कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोदी भ्रमणका अर्थ–यथार्थ

निर्भरताको नीतिगत निरन्तरता कायमै राख्ने प्रयत्नलाई नेपालको हकमा किमार्थ भारतको कोर्स करेक्सन भन्न मिल्दैन ।

काठमाडौँ — गए साता शुक्रबार अर्थात् २८ वैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी एकरात काठमाडौं बस्दै २ दिनको नेपाल भ्रमणमा आएर फर्के । भ्रमण प्रकटमा तीर्थाटन थियो र समग्रमा पनि तीर्थाटन नै थियो, सारा प्रबन्ध नै तीर्थयात्राकै थियो ।

मोदी भ्रमणका अर्थ–यथार्थ

तीर्थ भ्रमणबाट बचेको समयमा उनले भेटघाट र कुराकानी गरे । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीसँग भलाकुसारी र अंकमाल गरे । दुबैले स्वीच थिचेर अरुण तेस्रो जलविद्युत परियोजनाको काठमाडौंबाटै शिलान्यास गरे ।

निश्चय नै भारतबाट भएको प्रधानमन्त्री स्तरको भ्रमण, त्यो तीर्थाटन नै भए पनि, त्यसमा घरेलु, क्षेत्रीय र वैश्विक आयामहरू हुनु स्वाभाविक हो । घरेलु आयाममा भारतको दक्षिणी प्रदेश कर्नाटकमा विधानसभा निर्वाचन हुँदै थियो र त्यस चुनावलाई भारतीय जनता पार्टीको दक्षिण प्रान्तहरूमा सशक्त प्रवेशको सुरुवातका रूपमा लिइएको थियो । दक्षिण भारत, जहाँ हिन्दु मान्यता अन्तर्गतका दुई प्रमुख पन्थहरू छन्, एक शैव र अर्को वैष्णव र वैष्णवमा पनि त्यहाँ रामानुज सम्प्रदाय अर्थात् श्रीवैष्णवहरूको आधिक्य छ । शैवहरूका पशुपतिनाथ आराध्य हुन् भने श्रीवैष्णवहरूका लागि मुक्तिनाथको विशिष्ट महत्त्व छ । उनले यता मुक्तिनाथ र पशुपतिनाथको दर्शन गरिरहँदा उता कर्नाटकमा मतदान भइरहेको थियो ।

जनकपुरधाम अवस्थित जानकी मन्दिरको सिधा सांस्कृतिक सम्बन्ध अयोध्यासँग छ । अयोध्या, सन् १९८० को दशकदेखि अर्थात् २०३६ सालयता भारतमा चुनावी राजनीतिको केन्द्रबिन्दु अर्थात् इपिसेन्टर रहिआएको छ । अयोध्यास्थित राम जन्मभूमिमा मन्दिर निर्माणको चर्चा र विवाद छ । मुद्दा भारतको सर्वोच्च अदालतमा विचाराधीन छ, मुद्दाले फैसला कुरिरहेको छ ।

भारतीय हिन्दु समाजमा मूलत: शैव (त्यहीं शाक्त पनि छ, यो अर्को प्रकारान्तरमा शैवकै एउटा तान्त्रिक प्रकार हो) र दुई/तीन थरी वैष्णव छन् । साथै समावेश भएको तथा हरेक पन्थ सम्प्रदायलाई यथोचित महत्त्व दिने अर्थात् विविधतालाई मान्ने सनातनीहरू पनि त्यतिकै छन् । मोदीको पछिल्लो भ्रमण यसर्थ हिन्दु समुदायका विविध पूजा पद्धति भएका पन्थहरूलाई एकैसाथ सम्बोधन र सन्देश दिने हेतुले भएको हो भन्दा अन्यथा हुँदैन । यसै मेसोमा उनको नजर आगामी वर्ष २०७६ साल अर्थात् सन् २०१९ मा हुनगइरहेको लोकसभा निर्वाचनतर्फ नहुने भन्ने कुरै भएन ।

राजनीति जसले जतिसुकै चिच्याए पनि पन्थ, सम्प्रदाय अथवा उपासना पद्धति निरपेक्ष हुँदैन । त्यसमाथि पछिल्ला कालखण्डमा त झन् राजनीतिले धार्मिक आस्था र धार्मिक आस्थाले राजनीतिलाई आआफ्नो प्रयोजनका लागि प्रयोग गर्ने क्रम बढ्दो छ । त्यसैले भन्नैपर्छ, मोदी भ्रमणमा निश्चय नै प्रत्यक्षत: घरेलु राजनीतिक आयाम थियो । त्यसमाथि विशेष गरेर भारतको वर्तमान राजनीतिक परिदृश्यमा जहाँ हिन्दुत्व मुख्य राजनीतिक वाहक बन्न गएको छ, त्यहाँका प्रधानमन्त्री मोदी नभएर अरू जोकोही भएका भए पनि त्यसको राजनीतिक आयाम हुन्थ्यो नै । धेरैलाई थाहै होला, अचेल भारतमा चाहे भाजपा नेता हुन् अथवा भारतीय कांग्रेस, मन्दिर गएरै चुनाव प्रचारमा जाने गर्छन् । कांग्रेस अध्यक्ष राहुल गान्धी पनि अचेल मन्दिर दर्शन नगरी प्रचारमा निस्किँदैनन् ।

मोदीले एउटै भ्रमणमा नेपालका ३ प्रसिद्ध मन्दिरको दर्शन र त्यहाँ विशेष पूजा–अर्चना गर्दा यसर्थ उनको घरेलु राजनीतिसँग त्यसको कुनै सम्बन्ध थिएन भन्न किमार्थ मिल्दैन । अब सम्भवत: भनिरहनु नपर्ला, मोदीले भ्रमणका लागि जनकपुर, मुक्तिनाथ र पशुपतिनाथ नै किन रोजे ? उनको घरेलु राजनीतिमा यस्तो भ्रमणले एउटा निश्चित प्रभाव पार्छ र पारेकै छ । बृहत्तर भारतीय समाजका विभिन्न कित्तामा यसको प्रभाव परेको छ र पर्छैपर्छ ।

भारतबाट सोझै जनकपुर आउनु र रामायण सर्किट उद्घाटनको झनै रोचक पक्ष छ र त्यो रोचक पक्ष हो, उत्तर र पश्चिम भारतको भगवान रामको नामसँग जोडिएको राजनीति । उत्तर र पश्चिम भारतीय धार्मिक अनुष्ठानमा अरू आस्था प्रतीकहरूका तुलनामा रामको विशेष प्राधान्यता रहने गर्छ । सर्किटले दक्षिण भारतमा पनि राम विचरण गरेका स्थानहरूसम्म त्यस प्राधान्यताको विस्तार गर्नेछ तथा त्यसले भारतमा आगामी वर्ष हुनगइरहेका केही प्रदेशका विधानसभा र लोकसभा निर्वाचनमा भाजपाका लागि सकारात्मक तरंगको काम गर्नेछ । भारतीय राजनीतिमा हिन्दुत्व सशक्त राजनीतिक संवाहक बनेको एउटा अर्को उदाहरण हो, भारतीय कांग्रेस नेता शशी थरुरको केही महिनापूर्व प्रकाशित पुस्तक, ‘ह्वाइ आए एम हिन्दु’ अर्थात् म किन हिन्दु हुँ ?

तर मोदीको भ्रमणमा, भारतको बहुसंख्यक समाजलाई आफूतिर एकोहोर्‍याउने ध्येयमात्र थियो भन्नु र विश्लेषणलाई त्यसैमा सीमित राख्नु उचित हुँदैन । निश्चय नै भक्ति, श्रद्धा, आस्था त्यतिकै प्रबल थिए, यहाँ यी पक्षको अवमूल्यन गर्न मिल्दैन र हुँदैन । उनी आफ्नो किशोरावस्थादेखि नै साधु, सन्त, महात्माहरूका संगतमा गएका र त्यतिबेलैदेखि नेपाल लगायत हिमालय क्षेत्रमा विचरण गरेका व्यक्ति भएका कारण उनको नेपालस्थित तीर्थस्थलहरूतर्फ झुकाव र आत्मीयता हुनु स्वाभाविक हो । यति हुँदाहुँदै पनि उनी एउटा व्यक्तिमात्र होइनन्, राष्ट्रिय स्वयंसेवक संघसँग उनको आबद्धता र भाजपाका नेताका रूपमा मोदीका लागि हिन्दुत्वको प्रबद्र्धन र त्यसो गरिरहँदा त्यसबाट प्राप्त हुने राजनीतिक लाभ त्यतिकै महत्त्वपूर्ण छ । त्यसैले उनको नेपाल भ्रमणमा भारतीय राजनीतिको घरेलु आयाम मज्जाले जोडिएको स्वीकार्नैपर्छ ।

कोर्स करेक्सन होइन
कतिपयले मोदीको भ्रमणलाई भारतको कोर्स करेक्सनका रूपमा हेरेका छन् । कोर्स करेक्सन नभनेर बरु बिच्किएको नेपाललाई पुन: आफ्नै कित्तामा राख्ने प्रयत्न अर्थात् अरू विकल्प नखोजोस् भन्ने तात्पर्य रहेको मान्न सकिन्छ । घटनाक्रम हेर्दा, भारत आफू सच्चिने होइन कि आफ्नो हकमा नेपाललाई सच्याउन खोजेको देखिन्छ । किनभने जहाँसम्म दुईपक्षीय सम्बन्धको विषय छ, चाहे त्यो गएको चैतमा ओलीको भारत भ्रमण होस् अथवा यसपाला मोदीको, यसमा धेरै उत्साहित हुनुपर्ने त्यस्तो उल्लेख्य केही भएको होइन । हाललाई नेपाललाई थुमथुम्याएको मात्र हो ।

निश्चय नै भारतमै मोदीमाथि नेपालसँग सम्बन्ध बिगारेको, नेपाल चीनतर्फ ढल्केको आरोप लाग्ने गरेको थियो, छ । ती आरोप लगाउने, आलोचना गर्नेहरूलाई भने ओलीलाई बोलाएर तथा आफू नेपाल आएर उनले अब सम्बन्ध सप्रिसक्यो, लाइनमा आइसकेको छ भन्ने सन्देश दिएका छन् । हाम्रो सानोतिनो केही हुँदा उत्ताउलिने बानी छ, त्यसैले आफ्नो सन्तुष्टिका लागि भारत कोर्स करेक्सन गर्दैछ, सम्बन्ध नयाँ उचाइमा पुग्यो, असमझदारी हटिसके भन्ने छुट त छ, तर गहिरिएर हेर्नुहोस्, यथार्थ त्यो होइन । भारत नेपाललाई आफ्नो एजेन्डामा ल्याउन चाहन्छ र साथसाथै चीन लगायत विश्व समुदायलाई नेपाल आफ्नो कित्तामै रहेको जनाउ दिन चाहन्छ । पछिल्ला प्रकरणहरू हेर्दा यसमा ऊ एक हदसम्म सफल देखिएको छ । तर साँच्चै कति सफल भयो, त्योचाहिँ ओलीको चीन भ्रमणपछि छर्लंग हुनेछ ।

चीन–भारत आयाममा नेपाल
जस्तो नेपालमा विविध कारणवश प्रतिदिन भारत सम्झिइन्छ, भारतमा चीनलाई उठ्दादेखि सुत्दासम्म सम्झने धेरै छन् । उनीहरू अचेल त झन् चीनको फैलिँदो प्रभावका कारण आफू घेरिँदै गएको महसुस गर्छन् । त्यसमा त्रासको मनोविज्ञान छ, किनभने २०१९ साल (सन् १९६२) मा भारत–चीनबीच युद्ध भएको थियो र त्यो युद्धमा भारत हारेको थियो । भारतले आफ्नो नक्सामा राखेका कश्मीरको अक्साइ चीन र तत्कालीन पूर्वोत्तर सीमान्त क्षेत्र अर्थात् अहिलेको अरूणाचल प्रदेशका उत्तरी क्षेत्रमा चीनको प्रभुत्व कायम भयो र त्यो अवस्था यथावत छ । त्यस युद्धको धङधङीबाट भारत अझै मुक्त भएको छैन । पाकिस्तानसँग चीनको सहकार्य र यहाँसम्म कि हिन्द महासागर क्षेत्रमै उसको प्रभाव विस्तारका चल्ते यता भारतका घना आवादी भएका उत्तर प्रदेश, विहार, पश्चिम बंगाल प्रदेशहरूसँग सिमाना जोडिएको नेपालसमेत चीनकै प्रभाव क्षेत्रमा पर्ने त्रासले भारतीयहरू नपिरोलिएका होइनन् ।

त्यसैले नेपाल र चीनबीच सम्भावित सघन सहकार्यलाई सकेसम्म निस्तेज बनाउनु भारतको ध्येय हुने नै भयो । ओलीको भारत र मोदीको नेपाल भ्रमणसँग भारतको सरोकारका रूपमा नेपाल–चीन सम्बन्धको आयाम जोडिएकै छ । मुखै खोलेर नभने पनि भारत चीनसँग नेपाल सकेसम्म कम हिमचिम गरोस् भन्ने नै चाहन्छ । नेपालका ठूला परियोजनामा चीनको प्रवेश नहोस् भन्नु उसको स्वार्थभित्रै पर्छ, नेपालको भारतप्रति निर्भरता कायमै राख्नु भारतको नीतिगत निरन्तरता नै हो । निर्भरताको नीतिगत निरन्तरता कायमै राख्ने प्रयत्नलाई यसर्थ नेपालको हकमा किमार्थ भारतको कोर्स करेक्सन भन्न मिल्दैन, हुँदैन ।

प्रकाशित : जेष्ठ ४, २०७५ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?