सीमापार आतंकवाद र भारत

दुई देशद्वारा जारी गरिने संयुक्त वक्तव्यमा आतंकवादको निन्दा मात्र होइन, आतंकवादीहरुलाई सुपुर्दगीको ठोस खाका पनि प्रतिविम्बित हुनुपर्छ ।
कृष्ण पहाडी

काठमाडौँ — ‘म यहीँ सुहागन (बेहुली) बनेँ । म यहीँ आमा बनेँ । म यहीँ विधवा बनेँ ।’ विदेशी भनेर भारतीय जनता पार्टी (भाजपा) ले प्रताडित गर्न थालेपछि केही दशकअघि सोनिया गान्धीले हिन्दीमा दिएको उपरोक्त भाषणले धेरैको मन छोएको थियो ।

सन् २००४ को लोकसभा निर्वाचनअघि तत्कालीन प्रधानमन्त्री अटलविहारी वाजपेयीको लोकप्रियता उचाइमा थियो । निर्वाचन अघि भारतका प्रसिद्ध राजनीतिक विश्लेषकहरू अनि सञ्चार माध्यमहरू एउटै रट लगाइरहेका थिए, ‘भाजपाले बहुमत ल्याउने निश्चित छ । यदि त्यसो भएन भने पनि वाजपेयीकै नेतृत्वमा गठबन्धन सरकार बन्छ ।’ तर अनेकौं नामधारीको त्यो विश्लेषण हावा खायो र कांग्रेस नेतृत्वमा सरकार बन्यो ।

केही भाजपा नेतृले सोनिया गान्धी प्रधानमन्त्री भए कसैले केदारनाथ गएर त कसैले जगन्नाथ, शिर मुण्डन अर्थात कपाल खौरने प्रतिज्ञा गरेका थिए । वर्तमान विदेशमन्त्री सुष्मा स्वराजले सोनिया प्रधानमन्त्री भए शिर मुण्डनसहित क्रियामा बसेको भान पर्नेगरी सेतो सारीसमेत लगाउने प्रचार गरेकी थिइन् । स्वराज प्रवृत्ति त्यसबेला झनै लज्जित भयो, जब सोनिया गान्धी आफैले प्रधानमन्त्री बन्न कुनै इच्छा देखाइनन्, बरु भद्र स्वभावका मनमोहन सिंहलाई प्रधानमन्त्रीका रूपमा अघि सारिन् । त्यही इतिहास २००९ को लोकसभा निर्वाचनमा पनि दोहोरियो र कांग्रेसले एक दशकसम्म भारतको केन्द्रीय सत्ताको नेतृत्व गर्‍यो । २००४ को त्यो निर्वाचन परिणामपछि राजनीतिबाट नै वाजपेयीको मोहभंग भएको देखियो ।

Yamaha


सन् २००२ मा मोदी गुजरातको मुख्यमन्त्री छँदा गोधरा रेल स्टेसनछेउ उपद्रवी तत्त्वले रेलको डिब्बामा आगो लगाउँदा ५९ जना हिन्दु तीर्थयात्रीहरूको मृत्यु भएको थियो । त्यसपछि गुजरातमा भड्किएको दंगाका कारण १ हजारभन्दा बढी मारिए, हजारौं घरबारविहीन भए । (आधिकारिक रूपमा १ हजारको हाराहारी भनिए पनि दंगामा मारिनेको संख्या बढी भएको बताइन्छ ।) त्यसबेला मोदी नेतृत्वको प्रान्तीय सरकारले दंगा रोक्न इमानदार प्रयास नगरेको आरोप कतिपयले लगाउँदै आएका छन् । तत्कालीन प्रधानमन्त्री वाजपेयी पनि मोदीसँग खुसी नभएको त्यसबेला प्रकट भयो, जब एउटा कार्यक्रममा वाजपेयीले ‘मोदीले राजधर्म निर्वाह गर्नुपर्छ’ भनेपछि मञ्चमै बसेका मोदीले वाजपेयी बोलिरहँदा ‘त्यही त गरिरहेको छु, साहेब’ भनेपछि विषय अन्यत्रै मोडियो । वाजपेयीको इसारा सायद त्यत्रो दंगा–फसाद भएपछि नैतिकताको आधारमा मोदीले राजीनामा गर्नुपर्छ भन्ने हुनसक्छ । आफ्नो देशको प्रधानमन्त्री बोलिरहँदा ओँठे जवाफ फर्काउने मोदीको धृष्टताको कारण राष्ट्रिय स्वयंसेवक संघको बलियो साथ भएको छिपेको छैन । गुजरात दंगापछि गोवामा बसेको भाजपाको केन्द्रीय कार्यकारिणी बैठकअघि वाजपेयीले मोदीका त्यसबेलाका प्रबद्र्धक लालकृष्ण आडवाणीसँग मोदीको राजीनामामा जोड दिए तापनि गोवा बैठकमा दृश्य अर्कै देखियो । जब मोदीले मुख्यमन्त्री पदबाट राजीनामा दिने कुरा गरे, बैठकका सहभागीहरूले राजीनामा दिन नहुने अडान लिए । वाजपेयीको जीवनीबारे केन्द्रित एउटा पुस्तकमा उल्लेख भए अनुसार उक्त बैठकमा आफू विरुद्ध ‘कू’ भएको तितो अनुभव वाजपेयीको थियो । सायद त्यसैले होला, वाजपेयीका दृष्टिमा २००४ को लोकसभा निर्वाचनमा भाजपा पराजयको मूल कारण गुजरात नरसंहार र मुख्यमन्त्री पदमा मोदीको निरन्तरता रह्यो ।


नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले चाँडै भारत भ्रमण गर्ने समाचार आएको छ । २०१४ को लोकसभा निर्वाचनबाट सर्वशक्तिमान प्रधानमन्त्रीको रूपमा उदाएका मोदीको अर्को परीक्षा १ वर्षपछि अर्थात २०१९ मा हुने लोकसभा निर्वाचनमार्फत हुँदैछ र वाजपेयीकै नियति दोहोरिने हो वा सत्तायात्रा पुन: नवीकरण हुने हो, हेर्न बाँकी छ । भारतलाई चारैतिरबाट चीनले घेरा हालिरहेको बेला सन् २०१५ मा भारतले नेपालमा नाकाबन्दी थोपरेर नेपाललाई चिनियाँ कित्तामा धकेलेको आरोप खेपिरहेका मोदीले भारतीय मतदातालाई नेपालसँग घनिष्ठ सम्बन्ध छ भन्ने देखाउन गरिने खातिरदारीको एउटा अंश सरकार बन्नुअघि नै मुण्डन प्रतिज्ञाधारी विदेशमन्त्री स्वराजको नेपाल भ्रमणमा देखिइसकेको छ ।

भारतले यस वर्ष नेपाललाई दिने आर्थिक सहयोग ७३ प्रतिशत बढाएर ६ अर्ब ५० करोड पुर्‍याएको प्रचार तीव्र पारेको छ । विगतका निर्वाचनहरूमा भारतका प्रभावशाली क्षेत्रीय दलहरू आपसमा जुध्दा र कांग्रेस आईसँग मोर्चाबन्दी हुन नसक्दा लोकसभामा भाजपाको संख्या ह्वात्तै बढेको हो । विपक्षीहरू मिल्दा परिणाम के हुन्छ भन्ने ताजा उदाहरण उत्तर प्रदेशमा लोकसभाका दुइटा उपनिर्वाचनले देखाइसकेको छ । उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगी र उपमुख्यमन्त्री केशवप्रसाद मौर्य विधान परिषदमा निर्वाचित भएपछि उनीहरूले जितेको लोकसभा सिटमा उपनिर्वाचन हुँदा योगीको गोरखपुर र मौर्यको फूलपुर दुवै क्षेत्रमा भाजपा पराजित हुनपुगेको छ ।


मोदी कूटनीतिबारे चर्चा गर्दा २०७२ सालमा नेपालमा संविधान घोषणा हुने भएपछि कुनै हालतमा संविधान घोषणा हुनबाट रोक्न तत्कालीन विदेश सचिव एस जयशंकरको नेतृत्वमा भारतीय प्रमण्डल नेपाल आएको थियो । त्यसबेला जयशंकरले नेपालका राजनीतिज्ञलाई थर्काउनसम्म थर्काए । कतिपय अन्तरविरोधलाई चर्काउनसम्म चर्काए । चेतावनीको भाषा बोल्दै जयशंकरले भनेका थिए, ‘मोदी, मनमोहन सिंहजस्ता होइनन् ।’ मोदी भद्र होइनन्, उद्दण्ड पनि छन् भन्ने तथ्य नाकाबन्दीबाटै प्रमाणित भयो । एकातिर कैयन नेपाली भारतको सीमारक्षाका खातिर पाकिस्तान सिमान्त द्रास, कारगिल र वटालिक खण्डमा गोलीसँग मात्र होइन, हिउँ र आँधीसँग पनि पौंठेजोरी खेल्दै थिए, अर्कोतिर नेपालका कुनाकन्दरामा तिनका परिवारजन मोदी सरकारले थोपरेको नाकाबन्दीका कारण कष्ट झेल्दै थिए । आगामी लोकसभा निर्वाचनमा यो मुद्दा चर्किन पनि सक्छ । यो अवस्थामा भव्य स्वागतको गुलियोमा नभुलिई प्रधानमन्त्री ओलीले नेपालमा शान्तिका खातिर भारतसमक्ष केही ठोस प्रस्ताव अघि सार्नुपर्छ ।


