१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

समय ओलीको, कुर्ने पालो कांग्रेसको

सत्ता गएपछि सबै गयो भन्ने मानसिकताबाट कांग्रेसीहरु अहिले सर्वाधिक दु:खित छन् । सबैभन्दा पहिले यस्तो सत्ता रोगबाट कांग्रेसीहरु मुक्त हुन जरूरी छ ।
कृष्ण खनाल

काठमाडौँ — अहिलेको नेपालको राजनीतिमा तीनवटा प्रमुख हेड लाइन छन्— ओलीको छुमन्तर समृद्धि, प्रचण्डको एकता नारा र कांग्रेसको रुञ्चे बैठक । राजनीति यसबाट हत्तपत्त विषयान्तर होला जस्तो देखिन्न । रोगबाट मुक्ति पाएका ओलीको ज्यान चेत उज्यालिएको छ, समृद्धिको मख्ख पार्ने चुट्किला गफ छन् । चिन्तन रुखो छ ।

समय ओलीको, कुर्ने पालो कांग्रेसको

ओली राजको १०० दिनका ७५ दिन नाघिसके, तर समृद्धिको गृहकार्य र योजना के छ, हेर्न बाँकी नै छ । सत्य के हो भने दायाँ–बायाँका छिमेकीले जोडिदिने रेलबाट समृद्धिको आशा गर्न सकिन्न । यो त एउटा पूर्वाधारसम्म हो, समृद्धि होइन । त्यसबाट उनीहरूको स्वार्थको किल्ला पनि मजबुतीसाथ तन्किन्छ । विदेशी कम्पनीले निकालिदिने बिजुली बेचेर हुने आम्दानी उनीहरूकै पोल्टामा जाने हो, नेपालीको खल्ती भरिन्न । भोलिको पुस्ताले यसको मूल्य के, कति र कसरी चुकाउनु पर्नेछ, ओलीको राष्ट्रवादमा त्यसको हिसाब शून्य छ । तर समय उनको पक्षमा छ । हामीले रोजेको लोकतन्त्रको खेल नियम यही हो । खेलको पत्ता एमालेमा हाफिसकेका प्रचण्डका बारेमा केही भन्नु छैन । एकतापछि उनी सोही पार्टीको आन्तरिक विषय हुनेछन् । त्यसैमा मोलतोल वा विग्रह गर्ने बाहेक उनीसंँग विकल्प पनि छैन । मुख्य कुरो कांग्रेस र ओलीकै हो ।

आन्दोलन र समीकरण फेरबदलको राजनीतिमा बानी परेका नेताहरूलाई नयाँ एजेन्डा पहिल्याउन कठिन भैरहेको छ । कांग्रेस हारको पीडामा रन्थनिएको छ, तङ्ग्रिने मेसो पाइराखेको छैन । अकलमन्द छ । यस्तै हार पहिले पनि व्यहोरेको हो । तर अहिलेजस्तो एक्लिएको थिएन । क्षणक्षणमा बदलिँंदो समीकरणको घामछायाले हारको पीडा हुनै दिएन । अहिले पनि त्यो खेल दोहोरिने आशामा नेतृत्व छ । मोदीले देखाएको नेपाल–रिझाइ कूटनीति भारतमा अर्को वर्ष हुने चुनाव लक्षित छ । भारतको आन्तरिक चुनावी राजनीतिक माहोल कस्तो हुन्छ, ओली सत्ता त्यसबाट निरपेक्ष रहन सक्तैन । एमाले–माओवादी एकता भएन भने त्यो छिद्रले फेरि समीकरण अदलबदलको राजनीतिलाई मलजल गर्न सक्छ । कांग्रेस फेरि फोकट्या फाइदाको अल्झोमा रमाउन पाउँछ । अहिलेसम्मको राजनीतिको तानाबुना यस्तै हो ।

कांग्रेस सुस्त छ । चुनाव सकिएको तीन महिनाभन्दा बढी समय गुजारेर आलस्यमा चुनावी समीक्षा गर्ने बैठक बस्यो । चुनाव किन हारियोभन्दा पनि हारको दोषी को हो भन्ने विवाद चर्को भयो । अब त्यो सिंगो कांग्रेस कार्य समितिको टाउकोमा हालिएको छ । कांग्रेस बैठकको फाइन्डिङ पनि गजबको छ— एमाले–माओवादी मिले, फोरम–राजपा पनि मिल्यो । परिणाम कांग्रेसलाई भोट दिने जनता कम भए । अर्थात् यसभन्दा पहिलेका चुनाव पनि कांग्रेसले कहाँ जितेको हो र ? कम्युनिस्ट फुटेर पो कांग्रेस ठूलो भएको हो । भोट त देउवाले पनि देशभर माग्दै हिँडेका थिए । कतिपय ठाउँमा पौडेल पनि पुगेकै हुन् । उम्मेदवारहरूले पनि जित्नलाई सकेसम्म प्रयत्न गरेकै हुन् । दोषी त भोट नदिने जनता हुन्, कांग्रेस बैठकले मुख खोलेर भन्न नसकेको मात्र हो । तसर्थ कांग्रेसको यो विवाद निरर्थक छ । बीचमै केही भैहाल्छ कि, फोकट्या नै भए पनि किन आस त्याग्ने ? होइन भने अर्को चुनाव आइहाल्छ । पाँच वर्ष पर्खने हो । नेता त नेतै हुन्, केको राजीनामा ? जे हुन्छ, अधिवेशनमा हुन्छ । बढीमा महासमितिको बैठक बस्छ, केही पदाधिकारीहरूको भेला हुन्छ । अहिलेलाई योभन्दा पृथक कांग्रेसको नियति सोच्न कठिन छ ।

तर कांग्रेससंँगको पुरानो संगतले मलाई बेला–बेलामा यसका बारेमा सोच्न बाध्य बनाउँछ । एकजना मित्रसंँग केही दिनअघि गम्भीर रूपमै कुरा भयो । उनी मजस्तो पार्टी संगठनबाटै अलग बस्न नसक्ने तर यथास्थितिको कांग्रेस पनि उनलाई मन पर्दैन । ओहदावाला कांग्रेसी पनि होइनन् । कांग्रेसमा सुधार वा नेता बदल्न सक्रिय युवाहरूसँंग पनि उनको हिमचिम छ । तर कुरो त्यहाँ पनि चित्त बुझेको छैन । भित्र देखिको आशंकापूर्ण दु:खेसो पोखे, ‘होइन, के कांग्रेसको दिन सकिएकै हो ? के अब फेरि उठ्न सक्तैन ?’ उनमा एउटा भय छ, कतै कम्युनिस्टको नाममा यो गैरकांग्रेसी सत्ता पश्चिम बंगालमा जस्तै दुई–तीन दशकै जाने त होइन । यो उनका लागि सबैभन्दा अप्रिय कुरा हो । उनका कुरा कांग्रेसले कति सुन्छ र लिन्छ, पत्याउने ठाउँ छैन । तर उनको धुन छ, कांग्रेस सुधार्नुपर्छ, सुध्रिनुपर्छ ।

कुनै एक पार्टीको चुनावी हारजित मेरो चिन्ताको विषय होइन । लोकतन्त्रको प्रणाली, संस्कार र त्यसले डेलिभरी गर्ने क्षमता मेरालागि महत्त्वपूर्ण कुरा हुन् । राजनीतिमा चुनाव हारजित ठूलो कुरा होइन । एउटै पार्टीले चुनाव जितिरहे लोकतन्त्रको कुरा नै कहाँ रह्यो र ? कांग्रेसलाई सत्ताको पर्याय बनाइयो । सत्ता गएपछि सबै गयो भन्ने मानसिकताबाट कांग्रेसीहरू अहिले सर्वाधिक दु:खित छन् । सबैभन्दा पहिले यस्तो सत्ता रोगबाट कांग्रेसीहरू मुक्त हुन जरुरी छ ।

लोकतन्त्रको नमुना मानिएका र संसदीय वा राष्ट्रपति दुवै प्रणालीमा एकै दल र त्यसको नेतृत्वले दुईपटक लगातार चुनाव जित्ने परम्परा अमेरिका र युरोपका कतिपय देशमा बसिसकेको छ । तर बाँचुन्जेल एउटै नेता र उसको बैठके टिमलाई बोकिहिँंड्ने कुराचाहिँं अस्वीकृत छ । यदि नेपालमा लोकतन्त्र र पार्टी राजनीतिको स्वस्थ परम्परा बसाल्ने हो भने त्यसको दृष्टान्त कायम गर्ने अवसर अहिले कांग्रेसलाई उपलव्ध छ । चुनाव हार्नु भनेको पार्टी पुनर्निर्माणको लागि समय पाउनु हो । यस्तो दलीय सोच र तदनुकूल समयको सर्वोत्तम उपयोग गर्ने रणनीति अपेक्षित छ । यसरी हेर्नसके र चाहेमा ‘जेनुइन’ कांग्रेसी चिन्तित हुनुपर्दैन ।

