मधेसमा भाषा विवाद

भाषाका हकमा मैथिली, भोजपुरी, अवधी र अन्य मातृभाषाहरुले उचित स्थान पाउनु र औपचारिक चलनचल्तीमा आउनु धेरै दृष्टिकोणबाट आवश्यक छ ।
प्रमोद मिश्र

काठमाडौँ — प्रदेश नं. २ मा भाषा विवाद प्रदेश बनेदेखि नै बल्झेको छ । भोजपुरी भाषी साथै अन्य कतिपयले हिन्दी हुनुपर्छ भन्छन् र कतिपय मैथिली भाषी भने मैथिली नै हुनुपर्छ भन्छन् ।

एमाले, कांग्रेसले मातृभाषाको नारा दिएर मैथिलीवादीहरूको काँध थापेको छ भने प्राय: मधेसी दल र राजनीतिक कार्यकर्ताहरू हिन्दी हुनुपर्छ भन्छन् । सामाजिक सञ्जालमा कतिपय मधेसी तल्लो जात, माथ्लो जात भनेर गाली–बेइज्जतीसम्ममा झरेका छन् ।

विगतमा यसै विषयलाई लिएर बम पड्किँदा जनकपुरमा ज्यानधनको क्षति पनि भएको थियो । यसको कारण के हो भने भाषा फगत आत्मीयता र राष्ट्रियतासँंग गाँसिएको कुरामात्रै हैन, यो अदृश्य आरक्षण र विभेदसंँग पनि जोडिएको कुरो हो । तसर्थ यसबारे गहिरो बुझाइ भएमात्र न्यायपूर्ण निष्कर्षमा पुग्न सकिन्छ र सही नीति निर्माण गर्न सकिन्छ ।

Yamaha


हिन्दी मधेसीहरूको सार्वजनिक सम्पर्क भाषा कसरी हुनपुग्यो, पाठ्यक्रम र अड्डा अदालतको भाषा नहुँदा–नहुँदै पनि ? मैथिली, भोजपुरी र अवधी मेचीदेखि महाकालीसम्म हुलाकी सडक उत्तर–दक्षिण दसौं किलोमिटरभित्र बोलिए पनि यी देहाती भाषाको हैसियतबाट माथि उक्लनसकेका छैनन् र औपचारिकता र सम्मान पाउनसकेका छैनन् । मध्यम वर्गीय मधेसी पुरुषको सीमापारि आवत–जावत र पढाइ–लेखाइ यसको एउटा कारण हुनसक्छ । अनि हिन्दी सिनेमा र हालका वर्षमा हिन्दी टेलिभिजन अर्को कारण पनि हो । तर भारत र नेपालको सरकारी भाषानीति नै यसको मुख्य कारण हो । शाह वंशको स्थापनाकालदेखि नै खस कुरा (नेपालीको सरकारी कामकाजी भाषाका रूपमा एकलौटी वर्चस्व रह्यो । र पञ्चायती महेन्द्रीय राष्ट्रवाद लागु भएपछि पाठ्यक्रम, निजामती र न्यायिक सेवामा मात्र नेपाली भाषा माध्यमको प्रयोग बन्यो । उता भारतमा पनि सन् १९४७ को स्वतन्त्रतापछि हिन्दीलाई कामकाजको भाषाका रूपमा योजनाबद्ध रूपमा थोपर्ने सरकारी अभियान चलाइयो । नेपाल–भारत दुबैतर्फ एक भाषीय हैकमका अगाडि अरू मातृभाषाले शिर उठाउनै पाएनन् ।


तर मैथिलीको आन्तरिक कारण पनि कम जिम्मेवार छैन । मैथिलीको औपचारिक, ‘स्तरीय’ लेखकीय रूप र त्यसको प्रयोगमा विहारको मधुवनी जिल्लाका पाँचकोसे (पाँचकोस भित्रका) उच्च जाति, खासगरी मैथिली ब्राह्मण र कायस्थको वर्चस्व छ । र तिनै भाषा समूह भाषीय स्तर निर्माणमा—विद्यालयीय, साहित्यिक र औपचारिक भाषा प्रसारणमा— हालीमुहाली राख्छन् । नेपाली भाषाका हकमा केही भाषाविद, भाषाशास्त्री, प्रज्ञा प्रतिष्ठानको हस्तक्षेप र पूर्वेली नेपाली भाषीहरूको प्रभुत्वजस्तै हो यो, राजसत्तालाई छाडिदिने हो भने । अथवा बेलायतमा एक जमानामा र केही हदसम्म अहिले पनि आर.पी. (रिसिभ्ड प्रोनन्सिएसन) अंग्रेजी बोल्नु आफ्नो शैक्षिक र वर्गीय पहिचान र स्तरता देखाउनु र अवसरका ढोका खोलिनु जस्तै हो यो ।