२०७४ चैत ९ गते सिरहाको लहानमा एउटा पसलमा बम विस्फोट हुँदा एक बालिका र महिलाहरूसहित ८ जना घाइते भए । जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) आतंकवादी संगठनका संयोजक जयकृष्ण गोइतले वक्तव्य जारी गर्दै उक्त दुष्कृत्यको जिम्मा लिए । चाहे निर्वाचनको बेला होस् वा त्यसभन्दा अघि वा पछि तराईमा विस्फोटनका अनेक घटनामा विखण्डनको एजेन्डा बोकेका गोइत नेतृत्वको मोर्चाले निरन्तर जिम्मेवारी लिँदै आएको छ । लाग्छ, गोइत नामधारी प्राणीभित्र ओसामा बिन लादेनको प्रेत प्रवेश गरेको छ । बिरामी भनिएका गोइतद्वारा जारी वक्तव्य हेर्दा गोइत शारीरिकभन्दा मानसिक रूपमा बिमार देखिन्छन्, जो लामो समयदेखि भारतको पटनामा बस्दै आएका छन् र पटनाबाटै यावत गतिविधि सञ्चालन गर्दै आएका छन् । स्वतन्त्रताको एक वर्ष नबित्दै आफ्नो राष्ट्रपिता गुमाएको भारत, आतंकवादका कारण आफ्ना दुईजना प्रधानमन्त्री गुमाएको भारत, आतंकवादी संगठनका मुखियाहरूको आश्रयस्थल कसरी बन्न सक्छ ? प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी मोदीलाई प्रस्ट भन्नुपर्छ, भारतीय भूमिलाई आधार बनाएर तराईमा सञ्चालित सशस्त्र समूहलाई निशस्त्र गर्न अब भारतले योगदान गर्नुपर्छ र जयकृष्ण गोइत, ज्वाला सिंहहरूको सुपुर्दगीबाट यो अभियान थालनी गर्नुपर्छ ।


भनिन्छ कि विगतमा भारतीय गुप्तचर संस्थाका प्रतिनिधिहरूको रोहवरमा गोइत, ज्वाला सिहं लगायत हिंसा धारकहरूको पटक–पटक बैठक बसेको हुँदा यस्ता पात्रहरूको मनोबल बढेको छ, जो पटनामा बसेर रिमोट चलाउँछन्, अनि नेपालमा विस्फोट गराउँछन् । लामो समय एमालेको पाठशालामा माक्र्सवाद, लेनिनवाद घोकेका र एमालेबाट २०४८ र ५१ सालको संसदीय निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ३ बाट उम्मेदवार भई क्रमश: चौथो र पाँचांै हुँदै पराजित खस्रो स्वभावका गोइत सप्तरी जिल्ला विकास समितिको सभापति पदको निर्वाचनमा एमालेले उम्मेदवार नबनाएपछि माओवादी क्याम्पमा प्रवेश गरेको आरोप एमालेजनहरूको छ । नेकपा माओवादीको भ्रातृ संगठन मधेसी राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षसमेत रहेका गोइतको ठाउँमा २०६१ मा मातृका यादवलाई अध्यक्ष बनाएपछि गोइतले २०६१ साउनमा जनतान्त्रिक तराई मुक्ति मोर्चा नामको सशस्त्र समूहरूपी पसल खोलेको देखिन्छ । त्यो पसलमा सहयोगीको रूपमा माओवादी पाठशालाकै अर्का विद्यार्थी ज्वालासिंह उर्फ नागेन्द्र पासवानसमेत सम्मिलित भएका थिए । त्यसको एक वर्षअघि प्रचण्ड र बाबुरामले तत्कालीन भारतीय प्रधानमन्त्री वाजपेयीलाई पत्र लेखेको पृष्ठभूमिमा गोइतले खोलेको सशस्त्र समूहको नयाँ पसलबारे कतिपय आशंका आफ्नो ठाउँमा छन् ।


यसैगरी २०६३ मा जनआन्दोलनको सफलतापश्चात शान्ति प्रक्रिया प्रारम्भ भएपछि २०६३ भदौमा उक्त मोर्चाबाट ज्वालासिंह अलग भई आफ्नै नेतृत्वमा हिंसाको अर्को पसल खोलेको देखिन्छ । सन् २००८ मा गोइत नेतृत्वको मोर्चाले नाम परिवर्तन गरी अखिल तराई मुक्ति मोर्चा राखेको र प्रचण्ड नेतृत्वको सरकार बनेपछि २०६५ हिउँदमा गोइत, ज्वालासिंह लगायतका सशस्त्र समूह एकीकरण भई तराई जनतान्त्रिक पार्टी (छोटकरी नाम) बनेको समाचार छ्यापछ्याप्ती फैलियो, जसको पछाडि भारतीय गुप्तचर संस्थाको संलग्नताबारे प्रशस्त सामग्री छापिए । तत्पश्चात यी समूहहरू फेरि कतिपटक चोइटिए र कतिपटक जोडिए भन्ने फेहरिस्त लामो छ । विगत १२ वर्षमा तराईमा झन्डै सयभन्दा बढी सशस्त्र समूहले झण्डा गाडेको सुनियो । केहीले सरकारसँग वार्ता गरे, केहीले हतियार बुझाए, केही मारिए, केही अन्य दलमा विलय भए, तर सशस्त्र समूहको प्रकोपबाट तराईले मुक्ति पाएन । बरु गत एक दशकमा भारतीय गुप्तचर संस्थाको प्रायोजनमा पटक–पटक पटना लगायत भारतका विभिन्न स्थानमा बैठक बसेको कुनै हावादारी त कुनै सत्य समाचार निरन्तर प्रवाहित भइरह्यो । बीचमा शिथिल देखिएका यस्ता समूहहरू संविधान घोषणा भएपछि पुन: सलबलाएको र एमाले–माओवादी गठबन्धनपछि मोर्चाबन्दीसहित फेरि सक्रिय हुनथालेको देखिएको छ । सशस्त्र समूहहरूको यो नवीकरण पछाडिको नियत बुझ्नु जरुरी छ । यस्ता सशस्त्र समूहको आम्दानीको प्रमुख स्रोत भनेकै हत्या, अपहरण, फिरौती र लागूऔषधको ओसार–पसार हो । प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई प्रस्ट भन्ने बेला आयो, भारतको पञ्जावमात्र होइन, उत्तर प्रदेश र विहार अनि नेपालका युवा पनि लागूऔषध दुव्र्यसनका कारण निकम्मा हुनथालेका छन् । लागूऔषध ओसार–पसारबाट हतियार जुटाउने यस्ता आतंककारी समूह विरुद्ध नेपाल र भारतले संयुक्त रूपमा प्रभावशाली अभियान थाल्नुपर्‍यो ।


