२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

ट्रम्पको सिरिया युद्ध

हरि रोका

काठमाडौँ — ‘मेरा प्रिय अमेरिकी नागरिकहरू ! केही क्षणअघि मैले अमेरिकाकी सैन्यशक्तिलाई सिरियाली तानाशाह बसर अल असदले रासायनिक हतियार राखेको ठेगानामा आक्रमण गर्न आदेश दिएको छु ।

ट्रम्पको सिरिया युद्ध

यस सैन्य कारबाहीमा फ्रान्स र संयुक्त अधिराज्यका सैन्यशक्ति सम्मिलित छन् । हामी उनीहरू दुवैलाई धन्यवाद दिन चाहन्छौँ...’


सिरियाली समय अनुसार अप्रिल १५ बिहान २ बजे थालिएको आक्रमण ४५ मिनेटसम्म चल्यो । उत्तरपूर्वी सिरियास्थित होम्स सहरको सरकारी सैन्य अखडामा साइप्रसस्थित अमेरिकी बेडाबाट मिसायल दागिएका थिए । भूमध्य सागरमै रहेको अर्को सवमेरिन जहाजमा भएका फाइटर विमानहरूले राजधानी दमास्कसकै दुई सैन्य शिविर नजिकका सेन्टिफिक रिसर्च सेन्टरमा मिसाइल दागेका थिए । रूसले भने दागिएका १०३ मिसाइलमध्ये ७१ वटालाई बीचमै ध्वस्त पारेको दाबी गरेको छ ।


पेन्टागनले भने यसलाई ‘झुटो’ भनेको छ । जे होस्, झिसमिसे बिहानमा ट्रम्पले सदाझैँ ट्विट गरेर ‘मिसन एकम्पिलिस’ (विशेष काम सम्पन्न) भएको जानकारी दिए ।

आक्रमपछि दुवै पक्षमा भनाइ आए । रूसका भ्लादिमिर पुटिनले ‘उद्दण्डतापूर्ण कार्य’ भने र राष्ट्रसंघको सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउन आग्रह गरे ।


इरानका सर्वश्रेष्ठ नेता अयातोल्ला अली खुमेनीले आक्रोश पोखे, ‘यो सैन्य अपराध हो । अमेरिकी, फ्रान्सेली राष्ट्रपतिहरू र बेलायती प्रधानमन्त्री अपराधी हुन् ।’ जर्मन चान्सलर एंगेला मर्केलले ‘आक्रमणलाई आवश्यक र उचित’ भनिन् । ‘दुमा’मा रासायनिक हतियार प्रयोगमार्फत हत्याकाण्ड चलेपछि सिरियाली सत्ता दुरुपयोग रोक्न यो आक्रमण हुनपथ्र्यो’, उनको भनाइ थियो । चीनले ‘सुरक्षा परिषद्लाई अलग्याएर र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेर गरिएको सैन्य कारबाही’को निन्दा गर्‍यो । क्यानाडा, युरोपिएन युनियन, नाटो र इजरायलले आक्रमणको समर्थन गरे ।


युद्ध ग्रसित इराकले ‘सिरियाली सैन्य ठेगाना साँधेर गरिएको यो त्रि–देशीय आक्रमणले यो क्षेत्र (समुच्च अरब तथा उत्तर अफ्रिकी भूभागमा) आतंकवाद बढ्नमा मद्दत गर्ने’ बतायो । तीनजना मारिएको कारबाहीमा रिसर्च सेन्टर ध्वस्त हुनपुग्यो । आक्रमणको तुलनामा नोक्सान कम भयो, तर प्रतिक्रिया विशाल आए ।


कुदेता तथा द्वन्द्वको संक्षिप्त इतिहास

इस्लामिक शताब्दीमा सिरिया मिश्रको मामलुक सुल्तानियतको अधीनस्थ थियो । बिसौँ शताब्दीको दोस्रो दशक सुरु हुँदानहुँदै आधुनिक सिरिया फ्रान्सको अधीनस्थ हुनपुग्यो । १९४५ अक्टोबर २४ मा सिरिया स्वतन्त्रतासहित ‘संसदीय गणतन्त्र’ तथा राष्ट्र संघको संस्थापक सदस्य बन्न पुग्यो । स्वतन्त्रतापछि पनि त्यहाँ अप्ठ्यारा दिनहरू आए । सन् १९४९ देखि १९७१ सम्म धेरै सैनिक–कू भए । सन् १९५८ मा मिश्रेली संघमा आबद्ध भएर युनाइटेड अरब रिपब्लिक हुनपुग्यो ।


फेरि १९६१ म अर्को ‘कू’पछि ‘अरब रिपब्लिक अफ सिरिया’को संविधान निर्माणका लागि जनमत संग्रह गराइयो र संविधान जारी गरियो । सन् १९७१ पछि हाफेज अल असद बाथ पार्टीको नेताको हैसियतमा राष्ट्रपति बन्न पुगे । तर १९६३ मा संविधानका अधिकांश बुँदालाई सकाएर आपत्कालीन कानुनमार्फत सन् २०११ सम्म बाथ पार्टीको शासन चल्यो । बाउ असदको सन् २००० मा मृत्युपछि बसर अल असाद राष्ट्रपति बनाइए । आधिकारिक रूपमा अहिले पनि उनै राष्ट्रपति छन् ।


अरब विद्रोहको राप लिबिया, मिश्र हुँदै सिरिया र जोर्डन पनि पुग्यो । २०११ को मार्चमा अकस्मात नागरिक स्वतन्त्रतको नारा लाग्यो र असद पारिवारिक शासन व्यवस्थामा थुनिएका राजनीतिक बन्दी रिहाइको माग गरियो । चार दशकपछि पहिलोपटक सिरियामा असद परिवारको विपक्षमा दक्षिणको देरा सहरमा आन्दोलन सुरु भयो । त्यही वर्ष जुलाईमा रियाद अल असद नामक कर्नेलले सैनिक कमाण्ड त्यागेर सिरियन आर्मी विरुद्ध टर्कीको आधार क्षेत्रमा ‘फ्रि सिरियन आर्मी’ गठन गरी विद्रोहका लागि इस्लामी समूह निर्माण गरे । वर्तमान आईएसआईएसको माउ यही ‘फ्रि सिरियन आर्मी’ थियो ।


अमेरिकाको तत्कालीन विदेशमन्त्री हिलारी क्लिन्टन र साउदी अरेबियाका सुल्तानले यो ‘आईएस आर्मी’ हुर्काउन ठूलो योगदान गरेका थिए । इरान र रूसलाई थर्काउन थालिएको यो खेतीको अन्तर्राष्टिय प्रेसमा त्यतिबेला निकै चर्चा भयो । मार्च २०१२ मा विद्रोही सेनाको बलियो क्षेत्रका रूपमा परिचित होम्स सहरमा असद सरकारले बम वर्षाएरै नियन्त्रणमा लियो । त्यसपछि अन्य धेरै खुन–खराबायुक्त अभियान चालिए ।

तर सन् २०१४ मा सिरियाको उत्तरी भूभागमा यो आर्मी दुई गुटमा विभाजित भयो । पहिलो विद्रोही र दोस्रो जेहादी (आईएसआईएस) अनि आपसमै युद्ध गर्न सुरु गरे आईएसले विद्रोही सेनाको कब्जाबाट पहिलो क्षेत्रीय राजधानी राका आफ्नो कब्जामा लियो । आईएसमाथि अमेरिकी गठबन्धनले आफैँले सेप्टेम्बर २०१४ आक्रमण गर्‍यो ।


यसले उत्तरमा रहेको कुर्दिस समूहलाई कुर्दिस स्वशासित प्रशासन चलाउन सहयोग पुग्यो । त्यसपछि सन् २०१५ मा रूसीहरू कस्सिएर असद सरकारलाई हवाई आक्रमणमा सघाउन थाले । यसले उसलाई गुमाएको क्षेत्र पुन: कब्जा गर्न सहज भयो र सन् २०१६ मा पहिले गुमाइसकेको अलेप्पो सहर पुन: कब्जामा लियो ।


यसैबीच मध्य सिरियाको हामा सहरमा भएको सरकार विरोधी र्‍यालीमा भयानक कारबाही थालियो र २०१३ को सुरुमा दमास्कस छेउमा रासायनिक हतियारका कारण १४ सयभन्दा बढी मानिस मारिए । सेप्टेम्बर २०१३ मा असद सरकारको नियन्त्रणमा रहेको रासायनिक हतियार नष्ट गर्न राष्ट्र संघको संयोजनमा रूस र अमेरिकी प्रतिनिधिहरूको रोहवरमा जाँचबुझ गर्ने कमिटी बन्यो र सरकारी भण्डारणका सयौँ टन रासायनिक ग्यास भण्डार नष्ट गरियो । सन् २०१५ र १६ मा पनि राष्ट्र संघकै निगरानीमै त्यो टोलीले काम गरिरह्यो ।


२०१७ जनवरीमा रूस, इरान र सिरियाली सरकार मिलेर टर्की (जो विद्रोहीहरूको सहयोगीमध्ये एक थियो) समेतको सहयोगमा सरकार र विद्रोहीबीच समझदारी बनाउन कजाकस्तानमा एउटा वार्ता व्यवस्थापन गरे, जुन गृहयुद्ध घटाउने एउटा प्रक्रियाको थालनी थियो । यी चारैथरी सिरियालाई ‘डि–स्कालेसन जोन’ घोषणा गर्न चाहन्थे । अमेरिकी गठबन्धनलाई यो चित्त बुझिरहेको थिएन ।


अप्रिल २०१७ मा विद्रोहीहरूको कब्जामा रहेको खान–सेइखुन सहरमा ‘सरिन’ नामक रासायनिक ग्यास हमला भयो र ८० जना मानिसको ज्यान गयो । त्यस लगत्तै नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा पेन्टागनले ६ अप्रिल २०१७ मा सिरियाली सरकारको अधीनस्थ सहेरथ मिलिटरी एयरवेसमा ५९ वटा ट्रमह्वाक क्रुज मिसाइल प्रहार गर्‍यो । तर रासायनिक हतियार कसले प्रयोग गरेको थियो भन्ने खोजी भएन ।


जनवरी २०१८ मा टर्कीले कुर्दिस समूह विरुद्ध हमला बोल्यो । कुर्दिसहरूले आईएसलाई शक्तिहीन बनाउन अमेरिकालाई पछिल्लो घडीमा मद्दत गरेका थिए । फेब्रुअरी २०१८ मा असदको सरकारले रूसीहरूको सहयोगमा दमास्कसकै नजिकको सहर पूर्वी घौटामा विद्रोहीमाथि धावा बोले, जहाँ १२ सय मानिसको ज्यान गयो ।


यस पटक अप्रिल ७ का दिन पूर्वी घौटाकै नजिकैको बजार दुमामा भएको ग्यास हमलामा ५७ जना हताहत भए । त्यो आक्रमण असदको सरकारले नै गराएको भन्ने अपुष्ट समाचारपछि अप्रिल १४, २०१८ मा तीन देश अमेरिका, फ्रान्स र बेलायतले संयुक्त हमला गरे ।


युद्धको वैधानिकता र नेतृत्वको विश्वसनीयता

आक्रमण गर्न गठबन्धन राष्ट्रहरू किन हतारिए ? ‘मिसन एकम्पलिस’ भन्ने शब्द किन प्रयोग गरियो ? ‘मानवीयता संरक्षणका लागि आक्रमण’ भन्ने शब्दावलीको प्रयोग किन अविश्वसनीय बन्यो ? यतिबेला ओइरो लागेका यी प्रश्नको जवाफ भने कतैबाट आइरहेको छैन । लेबर प्रेसिडेन्ट तथा बेलायती संसद्का प्रमुख प्रतिपक्षी नेता जेरेमी कोर्बिनले त आक्रमणको वैधानिकतामाथि नै प्रश्न उठाए ।


आक्रमण गर्नु अगाडि राष्ट्र संघका जाँचकीहरू पठाएर असद सरकारले गरेको हो या होइन भन्ने टुंगो लगाउनुपथ्र्यो । त्यसका लागि रूस आफैँ सन् २०१३ को सम्झौता अनुसार छानबिन गर्न दिन प्रतिबद्ध थियो । त्यस्तो किन गरिएन ? नोट्रेडयाम विश्वविद्यालयका अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक मेरी एलेन ओ’कोनेलले भनिन्, ‘यदि सिरियाभित्रै रासायनिक हतियार प्रयोग गरिएको हो भने पनि त यो अमेरिका, बेलायत वा फ्रान्समाथि सिरियाले आक्रमण गरेको थिएन ? किन मिसाइल दागे यिनीहरूले ? कहाँबाट पाए, यिनीहरूले ईश्वर बन्ने अधिकार ?’


गार्जियन पत्रिकाकी स्तम्भकार पोली तोएनवी लेख्छिन्, ‘सन् २०११ देखियता ५ लाख मानिस मरिसके । २० लाखभन्दा बढी घायल छन् । ६० लाख विस्थापित छन् । ५० लाख विदेशमा शरणका लागि छटपटाइरहेका छन्, यो सबै पारम्परिक हतियारका (कन्भेन्सनल वेपन्स) कारणले भएको छ, कोलरिन ग्यासबाट ७० जना मरे भन्दैमा किन आक्रमण ? (हालसम्म ग्यास आक्रमणबाट समग्रमा मारिनेहरूको संख्या १९ सय पुगेको छ) ।


७८ वर्षीय अष्ट्रेलियन पत्रकार तथा फिल्म निर्माता जोन पिग्लर लेख्छन्, ‘१९७० मा अमेरिकाले भियतनाम युद्धमा ‘डियोक्सिन’ नामक टोक्सिन केमिकल झन्डै प्रतिव्यक्ति ६ पौन्डका दरले पुग्नेगरी छर्किएको थियो, जुन अमेरिकी सिनेटमै प्रस्तुत गरिएको थियो । जसलाई पछि अमेरिकाले ‘अपरेसन र्‍यान्चहेन्ड’ नामकरण गरेको थियो भने भियतनामी डाक्टरहरूले ‘साइकल अफ फोयटल क्याटासट्रफ’ नाम दिएका थिए ।


ओबामाको पछिल्लो कार्यकालमा स्टेट सेक्रेटरी बनेका जोन केरी त्यसका साछी थिए । तर फेरि इराकमा इराकीहरूमाथि आफैले र गाजामा इजरायलीहरूले प्यालेष्टाइनमाथि ग्यास आक्रमण गरे । तर बलियाले जे गर्दा पनि हुने । ‘मिसन एकम्पलिस’ शब्द सन् २००३ मा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले पहिलोपटक इराकमा सद्दामको सालिक ढलेपछि प्रयोग गरेका थिए । तर इराकमा दस लाखभन्दा बढीको हताहतीपछि पनि अझै युद्ध सकिएको छैन ।’

सिरिया, इराक, इजिप्टमा ‘बाथ (तुलनात्मक रूपमा धर्म निरपेक्ष र समाजवाद उन्मुख) पार्टीहरूको’ सरकार आएपछि ‘स्थायित्व र विकास’का नाममा सोभियत संघको नजिक हुनपुगे ।


यो उहिलेको कुरा थियो । शीतयुद्धकालीन त्यो जमानामा इजिप्टमा अमेरिकी उक्साहटमा कू हुनपुग्यो । तत्कालीन राष्ट्रपति नासिर मारिए र अनवर सादात सत्तामा पुगे, उनी अमेरिका नजिक भए । उनको पनि केही दशकपछि हत्या भयो र होस्नी मुवारक आए । सन् २०११ को अरब विद्रोहमा उनी फालिए । सद्दामको वाथ पार्टी विरुद्ध अमेरिकाले शाह रेजा पहलवीलाई प्रयोग गरिरहेका थिए, इरानमा राजतन्त्र विरोधी क्रान्ति सम्पन्न भएपछि इरान विरुद्ध अमेरिका आफैँले सद्दामलाई उचालेर आठ वर्ष इरान–इराक युद्ध हुनपुग्यो । त्यसपछिका कथा हामी सबैलाई थाहा छ ।


त्यो बेला सोभियत कम्युनिजम बुइँ चढेर आउँछ भन्ने भय पुँजीवादीहरूमा थियो । त्यसैले कम्युनिजम रोक्न गरेको होला भन्न सकिन्छ । अहिलेको रूस समाजवादी मुलुक पनि होइन र भ्लादिमिर पुटिन साम्यवादी कम्युनिष्ट पनि होइनन् । पछिल्लो समय रूसी राजनीतिमा उनको आगमनका लागि वातावरण अमेरिकी र युरोपेली पुँजीवादी राजनीतिज्ञहरूले मिलाइदिएका अनेकन सबुत प्रमाणहरू छन् ।


यद्यपि यो घृणा किन ? नयाँ शीतयुद्ध किन ? के माक्र्सवादले भनेझैँ पुँजीवादले आफूभित्र संकट आफैले सिर्जना गर्छ भनेको यही हो ? कि लेनिनले भनेझैँ पुँजीवादको चरम उत्कर्षको रूपमा साम्राज्यवादी शक्तिहरू उठेपछि उनीहरू बीचको ऐक्यबद्धता र हार्दिकता समाप्त हुन्छ र नाफाका लागि एकअर्कामा हानमार गर्न तम्सिन्छन् भन्ने निष्कर्षको नजिक ?


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकालको पहिलो वर्षमात्र व्यतित गरेका छन्, तर उनका आभिव्यक्ति र हतारो हेर्दा लाग्छ, अब उनीसँग राज्य हाँक्न समय धेरै छैन । उनका पुराना सहयोगीहरूले राष्ट्रपतिका लागि सर्वथा अयोग्य नव–फासिष्ट र रेसिष्टको संज्ञा दिइरहेका छन् । बेलायती प्रधानमन्त्री थेरेसा मे बडा मुस्किलले गठबन्धन सरकार धानिरहेकी छन् ।


सम्भवत: यो वर्ष उनको कार्यकालको अन्तिम वर्ष हो– यद्यपि निर्वाचनका लागि ३ वर्षको अवधि अझै छ) । कुनै समय बैंकर्स रहेका, काकतालीले राजनीतिमा प्रवेश गरेका इम्यानियोल म्याक्रोन नयाँ पार्टी खोलेर फ्रान्सको राष्ट्रपति भइनै हाले । कुनै पनि दर्शन, विचारधारा र राजनीतिक कार्यक्रम नभएका यिनलाई ‘शूरवीर’ कहलाउन हतारो छ । उनी ट्रम्पभन्दा एकहात माथि उफ्रिएर युद्धको वकालत गरिरहेका छन् । विस्तारै फ्रान्सेलीहरूले बुझ्दैछन्, ‘बोकाले दाइँ हुने भए गोरु किन चाहिन्थ्यो’ । यस अर्थमा आक्रमणकारी नेतृत्व माथिको भरोसा पनि कमजोर देखिन्छ ।


हाम्रो प्रयास खै ?

लेबर लिडर जेरेमी कोर्बिनले लेखेझैँ यो समय युद्धको होइन, शान्तिको हो । सिरियामा अझ बढी सैन्य हस्तक्षेप गर्नु भनेको अरू बढी द्वन्द्व चर्काउनु हो । विगत ७ वर्षदेखि अमेरिका, बेलायत, युके, रूस, फ्रान्स, इरान, साउदी अरब, इजरायल, युएई सबै त सिरियाली थेटरमा आआफ्नो डम्फु बजाइरहेका छन् । तर मानवीय संहार रोकिएको छैन । अफगानिस्तान, इराक, लिबिया यसका साछी हुन् । यमनमा साउदी अरबले बम वर्षाको वर्षाकै छ । खै शान्ति ?


न्युयोर्क टाइम्सका स्तम्भकार थोमस एल. फ्राइडमेनले यही अप्रिल १५, २०१८ मा ‘दि रियल नेक्स्ट वार इन सिरिया : इरान भर्सेस इजरायल’ लेखेका छन् । यो युद्धको सम्भावनालाई नकार्न सकिन्न । इजरायलका पछि अमेरिका सदियौँदेखि छ । इरानका पछि रूस हुनु अस्वाभाविक रहेन । चीन पनि युद्धमा कहीं न कहीं तानियो भने भारतले अर्को पल्ला समात्न सक्छ । यसको अर्थ तेस्रो विश्वयुद्धतर्फ समग्र विश्व धकेलिनु हो । लाग्ला के हुन्छ र हामीलाई ? हामी पनि घिसारिन्छौँ, युद्धमा । बेलायती र भारतीय सेनामा भाडामा सही हामी नेपालीको निकै ठूलो संख्या छ ।


इरान र इजरायल भिड्नुको अर्थ साउदी अरब, युएई र कतार अलग हुनु होइन, ती पनि एकअर्कामा भिड्छन् । हामी दु:खी नेपाली अहिले खाडीमा मात्रै ३० लाख हाराहारीमा मजदुरी गर्दैछौँ र जहान–परिवार पाल्दैछौँ । सरकारलाई भुक्तानी सन्तुलनका लागि सहयोग गर्दैछौँ । आफ्नामा रोजगारी र पेसागत चाँजोपाँजो नमिलाई त्यत्रो जनशक्ति रित्तो हात फर्कनुपर्‍यो भने मुलुक धेरै हिसाबले अप्ठ्यारो चक्रमा पँmस्न पुग्छ । नेपाल सरकार आफ्नो महात्मे गाउनमा व्यस्त देखिन्छ । श्रममन्त्री सुरक्षित गन्तव्यको कुरा गरिरहेछन् ।


सबैभन्दा पहिले त शान्तिको कुरा गर्नुपर्‍यो । हाम्रो स्वर सानो होला । सुनवाइ सानो होला । तर हाम्रा तर्फबाट शान्तिको प्रयत्न खै ? आउनै लागेको संकट झेल्न आवश्यक वैकल्पिक योजना खै ?


प्रकाशित : वैशाख ६, २०७५ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?