भोजपुरी र अवधी पनि देहाती हिसाबले मैथिलीजस्तै हुन् । तर मैथिली ग्रामीण भाषा हुँदाहुँदै पनि यसको ६ सय वर्षको लिखित र समृद्ध साहित्य छ । हो, अवधीमा सोह्रौं शताब्दीमा लेखिएको तुलसीदास लिखित रामचरित मानस छ र त्यही समयको मलिक मोहम्मद जायसी कृत पद्मावत, जसका आधारमा बनेको फिल्मबारे भारतमा हाल निकै होहल्ला भयो । त्यसपछि अवधीमा कुनै उल्लेखनीय उपलब्धि छन् ? जहाँसम्म भोजपुरीको कुरो हो, हालका वर्षमा यस भाषामा केही लेखक अभियन्ता नभएका हैनन् । तर तिनको पाठ्यक्रम र कार्यालय भाषाका रूपमा प्रभाव परेकै छैन भन्दा पनि हुन्छ । हो, यस भाषामा केही चल्तीका, कामुक र गाउँले भाकाका गीतहरू अवश्य छन् । जस्तै– ‘आरा हिले बलिया हिले, छपरा हिलेला’ वा ‘मारे कलेजवा में वाण हो’ आदि । र केही गाउँले संस्कृति झल्काउने हालसालका चलचित्रहरू ।


मैथिलीको कथा भने अलि जटिल नै छ । रिचर्ड वर्गहार्डले, जिनको असामयिक निधनले दक्षिण एसियाली अध्ययनलाई निकै क्षति पुग्यो, यस विषयमा निकै अध्ययन गरेर एउटा गहिरो लेख लेखेका थिए । जुन कुरा मैले मैथिलीबारे अनुभव गरेको थिएँ, तिनले प्राज्ञिक प्रमाण र व्याख्याले पुष्टि गरिदिए । मलाई के थाहा थियो भने जुन किसिमले नेपालमा तीनधारा पाठशालाका छात्रहरूको लोकसेवा परीक्षामा नेपाली र संस्कृत अनिवार्य र ऐच्छिक विषय लिई जाँच दिँंदा निजामती सेवामा हुलका हुल प्रवेश हुन्थ्यो, त्यसैगरी विहार लोकसेवा आयोगमा मैथिली र संस्कृत लिने मैथिल ब्राह्मणका लागि त्यतिकै सजिलो हुन्थ्यो । एक त यस्तो ‘पँचकोसी’ मैथिली तिनीहरूको दैनन्दिनको बोल्ने भाषा हुन्थ्यो, अर्को तिनैले विद्यालय, महाविद्यालयमा यसको पढाइ पनि गर्थे । मैले विहारमा स्कुल, कलेज पढ्दा दरभंगा, सहरसा, पूर्णियाका विद्यार्थीमध्ये मैथिली यी जातका विद्यार्थी बाहेक अरूलाई पढ्दै गरेको विरलै देखे हुँला । लालु यादवले, जो मगही भाषी हुन्, आफू मुख्यमन्त्री भएपछि यस अनुचित लाभमाथि रोक लगाएका थिए, नब्बेको दशकमा । किनभने विहारका अरू भाषीहरू र मैथिली बोल्ने तर यसको पाँचकोसे ‘स्तरीय’ मैथिली बोल्न, लेख्न नजान्नेहरू जसलाई दोस्रो भाषा हिन्दीमा लेख्नुपथ्र्यो, यस भाषा सुविधाबाट बञ्चित हुन्थे ।


तर मैथिलीको अधोगति वास्तवमा अंग्रेजहरूद्वारा १९ औं शताब्दीमा अंग्रेजी लादिनुभन्दा अघिदेखि नै हुँदै आएको हो । विहारमाथि दिल्ली सल्तनत र मुगलहरूको आधिपत्य र फारसी अड्डा–अदालतको भाषा बनेदेखि नै भएको हो । मल्लकालीन काठमाडौं उपत्यकामा मैथिली दरबारको र उच्च संस्कृतिको भाषा रह्यो होला, तर मैथिलीको नियति आफ्नै क्षेत्रमा मैथिली पण्डितका नाक खुम्च्याउने लेखनी र ग्रामीणहरूको बोली, केही नाटक, कविता, गीत र विद्यापतिका कृतिहरूमा सीमित रह्यो । कार्यालयी भाषा कहिल्यै हुन सकेन ।


वर्गहार्डले १९ औं शताब्दीमा मैथिली कसरी उँधो लाग्यो भन्ने कुरा आफ्ना अनुसन्धानमा प्रस्ट पारेका छन् । अंग्रेजी भाषाशास्त्री जोर्ज ग्रियर्सनले (१८५१–१९४१) विहार र बंगालका अरू भाषासंँगै मैथिलीको गहन अध्ययन गरेका थिए । १८९८ मा भारतीय भाषा सर्वेक्षणको सुपरिटेन्डेन्ट नियुक्त भएपछि तिनले यसलाई घरि बंगाली र उडियाजस्तै स्वतन्त्र भाषा (ल्याङ्ग्वेज) मान्थे, घरि अस्तित्वमा नै नभएको विहारी भाषाको बोली (डायलेक्ट) मा झार्थे । र पछि बेलायती जनगणनाकारहरूले पनि मैथिलीलाई विहारीकै बोलीका रूपमा लिखत गरे । १९४७ मा भारत स्वतन्त्र भएपछि नेहरू (जो अंग्रेजवाज र युपीवासी थिए) र राजेन्द्रप्रसाद (जो भोजपुरी भाषी थिए) जस्ता नेताहरूले मैथिलीलाई हिन्दी राष्ट्रियताको बलिको बोको बनाए । र यसलाई हिन्दीकै अंश ठाने जसले गर्दा मैथिली भाषी क्षेत्र विहारबाट नै अलग्गियोस् । तर समग्रमा भन्दा मैथिली भाषी सम्भ्रान्त वर्ग यसको अधोगतिका लागि कम जिम्मेवार छैनन् । उदाहरणका लागि १९६१ को जनगणनामा आधाउधी मैथिली भाषीले मैथिलीलाई मातृभाषा हो भनेनन् । किन ?


हो, गंगा उत्तर बंगालको सिमानादेखि भोजपुरी भाषी पश्चिमी विहार र मध्य नेपालसम्म मधेसका सबैले कुनै न कुनै खाले मैथिली बोल्छन् । झापा र मोरङमा पनि राजवंशी, सतार र बंगाली मुसलमान बाहेक सबै मधेसी मैथिलीकै कुनै रूप बोल्छन् । उत्तरी विराटनगरका राजवंशी पनि मैथिली नै बोल्छन् । तर पढेलेखेकाले एकआपसमा चिठीपत्र लेख्नुपर्‍यो र कुरा गर्नुपर्‍यो भने ती सबै हिन्दी नै रुचाउँछन् । कारण के ? किनभने हिन्दीको बोलाइ र लेखाइमा एकरूपता छ र हिन्दी लचिलो छ र यो धेरैलाई अटाउने खालको भाषा हो । यसको लेखाइ र बोलाइमा कुनै समुदाय, जातको अनुचित वर्चस्व र हालीमुहाली छैन । यो सबैका लागि सजिलो र गाह्रो एकसमान छ । बोल्दा सबैलाई एकसमान सजिलो र शुद्ध लेख्दा सबैलाई एकसमान गाह्रो । तर बोल्ने र लेख्ने शुद्ध मैथिली मधेसका केही तथाकथित उच्च जातले बोल्ने र लेख्ने मैथिली हो, जो खासगरी त्यो मैथिली हो, जो विहारको मधुवनी जिल्लाभित्र पर्छ, जसलाई पाँचकोसे मैथिली भनिन्छ, अर्थात् त्यहाँको पाँचकोसभित्र बोलिने मैथिली नै शुद्ध मैथिली हुनगएको छ, जसलाई सबैले त्यसरी नै बोल्नु र लेख्नु पर्नेछ । भनाइ छ, ‘यस्तो मैथिली ती मानिसको ल्याकतको कुरा हो, जो दिमाकको खेती गर्छन्, खेतमा खेती गर्नेको होइन ।’ वर्गहार्ड भन्छन्, ‘पहिलो समुहमा ती मैथिल पर्छन्, जो तथाकथित ठूला जातमा पर्छन् । मैथिली
ब्राह्मण जो संस्कृतजन्य ज्ञानका संरक्षक छन् । त्यसपछि भूमिहार जो पारम्परिक रूपमा मिथिलाका जमिनदार हुन् । र कायस्थ लेखनदास जो जमिनदारका कागजपत्र, लेखा र मालपोतको हिसाब राख्थे ।’ वर्गहार्डले राजपुतलाई छुटाएका छन् । अरू सबैको मैथिलीलाई ‘रड्हा’ यानि स्वाँठ मैथिली भनेर ‘शुद्ध’ मैथिली भाषीले होच्याउने गर्छन् ।


यसै कारण मोरङको राजवंशी गाउँमा हुर्केको मैले मैथिलीको लिखित रूप पहिलोचोटी गंगा किनारको कलेजमा भेट्दा यो त मैले बोल्ने भाषै होइन भन्ने लागेको थियो, जबकि घरमा आमाबुबासंँग म मैथिली नै बोल्थेंँ, घर बाहिर राजवंशी र नेपाली बोले पनि । मैले मैथिली कहिल्यै पढिन, किनभने मेरालागि त्यो अनौठो भाषा थियो । बरु हिन्दी त्योभन्दा सजिलो लाग्थ्यो । तर मैथिलीका लोकभाका र विद्यापतिका गीत, कविता मेरालागि सधैं प्रिय रहे । र मेरा पिताजीले मलाई चिठी सधैं टुटेफुटेको हिन्दीमै लेख्नुभयो र उनको देहान्तपछि आमालाई मैलै आफूले बोल्ने मैथिलीमै चिठी लेख्थँें, जो गाउँलेहरूले पढेर सुनाउँथे । नेपाली, हिन्दी अथवा ‘शुद्ध मैथिली’मा लेख्दा आमालाई पनि र मलाई पनि कृत्रिम र असहज हुनजान्थ्यो । त्यसैले ‘मैथिली स्त्रीको बोली हो र पुरुष सार्वजनिक जीवनमा हिन्दी प्रयोग गर्छन्’ भनेर वर्गहार्ड भन्छन् ।