निश्चित रूपमा पनि मोदी सरकारले यो प्रस्तावलाई स्वीकार्ने छ, स्वीकार नगरे तराईका सशस्त्र समूहहरूलाई कसले अक्सिजन दिएर अस्तित्वमा राखेको रहेछ, छर्लङ्ग हुन्छ । घृणाको बीज छरेर विखण्डनका लागि मलजल गर्दै आएका अर्का पुर्जा डा. सी.के राउतले मोदी सरकारका एकजना वरिष्ठ मन्त्रीसँग २०७३ सालको हिउँदमा भारतमा भेटघाट गरेको समाचार नेपालको उच्च स्रोतको हवाला दिँदै भारतको प्रसिद्ध अखबारमा छापिएको थियो । यसबारे प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई सोध्ने बेला आयो । साथै आतंककारी/विखण्डनकारीहरूले भारतीय बैंकमा सञ्चालन गरेको खाता बन्द गर्न पहल गर्ने बेला आयो । तराईमा पृथकतावादी अभियान चलाइरहेका समूहहरूको दस्तावेज हेर्ने हो भने गंगा उत्तर र चुरे दक्षिणको समग्र भूभागमाथिको दाबाले भविष्यमा भारतमै ठूलो समस्या निम्तिन सक्ने तथ्य र त्यसका पछाडि पश्चिमी गोलार्धको चलखेलबारे महामहिम मोदीलाई बुझाउने बेला आयो । गंगा उत्तरको समग्र मैदानी इलाका समेटेर बृहत्तर मधेसको सपना देख्नेहरूलाई विछ्याउना कहाँबाट उपलब्ध गराइएको छ ? अनि हिमाली/पहाडी इलाकामा जातीय द्वन्द्व चर्काउन खोज्नेहरू बीचको अन्तरसम्बन्ध के हो ? प्रस्ट गर्नुपर्ने बेला आयो । दुई देशद्वारा जारी गरिने संयुक्त वक्तव्यमा आतंकवादको निन्दामात्र होइन, आतंकवादीहरूलाई सुपुर्दगीको ठोस खाका पनि प्रतिविम्बित हुनुपर्छ । सीमापार आतंकवादको एजेन्डा उठाएर नथाक्ने र पाकिस्तानले आतंकवादीलाई आश्रय दिएको आरोप निरन्तर लगाउने भारतले गोइत र ज्वालासिंहहरूको पटना र मधुवनी मुकामबारे जवाफ दिने बेला आयो । उपचारको नाममा गोइतको बसोबास पटना र दरभंगामा भएको बताइन्छ, जबकि विहार राज्यको मधुवनी जिल्ला सदरमुकामभन्दा ३० किलोमिटर उत्तर र जयनगरभन्दा झन्डै त्यति नै किलोमिटर पूर्वमा पर्ने सिधप कलामा अवस्थित ज्वालासिंहको घर जग्गाको तस्बिर सञ्चार माध्यमहरूमा १० वर्षअघि नै प्रकाशित भएको थियो भने ज्वालासिंहले विहारको यातायात व्यवसायमा हात हालेको समाचार ४ वर्षअघि सार्वजनिक भएको थियो ।


तराईका सशस्त्र समूहझैं विप्लव नेतृत्वको नेकपाले पनि दिनदहाडै त्यही दिनचर्या दोहोर्‍याइरहेको छ । पटक–पटक चीन सरकारको निमन्त्रणमा विप्लव अर्थात नेत्रविक्रम चन्दले चीन भ्रमण गरेको पृष्ठभूमिमा ओली सरकारले भारतसँग मात्र होइन, चीनसँग पनि विप्लव नेतृत्वको नेकपाबारे ध्यानाकर्षण गराउने बेला आयो । चीनका शक्तिशाली नेता माओको नाम जोडेर नेपालमा एक दशक माओवादी हिंसा चल्दासमेत विवादमा नमुछिएको चीन विप्लवहरूकै कारण कतै बदनाम त भइरहेको छैन ? चीन स्वयंले पनि पुनरावलोकन गर्ने र स्पष्ट हुने बेला आयो ।

