गणतन्त्र, संग्रहालय र प्याज

समय रेखा
एउटा हिंसात्मक युद्ध र आन्दोलनपछि शान्ति सम्झौता गर्ने राज्य र लडाकाहरूले धन्द्याउनुपर्ने विषय भनेको अभिघात र युद्धले पीडित नरनारीको व्यवस्था हो ।
अभि सुवेदी

काठमाडौँ — ‘गणतन्त्रको जगेर्ना गर्दै देश विकासमा लागौं’ भन्ने एक हरपे एनटीको ‘मुफ्त’ सन्देश गणतन्त्र दिवस १५ जेठ २०७५ को बिहानै सबैले आफ्ना–आफ्ना मोबाइलमा देखे ।

छाप्रोमा बस्ने, हाटबजार गर्ने, नेपाली पढ्ननसक्नेले देखे, तीन वर्षपछि पनि उस्तै अस्थायी चुहुने छाप्रोमा बस्ने भुइंँचालाले प्रताडित उपायहीनहरूले देखे, विदेशी श्रमबाट रित्तो हात फर्केका अनि त्यतै जान खोज्नेहरूले देखे, अकुत धन कमाएर यहीं ‘विदेश स्वर्गजस्तै होस् स्वप्न संसारतुल्य छ’ को उल्टो अर्थ लगाएर उघ्राएर बसेका धनाढ्यहरूले देखे, सबैतिर भत्काउँदै काम नसकी छोडेर शक्तिशालीहरूसँग ढुक्क कुम जोड्दै हिँंड्ने ठेक्काधारी मनुवाहरूले देखे, एउटा मेलम्ची नामको हिमाली स्वच्छ खोलाको गति कहिल्यै नछेडिने सुरुङ खनेर यता फर्काउन लागेका, यसै ल्याङफ्याङ भैसकेको सहरी उपत्यकालाई सबैतिर खनेर अनि फेरि खनेर विदीर्ण बनाउँदै यसको स्वागतको लागि तयार भएर बस्न लगाउनेहरूले देखे ।

यो सन्देश सरकारका मानिसले देखे, नेपालको सबभन्दा ठूलो दल ‘नेपाल कम्युनिष्ट पार्टी अन्डरलाइन’का नेतागणले देखे, इतिहासलाई डसना खोलेर धुनियाँले फड्कारे जस्तै फड्काएर बसेका नेपाली कांग्रेसका बूढा नेताले देखे, गणतन्त्र नमान्ने दलका धर्म र राजतन्त्रका चिप्लेटीमा खेल्ने नेता र अनुयायीहरूले देखे, खासै योजना नभएका कहीं पुग्ने धन्दै नभएका विश्वविद्यालय र हामीजस्ता तिनमा संलग्नहरूले देखे, लेखक, कलाकार, मूर्तिकार, सहरको पहिलेको आकार फर्काउन प्रयास गर्ने वास्तुविदहरूले देखे । नेपाल उद्योग व्यवसायी महासंघकी अध्यक्ष भवानी राणा र अरु उनका मानिसले देखे । तेन्जिङ नोर्गे र एडमन्ड हिलरीले एभरेष्ट पहिलोपटक चढेको मे २९ को दिन मनाउने कार्यक्रममा जुटेकाले देखे । अर्थमन्त्रीको बजेट भाषण संविधानले तोकेको १५ जेठको दिनमै भएकोले ती किञ्चित स्वप्नरञ्जित नीति तथा कार्यक्रमहरूका उद्घोष सुन्न जुटेकाहरूले देखे । इतिहासका सबै ठूला घटना र पात्रहरू दुईपटक आउँछन्, पहिलोपटक उच्च ट्रयाजेडी भएर, अनि दोस्रोपटक तल्लो खाले उपहास भएर आउँछन्, भनेर लेखिएको कार्ल माक्र्सको ‘अठारौं ब्रुमेर’ मलाई अनुवाद गर दाइ, भनिबस्ने पहिले चीनमा राजदूत भएका टंक कार्कीले देखे, गणतन्त्र आएपछि केही उपलब्धि नदेखेका अनि ‘गणतन्त्र दिवस थन्क्याउने एउटा रिचुअल, एउटा कर्मकाण्ड भयो, अब म जान्छु, भोलि गणतन्त्र दिवसमा विदा छैन, काममा जानुछ’ भन्दै टेलिभिजनको स्क्रीन छोडेर अन्तरध्यान भएका भीमकाय वकिल शम्भु थापाले देखे । छोटकरीमा भन्दा, त्यो सन्देश बिहानै सबै नेपालीले देखे । केही विदेशीले देखे, देखेर केही अर्थ नलाग्नेले पनि देखे ।

Yamaha

यो सानो सन्देशको बहुल व्याख्या सभामा कृष्ण पसेजस्तै गरेर गोचर–अगोचर मनहरूमा पसेको मेरो काल्पनिकीले भेटेको सम्भाव्यताको रूपक हो । ‘रूप–रेखा’ साहित्यिक पत्रिका अंक २००, २०३४ को आफ्नो लीला लेखनलाई प्रस्ट्याइएको आलेखमा स्व. इन्द्रबहादुर राई दाइले भनेका छन्, ‘कृष्ण सभामा पस्ता, भागवत् ...मा बताइन्छ, मल्लहरूले बज्ररूप देखे, ...सामान्य मानिसहरूले नर–रत्न, गोपहरूले स्वजन, शास्ताहरूले दण्डकर्ता, वासुदेव र देवकीले शिशु देखे, कंसले कराल मृत्यु, अविदुषले विराट, योगीहरूले परम्तत्त्व, वृष्णीहरूले इष्टदेव देखे ।’ मैले धर्मको होइन, रूपकको अर्थमा यो लिएको छु । सन्देश सामान्य वाक्य हो, तर यसका यति धेरै रूपहरू किन देखिए होलान् भन्दा अहिले हामीले भन्ने उत्तर यत्ति छ, हामी गणतन्त्र नेपालको संविधान लागु गरेको इतिहासभित्र पसेका छौं । यसलाई माथि भनेका बहुल दृष्टिहरूले कसरी व्याख्या गरे र गर्छन्, त्यो भन्ने आधार हामीसँग छैन । तर हामीले एकाध आकारहरूमा उत्तर खोज्ने चेष्टा गर्दा स्मारक वा म्युजियमको कुरा निस्केको हो । पत्रिकाको सानो लेखमा धेरै राख्न मिल्दैन ।

यो गणतन्त्र दिवस म्युजियमको विषयसँग जोडिएर आएको छ । यसबाट अरु कुराका चक्रवात उठ्ने देखेको छु । एउटा हिंसात्मक युद्ध र आन्दोलनपछि शान्ति सम्झौता गर्ने राज्य र लडाकाहरूले धन्द्याउनुपर्ने विषय भनेको अभिघात र युद्धले पीडित नरनारीको व्यवस्था हो । त्यो व्यवस्था भौतिक कामले, अनि मानसिक रूपले सम्पन्न गर्ने प्रयास गरिन्छ । अहिले नारायणहिटी दरबार परिसरको पूर्वपट्टिको एउटा खण्डमा बनिँंदै गरेको गणतन्त्र स्मारक म्युजियमको विषय आएको छ । सम्वत् २०५८, जेठ १९ गतेको दिन दरबार हत्याकाण्ड भएको कारणले गर्दा यो परिसरमा बनिएको म्युजियमको प्रसङ्ग अझ बढी सान्दर्भिक भएको छ । गणतन्त्र स्मारक म्युजियम बनाउने अरु ठाउँहरू पनि प्रस्तावित भए पनि घुमिफिरी यो म्युजियम नारायणहिटी परिसरमा आइपुग्नु संजोगमात्रै होइन । म्युजियमको विषयसँग निकै ठूलो इतिहासको भूत ‘स्पेक्टर’ जोडिएको छ ।

सम्वत् २०६५, जेठ १५ मा नेपाल गणतन्त्र भएपछि दसवर्षे युद्धमा सहिद भएकाहरू, बेपत्ता पारिएकाहरू अनि शाही शासनमा हत्या गरिएका सबै ज्ञात–अज्ञात नरनारीहरूलाई इतिहासमा सम्झिने स्मारक बनाउने दायित्व र प्रसङ्ग आयो । गणतन्त्र स्थापनाको दसौं वर्ष मनाउनलाई यो संग्रहालयको काम सकिएन । समयमा काम नसकिनु अहिलेको नेपालमा कुनै नौलो कुरा भएन । सहिदहरू सम्झाउने म्युजियम वा स्मारकको अर्थ नेपालमा गहिरो गरी बुझ्ने बेला आएको छ । बुझ्न अझ ढिलै हुनलागेको छ ।

दक्षिण अफ्रिकामा सत्यनिरुपण र मेलमिलाप आयोग अथवा टीआरसीलाई दिसम्बर १६, १९९५ मा आर्चबिसप डेस्मन्ड टुटुले सम्बोधन गर्दै भने– सबै मेलमिलाप गर्ने–गराउने काम संरचना हुन् । यसलाई उनले सबैका सम्झना एक ठाउँमा ल्याउने र सबैले आफ्ना दोष स्वीकार गर्ने, माफी माग्ने र दिने कुरा हो भनेर स्वीकार गरे । सन् २००४ मा दक्षिण अफ्रिकी राष्ट्रिय ग्यालरीमा प्रजातन्त्रका १० वर्ष मनाउन गरिएको प्रदर्शनीमा टीआरसीले गर्ने, गर्न नसक्ने अनि राष्ट्रनिर्माणको प्रयासलाई गरिने कुराहरू देखाइए । मैले भन्न खोजेको कुरा जटिल देखिए पनि सजिलो छ । हामीले मेलमिलापपछि, लोकतन्त्रका १० वर्ष मनाउन कुनै सम्झनाका त्यस्ता केही आधार बनायौं ? आगतको रेल्वे स्टेसनजस्तै गरेर फलामका वरिपरि घोचा ढालेको एउटा आकार छ । त्यसको तलतिर हिमाल नेपाल अनि त्यसमा बिजुलीले अजस्र रगत बगेको रातो खन्याएर सहिद सम्झिने खण्ड बनाउने भन्ने वर्णन सुनियो ।

आधिकारिक नहुन सक्छ । तर कसले डिजाइन गरेका हुन्, यो म्युजियम ? आजको युगमा यस्ता स्मृतिका म्युजियम बनाउने कति उत्तम शैली निस्किसके । तर मुख्य कुरा, अब बनिने स्मृतिगार वा म्युजियमले सम्झिने कुरा के हुन् त ? सुन्ने, सुनाउने, माफ माग्ने, माफ दिनेहरूका सत्यननिरुपण र मेलमिलाप बुझाउने स्मारक खोइ ? ती शब्दमा हुन सक्छन्, संगीतमा हुन सक्छन्, वास्तुकलामा हुन सक्छन्, चित्रकलामा हुन सक्छन्, थेटरमा गतिलो गरी हुन सक्छन् । अनि यो स्मारक केको निम्ति हो ? न्याय नपाएका, आफ्ना बेपत्ता पारिएका अनि माफ माग्न र दिन खोज्ने मानिसहरूले कहाँ भेटे ? यो म्युजियम बनाउनुको मूल आधार नै त्यही उदात्त स्मृति हुनुपर्ने होइन र ? मसँग यो म्युजियम बनिरहेका विस्तृत योजनाबारे लन्डन सोआसकी पीएचडी अध्येता ब्रिओनी ह्विटमार्सले उठाएकी थिइन् । तिनले मसँग नेपाली म्युजियमहरू र तिनका खासगरी पछिल्लो परिवर्तनकालीन स्मृति जनाउने रचनाहरूबारे छलफल गर्न चाहेकी थिइन् । मैले निकै छलफल पनि गरेंँ उनीसँग, नेपाल र सोवासमा । यो विषयमा ‘द काठमाडौं पोस्ट’ (जनवरी, २४, २०१६) मा लेखिसकेको छु । म्युजियमको यो महावर्णन नेपाली सन्दर्भमा, त्यसमा पनि यो निर्माण भइरहेको तर पुरा हुन निर्माणको नभई, निर्माण आलटालको शैलीले ढिला भएको कुरासँग जोडिन्छ । यसरी ‘गणतन्त्रको जगेर्ना र देश विकास’का पदावलीको सहवास स्वाभाविक भए पनि यो कसरी सम्भव हुनसक्छ भन्ने कुरालाई सबैले संघारमा बसेर सोचेको बेलामा रहेछौं, हामी ।

स्मारक ‘म्युजियम’का एकजना व्यक्तिले भने, यो नारायणहिटी म्युजियम अन्तर्गत पर्छ । यहाँनेर आधुनिक नेपाली इतिहासले रचेका म्युजियमहरू कुन भ्रम र कुन बुझिने उद्देश्यले बनिएका छन्, छुट्याउन गाह्रो छ । यो लेख आएको दिन राजा वीरेन्द्र र उनका परिवारको हत्या भएको थियो, नारायणहिटी दरबारमा । कम्बोडियाको नोमपेनमा अगस्त २००८ को अन्तिम हप्तामा राजनीतिक परिवर्तन र त्यसले रचना गरेका म्युजियमको व्याख्या र सिद्धान्तमा कार्यपत्र लेख्न अकस्मात निम्ता आएपछि गएँ । राजाले भर्खरै छोडेर गएको नारायणहिटी म्युजियम घोषित भएको थिएन, म्युजियमका सैद्धान्तिक छलफल गरँें, त्यहाँ । तर फर्केर आएपछि म्युजियम घोषित भएको नारायणहिटीबारे तुरुन्तै लेख पठाउनुपर्ने भयो । समस्या परेको कुरा परराष्ट्रमा काम गर्ने आफ्नै विद्यार्थी रीता धिताललाई सुनाएपछि उनको सहयोगमा पहिलोपल्ट यो तथाकथित नारायणहिटी म्युजियम हेर्न पाएको थिएँ । मैले त्यहाँ राजा वीरेन्द्र र उनको परिवारको हत्या भएको सम्झना खोजेको थिएँ । मैले त्यो हत्याकाण्डको चिन्ह यत्ति देखेर लेखँें, ‘बाहिर त्रिभुवन सदन भत्काएर बनाएको मकैबारीको सदृशी भूमिमा नम्बर ठड्याएका बुख्याँचाले जेठ १९, २०५८ को वीरेन्द्र परिवारको विनाशको कथा भन्छन्’ (कान्तिपुर वैशाख ६, २०६६) ।

सुरुमा उठाएको गणतन्त्र सन्देशतिर फर्किन्छु । ‘गणतन्त्रको जगेर्ना र देश विकास’को नारामात्र गर्नु प्याज छोडाएर गुदी खोज्नु जस्तै हो । यो देशका विपन्न मानिसका कथा, सत्यनिरुपण र मेलमिलापको पुनर्मूल्याङ्कन, राजनीति, म्युजियम र विकासका मूल विषय नभएसम्म सबै कुरा केवल हल्ला हुन्, अतिरिक्त सत्य हुन् ।

प्रकाशित : जेष्ठ १९, २०७५ ०७:४१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

‘न वायुपंखी घोडा, न कछुवा’

राजेश मिश्र

काठमाडौँ — अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट समाजवादको यात्रातर्फ उन्मुख रहेको दाबी गरेका छन् । राष्ट्रिय सभामा सांसदहरूले बजेटमाथि उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले निर्धारित लक्ष्य पूरा गर्न सरकारले निजी क्षेत्रलाई पनि साथ लिएर अघि बढ्ने उल्लेख गरे ।

प्रतिपक्षी सांसदहरूले सरकारले निजी क्षेत्रलाई बढी कर लगाएको तथा लगानी निरुत्साहित गर्ने बजेट ल्याएको आरोप लगाएका थिए । त्यसको प्रतिवाद गर्दै उनले संविधानमै निजी क्षेत्रको भूमिका उल्लेख रहेकाले राज्य र निजी क्षेत्रको भूमिका परिपूरक बनाउने उद्देश्य राखिएको बताए ।

‘निजी क्षेत्र भनेर कसलाई भन्न खोज्नुभएको हो ?, नेपालमा लगानी गर्नेलाई भन्न खोज्नुभएको हो भने तिनलाई सरकारले प्रशस्तै सुविधा दिन खोजेको छ । निजी क्षेत्रमैत्री बजेट छ,’ उनले भने, ‘तर, बढी कमाउने र कर नतिर्नेलाई सुविधा खोज्नुभएको हो भने त्यो हुन्न । व्यक्तिगत आम्दानी धेरै गर्नेले धेरै कर तिर्ने हो । त्यो भयो भने मात्रै समाजवादको यात्रा तय गर्न सहज हुनेछ ।’

उनले संविधानले व्यक्तिलाई असीमित कमाउने अधिकार दिएको, तर तिनको कमाइमाथि कर लगाउने अधिकार भने संसद्सँग रहेको उल्लेख गरे । निजी क्षेत्रलाई संरक्षण गर्ने बजेट रहेको उनको दाबी थियो । उनले बजेट ‘न वायुपंखी घोडा, न कछुवा’ रहेको बताए । उनले वायुपंखी जस्तो तीव्र वा कछुवा जस्तो ढिलो गतिको नरहेको भन्दै निर्धारित लक्ष्यमा पुग्न बजेटको आफ्नै गति रहेको उल्लेख गरे । ८ प्रतिशतको आर्थिक वृद्धि, ५ लाखको रोजगारी, आगामी वर्षमा सबै बालबालिकालाई विद्यालय, तीन वर्षमा सबैतिर खानेपानीजस्ता लक्ष्यमा पुग्न पहिलेको भन्दा छिटो गति भने आवश्यक रहेको उनले बताए । प्रधानमन्त्री कार्यालयका लागि बजेटको ११ प्रतिशत हिस्सा छुट्याइएको प्रति भएको आलोचनाको जवाफ दिँदै उनले पुनर्निर्माण प्राधिकरण, महान्यायाधिवक्ता कार्यालय, राजस्व अनुसन्धान विभागलगायतका कार्यालयसमेत त्यहाँ रहेकाले बजेटमा बढोत्तरी भएको बताए ।

चुनावका बेला गरिएको वाचाविपरीत सरकारले वृद्ध भत्ता नबढाएको प्रतिपक्षीको प्रहारप्रति उनले त्यसको चिन्ता नलिन आग्रह गरे । ‘वृद्ध भत्तालाई लिएर प्रतिपक्षीलाई अकस्मात् चिन्ता भयो, बढी चिन्ता नलिनुस् । यसको सम्पूर्ण चिन्ता र चासो हामीलाई छ,’ उनले भने, ‘यसको सुरुवातकर्ता हामी हौं । हाम्रो स्वामित्वको विषय हो । मुलुकको क्षमता विकास गरेर नगदै वितरण भइरहेको भत्तासमेत बढाइनेछ ।’ उनले सामाजिक सुरक्षाको दायरासमेत परिवर्तन भएको भन्दै स्वास्थ्य र आवासजस्ता कार्यक्रममा सरकारको जोड रहेको बताए ।

बजेटलाई संघीयताविरोधी भनिएको विषय गलत रहेको भन्दै उनले संघीयता कार्यान्वयनको पहिलो वर्ष भएकाले त्यस्तो लागेको हुन सक्ने बताए । ‘संघीयता कार्यान्वयनको पहिलो चरणमा छौं, एक प्रकारले संक्रमणकालको समय हो, वित्तीय संघीयता सिक्ने क्रममै छौं,’ उनले भने, ‘यो वर्ष थालनी भएको छ । प्रदेश र स्थानीय तहको क्षमता विकास, कर्मचारी र कानुन व्यवस्थापनसँगै अर्को वर्षदेखि थप राम्रो हुँदै जान्छ ।’

उनले दुई तिहाइको दम्भ सरकारसँग नरहेको भन्दै आर्थिक अनुशासन र जिम्मेवारीका साथ चलेको दाबी गरे । ‘दुई तिहाइको प्रयोग सही कामका लागि सही ढंगले हुन्छ । अधिनायकवादको चिन्ता नगर्नुस्,’ उनले भने, ‘विकासका लागि आवश्यकताअनुसार हीरा पनि फोड्छौं ।’


कमजोरी केलाउँदै विपक्षी
राष्ट्रिय सभामा बजेटमाथि दोस्रो दिन भएको छलफलमा पनि प्रतिपक्षी सांसदहरूले बजेटमाथिको कमजोरी केलाउन प्रयत्न गरेका छन् । कांग्रेस सांसद जितेन्द्र देवले बजेट संघीयतालाई कमजोर बनाउने खालको रहेको आरोप लगाएका थिए । उनले प्राथमिकताको प्राथमिकीकरणमा सरकार चुकेको आरोप लगाए ।

कांग्रेसकै अर्का सांसद राधेश्याम अधिकारीले न्यायालयमा न्यून बजेट छुट्याएको प्रति सरकारको आलोचना गरेका थिए । शून्य दशमलव ३३ प्रतिशत मात्रै बजेट न्यायालयका लागि छुट्याएकाले न्याय प्रशासन सञ्चालनमा समस्या हुने उनको भनाइ थियो । उनले न्यून बजेट दिएर न्यायालयलाई कमजोर बनाउन खोजिएको आरोप लगाए । ‘यस्तै बजेट दिने हो भने अदालत नै नराखे हुन्छ, राणा शासनमा प्रधानमन्त्रीबाटै न्याय सम्पादनको काम भएको इतिहास छ, त्यही दोहोर्‍याऔं,’ उनले भने, ‘नभए अदालतको बजेटका विषयमा सरकारले सच्याउनुपर्छ । यति बजेटले पुग्न सक्दैन ।’

उनले अदालतको तटस्थता, स्वतन्त्रता र विश्वसनीयतालाई कायम राख्न सरकारले बजेट बढाउनुपर्ने उल्लेख गर्दै नभए अदालत फेरि गैरसरकारी संस्थाहरूको स्रोतमा निर्भर पर्नुपर्ने अवस्था आउन सक्ने उल्लेख गरे । राजपा सांसद वृषेशचन्द्र लालले बजेटमा तराई मधेसलाई विभेद गरिएको आरोप लगाएका थिए । उनले संघीय भावनाअनुरूप नभई पुरानै सोचअनुसार केन्द्रीकृत बजेट आएको टिप्पणी गरे ।

प्रकाशित : जेष्ठ १९, २०७५ ०७:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT