीतिक परिवर्तन भए, तर शासन पद्धति अर्थात हुलाक बद्लिए पनि हुलाकीहरू कतै उही त कतै उस्तै पात्रहरू रहे । राजनीतिक सत्ता बदलिए पनि सामाजिक सत्ताको स्वरूप झन्डै उस्तै छ, जहाँ अन्धविश्वासको जरा अशिक्षित वृत्तमा मात्र होइन, राजनीतिक नेतृत्वमा पनि व्याप्त छ । त्यसैले दलितहरूले कुटाइ खाएको, छुवाछूत र भेदभावको सिकार भएको, महिलाहरूमाथि अत्याचारको सिलसिला निरन्तर छ । त्यसैको पछिल्लो संस्करण हो, देउकलियाको घटना । अन्यत्रझैं देउकलियाका व्याधाहरूसँग पनि संरक्षणका लागि १० वटा शिर छ, कुनै एमालेको, कुनै कांग्रेसको, कुनै माओवादीको त कुनै फोरम र राजपाको । स्थुलमा हेर्दा देउकलियाका व्याधाहरू पनि हातमा मोबाइल बोक्छन्, छोराछोरीलाई विद्यालय पठाउँछन्, इन्टरनेट चलाउँछन् र घन्टौंसम्म सामाजिक सञ्जालमा भुन्डिन्छन् । तर सूक्ष्ममा भने कोही बिरामी पर्दा अस्पताल र चिकित्सकमा भन्दा झारफुकमा र भोलेको नाम बदनाम गर्दै अक्षता छरिहिँड्ने आवारा किसिमको एउटा ठेट्नामाथि तिनको विश्वास ज्यादा छ, जसको पेसा नै तमासा गर्नु हो । समग्रमा भन्नुपर्दा त्यो तमासाका मतियार, साझेदार रमितेहरू र संरक्षक सबै अपराधी हुन् ।

मानवअधिकार उल्लंघन राज्यले गर्छ, अर्थात त्यस्तो उल्लंघनमा राज्यका निकायहरू संलग्न हुन्छन् । यसैगरी सशस्त्र/निशस्त्र संगठित समूहहरूले मानवअधिकार ज्यादती गर्छन् । राज्यलाई प्रतिनिधित्व नगरे पनि त्यस्ता समूहहरू संगठित हुन्छन् । अत: त्यस्ता समूह र सदस्यहरूले गर्ने अधिकार उल्लंघनलाई ज्यादती भनिन्छ । तेस्रो, मानव गरिमा विरुद्ध घातको सिलसिला जसमा विभिन्न समुदायहरूको संलग्नता छ । त्यस्तो घातमा सामाजिक संरचना जिम्मेवार छ । सामाजिक सत्ताको आडमा हुने त्यस्तो घातमा स्थानीय समुदाय, राजनीतिक समाज, निर्वाचित निकाय, सबै सामेल छन्, जहाँ राज्य कहिले रमिते, कहिले मौन त कहिले निरीह देखिन्छ । स्थानीय समाज/समुदायको समर्थनको लोभ वा विरोधको डरले ग्रसित भएका कारण त्यस्तो घातविरुद्ध उभिने साहस राजनीतिक समाजले अक्सर देखाउँदैन । समाज परिवर्तनको चालक शक्तिका रूपमा रहेको राजनीतिक समाज नै त्यस्तो घातमा कतै आबद्ध, कतै साक्षी त कतै मौन बसेपछि यो सिलसिला निरन्तर दोहोरिरहन्छ । तीनै प्रकारको मानवअधिकार उल्लंघन, ज्यादती र घातमा दण्डहीनताले प्रश्रय पाइरहेको छ ।

नेपालमा दण्डहीनता मौलाएको मात्र होइन, संस्थागत नै भइसकेको छ । पीडकहरूले उन्मुक्ति पाएको मात्र होइन, पुरस्कृत नै भएको अनेकौं उदाहरण छन् । पीडकहरू शक्तिशाली छन्, पीडितहरू निरीह छन् । धर्म मान्नु भनेको अन्धविश्वास होइन । तर धर्मको हवाला दिएर गरिने अत्याचार अपराध हो । धर्मको गुदी नजान्नु भनेको मुर्खता हो, त्यही मुर्खताले अन्धआवेगलाई बढावा दिन्छ । धर्मको नाममा बोक्राको व्यापार गर्ने ठगहरूको बल भनेकै त्यस्तै अन्धआवेग हो । जानेर/नजानेर नेपालका कैयन नामधारी नेताहरूले पनि त्यस्तै प्रवृत्तिलाई बढावा दिएका छन् ।

धर्मले सात्विक वृत्तिमा जोड दिन्छ । सात्विक वृत्तिले कुनै पनि क्रूरता र अन्धविश्वासलाई खारेज गर्छ । ओली, प्रचण्ड, देउवा सात्विक वृत्तिका होइनन्, तथापि कसैले क्रान्तिकारी, कसैले प्रगतिशील त कसैले समाजवादी खास्टो ओढेको हुँदा त्यति अन्धविश्वासी नहुनुपर्ने हो । तर लाग्छ, कैयन नेताको अन्तस्करणमा नै अन्धविश्वासको वीज सुषुप्त अवस्थामा रहेको छ र सत्ताको रसले सिञ्चित हुनासाथ त्यो वीज स्वत: टुसाउन थालेको देखिन्छ । कुनै बेला धर्म अफिम हो भन्ने गुरुमन्त्र जप्दै हिँड्ने पुष्पकमल दाहाल प्रधानमन्त्री बन्नासाथ तान्त्रिक चेतले भैंसी पूजामा रमाएको देखियो । त्यसो त द्वन्द्वकालमा तास, जुवा खेलिहिँड्नेहरूलाई बाह्रमासे भन्दै माओवादीले भाटेकारबाही गरेको र मुखमा त्यही तासको पत्ती कोचेको प्रशस्त सुनियो । यद्यपि त्यो पनि ज्यादतीकै एउटा रूप थियो ।

तर सत्तारुढ हुनासाथ माओवादीको सबैभन्दा ज्यादा चासो जुवाको खाल अर्थात काठमाडौँका क्यासिनोहरूमा देखियो । भाटे कारबाही गर्ने कमरेडहरू कोही बाउन्सर त मुखमा तास कोच्ने महिला कमरेडहरू परिचारिकाका रूपमा क्यासिनोमा भर्ति भए । प्रचण्डको पहिलो प्रधानमन्त्रीत्व कालमा महिलालाई बोक्सीको आरोपमा मलमूत्र खुवाउने, अत्याचार गर्ने, छुवाछूत लगायत दलितहरूमाथि अत्याचारजस्ता मानव गरिमा विरुद्ध घातका कैयन घटना भए । तर त्यस्ता घटनामा संलग्नहरूलाई कानुनी रूपमा दण्डित गरेरै छाड्ने दृढ इच्छाशक्ति प्रचण्ड सरकारमा देखिएन । कहिले क्रान्ति त कहिले शान्तिका कुरा गर्ने र भ्रान्तिका कुरा गरेर भए पनि खाली नबस्ने केपी शर्मा ओलीको ‘अलच्छिनवाद’ बुझिनसक्नु छ । २०७३ मा सत्ता छाड्नुपरेपछि रन्थनिएका ओलीले एमालेद्वारा सञ्चालित मेची–महाकाली अभियानका क्रममा यातायात दुर्घटनाका केही घटना उद्धरण गर्दै प्रचण्ड सरकारलाई ‘अलच्छिना सरकार’ घोषणा गरेका थिए, जुन अन्धविश्वास र रुढीवादी मानसिकताकै पृष्ठपोषण थियो । भर्खरै काठमाडौँमा भएको हवाई दुर्घटनामा परेर ४९ जनाको मृत्यु भयो ।

त्यो दु:खद घटना थियो, तर विगतमा ओलीले जस्तो अलच्छिना सरकार भन्ने भुल अरूले दोहोर्‍याउनु हुँदैन । बरु ओली नेतृत्वको सरकारलाई काम गर्न समय र वातावरण दुवै प्रदान गर्नुपर्छ । त्यसो त उखान–टुक्कामा ओली जत्तिको जानकार अरू भेट्न गाह्रो छ । कुनै बेला ओलीको मुखारविन्दबाट फुत्त निस्किएको एउटा उखान थियो, ‘भोको गोरुले दाम्लो चुँडाएर तातो खोलेमा मुख गाडेजस्तो ।’ सांसदका रूपमा सपथ नलिँदै, संसद्को पहिलो बैठक नबस्दै सत्ताको तातो खोलेमा मुख जोतेर सुरु भएको ओलीको दोस्रो कार्यकाल मुख पोलेर बोल्नै नहुने अवस्थामा नपुगोस्, शुभकामना ।

त्यसका लागि प्रधानमन्त्री ओलीले दृढ इच्छाशक्तिको प्रदर्शन गर्ने बेला आयो । मानवअधिकार उल्लंघन, ज्यादती र मानव गरिमामाथि घात गर्ने जोकोही हुन्, कानुनी रूपमा दण्डित गर्नुपर्छ । आफ्नै दलका सदस्य छन् भने सदस्यता खारेज गर्नुस् । प्रहरी चौकीहरू बलात्कारका घटनामा मिलापत्र गर्ने बिचौलियाको अड्डा भएका छन् । प्रहरीका हाकिमहरू पात्र र ठाउँ हेरी बलात्कारी छोड्ने रेट निर्धारण गरेर बसेका छन् । त्यस्ता प्रहरी प्रशासकलाई तत्काल कारबाही गर्नुस् । एमालेले संरक्षण दिएका/नदिएका सबै माफिया, डन र गुन्डा नाइकेहरूमाथि कारबाही थाल्नुस् । आफ्नो मन्त्रिपरिषद्मा कम्तीमा ३३ प्रतिशत महिला, उपयुक्त संख्यामा दलितहरूलाई समावेश गर्नुस् । राम्रो काम गर्न कसले रोकेको छ ? अब काम गर्नुस् । उखान–टुक्का सुनाउने जिम्मा प्रचण्डलाई छोड्नुस् । राम्रो काम गर्न सक्नुहुन्न भने पनि नराम्रो काम नगर्नुस् । गम्भीर अपराधका आरोपी/संलग्नहरूको मुद्दा फिर्ता लिने वा आममाफी दिने काम गर्नुभयो भने कलंकित प्रधानमन्त्रीका रूपमा दर्ता हुनुहुनेछ ।

अन्धविश्वासका मामलामा प्रजातान्त्रिक खाममा समाजवादी टिकट टाँसेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अझ अगाडि छन् । तन्त्र, मन्त्र, बलि, धामी, झाँक्री, जोखाना परम्पराका संरक्षककै उपमा देउवालाई दिए फरक पर्दैन । ६ पटकसम्म देउवाले चुनाव जितेको डडेलधुरामा दलितमाथि अत्याचारका घटनाहरू भइरहन्छन्, तर ४ पटक प्रधानमत्री बन्दा पनि पीडकलाई कारबाही गर्ने इच्छाशक्ति देउवामा देखिएन । अहिले कुनै अनाम ज्योतिषीको हवाला दिँदै ७ पटक प्रधानमन्त्री बन्ने हावादारी गफमा देउवा व्यस्त छन् । विशेष औँठीले सज्जित देउवा विपक्षीहरूसँग वार्ता गर्दा पनि औँठी घुमाउँछन् । लाग्छ, त्यही औँठी नै देउवाको सफलताको मियो हो ।

मधेस केन्द्रित दलका नेताहरू यस मामलामा झनै अगाडि छन् । तन्त्रको चक्करमा परेर कसैले दसै औँलामा औँठी लगाएका छन् त कसैले नारी स्वतन्त्रताका सवालमा विवेकलाई बन्धक बनाएका छन् । मधेसमा बोक्सीको आरोपमा महिलामाथि घात हुँदा, दाइजोको नाममा प्रताडित हुँदा, दलितमाथि अत्याचार हुँदा रुढीवादको पसल थापेर बसेका यी नेताहरू मौन बस्न नै रुचाउँछन् । कुनै बेला राष्ट्रपति विद्यादेवी भण्डारीले सीताभूमि जनकपुर यात्रा गर्दा मधेसका यिनै नेताहरूसहितका मठाधीशहरूले राष्ट्रपति भण्डारीको विरोधको नाममा मर्यादाको सीमा नाघेर प्रदर्शन गरेको आचरण लज्जास्पद थियो । पूर्ववर्ती शासकहरूको कुरा गर्ने हो भने पूर्वराजा ज्ञानेन्द्रले एकपटक गढीमाईमा मुसोको पनि बलि चढाएका थिए । यिनै नेता/अभिनेताहरूद्वारा निरन्तर पृष्ठपोषण भइरहेको अन्धविश्वास शृङखलाको एउटा भद्दा दृश्य हो, देउकलियाको घटना ।

पुराणमा वर्णित कथाअनुसार द्वापर युगमा व्याधाको वाणबाट कृष्णको मृत्यु भएको थियो । देउकलियाका व्याधाहरूले चलाएको वाणबाट फेरि एकपटक मानवता घायल भएको छ । मर्यादा हायल–कायल भएको छ । ज्ञान विरोधी, विज्ञान विरोधी, नारीको मान विरोधी र मनुष्य जातिको स्वाभिमान विरोधी देउकलियाका व्याधाहरू दण्डित नहुने हो भने अनेकौं राधाहरू लाञ्छित भइरहन्छन्, अनेकौं सीताहरू अपमानित भइरहनेछन् ।

अस्पतालको शैयामा राधा एक्लै बर्बराउँछिन् । राधाको शरीरमा भन्दा आत्मामा लागेको चोट गहिरो छ । चोट राधाको शरीर र आत्मामा मात्र होइन, स्वतन्त्रता र करुणाको पक्षधर लाखौँ–करोडौँको आत्मामा लागेको छ । तर पनि कतिपय हामी मौन छांै । के हाम्रो स्वाभिमान मरिसक्यो ? के हाम्रो विवेक मरिसक्यो ? होइन भने किन दोहोरिन्छन्, यस्ता घटनाहरू ? किन दण्डित हुँदैनन्, देउकलियाका व्याधाहरू ? बेला छँदै किन जाग्दैनन्, सिंहदरबारका प्यादाहरू ?

प्रकाशित : चैत्र ६, २०७४ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?