प्रकाशित : चैत्र १४, २०७४ ०९:२०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

देउकलियाका व्याधा र सिंहदरबारका प्यादा

के हाम्रो विवेक मरिसक्यो ? किन दण्डित हुँदैनन्, देउकलियाका व्याधाहरु ? बेला छँदै किन जाग्दैनन्, सिंहदरबारका प्यादाहरु ?
कृष्ण पहाडी

काठमाडौँ — ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस, विश्वभरि नै कतै धुमधामसाथ कतै औपचारिकतावश मनाइँदै थियो । त्यही दिन नेपालको कैलाली जिल्लाको घोडाघोडी नगरपालिकास्थित देउकलियाका व्याधाहरूले भने फरक ढंगले नारी दिवस मनाए ।

त्यो दिन एक जमातले किशोर वयकी राधालाई घरबाट लछारपछार गर्दै बाँधेर अर्काको आँगनमा पुर्‍याए र बोक्सीको आरोप लगाउँदै हुर्मत लिन थाले, जहाँ तमासेहरूको ठूलै भिड जम्मा भएको थियो । नागहरूको कथामा आधारित हिन्दी चलचित्रमा देखिने सपेराजस्तै एउटा आततायी पात्रले बोक्सी बकाउने निहुँमा तमासा सुरु गर्‍यो । त्यसैको मतियार अर्को नारी आकृतिबाट पनि त्यही अभिनय दोहोरियो । वरिपरि सयौँको संख्यामा तमासे, रमितेहरू थिए, राधामाथि निरन्तर लात र घुस्सा प्रहार भइरह्यो । रमितेहरू तमासा हेरिरहे । राधाको गलाबाट आर्तनाद र चित्कार निस्किरह्यो, देउकलियाका व्याधाहरूले राधामाथि अत्याचार गर्नेहरूलाई हौस्याइरहे । यसरी देउकलियाका व्याधाहरूले नारी दिवसमा नारी अस्मितामाथि धावा बोल्दै नारी मर्यादाको सिकार गरे ।

देउकलियामा राधाको चीरहरण हुँदा कुनै कृष्णहरू देखिएनन् । दुर्योधन र दुशासनहरूले घन्टौंसम्म ताण्डव गरिरहँदा भिड मौन मात्र रहेन, अपितु दुशासनहरूको समर्थनमा ताली बजाइरह्यो । धिक्कार छ, आफूलाई अभिभावक ठान्ने देउकलियाका धृतराष्ट्रहरूलाई अनि धिक्कार छ, देउकलियाका निर्वाचित पाण्डवहरूलाई अनि एकमुष्ट धिक्कार छ, देउकलियाका व्याधाहरूलाई । किन यो समाजमा पटक–पटक राधाहरूको चीरहरण हुन्छ ? किन मीराहरू बलात्कृत हुन्छन् ? किन सीताहरूको अपहरण हुन्छ ? के यो समाज बौलाइसक्यो ? किन यो समाजमा ताराहरूको सतित्व हरण हुन्छ ? किन यो समाजमा सरस्वतीहरूलाई मानव मलमूत्र खुवाइन्छ ? किन यो समाजमा पार्वतीहरूलाई जिउँदै जलाइन्छ ?

त्यो दिन दुर्योधनको विषाक्त नङ्ग्राले राधालाई कोपरिरह्यो । दुशासनको वज्रमुक्का राधामाथि निरन्तर वर्षिरह्यो । एकातिर आत्मा नै डामिनेगरी शब्दको घाउ त अर्कोतिर शरीरभरि निलडाम । राधाको आत्मा र शरीर चहराइरह्यो, देउकलियाका व्याधाहरूले नुन–खुर्सानी छर्किरहे । ६ घण्टासम्म देउकलियामा नारी अस्मिताविरुद्ध ताण्डव चलिरहँदा प्रतिवाद गर्ने कुनै प्राणी देखिएन, न त जनप्रतिनिधि नामका कुनै जीवले त्यो अत्याचारविरुद्ध एक शब्द बोले । त्यसको समापन भने स्थानीय प्रहरी कार्यालयमा मञ्चन भयो, जसको प्रमुख अतिथिका रूपमा स्थानीय मेयर झुल्किए अनि आधाभन्दा बढी गाउँले झारफुक गर्ने ठेट्नाको पक्षमा रहेको भन्दै पक्राउ परिसकेको आततायीलाई छुटाएर लगे ।

एउटी चेलीको स्वाभिमान, मर्यादा आहत भएको र समग्र सभ्यता लज्जित भएको त्यो घटना सामान्य होइन । अक्सर हामी बुद्ध र सगरमाथाको दुहाइ दिएर फुर्किन्छौं, तर हामी यो बिर्सन्छौं कि राधाहरूमाथि अत्याचार भइरहँदा त्यो क्रूर एवं बर्बर समाजको सदस्यको खराब पहिचान पनि छाया भएर हामीसँगै हिँडिरहेको हुन्छ । थाहा छैन, देउकलियाका व्याधाहरूको आँखा कहिले खुल्छ ? थाहा छैन, सिंहदरबारका प्यादाहरूको चेत कहिले खुल्छ ?

