कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सुनकाण्ड : पर्दापछाडि को ?

सम्पादकीय

काठमाडौँ — प्रहरीको सर्वाधिक खोजीमा रहेका गोरे भनिने चूडामणि उप्रेती पक्राउ परेसँगै संगठित सुन तस्करी प्रकरणको अनुसन्धान थप पेचिलो बनेको छ ।

सुनकाण्ड : पर्दापछाडि को ?

मन्त्रिपरिषद्कै निर्णयबाट गठित छानबिन समितिले काम थालेको डेढ महिनामा सुन ओसारपसार र ‘भरिया’ सनम शाक्यको हत्यासँग जोडिएका केही व्यक्ति पक्राउ परे पनि न हराएको भनिएको ३३ किलो सुन भेटिएको छ न त सुनका मुख्य लगानीकर्ता नै फेला परेका छन् । सुनका लगानीकर्ताका रूपमा सार्वजनिक भएका नामबारे समितिले विस्तृत छानबिन गरेको छ छैन भन्ने प्रश्न पनि सतहमा आएको छ ।

सुन तस्करीसम्बन्धी अनुसन्धान विगतमा जस्तै मूल ‘जरो’ मा नपुग्दै टुंगिने त होइन भन्ने संशय उप्रेती पक्राउपछि पनि कायमै छ । उप्रेती संलग्न समूहले पाँच वर्षयता ४ सय २१ पटक गरी करिब ३८ क्विन्टल सुन भित्र्याएको निचोड छानबिन समितिको छ तर यति ठूलो परिमाणमा भइरहेको सुन तस्करी राजनीतिक आडबिना सम्भव भयो होला त भन्ने प्रश्न पनि गर्न थालिएको छ । त्यसैले यो प्रकरणमा पर्दापछाडिका पात्र खुल्छन् कि खुल्दैनन्, आम चासोको विषय बनेको छ ।

उप्रेती पक्राउपछि संगठित सुन तस्करीका सबै रहस्य खुल्ने आकलन गरिएको थियो । तर राजधानीबाट मंगलबार पक्राउ परेका उनी व्यवस्थापक मात्र भएको देखिएको छ । उनले बुधबार मोरङ अदालतमा सुन तस्करीको उपल्लो ‘कनेक्सन’ बारे एसएसपी श्याम खत्री र मोहनकुमार अग्रवाललाई थाहा भएको बयान दिएका छन् । तर खत्री र अग्रवाल दुवै फरार छन् । उनीहरूको पक्राउ अनुसन्धानलाई निष्कर्ष उन्मुख अवस्थामा पुर्‍याउन सहयोगी बन्न सक्छ । त्यसैले प्रहरीले खत्री र अग्रवाललाई उच्च प्राथमिकतासाथ खोजी गर्न जरुरी देखिन्छ ।

सुन तस्करीका व्यवस्थापक उप्रेतीले कारबाही प्रक्रिया अघि बढाइएकामध्ये अधिकांशको संलग्नतालाई भने थप पुस्टयाइँ गरिदिएका छन् । सुन तस्करी र त्यससँग जोडिएको ‘सनम हत्या’ मा संलग्नता आरोपमा यसअघि प्रहरी अधिकारी, विमानस्थलका कर्मचारीसमेत गरी पक्राउ परेका ३० जनामध्ये २८ जना मोरङ अदालतको फैसलापछि पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । एक जना निर्दोष साबित भएर र अर्का एक धरौटीमा रिहा भएका छन् । आरोपित ३२ जना अझै फरार छन् । सुन तस्करीको संगठित सञ्जाल तोड्न उनीहरूको खोजीलाई तीव्रता दिन आवश्यक छ । फरार रहेकामध्ये केही मुलुकबाहिर हुन सक्ने भएकाले अन्तरदेशीय समन्वय प्रभावकारी बनाउन सक्नुपर्छ ।

विगतमा पनि विमानस्थल र चिनियाँ नाका हुँदै भित्रिएका सुन पटक–पटक बरामद हुन्थे । कहिलेकाहीँ भरिया पक्राउ पर्थे । अनुसन्धान समिति पनि मुख्य लगानीकर्ता/मालिक पत्ता नलाग्दै फासफुस हुन्थे । त्यसैले सुन तस्करीमा गरिने अनुसन्धानमाथि जहिल्यै संशय रहँदै आएको छ । प्रहरी अनुसन्धान नै प्रभावित गरेर संगठित सुन तस्करी हुँदै आएकाले यसमा उच्च तहको संरक्षण रहेको आशंका गरिँदै आएको छ ।

अपराध नियन्त्रणमा भूमिका निर्वाह गर्नुपर्ने निकाय प्रहरीको डीआईजी तहकै संलग्नता खुलिसकेको छ । पछिल्लो अनुसन्धानले प्रहरीको अग्रसरताभन्दा पनि सनम शाक्यका परिवारजनको दबाबपछि तीव्रता पाएको हो । फागुन तेस्रो साता भएको शाक्यको हत्या सम्बन्धमा प्रहरी अनुसन्धान गम्भीर नभएको भन्दै परिवारजनले गुनासो गरेपछि मन्त्रिपरिषद्ले चैत २० मा गृह मन्त्रालयका सहसचिव ईश्वरीराज पौडेलको नेतृत्वमा समिति गठन गरेको हो । त्यसअघि प्रहरीले छुट्टै समितिमार्फत अनुसन्धान गरिरहेको थियो । माघमा दुबईबाट भित्र्याइएको ३३ किलो सुन हराएपछि तस्कर समूहले खोज्ने क्रममा शाक्यको हत्या भएको थियो । यही प्रकरणमा संलग्नता देखिएका एक जनाको प्रहरी हिरासतमा र अर्का एक जनाको त्रिभुवन विमानस्थलमा रहस्यमय मृत्यु भएको छ । हत्या/मृत्युका यी घटनालाई पनि मिहिन रूपमा केलाउन आवश्यक छ ।

सुन तस्करी पटके कारोबारीजस्तो होइन । संगठित सुन तस्करीका यसअघिका घटनाक्रमसँग पछिल्ला घटनालाई जोड्न, पुरानो अनुसन्धानमा छुटेका पक्षलाई थप उजिल्याउन र विगतदेखिको तस्करीमा कसरी उस्तै पात्र र प्रवृत्ति कायम रहिरहे भनेर पत्ता लगाउनसके मात्रै समितिले सुन तस्करीको जरो खोतलेको ठहर्छ । एउटा अलग्गै घटनाका रूपमा मात्रै पछिल्लो सुन तस्करीको अनुसन्धान केन्द्रित गर्दा निष्कर्षमा पुग्न सकिँदैन । सुरक्षा संयन्त्र, गुप्तचरी, विमानस्थलमा खटिने विभिन्न सरकारी संयन्त्रको समन्वयमा कमजोरीलाई तस्करहरूले कसरी उपयोग गरिरहेका छन् भन्नेबारे पनि मिहिन अध्ययन जरुरी छ ।

प्रहरीकै उच्च अधिकारीकै मिलेमतो रहने र अनुसन्धान पनि प्रभावित पार्न सकिने अवस्थाका कारण विमानस्थलबाटै सुन तस्करी मौलाउँदै गएको हो । सुन तस्करीले अन्य आपराधिक क्रियाकलापसमेत मलजल गर्न सक्छ । अहिले जारी अनुसन्धान भने सुन तस्करी नियन्त्रणमा कोसेढुंगा बन्न सक्छ । त्यसैले यसलाई कसैको दबाब र प्रभावमा नपरी स्वतन्त्र, निष्पक्ष र वैज्ञानिक तथ्यका आधारमा पार लगाउनुपर्छ । यसका लागि सरकारले अनुकूल वातावरण तयार पारिदिनुपर्छ । संगठित सुन तस्करीका लगानीकर्ता र संरक्षणकर्ता नखुलेसम्म अनुसन्धानको निष्कर्ष विश्वसनीय हुन सक्दैन । संगठित सुन तस्करीको शृंखला अन्त्य गर्न विगतका घटनाबाट पाठ सिक्दै संस्थागत संरचना पनि सुधार गर्नुपर्छ ।

प्रकाशित : जेष्ठ ११, २०७५ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?