यो अवधिमा कांग्रेसले गर्नुपर्ने कामचाहिँं के हो त ? पार्टी पुनर्निर्माण नै मुख्य कुरा हो— संगठन, नीति र नेतृत्वको तहमा । यी तीनवटै कुरामा पुरै नयाँ सोच र पुन:संरचना आवश्यक छ, जुन सम्पन्न गर्नसके कांग्रेसले एउटा युगान्तकारी फड्को मार्न सक्छ । त्यसो गर्दा सम्भवत: पार्टी नै नयाँ बन्न पनि सक्छ । यो दृष्टि र विश्वास नभए पार्टीको बिंँडो थाम्नुभन्दा अरू केही हुने आस पनि गर्न सकिन्न ।

अहिलेको पार्टी संगठन संरचना शताव्दी पुरानो छ, त्यो पनि अरू कसैबाट सिकेको । केही ठालुहरूको नियन्त्रणमा छ, ‘हाइरार्किकल’ पनि । आस र त्रासमा पछि लाग्नेहरूको आश्रित जत्थाजस्तो छ, महाधिवेशन र महासमितिसम्म पुग्ने सदस्यहरूको स्वरुप । खुला समाजको मान्यता र लोकतन्त्रको प्रतिकूल पनि छ, यो संरचना । यस्तो संरचनालाई अन्त्य गर्नैपर्छ । खुला रूपमा शुभेच्छुक, समर्थक र प्रतिबद्ध मतदाताहरूको स्वयंसेवी समूहबाट यसका प्रतिनिधिहरू छानिने प्रणालीमा जानुपर्छ । कांग्रेस एउटा खुला पार्टी संरचना हो । यसमा मानिसहरू स्वेच्छाले आउँछन् र स्वेच्छाले छाड्न सक्छन् । क्याडरको काँध चढेर सत्तामा पुगेको नेतृत्व स्थायी होइन । क्याडरको काँध चढेर सत्तामा पुगेको नेतृत्व त माओवादीको हो । त्यसैले अहिले त्यो घरको न घाटको हुने अवस्थामा पुगेको छ । यदि अहिलेको वामसत्ताले अलि लामो निरन्तरता पायो भने कांग्रेस नेतृत्वको पनि यस्तै हालत नहोला भन्न सकिन्न । प्रश्न गर्न सकिन्छ, त्यसो भए ३० वर्ष लामो निर्दलीय पञ्चायतमा कांग्रेस कसरी टिक्यो त । उत्तर सहज छ, कार्यकर्ताको बलले होइन, विचार र मूल्यको अजेयताले यसलाई जीवन दिएको थियो । नेतृत्वमा बस्नेहरू र संगठनको स्वरुपले अहिले त्यसलाई देख्नै नसकिनेगरी कमजोर बनाएको छ ।

जहाँसम्म नीतिको कुरा छ, अहिले कांग्रेसको नीति पनि प्रस्ट छैन । लोकतन्त्र, बहुदलीयता, विधिको शासन, नागरिक हक, न्याय, समानताजस्ता कुराहरू नीति होइन, सार्वभौम मूल्य हुन्, सिद्धान्त हुन् । अहिले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशिता थपिएका छन् । कांग्रेसको स्थापनादेखि २०४६ सालको परिवर्तनसम्म यी मूल्य र सिद्धान्तमाथि एकलौटी स्वामित्व पाएको थियो । तर आज त्यो अवस्था छैन । कम्युनिस्ट पार्टी र हिजोका राजावादीहरूले पनि अहिले यी मूल्यलाई अंगीकार गरेका छन् । यी मूल्य र सिद्धान्तको नीतिगत व्याख्या अरूको भन्दा कांग्रेसको भिन्न हुनसक्छ । तर त्यो खुबी अहिले कांग्रेसमा देख्न पाइन्न । सनातनी र आउटडेटेड व्याख्याबाट ग्रस्त छ, माथिल्लो तहको नेतृत्व । नयाँ पुस्ताका आकांक्षीहरू आस र त्रासको सन्तुलन मिलाउँदै आफ्नो ठाउँ सुरक्षित गर्नमा सीमित छन् । सिद्धान्त र नीतिमा अलि खुलेर बोल्ने प्रदीप गिरी नितान्त एक्ला छन् । सुनुन्जेल सबै रमाउँछन्, तर पछिलाग्ने कोही छैन ।

कांग्रेस बैठकमा चुनाव हार्नुका पछाडि ओलीको राष्ट्रवादी नारा पनि एउटा कारण हो भनेको सुनियो । तर त्यो त राष्ट्रियताको नाममा भोटको खतरनाक राजनीति थियो, जसलाई कांग्रेसले प्रस्ट्याउनै सकेन । मधेसमा साख गुमाएका ओलीले त्यसको दोब्बर क्षतिपूर्ति लिन खोजे पहाडको भोटमा । त्यसले नेपालजस्तो विविधता भएको मुलुकमा मतदातालाई पनि जातीय–क्षेत्रीय विभाजनमा धकेल्नु कति घातक हुनसक्छ, सन् ‘६० को दशकमा श्रीलङ्काको चुनावी राजनीति एउटा डरलाग्दो दृष्टान्त हो । भलै, चुनावपछि ओली, मोदी र मधेसीको नयाँ समीकरण विकसित भएको छ ।

राष्ट्रियताको सवालमा बीपी कोइरालाका लेख, अन्तर्वार्ताहरूलाई कांग्रेसको पुराना पुस्ताले एकपटक स्मरण र नयाँ पुस्ताले खोजी पढेको भएमात्र पनि पुग्थ्यो । नेपालको राष्ट्रियताको सम्बन्धमा बीपीको बुझाइ, दृष्टिकोण र व्याख्या अहिले पनि उत्तिकै सान्दर्भिक छन् । यस बारेमा बीपी र ओली तुलनीय व्यक्ति होइनन् । त्यसबेला भारतको मोदी सरकारले नेपालमाथि गरेको ज्यादती अन्यायपूर्ण थियो । त्यसको खुलेर विरोध गर्नु जायज कुरा हो । तर त्यसैलाई राष्ट्रवाद भन्न सकिन्न । त्यस्तो राष्ट्रवाद पञ्चायतकालमा पनि थियो, मधेसमा क्रमश: विकसित अलगावको मानसिकता त्यसैको उपज हो । मधेस–पहाड द्वन्द्व नेपालका लागि एउटा अत्यन्त संवेदनशील विषय हो । यो द्वन्द्वको समुचित व्यवस्थापनका लागि कांग्रेस एउटा सहज र स्वाभाविक माध्यम बन्न सक्थ्यो । अझै पनि त्यो सम्भावना छ । तर त्यो विश्वसनीयता नेतृत्वमा बस्नेहरूको कमजोर सोचका कारण गुमाउँदै गएको छ । नयाँ पुस्ताका नेतृत्व आकांक्षीले त्यसको खोजी र पहल गर्न सक्छन् ।

कांग्रेसमा चुनावी हारलाई लिएर नेतृत्वबारे सर्वाधिक विवाद छ । को कति दोषी भनेर डाम्ने खेल छ । दोषको जरोमा पुग्ने कि कसैलाई दोषी मानेर औंला ठड्याउने ? दोष हटाउनसके समस्या नै सकियो । तर पनि समयमा दोष निवारण गर्न नसक्नुका पछाडि मान्छे नै जिम्मेवार हुन्छ । नेतृत्वमा बस्नेको सोच, प्राथमिकता र प्रस्तुतिलाई जनताले पत्याएनन् ।

दलीय पद्धतिमा चुनाव हार्नुको संसारभरि मुख्य कारण यही हो । कांग्रेस यसमा अपवाद हुन सक्दैन । यसमा दोषारोपणको कुरा आउँदैन । कसैले व्यक्तिगत प्रतिष्ठाको विषय बनाउनु पनि आवश्यक छैन । नेतृत्वमा बस्नेले नैतिक जिम्मेवारी लिने कुरा हो । नेतृत्वबाट अलग्गिएर अर्कोलाई बाटो प्रशस्त गरिदिने हो । यो परम्परा हरेक चुनावमा कायम गरिनुपर्छ । कांग्रेस पुनर्निर्माणको प्रारम्भ यहींबाट गर्नुपर्छ । अन्यथा घरिघरि कांग्रेसको विषयमा चर्चा गरिरहनुको पनि औचित्य छैन । भोलि कांग्रेसलाई फेरि सफलताको उचाइमा पुर्‍याउने नेता को हुन्छ, अहिले भन्न सकिन्न । महात्मा गान्धीले भनेजस्तै रुखको विउ जमिनमुनि हुन्छ, उम्रिएर ठूलो भएपछि मात्र त्यो देखिन्छ । नेपाली कांग्रेसमा पनि आसलाग्दो नेतृत्वको विउ जमिनमुनि अंकुरित हुनसक्छ, अहिलेका मठाधीशहरूको र्‍याकेटिङबाट जोगाउनसके ।

प्रकाशित : वैशाख २४, २०७५ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?