विगत ३ दशकमा नेपालमा ठूलठूला राजनीतिक परिवर्तन भए, तर शासन पद्धति अर्थात हुलाक बद्लिए पनि हुलाकीहरू कतै उही त कतै उस्तै पात्रहरू रहे । राजनीतिक सत्ता बदलिए पनि सामाजिक सत्ताको स्वरूप झन्डै उस्तै छ, जहाँ अन्धविश्वासको जरा अशिक्षित वृत्तमा मात्र होइन, राजनीतिक नेतृत्वमा पनि व्याप्त छ । त्यसैले दलितहरूले कुटाइ खाएको, छुवाछूत र भेदभावको सिकार भएको, महिलाहरूमाथि अत्याचारको सिलसिला निरन्तर छ । त्यसैको पछिल्लो संस्करण हो, देउकलियाको घटना । अन्यत्रझैं देउकलियाका व्याधाहरूसँग पनि संरक्षणका लागि १० वटा शिर छ, कुनै एमालेको, कुनै कांग्रेसको, कुनै माओवादीको त कुनै फोरम र राजपाको । स्थुलमा हेर्दा देउकलियाका व्याधाहरू पनि हातमा मोबाइल बोक्छन्, छोराछोरीलाई विद्यालय पठाउँछन्, इन्टरनेट चलाउँछन् र घन्टौंसम्म सामाजिक सञ्जालमा भुन्डिन्छन् । तर सूक्ष्ममा भने कोही बिरामी पर्दा अस्पताल र चिकित्सकमा भन्दा झारफुकमा र भोलेको नाम बदनाम गर्दै अक्षता छरिहिँड्ने आवारा किसिमको एउटा ठेट्नामाथि तिनको विश्वास ज्यादा छ, जसको पेसा नै तमासा गर्नु हो । समग्रमा भन्नुपर्दा त्यो तमासाका मतियार, साझेदार रमितेहरू र संरक्षक सबै अपराधी हुन् ।

मानवअधिकार उल्लंघन राज्यले गर्छ, अर्थात त्यस्तो उल्लंघनमा राज्यका निकायहरू संलग्न हुन्छन् । यसैगरी सशस्त्र/निशस्त्र संगठित समूहहरूले मानवअधिकार ज्यादती गर्छन् । राज्यलाई प्रतिनिधित्व नगरे पनि त्यस्ता समूहहरू संगठित हुन्छन् । अत: त्यस्ता समूह र सदस्यहरूले गर्ने अधिकार उल्लंघनलाई ज्यादती भनिन्छ । तेस्रो, मानव गरिमा विरुद्ध घातको सिलसिला जसमा विभिन्न समुदायहरूको संलग्नता छ । त्यस्तो घातमा सामाजिक संरचना जिम्मेवार छ । सामाजिक सत्ताको आडमा हुने त्यस्तो घातमा स्थानीय समुदाय, राजनीतिक समाज, निर्वाचित निकाय, सबै सामेल छन्, जहाँ राज्य कहिले रमिते, कहिले मौन त कहिले निरीह देखिन्छ । स्थानीय समाज/समुदायको समर्थनको लोभ वा विरोधको डरले ग्रसित भएका कारण त्यस्तो घातविरुद्ध उभिने साहस राजनीतिक समाजले अक्सर देखाउँदैन । समाज परिवर्तनको चालक शक्तिका रूपमा रहेको राजनीतिक समाज नै त्यस्तो घातमा कतै आबद्ध, कतै साक्षी त कतै मौन बसेपछि यो सिलसिला निरन्तर दोहोरिरहन्छ । तीनै प्रकारको मानवअधिकार उल्लंघन, ज्यादती र घातमा दण्डहीनताले प्रश्रय पाइरहेको छ ।

नेपालमा दण्डहीनता मौलाएको मात्र होइन, संस्थागत नै भइसकेको छ । पीडकहरूले उन्मुक्ति पाएको मात्र होइन, पुरस्कृत नै भएको अनेकौं उदाहरण छन् । पीडकहरू शक्तिशाली छन्, पीडितहरू निरीह छन् । धर्म मान्नु भनेको अन्धविश्वास होइन । तर धर्मको हवाला दिएर गरिने अत्याचार अपराध हो । धर्मको गुदी नजान्नु भनेको मुर्खता हो, त्यही मुर्खताले अन्धआवेगलाई बढावा दिन्छ । धर्मको नाममा बोक्राको व्यापार गर्ने ठगहरूको बल भनेकै त्यस्तै अन्धआवेग हो । जानेर/नजानेर नेपालका कैयन नामधारी नेताहरूले पनि त्यस्तै प्रवृत्तिलाई बढावा दिएका छन् ।

धर्मले सात्विक वृत्तिमा जोड दिन्छ । सात्विक वृत्तिले कुनै पनि क्रूरता र अन्धविश्वासलाई खारेज गर्छ । ओली, प्रचण्ड, देउवा सात्विक वृत्तिका होइनन्, तथापि कसैले क्रान्तिकारी, कसैले प्रगतिशील त कसैले समाजवादी खास्टो ओढेको हुँदा त्यति अन्धविश्वासी नहुनुपर्ने हो । तर लाग्छ, कैयन नेताको अन्तस्करणमा नै अन्धविश्वासको वीज सुषुप्त अवस्थामा रहेको छ र सत्ताको रसले सिञ्चित हुनासाथ त्यो वीज स्वत: टुसाउन थालेको देखिन्छ । कुनै बेला धर्म अफिम हो भन्ने गुरुमन्त्र जप्दै हिँड्ने पुष्पकमल दाहाल प्रधानमन्त्री बन्नासाथ तान्त्रिक चेतले भैंसी पूजामा रमाएको देखियो । त्यसो त द्वन्द्वकालमा तास, जुवा खेलिहिँड्नेहरूलाई बाह्रमासे भन्दै माओवादीले भाटेकारबाही गरेको र मुखमा त्यही तासको पत्ती कोचेको प्रशस्त सुनियो । यद्यपि त्यो पनि ज्यादतीकै एउटा रूप थियो ।

तर सत्तारुढ हुनासाथ माओवादीको सबैभन्दा ज्यादा चासो जुवाको खाल अर्थात काठमाडौँका क्यासिनोहरूमा देखियो । भाटे कारबाही गर्ने कमरेडहरू कोही बाउन्सर त मुखमा तास कोच्ने महिला कमरेडहरू परिचारिकाका रूपमा क्यासिनोमा भर्ति भए । प्रचण्डको पहिलो प्रधानमन्त्रीत्व कालमा महिलालाई बोक्सीको आरोपमा मलमूत्र खुवाउने, अत्याचार गर्ने, छुवाछूत लगायत दलितहरूमाथि अत्याचारजस्ता मानव गरिमा विरुद्ध घातका कैयन घटना भए । तर त्यस्ता घटनामा संलग्नहरूलाई कानुनी रूपमा दण्डित गरेरै छाड्ने दृढ इच्छाशक्ति प्रचण्ड सरकारमा देखिएन । कहिले क्रान्ति त कहिले शान्तिका कुरा गर्ने र भ्रान्तिका कुरा गरेर भए पनि खाली नबस्ने केपी शर्मा ओलीको ‘अलच्छिनवाद’ बुझिनसक्नु छ । २०७३ मा सत्ता छाड्नुपरेपछि रन्थनिएका ओलीले एमालेद्वारा सञ्चालित मेची–महाकाली अभियानका क्रममा यातायात दुर्घटनाका केही घटना उद्धरण गर्दै प्रचण्ड सरकारलाई ‘अलच्छिना सरकार’ घोषणा गरेका थिए, जुन अन्धविश्वास र रुढीवादी मानसिकताकै पृष्ठपोषण थियो । भर्खरै काठमाडौँमा भएको हवाई दुर्घटनामा परेर ४९ जनाको मृत्यु भयो ।

त्यो दु:खद घटना थियो, तर विगतमा ओलीले जस्तो अलच्छिना सरकार भन्ने भुल अरूले दोहोर्‍याउनु हुँदैन । बरु ओली नेतृत्वको सरकारलाई काम गर्न समय र वातावरण दुवै प्रदान गर्नुपर्छ । त्यसो त उखान–टुक्कामा ओली जत्तिको जानकार अरू भेट्न गाह्रो छ । कुनै बेला ओलीको मुखारविन्दबाट फुत्त निस्किएको एउटा उखान थियो, ‘भोको गोरुले दाम्लो चुँडाएर तातो खोलेमा मुख गाडेजस्तो ।’ सांसदका रूपमा सपथ नलिँदै, संसद्को पहिलो बैठक नबस्दै सत्ताको तातो खोलेमा मुख जोतेर सुरु भएको ओलीको दोस्रो कार्यकाल मुख पोलेर बोल्नै नहुने अवस्थामा नपुगोस्, शुभकामना ।

त्यसका लागि प्रधानमन्त्री ओलीले दृढ इच्छाशक्तिको प्रदर्शन गर्ने बेला आयो । मानवअधिकार उल्लंघन, ज्यादती र मानव गरिमामाथि घात गर्ने जोकोही हुन्, कानुनी रूपमा दण्डित गर्नुपर्छ । आफ्नै दलका सदस्य छन् भने सदस्यता खारेज गर्नुस् । प्रहरी चौकीहरू बलात्कारका घटनामा मिलापत्र गर्ने बिचौलियाको अड्डा भएका छन् । प्रहरीका हाकिमहरू पात्र र ठाउँ हेरी बलात्कारी छोड्ने रेट निर्धारण गरेर बसेका छन् । त्यस्ता प्रहरी प्रशासकलाई तत्काल कारबाही गर्नुस् । एमालेले संरक्षण दिएका/नदिएका सबै माफिया, डन र गुन्डा नाइकेहरूमाथि कारबाही थाल्नुस् । आफ्नो मन्त्रिपरिषद्मा कम्तीमा ३३ प्रतिशत महिला, उपयुक्त संख्यामा दलितहरूलाई समावेश गर्नुस् । राम्रो काम गर्न कसले रोकेको छ ? अब काम गर्नुस् । उखान–टुक्का सुनाउने जिम्मा प्रचण्डलाई छोड्नुस् । राम्रो काम गर्न सक्नुहुन्न भने पनि नराम्रो काम नगर्नुस् । गम्भीर अपराधका आरोपी/संलग्नहरूको मुद्दा फिर्ता लिने वा आममाफी दिने काम गर्नुभयो भने कलंकित प्रधानमन्त्रीका रूपमा दर्ता हुनुहुनेछ ।

अन्धविश्वासका मामलामा प्रजातान्त्रिक खाममा समाजवादी टिकट टाँसेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अझ अगाडि छन् । तन्त्र, मन्त्र, बलि, धामी, झाँक्री, जोखाना परम्पराका संरक्षककै उपमा देउवालाई दिए फरक पर्दैन । ६ पटकसम्म देउवाले चुनाव जितेको डडेलधुरामा दलितमाथि अत्याचारका घटनाहरू भइरहन्छन्, तर ४ पटक प्रधानमत्री बन्दा पनि पीडकलाई कारबाही गर्ने इच्छाशक्ति देउवामा देखिएन । अहिले कुनै अनाम ज्योतिषीको हवाला दिँदै ७ पटक प्रधानमन्त्री बन्ने हावादारी गफमा देउवा व्यस्त छन् । विशेष औँठीले सज्जित देउवा विपक्षीहरूसँग वार्ता गर्दा पनि औँठी घुमाउँछन् । लाग्छ, त्यही औँठी नै देउवाको सफलताको मियो हो ।

मधेस केन्द्रित दलका नेताहरू यस मामलामा झनै अगाडि छन् । तन्त्रको चक्करमा परेर कसैले दसै औँलामा औँठी लगाएका छन् त कसैले नारी स्वतन्त्रताका सवालमा विवेकलाई बन्धक बनाएका छन् । मधेसमा बोक्सीको आरोपमा महिलामाथि घात हुँदा, दाइजोको नाममा प्रताडित हुँदा, दलितमाथि अत्याचार हुँदा रुढीवादको पसल थापेर बसेका यी नेताहरू मौन बस्न नै रुचाउँछन् । कुनै बेला राष्ट्रपति विद्यादेवी भण्डारीले सीताभूमि जनकपुर यात्रा गर्दा मधेसका यिनै नेताहरूसहितका मठाधीशहरूले राष्ट्रपति भण्डारीको विरोधको नाममा मर्यादाको सीमा नाघेर प्रदर्शन गरेको आचरण लज्जास्पद थियो । पूर्ववर्ती शासकहरूको कुरा गर्ने हो भने पूर्वराजा ज्ञानेन्द्रले एकपटक गढीमाईमा मुसोको पनि बलि चढाएका थिए । यिनै नेता/अभिनेताहरूद्वारा निरन्तर पृष्ठपोषण भइरहेको अन्धविश्वास शृङखलाको एउटा भद्दा दृश्य हो, देउकलियाको घटना ।

पुराणमा वर्णित कथाअनुसार द्वापर युगमा व्याधाको वाणबाट कृष्णको मृत्यु भएको थियो । देउकलियाका व्याधाहरूले चलाएको वाणबाट फेरि एकपटक मानवता घायल भएको छ । मर्यादा हायल–कायल भएको छ । ज्ञान विरोधी, विज्ञान विरोधी, नारीको मान विरोधी र मनुष्य जातिको स्वाभिमान विरोधी देउकलियाका व्याधाहरू दण्डित नहुने हो भने अनेकौं राधाहरू लाञ्छित भइरहन्छन्, अनेकौं सीताहरू अपमानित भइरहनेछन् ।

अस्पतालको शैयामा राधा एक्लै बर्बराउँछिन् । राधाको शरीरमा भन्दा आत्मामा लागेको चोट गहिरो छ । चोट राधाको शरीर र आत्मामा मात्र होइन, स्वतन्त्रता र करुणाको पक्षधर लाखौँ–करोडौँको आत्मामा लागेको छ । तर पनि कतिपय हामी मौन छांै । के हाम्रो स्वाभिमान मरिसक्यो ? के हाम्रो विवेक मरिसक्यो ? होइन भने किन दोहोरिन्छन्, यस्ता घटनाहरू ? किन दण्डित हुँदैनन्, देउकलियाका व्याधाहरू ? बेला छँदै किन जाग्दैनन्, सिंहदरबारका प्यादाहरू ?

प्रकाशित : चैत्र ६, २०७४ ०८:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT