कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

किशोरीजीको आँगनमा मोदी

डेटलाइन तराई
किशोरीजीको आँगन भनेको नेपाल–भारत सीमाञ्चल सम्बन्धको सूचक हो । सीताको क्रीडाभूमि दुवैतिर छ ।
चन्द्रकिशोर

काठमाडौँ — ‘यस पटक कसको मोदी ?’ यो प्रश्नले नेपाली समाजको सार्वजनिक एवं निजी संवादहरूमा प्रशस्त ठाउँ पाएको छ । यसको जवाफ खोजीकै क्रममा एउटा पक्षले फेरि समाजमा ध्रुवीकरण ल्याउन खोज्दैछ । सन् २०१४ मा भारी बहुमतसाथ भारतको प्रधानमन्त्रीमा निर्वाचित नरेन्द्र मोदी यसअघि दुईपटक नेपाल आइसकेका छन् ।

किशोरीजीको आँगनमा मोदी

पहिलो र दोस्रो भ्रमण ४ महिनाको अन्तरालमा भए तापनि मोदी कसको भनेर त्यतिखेर पनि प्रशस्त व्याख्या र विश्लेषण गरियो र त्यसैको आधारमा दिल्ली संस्थापनको तात्कालिक नेपाल नीतिलाई अथ्र्याइयो । किनभने पहिलोमा उनले संविधान बारेमा प्रतिकात्मक सुझाव दिएका थिए भने दोस्रोका बेला वीर अस्पतालमा ‘ट्रमा सेन्टर’ उद्घाटन गर्न पुगेका मोदीले त्यहाँ नेपालमा कसरी र कस्तो संविधान बनाउनुपर्छ भन्ने टिप्पणी गरेका थिए । यतिखेर मोदीको नेपाल प्रवेश जनकपुर भएर हुँदैछ ।

प्रदेश २ को अस्थायी राजधानी जनकपुर रामकथाको अभिन्न हिस्सा हो । जनकदुलारी सीता त्यहाँ खेली र हुर्की । मिथिलामा सीतालाई ‘किशोरीजी’ भनेर सम्बोधन गरिन्छ । शिव धनुष भङ्ग र रामसंँग विवाह त्यहीं भयो । यसैले नेपाल–भारत सम्बन्धको चर्चा गरिंँदा ‘रोटी–बेटी’संँगै सीता–रामको सन्दर्भ पनि उठान गरिन्छ । भारतीय प्रधानमन्त्री मोदी नेपालका प्रधानमन्त्रीले निम्त्याएपछि नेपाल आउन लागेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको डेढ महिना नपुग्दै हुनलागेको यो भ्रमणलाई पारस्परिक भ्रमण बताइएको छ । अर्थात नेपाल भ्रमणबारे सबै कुरा नेपाल सरकारको सहमतिमा तय भएको छ । मोदी नेपाल यात्रामा ३ ठाउँमा पुग्नेछन्– जनकपुर, काठमाडांै र मुक्तिनाथ । यस पटक प्रदेश २ को सरकारले देखाएको स्वागत सक्रियता र अतिभक्तिले गर्दा जनकपुर प्रवेश विन्दुलाई लिएर काठमाडौंमा भिन्न प्रकारको टिकाटिप्पणी गर्न थालिएको छ । जनकपुरले यसलाई एउटा अवसर र आत्मीयताको रूपमा लिइराखेको छ भने काठमाडांैले आफूलाई कतै उपेक्षा गरेर पहिला जनकपुर गए भन्ने अथ्र्याउँदैछन् । केन्द्रमा सत्तारुढ घटकसँंग जोडिएको फराकिलो वृत्तले सन्तुलित टिप्पणी गरे पनि काठमाडौं संस्थापनजीवी एउटा असहिष्णु जमातले सोझै जनकपुर प्रवेशलाई अच्छा मानेको छैन । केन्द्रीय श्रेष्ठतावादको ‘हेजिमोनी’ स्थापित गर्न पुरानै भाष्य फेरि पस्किन खोजिँदैछ ।

जनकपुर यात्राले नेपाल र भारत दुवैतिर विशिष्ट अर्थ बोकेको छ । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको यात्रामा छ । प्रादेशिक अभ्यास शैशव कालमै छ । छिमेकी प्रधानमन्त्रीले नेपालको संघीय संरचनालाई चिनाउनुको कूटनीतिक अभिष्ट छ । विश्वेश्वरप्रसाद कोइरालाले पनि भारतको यात्रा गर्दा पहिला सीमावर्ती भारतीय राज्य विहारको राजधानी पटनामा नै पुगेका थिए । उनले आफ्नो आत्मवृत्तान्तमा समेत लेखेका छन्, ‘पटनामा ओर्लंदा मेरो आफ्नो धारणा के छ भने जति मलाई स्वागत भयो, त्यति सायद जवाहरलाल नेहरू (तत्कालीन भारतीय प्रधानमन्त्री) लाई मात्र स्वागत भयो होला, अरू कसै कुनैलाई त्यत्रो स्वागत भएन होला । मलाई हवाई अड्डामा त्यत्रो स्वागत होला भन्ने लाग्दैन्थ्यो, भयो । मैले माथि प्लेनबाट हेर्दा जनसमुद्र देखेंँ ।’ बीपीलाई त्यहाँ स्वागत गर्न त्यहाँका राज्यपाल जाकिर हुसेन (जो पछि राष्ट्रपति पनि भए) एयरपोर्टमा आएका थिए । यो सन्दर्भमार्फत यस आलेखमा औंल्याउन खोजिएको सन्दर्भ के हो भने नेपालको तर्फबाट नै भारतीय केन्द्र दिल्लीभन्दा पहिला प्रान्तीय राजधानीबाट यात्राको थालनी गर्ने क्रम सुरु भएको हो ।

समावेशी संविधान र बृहत पक्षको स्वीकारोक्तिको राजनीतिले नै नेपालमा स्थिरता ल्याउन सक्छ भन्ने दिल्ली संस्थापनको मान्यतामा क्रमभङ्ग भएको छैन । तर यसपटक मोदी संविधानप्रति असन्तुष्ट कुनै पनि पक्षलाई अतिरिक्त उत्तेजना थप्ने मुडमा छैनन् । उनी बडो सुझबुझसाथ नेपाल आउँदैछन् । त्यो भनेको काठमाडौं संस्थापनसंँग पनि गाँसिरहने र त्यसको समानान्तरमा अरू पक्षलाई पनि खुसी र उल्लासको मानक उपलब्ध गराउन पनि नचुक्ने । यी दुई मुलुक बीचको सम्बन्धको व्याख्या धार्मिक, सांस्कृतिक र इतिहासको आधारमा मात्र होइन, वर्तमानको डिलबाट भविष्यमुखी कसरी बनाउने त्यो ध्येय पनि लुकेको छ । सीमाञ्चलका स्वार्थ र सरोकारलाई राज्यहरू बीचको कूटनीतिक सम्बन्धमा ओझेल पारेसम्म जनस्तरको सम्बन्ध मजबुत हुन सक्दैन । पहिलो यात्राले प्रबुद्ध समिति निर्माण भयो, तर नेपालतर्फबाट त्यो समावेशी समूह बन्न सकेन । किशोरीजीको आँगन भनेको नेपाल–भारत सीमाञ्चल सम्बन्धको सूचक हो । सीताको क्रीडाभूमि दुवैतिर छ । जनकपुरसंँग जोडिएको मिथिला परिक्रमा नामक सांस्कृतिक यात्रापथ वारिपारि छ । यो यात्राले सीमाञ्चल क्षेत्रले भोग्नु परिराखेको बाढी, नदी एवं चुरे व्यवस्थापन त हुँदै हो, कृषिको उत्पादकत्वमा आइरहेको ह्रास र गतिशील सीमाको आसलाई समेत यतिखेर मुखरित गरेको छ । भनिन्छ, सीताको अवतरण कृषिमा संकट परेको बेला भएको थियो ।

मोदी भारतमा राजनीतिको ‘अयोध्या काण्ड’ गरिराख्दा त्योसँंग जोडिएर तिनले रामायण सर्किटको परिकल्पना अघि ल्याएका हुन् । उसो त जनकपुरबाट नजिकै दूरीमा रहेको विहारको पुनौराधाम (सीतामढी) मा सीताको जन्मभूमि मानेर अन्तर्राष्ट्रिय स्तरको विकसित स्वरूप गरी पर्यटक लोभ्याउने प्रयत्न भइराखेको छ । भारतीय पक्षको आवश्यकता र बाध्यता कहाँनिर छ भने जनकपुर साइनो नजोडिकन रामायण परिवृत्त पूर्ण नै हुँदैन । धनुष भङ्ग र सीतासंँग बिहे जनकपुरमै भएको थियो । त्यसउसले गर्दा भारतीय प्रयत्नको त्यो लाभ जनकपुरले पनि पाउने निश्चित भएको छ । अयोध्या–जनकपुर जोडिने परियोजनाले उत्तर भारतमा मोदी नेतृत्वको भारतीय जनता पार्टीले आगामी चुनावी लाभ लिने आँकलन पनि त्यतिकै गरिँदैछ । अयोध्यामा राम मन्दिर निर्माणमा ढिलो भए पनि रामायण सर्किटको कार्यान्वयनले भाजपालाई सहज हुनसक्छ । यसले पनि मोदी प्राथमिकतामा जनकपुर परेको हो ।

जनकपुर दर्शनलाई राजनीतिक कारणले निकै चर्चा गरिँदैछ । तर नेपालको बृहत पर्यटनको दृष्टिले जनकपुरभन्दा मुक्तिनाथ पनि कम छैन । किनभने त्यहाँ धार्मिक एवं प्राकृतिक पर्यटन दुइटै छ । जसरी तराई र गंगाको मैदानी भाग जोगाउन चुरे शिवालिकमा द्विपक्षीय समन्वयको खाँचो छ, त्यसैगरी मुक्तिनाथ यात्राले हिमालयको पर्यावरणीय संरक्षणतर्फ झकझकाएको छ । उसो त अबको काठमाडौं र दिल्लीको सम्बन्ध निर्धारणमा पर्यावरणको पक्षप्रति आँखा चिम्लिन मिल्दैन ।

राजनीतिमा दुई विन्दु बीचको सबभन्दा लामो दूरी हो– सरल रेखा । राजनीतिक गन्तव्यमा कसैको कुरा नसुनी एकोहोरो हिँड्दा कहिल्यै पनि पुगिन्न । काठमाडौंले आफ्नै आत्मरतिमा रमाउँदै नाकाबन्दीको क्षतिपूर्तिको कुरा उठाइराख्यो भने त्यसले नेपालभित्रकै एउटा समुदायलाई फेरि घचेटेर टाढा पुर्‍याउँछ । मधेस आन्दोलनलाई निर्ममतापूर्वक दबाउन खोज्दा संविधानप्रति असन्तुष्टहरूले सीमामा शरण लिँदै त्यहींबाट संघर्षलाई निरन्तरता दिए । हो, यहींनिर दिल्ली संस्थापनले काठमाडौंसंँगको आफ्नो असन्तुष्टिलाई पोख्न आन्दोलनको काँधमा उक्लिन पुग्यो । भन्न के खोजिएको हो भने काठमाडांै संस्थापनले मधेस नीतिमा भएको पछिल्लो गल्ती ‘करेक्सन’ नगरेसम्म उसले अरूको ‘लिटमस टेस्ट’ गर्ने नैतिक बल राख्दैन । विज्ञहरू भन्छन्– कुनै पनि मुलुकको परराष्ट्र नीति उक्त मुलुकको आन्तरिक स्थिति, आवश्यकता वा भोगाइबाट निर्देशित हुन्छ । वास्तवमा काठमाडाैंले मधेसी भावनालाई जति मूलधारमा जोड्न सक्छ, समझदारीसाथ सुल्झाउन सक्छन्, त्यसै अनुपातमा हाम्रो आन्तरिक राजनीतिमा अरूले लुकामारी गर्ने मौका पाउँदैन ।

जनकपुरमा मोदीको स्वागतमा स्थानीय र प्रदेश सरकारसँंग जति समन्वय र सहजीकरण गर्न संघीय सरकार तत्पर हुन्छ, त्यसले नै भोलिको दिनमा लिक कोर्ने काम गर्छ । अन्तर्राष्ट्रिय सम्बन्धलाई संघीय सरकारले निर्वहन गर्ने हो, तर त्यसमा प्रादेशिक भावना पनि प्रस्फुटित भइराख्नुपछ्र्र । भारतसंँगको खुला निकटताबाट प्राप्त हुने लाभ र अवसरबारे सीमावर्ती क्षेत्रका प्रादेशिक सरकारहरूले जति गृहकार्य गरे पनि त्यसमा संघीय सरकारको अनुमोदन चाहिन्छ । विहारसंँग साँध जोडिएको प्रदेश २ का लागि यो एउटा बहुउपयोगी अवसर हुनसक्छ । संघीय गणतान्त्रिक राजनीतिक पद्धतिको मूल भावनालाई अवहेलना गरेर शाश्वत सामाजिक परिवर्तनलाई संस्थागत गर्न सकिँदैन ।

विद्यमान परिस्थितिमा काठमाडौंले ‘चिनियाँ कार्ड’ खेल्ने अनुकूलता पाएको छैन । तर उसले भारतसँंग जोडिएका सवालहरूलाई उच्च तहमा कतिको राख्न सक्छ र त्यसको व्यवस्थापनमा तत्परता देखाउन सक्छ, त्यसले पनि धेरै कुरा निर्भर गर्छ । भारतमा आउँदो वर्ष हुने निर्वाचनसम्म दिल्लीले काठमाडौंसंँगको सम्बन्ध यथास्थितिमै राख्ने छाँटकाँट देखिन्छ । सम्बन्धमा देखापर्ने यो यथास्थितिको अवस्था आफैमा पनि नेपालका लागि अनुकूल हुनसक्छ । तर दिल्ली र काठमाडौंले केवल आ–आफ्नो सत्ताको सम्पोषणमा अहिलेको अवसरलाई अनुवाद गर्ने अर्जुनदृष्टि राख्यो भने जसको सम्भावना प्रचुर पनि छ । यस्तोमा नेपालका सीमान्तकृत समुदायहरू अहिलेका लागि सावधान हुनुपर्छ, आत्तिने होइन । संस्कृतको एउटा उक्ति छ, ‘उद्धारेदात्मनात्मानं’ अर्थात आफ्नो उद्धार स्वयं गर्नुस् । मधेसको मुक्ति कसैको भक्तिबाट होइन, आफ्नै संघर्षबाट आउँछ ।

फेरि उही जिज्ञासा काठमाडौं र दिल्लीबीच जनकपुर चेपिने कि जोडिने ? निश्चित रूपमा दिल्लीसंँगको सम्बन्ध निर्धारण संवैधानिक रूपमा काठमाडांैको कार्यभार हो । मोदीको जनकपुर यात्राको साक्षी बन्न प्रधानमन्त्री ओली पनि आउँदैछन् । विगतमा आफ्नै कारणले मधेसमा अप्ठ्यारो सामना गर्नुपरेका ओली यतिखेर ‘जयजय हो, किशोरीजी’ भन्दै जानकी दरबारमा आशिर्वाद थाप्न आइपुग्दैछन् । आफ्नो समकक्षीको स्वागत गर्न जनकपुर आइपुग्ने ओलीको यो पहलको अनुगुञ्ज नेपाली राजनीतिमा दीर्घकालसम्म सुनिनेछ । प्रादेशिक अभ्यासमा नेपाल विस्तारै पाइला चाल्दैछ, जहाँ उसले आफ्नो संघीय व्यक्तित्वको विकास र सुरक्षित भविष्यको निर्माणका निम्ति आफ्नै मिहिनेत र प्रयत्नलाई बलियो आधार बनाए पनि छिमेकीहरूको पनि सदाशयतालाई कम आँकलन गरेको छैन भन्ने सन्देश बोकेको छ ।

[email protected]

प्रकाशित : वैशाख २७, २०७५ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?