तर नेपाली मिडियामा मैथिलीबारे हालका दिनमा निस्केका आलेखहरूमा मैथिलीको गुणगान पाइन्छ, मैथिलीको दुर्भाग्यको विलौना गाइन्छ, राज्यसत्तालाई सरापेको पाइन्छ । तर आफ्नै समाज र भाषाको आन्तरिक समालोचनात्मक विश्लेषण भने पाइन्न । सप्तरीका एक विद्वान प्राध्यापकका अनुसार मिथिलाञ्चल (नेपाल र भारतका मैथिली भाषी क्षेत्र) मा मैथिलीलाई कथित उच्च वर्ण (शोत्री, ब्राह्मण, कायस्थ आदि) को भाषाका रूपमा प्रचार गरियो । यस भूगोलका कथित निम्न वर्गका भाषाभाषीले मैथिली बोले पनि आफूले मैथिली बोलेको स्वीकार गर्न आनाकानी गरे । (कान्तिपुर, माघ १५, २०७४) ।


प्रचार मात्रै गरियो ? प्राज्ञिक र क्षेत्रगत अध्ययनको कुनै महत्त्व छैन ? अनि निम्न वर्गले आनाकानी किन गरे त ? आफूले बोलेको भाषा त तिनलाई पनि प्रिय हुनुपर्ने हो । औपचारिक चलनचल्तीमा आफ्नो बोलिने भाषा आयो भने रोजीरोटीको पनि बन्दोबस्त हुन्छ भन्ने भावना पलाउनुपर्ने हो । आफ्नो जात, समाजको समालोचना र विषयमा गहिरिएर जाने यी विद्वानलाई या त फुरेन या यिनले आँट गरेनन् । हुन त आत्मान्वेषणको अभाव जुनसुकै समाजका ‘एलिट’को वर्गीय दोष नै हो । तर मधेसी समाजमा यो आत्मान्धता अलि बढी नै देखिने गरेको छ । यस्तो पाराले आफ्नो न्यायोचित अधिकारका लागि लड्ने ऊर्जा र विभेदकारी राज्यको निर्मम विश्लेषण गर्ने नैतिक बल कसरी पलाउँछ ? तै मधेसका नयाँ पुस्ताका नेता र बौद्धिकहरूले फरक धार अँगाल्दै समाजलाई न्यायको बाटोमा लान सफल हुन्छन् कि भन्ने आस छ ।


भाषाका हकमा मैथिली, भोजपुरी, अवधी र अन्य मातृभाषाहरूले उचित स्थान पाउनु र औपचारिक चलनचल्तीमा आउनु धेरै दृष्टिकोणबाट आवश्यक छ । तर मैले बोलेकै, लेखेकै सबैले बोल्नु, लेख्नुपर्छ भन्नु समाज र देशमा कलह निम्त्याउनु हो । तसर्थ कुनै एउटा भाषाभित्र लचिलोपना र फराकिलोपना जति चाहिन्छ, त्यति नै भाषा बाहिर अरू भाषाहरूबीच एकआपसमा पनि त्यति नै फराकिलोपना र लचिलोपना चाहिन्छ, एउटा बहुभाषी, बहुसांस्कृतिक समाज निर्माण गर्न । अनि मात्रै एउटा जटिल भाषिक मुलुकका भाषिक आवश्यकताहरूलाई पुरा गर्न सकिन्छ ।
मिश्र संयुक्त राज्य अमेरिकास्थित लुइस विश्वविद्यालयमा अंग्रेजीका विभागीय अध्यक्ष हुन्।

प्रकाशित : चैत्र २१, २०७४ ०९:३१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नेपाल सबैको साझा फूलबारी बनोस्

पृथ्वीनारायणद्वारा सिर्जित नेपालको छातामुनि सबै सीमान्तकृत पहिला ओत लाग्न पाऊन् वा ओत लाग्ने प्रत्याभूति तिनका मनमा पलाओस् र नेपाल सबै किसिमका फूलहरूको फूलबारी बनोस् । 
प्रमोद मिश्र

काठमाडौँ — नेपालमा पृथ्वीनारायण शाहको नियति अमेरिकी महादेशमा क्रिस्टोफर कोलम्बसको जस्तै भएको छ । कोलम्बसले अमेरिकी महादेश सन् १४९२ मा पत्ता लगाएकाले उनको खोज वार्षिकी मनाउने चलन शताब्दियौंसम्म चलेको थियो ।

तर बीसौं शताब्दीको उत्तरार्धमा आदिवासी र तिनका पक्षधरहरूको भीषण विरोधपछि १९९२ मा अमेरिका खोजको पञ्च शताब्दी र पछि वार्षिकी पनि मनाइएन । त्यसको समर्थनमा अमेरिकाको सबभन्दा ठूलो इक्युमेनिकल चर्च संगठन, राष्ट्रिय चर्च परिषदले भन्यो, ‘जुन कुरा केहीलाई स्वतन्त्रता, आशा र अवसरको नयाँपन लाग्छ, त्यही अरूका लागि दलन, मर्दन र नरसंहारको घटना हुनपुग्यो ।’ त्यति मात्र हैन, हालसाल रबर्ट ली जो अमेरिकी गृहयुद्धमा दासप्रथाको पक्षधर कन्फेडरेट दक्षिणी राज्यका जर्नेल थिए, तिनको र अरू यस्तै विगतका नश्लभेदी विचार समर्थक र सेसिल रोड्सजस्ता उपनिवेशकका सालिक सार्वजनिक महत्त्वका स्थानमा राखिरहनु उचित हैन भनेर संयुक्त राज्य अमेरिका, बेलायत र दक्षिण अफ्रिकामा उदार समूहका मानिसहरू र नश्लवाद, काला दासप्रथा र उपनिवेशबाट पीडित भएकाका सन्ततिहरूले सामुहिक रूपमै अभियान चलाउँदै आएका छन् ।
नेपालमा पनि गणतन्त्र आएपछि पृथ्वी जयन्ती मनाउन छाडेदेखि, वर्षेनि जाडो याममा पृथ्वीनारायण शाहको पक्ष/विपक्षमा लेख र भाषणको ओइरो नै लाग्ने गरेको छ । पृथ्वी जयन्ती नमनाएकाले पृथ्वीभक्तका मुखबाट आक्रोशको फिँज निस्कन्छ भने ‘यो किन मनाउने ?’ भन्ने जनजाति, मधेसी र नेपाली राज्यद्वारा विभेदित र तिनका समर्थकहरूका कलमबाट आगो बर्सिन्छ । जो तिनको एकीकरणबाट पीडित भए, तिनीहरूले पृथ्वीनारायणलाई युद्ध सरदार सावित गर्न अनेकौं तथ्य प्रमाण अघि सार्छन् भने जो आफूलाई त्यसबाट लाभान्वित ठान्छन् वा उनको विरासतका हकदार ठान्छन्, उनलाई राष्ट्रनिर्माता भनी आफ्नै बाउ, पुर्खा ठानी उनको जन्मदिन पुस २७ लाई एकता दिवस मनाउन थालेका छन् । र अब त नेपाल सरकारले पनि यस दिनलाई एकता दिवस भनी सार्वजनिक विदा नै घोषणा गरेको छ । यस्तो चर्को वादविवादले के सावित गर्छ भने नेपाली इतिहासबारे मतभिन्नता छ, नेपालीहरूमा र यसको व्याख्या बाझेको छ । नेपालको अहिलेको संक्रमणकालीन गञ्जागोलमा यस्तो हुनु स्वाभाविकै मान्न सकिन्छ ।
इतिहासको आफ्नै अन्तरनिहित चिरस्थायी कुनै अर्थ हुँदैन, किनभने यसको व्याख्या समयकाल सापेक्ष हुन्छ । कुनै पनि समाज र देशको अतीत यसका ऐतिहासिक दस्तावेज र पुरातत्त्वमा अवस्थित रहे पनि यसको व्याख्या र प्रयोग पछिका सन्ततिले आफ्नो वर्तमानका आवश्यकता र चाहना अनुसार गर्छन् । तर कुनै पनि समयमा यो वाद–प्रतिवादबाट बञ्चित हुन भने सक्दैन । यो कुरा ऐतिहासिक व्यक्तित्वहरूमा पनि त्यत्तिकै लागू हुन्छ ।
नेपालमा झैं अरू ठाउँमा पनि निमुखाहरूको दृष्टिकोणबाट इतिहासशास्त्र रच्ने क्रम चलेको छ । एकलव्यका आँखाबाट महाभारत हेरिँदैछ भने सवरी वा लक्ष्मणकी श्रीमती उर्मिलाका नजरबाट रामायण वाचन हुने सम्भावना बढेको छ । उता भारतको इतिहास पनि नेहरू वा गान्धीको राष्ट्रवादी दृष्टिकोणबाट नभएर दलित नेता, चिन्तक अम्बेडकर र आदिवासी नेता बिरसा मुण्डालाई केन्द्रमा राखेर लेखिँदैछ । रामचन्द्र गुहाले आफ्नो किताब इन्डिया आफ्टर गान्धीमा नेहरू गान्धीभन्दा पनि अम्बेडकरलाई भारतको स्वतन्त्रतापछिको समयमा बढी महत्त्वपूर्ण मानेका छन् । नेपालमा पनि जनताको इतिहास लेखिने समय पहिलोपल्ट आए जस्तो छ ।
पृथ्वीनारायण अम्बेडकर र मुण्डा पक्कै हैनन् । तर उनी जंगबहादुर वा राजा महेन्द्र पनि थिएनन् भन्दा अतिशयोक्ति नहोला । उनको जातीय हायरार्किकल (पदनुक्रम वर्गीकृत) ढाँचा भएको ‘असिल हिन्दुस्तान’ स्थापना गर्ने महत्त्वाकांक्षा अन्तत: चार जात छत्तीस वर्णको साझा फूलबारी भन्ने बहुजातीय, बहुसांस्कृतिक पक्षधर दिव्य उपदेशसंँग बाझ्न पुग्यो, जसलाई जंगबहादुरले मुलुकी ऐनको जातीय विभेदमार्फत र महेन्द्रले पञ्चायती व्यवस्थाको एउटै भाषा, एउटै भेष राष्ट्रियताद्वारा अझ चर्काए । तर हामीले के बिर्सिनुहुन्न भने नेपाल राष्ट्र एउटा विभिन्न किसिमका फूलहरूको बहुसांस्कृतिक, बहुजातीय फूलबारी हो भन्ने परिकल्पना त युरोपका उनका समकालीन ‘भोल्क’ राष्ट्रवादका प्रणेता विद्वान योहान गुडफ्रिड हर्डरजस्ता समेतले गर्नसकेका थिएनन् । उनले त एकल भाषा, एकल संस्कृति (भोल्क) राष्ट्रवादको प्रतिपादन मात्र गरे । फलस्वरूप युरोपको प्राय: सम्पूर्ण राष्ट्र संरचना एकल जातीय, एकल भाषीय हुनपुग्यो । जसका लागि बीसौं शताब्दीसम्म भीषण रक्तपात नै मच्चियो, विश्वलाई नै थर्कमान पार्नेगरी । अहिले पनि राष्ट्रराज्यको युरोपेली अवधारणा भएका देशहरूलाई आफ्ना विभिन्न जाति समुदायलाई अँटाउन धौधौ नै परिराखेको छ र रक्तपात जारी छ ।
तर नेपाली मिडियामा सार्वजनिक छलफल र राजनीतिक घटनाक्रममा परेका गाँठाहरूले के प्रस्ट पार्छ भने राज्य–राष्ट्रबारे यस जटिलतालाई आम नेपाली जनमानसमा बुझाउन सकिएको छैन । केही विद्वान बौद्धिकहरूले सार्वजनिक वृत्तमा आफ्ना कुरा नराखेका हैनन् । तर खाँचो अगाडि प्रयास कम सावित भए जस्तो लाग्छ । यी संवेदनशील र गहन कुरालाई राजसत्ताबाट लाभान्वित हुने र त्यसबाट वञ्चित हुने दुवै खेमाका आम नेपालीलाई बुझाउन अति आवश्यक हुनगएको छ । एकले अर्काको कुरा सहानुभूतिपूर्वक सुन्ने र बुझ्ने कोसिस गर्ने अभ्यासको अभावमा नेपालको सार्वजनिक वृत्त केपी ओली र सीके राउतका एकसुरे डम्फु बजाउने अनुयायीले भरिए जस्तो लाग्छ र सामाजिक सञ्जाल अश्लीलता र जातीय गालीगलौजले भरिएको हुन्छ । कोही टोपीको बदनामी गर्नेगरी टोपी दिवस मनाउन थालेका छन् त कोही धोती दिवस । कोही ‘धोती’ भनी अरूलाई हेप्छन् भने कोही ‘टोपी’ भनी अरूलाई गिज्याउँछन् । नयाँ नेपालका लागि यी दुबै अतिवादी प्रवृत्ति घातक हुन् । आत्मविवेचना र वस्तुपरक ऐतिहासिक विश्लेषण गरी पारस्परिक संवाद र सम्मानद्वारा एकअर्काका कुरा सुन्ने, बुझ्ने अभ्यास र परिपाटीको निकै खाँचो भएको छ । यसले सबै थरीका नेपालीलाई कठिन भूराजनीतिक परिवेशमा घटित नेपाली इतिहास र त्यसभित्र पृथ्वीनारायणबारे जटिल एवं गहन बुझाइ हुने सम्भावना बढ्छ ।
तर त्यसो भइराखेको छैन । सीमान्तकृतको राज्य संयन्त्र, मिडिया र इतिहास प्रबुद्ध बौद्धिक र प्राज्ञिक साधनहरूमा पकड त्यति छैन, जसले अतीतको निर्मम चिरफार हुनसकोस् र आम नेपालीभाषी नेपालीमाझ त्यसलाई पस्किन सकियोस् । हुन त युरो–अमेरिकी प्राज्ञ र तिनका अनुसन्धानात्मक कृतिहरू यसबारे नभएका हैनन् । तर ती भिन्नै पाठकका लागि लेखिएका हुन् र ती कृतिहरू प्राय: युरोपेली भाषामा त्यतैका पुस्तकालयका दराजमा थन्केका छन् ।
नेपालमै त्यस्ता विद्वान नभएका पनि हैनन् । डोरबहादुर विष्ट, ऋषिकेश शाह र महेशचन्द्र रेग्मीजस्ता अग्रणी पुस्ताका विद्वानले विभेदकारी नेपाली अतीतको निकै गहन विश्लेषण गरेका छन् । तर तिनीहरूको पुस्ताको समय बन्देजको युग थियो र तिनीहरूको नजर निरंकुश राजतन्त्र र आर्थिक शोषण विरुद्ध थियो । र आम नेपालीमा त्यतिखेर आफ्नो अतीतबारे ज्ञानको भोक पनि त्यति थिएन र विवेचनात्मक ज्ञानको त्यति खाँचो पनि त थिएन । किनभने निरंकुश राजसत्ताले सबैका आशा, अभिलाषा र महत्त्वाकांक्षालाई पुरातन व्यवस्थाको वैचारिक र शासकीय डोरीले बाँधेर राखेको थियो । तर गणतन्त्र आएपछि अनेकौं कारणले अतीतका ढोका ह्वाङ्गै खुले भने महत्त्वाकांक्षाको बिर्को पनि ह्वात्तै उघ्रियो । सबै समुदायका नेपाली मुलुक बाहिर श्रम र उद्यम गर्न जानथाले । नेपालमै रहेकाको पनि कोठा–कोठा र मोबाइल–मोबाइलमा विश्वका विम्ब र सञ्जाल आउन थाले । आफ्नो मुलुकको इतिहास, संस्कृतिबारे तिनमा ज्ञानको भोक जब्बर भएर उर्लियो । अहिले प्रत्यूष वन्तको नेतृत्वमा मार्टिन चौतारी वा सोसल साइन्स वहा: आदिले निकै उपलब्धिमूलक काम गरेका छन् र गर्दै पनि छन् । तर त्यतिले नेपाली जनमानसलाई भूत, वर्तमान र भविष्यबारे वस्तुपरक, सन्तुलित र समालोचनात्मक ज्ञान दिन अपुग भएजस्तो छ । किनभने सामाजिक सञ्जालमा एकतर्फी कसिंगर बढी, ज्ञानगुन कम प्रसार भइरहेको जस्तो लाग्छ । यस सन्दर्भमा नेपाली मिडियाको महत्त्व अझ बढेको छ, गहन, पक्ष/विपक्ष ज्ञान प्रसारण गर्नमा ।
एकातिर खसवादी इतिहासविद् छन्, जो नेपाली राष्ट्रवाद र सार्वभौमिकताको नारा दिएर जनजाति र मधेसीका मागलाई तेजोवध गर्न पृथ्वीनारायणको एकीकरण अभियानले नेपालका विभिन्न जातजाति, भाषाभाषीलाई कुनै क्षति नै गरेन भन्छन् । तिनीहरू भन्छन् : अहिले पहिचानसहितको संघीयता माग्ने जनजातिको एकीकरणताका आफ्नै जातीय राजा कहाँ थिए र ? जातीय राजा नभएको खण्डमा पृथ्वीनारायणले बाइसे, चौबिसे राज्य जितेर एकीकरण गरे त राम्रै गरे, राष्ट्र निर्माण गरेर, जसले गर्दा नेपालीको स्वतन्त्र राज्य छ । जातीय राजा थिएनन्, तसर्थ विभिन्न जाति–समुदायका वर्तमान माग नाजायज हुन् भन्नु अर्घेल्याइँ हो । इजरायल बाहेक विश्वका विरलै कुनै राष्ट्र छन्, जो प्राचीनकालमा रहेको अस्तित्वका भरमा वर्तमानमा आफ्नो दाबी गरुन् । तथापि प्राय: राष्ट्र आफ्नो अस्तित्वको गौरवगान गर्न प्राचीनकालका मिथक गुहार्ने काम गर्छन् । तर एकीकरणका बेला जातीय राजा थिएनन् भने के भो त ?
यी इतिहासकारहरू हिन्दुवादी राज्यव्यवस्थाकै चस्माले संसार हेर्छन्, जसले सबैतिर राजवंश वा राज्य देखिन्छ, तिनलाई । जनजातिका सामुदायिक व्यवस्था यी शाही इतिहासकारले सोचेभन्दा फरक थियो होला । हिन्दु राज्यव्यवस्था सामाजिक रूपमा (ठाडो) भर्टिकल थियो । यो पदानुक्रम वर्गीकृत (हायरार्किकल) राज्यव्यवस्था थियो, जस्तो कि राजा, राजपरिवार, बडागुरु, भाइभारदार, सिपाही, प्रजा आदि अथवा क्षत्री–बाहुन (राजा–पुरोहित, वैश्य, शूद्र आदि एकमाथि अर्को भर्‍याङजस्तो । जबकि जनजातिहरूमा सघन बसोबास हुँदाहुँदै पनि यस्तो थिएन । हैन भने मगरहरूले प्रत्येक वर्ष दौड गराएर राजा किन छान्थे ? यस दौडमा जो पनि भाग लिन सक्थे । यसले के प्रमाणित गर्छ भने जनजातिहरूमा क्षितिजीय, समानान्तर अथवा बराबरीको व्यवस्था बढी थियो । यसको अर्थ यो हैन कि उनीहरूको आआफ्नो क्षेत्रमा राजनीतिक र सांस्कृतिक नियन्त्रण थिएन । फेरि त्यतिखेर राज्यको स्वरूप पनि त पछि चन्द्रशमशेरको पालाको वा पञ्चायतकालको जस्तो थिएन, जस्तो कि नेपालविद् रिचर्ड बर्गार्डले प्राज्ञिक विश्लेषण गरेका छन् ।
आजका प्राय: सबै राष्ट्र, प्रदेश, जाति, क्षेत्र मुख्य दुई आधारमा स्थापित भएका छन् । जनसंख्या र इतिहासजनित अन्याय । कुनै क्षेत्रमाथि ऐतिहासिक दाबी मात्रले पुग्दैन । यहाँसम्म कि इजरायलको, जसको कि बाइबल र तालमुड दस्तावेजका रूपमा खडा थिए, नात्सीहरूद्वारा नरसंहार पछिमात्र प्यालेस्टिन क्षेत्रमा दाबी सम्भव भयो । तसर्थ नेपालका विभिन्न जातजातिमाथि पृथ्वीनारायणको एकीकरण अभियानले गरेको रातनीतिक, सांस्कृतिक र आर्थिक क्षतिबारे यी खसवादी इतिहासकारहरू के भन्न चाहन्छन् ? यिनै क्षतिको पूर्तिस्वरूप वा क्षतिपूर्ति हुने विश्वस्त नहुन्जेल यिनले पृथ्वी जयन्ती नमनाउन खोजेका हुन् भन्ने कुरा सबै नेपालीले बुझ्नु आवश्यक छ ।
नेपालको संक्रमणकाल ठोकठाक गरेर बनाएको संविधानद्वारा भएको निर्वाचनपछि पनि कठिन गञ्जागोलबाट गुज्रिँदैछ । प्रत्येक समुदाय आआफ्ना अधिकारका लागि अझै संघर्षरत छ । कोही खाइपाइ आएका अधिकार र प्रतिष्ठा जोगाउन कोकोहोलो गर्दैछन् भने कोही गुमेका अधिकार र सम्मान फर्काउन चाहन्छन् । यस्तोमा एकपक्षीय इतिहास व्याख्याले काम चल्दैन मात्र हैन, यो नेपालजस्तो बहुजातीय, बहुसांस्कृतिक मुलुकका लागि अनिष्टकारी सिद्ध हुनसक्छ । तसर्थ अहिले हामीलाई डायलोजिक (संवादीय) इतिहास व्याख्या र सार्वजनिक बहस चाहिएको छ । राष्ट्रनिर्माता पृथ्वीनारायणका शाखा–सन्तान र दरबारियाहरूले (जसमा जंगबहादुर र राजा महेन्द्र प्रमुख हुन्) एकीकरणमा भएको स्वाभाविक हत्या–हिंसापछि पनि नेपालका विभिन्न जातजातिलाई निकै क्षति पुर्‍याए र उनीहरूको मानमर्दन गरे, आफ्नो संकीर्ण एउटै भाषा, एउटै भेष राष्ट्रवाद र परिवारवाद नेपाली जनतामाथि थोपरेर । त्यसैको प्रतिकारस्वरूप नेपाल अहिलेको अवस्थामा आइपुगेको छ । एकीकरणको फल अहिलेको नेपाल अवश्य हो र आफ्नै राज्यराष्ट्र हुनुका धेरै भौतिक र मनोवैज्ञानिक फाइदा हुन्छन् । संसारभरि राष्ट्रविहीन हुनुको कन्तविजोग कसैबाट लुकेको छैन । तर पृथ्वीनारायणद्वारा यसरी सिर्जित नेपालको छातामुनि सबै सीमान्तकृत पहिला ओत लाग्न पाउन् वा ओत लाग्ने प्रत्याभूति तिनका मनमा पलाओस् र नेपाल सबै किसिमका फूलहरूको फूलबारी बनोस् । तत्पश्चात जो पृथ्वी जयन्ती हुन्छ, त्यो एक पक्षको मात्र नभई सर्वपक्षी हुनेछ र त्यतिखेर मात्र यो असल एकता दिवसमा परिणत हुनसक्छ । र त्यही नै वास्तवमा पृथ्वीनारायणप्रति असली श्रद्धाञ्जली पनि हुनेछ ।
मिश्र संयुक्त राज्य अमेरिकास्थित लुइस विश्वविद्यालयमा अंग्रेजीका विभागाध्यक्ष हुन् ।

प्रकाशित : माघ १, २०७४ ०७:१६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT