कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

नश्लवाद : उत्तेजित आक्षेप

हाम्रो समाज फराकिलो भएकाले नै आजसम्म ‘विविधता’हरू जीवित छन् । अधिनायकवादी समाज भएको भए यी सबै ‘विविधता’ आजका दिनसम्म जीवित रहने थिएनन् । आज यहाँ आएर जसले हामीलाई पहिचान र समावेशिताको पाठ पढाउँदैछन्, उनीहरूले स–साना पहिचानहरूलाई उहिले नै नष्ट गरेका थिए ।
चन्द्रदेव भट्ट

काठमाडौँ — सचिन घिमिरेजीले मेरो आलेख (विद्वानहरूले विराएको बाटो, वैशाख १५, २०७५) माथि गरेको टिप्पणी (प्राज्ञिक नश्लवादको विपक्षमा, वैशाख २९, २०७५) पढेंँ । त्यो टिप्पणीलाई म विचार अभिव्यक्ति र भावनाको स्वतन्त्रताका रूपमा ग्रहण गर्छु ।

नश्लवाद : उत्तेजित आक्षेप

टिप्पणीकार घिमिरेलाई धन्यवाद दिन चाहन्छु । यसका पछाडि मूलत: दुई कारण छन्– पहिलो, टिप्पणीकै लागि जसबाट मैले पनि धेरै सिक्ने मौका पाएँ । दोस्रो, घिमिरेजीको बहुलता प्राप्तिको विश्वासको सन्दर्भमा । बहुलताले दार्शनिक विवेचनाहरूको स्वतन्त्रतालाई स्वागत गर्छ, नकि तिरस्कार । तर घिमिरेले पूर्वीय दर्शनशास्त्र र त्यसले अँंगालेका संस्कृति, परम्परा, धार्मिक अवधारणाहरूको धरातललाई नै नश्लवादीको उपमा दिएको हुनाले नश्ल, नश्लवाद र यसका आयामका सन्दर्भमा छलफल गर्नु सान्दर्भिक हुनगएको छ । दर्शनशास्त्रहरूको विश्लेषणात्मक अध्ययनको लामो कालखण्डमा पूर्वीय चिन्तनधारालाई कसैले नश्लवाद भन्ने दुस्साहस गरेनन् ।

पूर्वीय र पश्चिमी संस्कृतिमा ज्ञानको दायरा र आयतनमा ठूलो अन्तर छ । उदाहरणका लागि मृत्युलाई बुझ्ने मनोभावनात्मक अवस्था । आफन्तको मृत्युमा पूर्वमा सेतो लुगा लगाइन्छ, पश्चिममा कालो । यदि भोलि कुनै प्राज्ञले तिमीहरूले पनि कालो लुगा लगाउनुपर्छ भने के गर्ने ?

यहाँका वैचारिक प्रस्थापनाहरूलाई जातीयताको उपमासमेत दिएका थिएनन्, छैनन् । यदि पूर्वीय ज्ञान नश्लवादी भएको भए पश्चिमाहरू यो ज्ञान स्वपानको दौडमा अवश्य लाग्ने थिएनन् । अज्ञनता र विद्वतामा अत्यन्त साँघुरो फासला हुन्छ, त्यो के भने अज्ञानीले आफ्ना कुरा मात्र सत्य ठान्छ, तर विद्वानले अरुका कुरामा पनि सत्यता पहिल्याउने प्रयत्न गर्छ । त्यसैकारण ज्ञानको खोजी गर्ने विदुषी–विदुषहरूले पूर्वीय होस् वा पश्चिमा त्यसको स्वाद लिए । हामीले (नेपाल, भारतमा) प्लेटो, अरस्तु, सुकरात, आइन्स्टाइन इत्यादि पढ्नु र पश्चिमाहरूले चार्वाक, गौतम, अष्टाबक्र, भगवदगीता, उपनिषद इत्यादि पढ्नुको अर्थ आफैमा प्रस्ट छैन र ? अर्को पक्ष, आजसम्म कुनै पनि पूर्वीय विद्वानहरूले पश्चिमको ज्ञान र सामाजिक विज्ञानलाई नश्लवादी भनेका छैनन् । बरु राम्रा कुरा पश्चिमबाट पनि प्रशस्त लिएका छन् ।

हाम्रा प्राज्ञिक संस्था र प्राज्ञहरू ज्ञान उत्पादनमा पछि पर्नगए, जसका कारण ज्ञान उत्पादन र सम्प्रेषणका क्षेत्रमा पनि हामी पछाडि पर्दैछौं भन्ने मेरो तर्क थियो, हो । त्यसैगरी सामाजिक विज्ञानलाई हामी कसरी सुधार्न सक्छौं, ताकि यो समाजका लागि बढीभन्दा बढी उपयोगी हुन सकोस् । यो आलेखमा घिमिरेले गरेका टिपणीलाई सोही तरिकाले सम्बोधन गर्ने कोसिस गरिएको छ ।

मन नपर्नु विरुद्ध घृणा
घिमिरेजीका पूर्वीय संस्कृति, परम्परा, ज्ञान र समाजमाथिका टिप्पणीहरू नौला होइनन् । समाजशास्त्रलाई बाहिरको ज्ञानको प्रकाशमा मात्र हेर्ने पद्धतिबाट सीमित बौद्धिक विमर्शको एक सामान्य प्रयास हो, उहाँको प्रयत्न । अहिलेसम्मका समाजशास्त्रीहरूले जेजस्ता तर्क गर्दै आएका छन्, उहाँको प्रयास तिनै एकपक्षीय मान्यताहरूको अनुशरण मात्र हो । यसलाई उदारवादीे लेपबाट सिँगारिएको समाजशास्त्र भन्न सकिन्छ । सत्य के हो भने धेरैजसो यस्ता विद्वानहरूको समस्या उनीहरू जे छन् र जुन धरातलमा छन्, त्यसैलाई मन नपराउने (डिसलाइक) मात्र होइन, घृणा (हेटरेड) नै गर्ने हो । डिसलाइकलाई ‘लाइक’ बनाउन सकिन्छ, तर हेटरेड गर्नेले अस्तित्व नै स्वीकार गर्दैन ।

टिप्पणीकार घिमिरेको सबभन्दा ठूलो समस्या पूर्वीय दर्शन, त्यसले उत्पादन गरेको ज्ञान र यसका स्रष्टाहरूमाथि छ । त्यही भएर उहाँ ऋग्वेद, जनक, र बुद्धको नामै सुन्न रुचाउनुहुन्न । उहाँका आँखाले यी सबैलाई नश्लवादी देख्छ । नश्ल शारीरिक बनोटमा समानताको कुरा हो, जबकि पूर्वीय दर्शन वैचारिक र मनोभावनात्मक आयाम । नश्ल रक्त सम्बन्ध हो, दर्शन प्राज्ञिक वा बौद्धिक विश्वास । नश्ल एक पुर्खाको सन्तान हो, दर्शन हजारांै वर्षमा लाखौं तपश्वीहरूको सत्मार्ग अवलम्बनको आचार, विचार र जीवन दर्शन । घिमिरेले पूर्वीय संस्कृति र परम्परालाई नलश्लवादको उपमा दिनुभएको छ । तर उहाँले पूर्वीय सन्दर्भमा ‘नश्लवाद’को प्रयोग राज्य, राजनीति वा वैचारिक अवधारणामध्ये कसरी भएको छ, त्यो भने देखाउनसक्नु भएको छैन । पूर्वीय संस्कृति नेपाली धरातलमा उभिएर प्राज्ञिक बहस चलाउँदा ‘नश्लवादी’ हुने, तर यसको विरोधमा गाली र कुतर्कसहित बहस चलाए ‘सहिष्णु’ हुने ? यही हो त प्राज्ञिकता ? आफ्नोभन्दा फरक विचार, संस्कृति र परम्परालाई नश्लवादी भन्ने अनि विचारमा बहुलवाद कहाँनेर रहन पुग्छ ? कुनै पनि दर्शनशास्त्र/संस्कृतिले नश्लवादको वकालत गर्दैन, चाहे त्यो पूर्वको होस् या पश्चिमको ।

र्शनशास्त्र र दृष्टिकोणको समस्या
प्रत्येक समाजका आआफ्नै मूल्य, मान्यता, संस्कृति र परम्परा हुन्छन् । समाज यिनै धरातलमा अडिएको हुन्छ । त्यसैकारण समाज विज्ञानका क्षेत्रमा छलफल गर्दा सो धरातलीय यथार्थता र बौद्धिक परम्परा बुझ्नु जरुरी हुन्छ । धरातलीय यथार्थता फरक भएको हुनाले पूर्व र पश्चिमी समाजका आ–आफ्ना फरक मूल्य र मान्यता विकसित भएका हुन्, जसलाई हामी नकार्न सक्दैनौं, नकार्नै मिल्दैन । सभ्यतामा जतिसुकै भिन्नता भए पनि समाजमा केही कुरा समान हुन्छन् । जस्तो– व्यक्ति–व्यक्ति मिलेर निर्माण हुने हो, समाज । व्यक्ति छैन भने समाज छैन । व्यक्ति ब्रह्म हो र यसमा भिन्नता हुँदैन । चाहे त्यो पूर्वको होस् वा पश्चिमको । ब्रह्म सूक्ष्म हो, जुन स्थुल शरीरभित्र निश्चित अवधिको लागि बास बस्छ । सूक्ष्मका मान्यताहरू समान हुन्छन् । स्थुलका फरक । पूर्वीय संस्कृति सूक्ष्म र स्थुल शरीरबीच समन्वयात्मक सम्बन्ध चाहन्छ । तर पश्चिममा बाहिरी आवरणलाई छलफलमा बढी महत्त्व दिइन्छ । ऋषि अष्टाबक्रले जनकको दरबारमा छालाको रंगरूपलाई आजभन्दा हजारौं वर्ष पहिले नै बौद्घिक बहसको विषय हुँदैन भन्ने सिद्धान्त स्थापित गरिदिएका थिए । मैले यसो भनिरहँदा पूर्वमा फरक मत छैन भन्ने कदापि होइन । यहाँ चारवाक पद्धतिको पनि विकास भएको छ । यसकारण यहाँ दर्शनशास्त्रमा नभएर ज्ञान उत्पादन गर्ने दृष्टिकोणमा समस्या छ । हाम्रा धेरै समाजशास्त्रीहरू यसैमा रुमल्लिएका छन् ।

ज्ञानपरक र विज्ञानपरक समाज
घिमिरेले उठाउनु भएको अर्को प्रश्न हो, मेरो पश्चिमी प्राज्ञप्रतिको अविश्वास । वास्तवमा, सन्दर्भ विश्वास र अविश्वासको होइन । चुरो कुरो भनेको प्राज्ञहरूले समाजसंँग मेल खाने ज्ञान उत्पादन गर्छन् कि आफ्नो इच्छा र चाहनासँग मेल खाने ज्ञान ? प्राज्ञताको चरम व्यापारीकरण भएकोले प्राज्ञ चाहे त्यो पूर्वको होस् या पश्चिमको त्यसै विश्वास गरिहाल्ने अवस्था छैन । प्राज्ञ र प्राज्ञता त्यतिबेला मात्र सान्दर्भिक हुन्छ, जब यी दुवैले समाजलाई राम्ररी बुझ्छन् । पूर्वीय समाज ज्ञानपरक हो । समाजको आधार नै ज्ञान हो । जन्म, जीवन र मृत्युलाई ज्ञानले व्याख्या गरिन्छ । तर समाज विज्ञानले हेर्ने जति पनि समाज छन्, ती सबै विज्ञानपरक छन् । विज्ञानले (सामाजिक विज्ञानले पनि) सायद प्रामाणिकता खोज्छ– त्यो पनि देखेको र सुनेको । जहाँ प्रमाण हुँदैन, त्यसलाई कसरी व्याख्या गर्ने ? आफूलाई कुनै विषयको ज्ञान छैन भने त्यो ज्ञान नै छैन, हुँदै होइन र गलत हो भन्न पनि मिल्दैन ।

ज्ञान स्थिर कि चलायमान के हो ? अल्पज्ञानी र अज्ञानीहरू नै ज्ञानलाई चलायमान ठान्छन् । किनकि ज्ञान सत्य हुन्छ, त्यही भएर हिजो, आज र भोलि एउटै हुन्छ । अर्थात स्थिर हुन्छ । ज्ञानको सार्थक सिद्धान्त यही हो । विज्ञान चलायमान हुन्छ, गतिशील हुन्छ र नवीन हुन्छ । त्यही भएर परिवर्तन भइरहन्छ । ज्ञानले दिन सक्ने उत्तर, विज्ञानले दिन सक्दैन । ज्ञानले मानिसको सोच्ने र विचार गर्ने शक्तिमा ध्यान दिन्छ भने अहिलेको समाज अध्ययन गर्ने परम्परा वैज्ञानिक भएको हुनाले समाजको स्थुलतालाई जोड दिन्छ । शरीरले जीव सञ्चालन गर्दैन, आत्मा वा ब्रह्मले जीव सञ्चालन गर्ने हो । तथाकथित समाजशास्त्री वा राजनीतिशास्त्रीहरूले जीवको आवश्यकतालाई मानिसको आवश्यकता भन्छन् । घाँस नै जीवनको लक्ष्य हो भने मैले आफैलाई पशु भन्नुपर्ने हुन्छ । सायद त्यही भएर भनेका होलान्, जहाँ विज्ञानको अन्त्य हुन्छ, त्यहाँबाट ज्ञानको सुरुआत हुन्छ । बालकृष्ण समको भनाइ ‘ज्ञान मर्दछ हाँसेर रोइ विज्ञान मर्दछ’ यहाँ सान्दर्भिक हुन्छ । अर्को उदाहरण– शरीरको मृत्यु वैज्ञानिक हो, तर मृत्युको पहिचान गर्न सक्नु ज्ञान हो ।

पूर्वीय र पश्चिमी संस्कृतिमा ज्ञानको दायरा र आयतनमा धेरै ठूलो अन्तर छ । उदाहरणका लागि, मृत्युलाई बुझ्ने मनोभावनात्मक अवस्था । आफन्तको मृत्युमा पूर्वमा सेतो लुगा लगाइन्छ, पश्चिममा कालो । यदि भोलि कुनै प्राज्ञले तिमीहरूले पनि कालो लुगा लगाउनुपर्छ भने के गर्ने ? विकास र समृद्धिको सन्दर्भमा पनि यस्तै खाले फरक–फरक मत पाइन्छन् । जग एउटाको पिलर अर्कैको भए घर बलियो हुँदैन । पूर्व र पश्चिममा जीवनको दर्शन नै फरक छ । एउटा सभ्यताले भौतिकतालाई प्राथमिकता दिन्छ भने अर्कोले मोक्षलाई । माक्र्सवादबाट अप्रभंश भएर जन्मिएको साम्यवादको चस्मा लगाएर हेरे पूर्वीय संस्कृति नश्लवादी नै देखिन्छ । आफ्नै जन्ममाथि आफैले घृणा गर्नेगरी गरिने विश्लेषणले पराजयी मनस्थितिको मात्र निर्माण गर्छ ।

सामाजिक विज्ञान : सापेक्ष कि निरपेक्ष ?
अर्को कुरा हामी जुन सामाजिक विज्ञानको चर्चा–परिचर्चा गर्दैछौं, त्यो पनि सोचेजस्तो निरपेक्ष छैन । यो सामाजिक विज्ञान बुझ्न यसको जाति विज्ञान बुझ्नु जरुरी हुन्छ र यो परिप्रेक्ष्यमा थोमस हब्स र त्यसपछिका सामाजिक सम्झौतावादी दार्शनिकहरूले भौतिक व्यक्तिवाद (मेटेरियल इन्डिभिजुयलिजम) अर्थात पदार्थवादी धारणाको विकास गरे, जसको कार्ल माक्र्समा ठूलो असर पर्‍यो । सायद त्यही भएर होला, माक्र्सले म भगवानलाई त्यतिबेला मात्र विश्वास गर्छु, जब म उसलाई प्रयोगशालामा चिरफार गर्न सक्छु भनेका थिए । पछि म्याक्स वेवरले प्रोटेस्टेन्ट क्रिस्टियानिटीको आधार तथा समाजशास्त्र र अर्थशास्त्रको सम्मिश्रणबाट व्यक्तिवादको विकास गरे । जुन आर्थिक उन्नति र व्यक्तिगत अधिकारसँग जोडिन पुग्छ । पश्चिमी सामाजिक विज्ञानको रहस्य यही हो । यसमा न समाज जोडिएको छ, न आध्यात्म । केही जोडिएको छ भने त्यो हो, व्यक्तिगत आर्थिक उन्नति, बजार र त्यहाँसम्मको पहुँच । यो नै जीवनको मुख्य लक्ष्य हो । यो ज्ञान सापेक्ष हो । राज्य र समाज दुवै यसैसँग जोडिएका छन् ।

यही भएर त्यहाँ सामाजिक विज्ञान सापेक्ष हुनगयो । धर्म निरपेक्ष । पश्चिमेलीहरूले जे गरे, उनीहरूको परिप्रेक्ष्यमा ठिकै गरेका हुन् । चर्च र राज्य बीचको अन्तरद्वन्द्वलाई कम गर्न त्यहाँ यसको आवश्यकता थियो । तर हाम्रो सन्दर्भ फरक थियो/छ । हामीकहाँ प्रत्येकको आफ्नै जीवित संस्कृति छ र आफ्नै गाथाहरू छन् । तर यी एकअर्काका परिपूरक छन् । नेपालकै परिप्रेक्ष्यमा क्षत्री, बाहुन, राई, लिम्बु, मैथिली, मधेसी, थारु आदि–इत्यादिको आफ्नै किसिमका सामाजिक स्तम्भहरू छन् र तिनकै आधारमा समाजको बृहत स्वरुप विकास भएको छ । त्यही भएर यो समाजको रिजिलेन्सी बलियो छ । त्यसकारण यी सबैलाई नश्लवादी भन्न मिल्दैन ।

ज्ञान मौलिक कि तरल
मौलिकता अर्को महत्त्वपूर्ण विषय हो । ज्ञान मौलिक नै हुन्छ, तरल होइन । ज्ञान ब्रह्मसँग जोडिएको हुन्छ, त्यही भएर हिजो, आज र भोलि एउटै हुन्छ र त्यसलाई समय सापेक्ष प्रयोग गर्ने तरिका भिन्न हुनसक्छ । सामाजिक विज्ञानको व्याख्या जब भौतिकताको आधारमा गरिन्छ, त्यहाँ मौलिकता र सत्यता भेटाउन अप्ठ्यारो हुन्छ । अर्को महत्त्वपूर्ण विषय भनेको कुन ‘राम्रो ज्ञान’ हो ? यो पनि ज्ञान उत्पादन गर्ने विधिमा भर पर्छ । तर सामाजिक विज्ञानले उत्पादन गरेको ज्ञानको उपादेयता सबै ठाउँमा एउटै नहुन सक्छ । किनकि माथि भनेजस्तै समाजहरू एउटै किसिमका छैनन् र परिस्थिति पनि एउटै छैन । हिमाल र तराईमा सूर्यको तापको महत्त्व फरक–फरक हुन्छ । गलत र सही पनि समय सापेक्ष र सान्दर्भिक हुन्छ । पश्चिमी सामाजिक ज्ञानको आधारमा कुनै कुरा गर्दा त्यहाँ सही हुनसक्छ, तर त्यो यहाँ गलत हुन जान्छ । सबै ज्ञान एउटै हो भन्यौं भने शस्त्रद्वारा उपनिवेश नभएको यो देश शास्त्रद्वारा उपनिवेश हुनेछ । पन्ध्रांै, सोह्रौं शताब्दीको भारत त्यसको ज्वलन्त उदाहरण हो । हामी अलग्गै र फरक किसिमको सामाजिक विज्ञान विकास गर्न नसकौंला, किनकि हामी भूमण्डलीकृत विश्वमा बाँचिरहेका छौं । तर हाम्रा सकारात्मक पक्षको पहिचान गरी तिनलाई बढाउनु हाम्रो कर्तव्य हो । यसर्थ हाम्रा पनि केही मौलिकताहरू (इन्डिजिनिटी) छन् भन्न सक्नुपर्छ ।

प्रवृत्ति मार्ग कि निवृत्ति मार्ग
घिमिरेको अर्को आरोप सृष्टिको आदिकालदेखि आजसम्म नेपाली समाजमा देखिएका विभिन्न समस्या पूर्वीय संस्कृति र ज्ञानका उपज हुन् । घिमिरेको निष्कर्ष नै के हो भने समाजमा देखिएका जातीय, क्षेत्रीय, लैङ्गिक, धार्मिक सबैको हलको लागि हामीले सबभन्दा पहिले हाम्रो सामाजिक संरचना र संस्कृति भत्काउनुपर्छ र पूर्णरूपमा प्रवृत्ति मार्गमा आधारित सामाजिक विज्ञान लागु गर्नुपर्छ र त्यसले सबै समस्याको निराकरण गर्नेछ ।

हजारौं वर्षको इतिहास बोकेको ज्ञानको परम्परा जुन हिजो, आज र भोलि त्यत्तिकै सान्दर्भिक र वस्तुपरक छ, त्यसको महत्त्व र उपादेयता उधारो र सापटी चिन्तनले दिँदैन । त्यसमा पनि माक्र्सिजमको विकृत रूपबाट विकास भएको उत्तर आधुनिकतावादीहरूले त सबै भत्काउनैपर्छ र कुनै पनि कथन हुनुहुँदैन भन्ने विचारमा विश्वास गर्छन् । कथन विनाको राष्ट्र प्राण बिनाको शरीरजस्तै हो । त्यसैगरी यो समाज र सभ्यताको निर्माण ऋषिमुनीहरूको भद्र इच्छाले भएको हो भन्ने कुरा हास्यास्पद लाग्नु घिमिरेलाई स्वाभाविक हो । किनकि उनका लागि यो विश्वको प्रादुर्भाव २ सय वर्ष अघिमात्र भएको हो, त्योभन्दा पहिले सबै कालरात्रि थियो । सबै समाजमा अन्याय, अत्याचार र व्यभिचार मात्र थियो । २ सय वर्षभन्दा बढीको इतिहास थाहा नपाउनेले हजारौं वर्षको इतिहास बोकेको दर्शनशास्त्रलाई बुझ्न सक्दैन । दर्शनशास्त्रका दुइटा मार्ग (प्रवृत्ति र निवृत्ति) को विषयमा लेसमात्र ज्ञान भएको व्यक्तिले ज्ञानको लागि संन्यास लिने परम्परालाई हास्यास्पद र असान्दर्भिक ठान्ने नै भए । एउटा लामो इतिहास बोकेको ज्ञानलाई ‘नश्लवादी’ भनिन्छ भने त्यस्ता विद्वानहरूले आफ्नै पहिचान वा स्वत्वलाई कहाँ विसर्जन गर्ने हुन् ?

अरु विविध प्रश्नहरू
डोरबहादुर विष्टमाथि पूर्वाग्रही हुनखोजेको होइन । सत्य कुरा व्यक्त गर्न खोजेको मात्र हो । विष्टले के लेखे, कसरी लेखे, त्यो जगजाहेर छ । शीतयुद्धकालीन समयमा मानवशास्त्रीहरू कसरी प्रयोग भएका थिए, यसको लागि भन्ने बुझ्न ड्युक विश्वविद्यालयबाट प्रकाशित ‘कोल्ड वार एन्थ्रोपोलोजी’ पुस्तक काफी छ । नेपालमा अति उच्चकोटीको मानवशास्त्रीय अनुसन्धान गर्ने योगी नरहरिनाथ र अरुहरू पनि छन् र ती कृतिहरू कसैप्रति पूर्वाग्रही पनि छैनन् । समाजको यथार्थतालाई जेजस्तो देखे, त्यस्तै राखिदिएका छन् । तर अहिलेका समाजशास्त्रीहरूले उनको अनुसन्धानलाई मान्यता दिँदैनन्, किनभने योगीको आफ्नै मौलिक अनुसन्धान विधि थियो । स्थानीय र मौलिक ज्ञानले भूराजनीतिक स्वार्थ परिपूर्ति नहुने हुँदा यसको लागि पूर्वाग्रही मानवशास्त्रीहरूको नै आवश्यकता पर्न जान्छ । यो प्रक्रियामा स्थानीय माटो र धरातलमा खुट्टा टेकेका विद्वान र तिनका कीर्तिहरू ओझेलमा पर्न जान्छन् ।

अर्को महत्त्वपूर्ण विषय, शासक खराब भए सामाजिक विद्वान कसरी चोखा हुन्छन् ? समाजशास्त्रीहरूको सफलता र असफलताका मानकहरू के हुन् ? समाजशास्त्रीहरूले सत्ता र समाजलाई सँगै लान सक्दैनन् भने त्यसको पछाडि निश्चय नै केही समस्या होला भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । अर्को विषय कस्तो समाजलाई फराकिलो समाज भन्ने ? समाज कसरी फराकिलो हुन्छ ? विविधतालाई आत्मसात गर्न सक्ने समाज नै फराकिलो समाज हो । हाम्रो समाज फराकिलो भएकाले नै आजसम्म ‘विविधता’हरू जीवित छन् । अधिनायकवादी समाज भएको भए यी सबै ‘विविधता’ आजसम्म जीवित रहने थिएनन् । आज यहाँ आएर जसले हामीलाई पहिचान र समावेशिताको पाठ पढाउँदैछन्, उनीहरूले स–साना पहिचानहरूलाई उहिले नै नष्ट गरेका थिए । जहाँसम्म बजारको सवाल छ, पूर्वीय चलनमा ज्ञानले बजारको मान्यतामा विश्वास गर्दैन । त्यही भएर हामी ज्ञानलाई पेटेन्ट राइटसँग जोड्दैनौं । यसको ज्वलन्त उदाहरण हाम्रा पुराना ग्रन्थहरूमा लेखकहरूको नाम छैन । त्यसैगरी सबै कुरा बजारले मात्र निर्धारण गर्ने हो भने त्यसले व्यक्तिलाई पदार्थमा परिणत गरिदिन्छ ।

समाज विज्ञान निश्चय पनि स्तुतिशास्त्र होइन, तर यसले समाजको प्रतिनिधित्व गर्नु जरुरी हुन्छ । समाज विज्ञानले भिन्नता, विविधता र निषेधता छुट्याउन सक्नुपर्छ । परिवर्तनको नाममा सबै भत्काउनुपर्छ भन्ने तर्क आफैंमा अतिवाद हो । आजसम्म नेपाली समाज समाजशास्त्रीले विकास गरेका मूल्य र मान्यताबाट होइन, समाजमा हजारौं वर्षदेखि स्वचालित पद्धति र रीतिथितिबाट चल्दै आएको छ ।

सबै कुरा राज्य र शासकलाई मात्र दोष दिने, तर आफू शासक भएपछि थिचिएका–मिचिएका–पिछडिएका आदि–इत्यादिको हित गर्नुभन्दा सत्ताको लागि उनीहरूलाई हतियारको रूपमा प्रयोग गर्ने जुन राजनीतिक प्रथा स्थापित गरिएको छ, त्यसलाई के भन्ने ? थिचिएका–मिचिएकाको उत्थानका लागि प्रयोगात्मक र योजनामुखी सामाजिक विज्ञानको विकासमात्र गर्नु पनि त्यति जायज होइन कि ? योजनामुखी सामाजिक विज्ञानले योजनामुखी समाजको निर्माण गर्छ । समाज योजनामुखी हुँदैन, समाज न्यायिक अवयव हो । संस्कृतिले समाजका मूल्य र मान्यता निर्धारण गरेको हुन्छ । संस्कृतिलाई फालेर विकृतिको स्थापना गर्न अलि अप्ठ्यारो हुन्छ कि ? संस्कृतिको आडमा हजारौं वर्ष सत्ता र साधनस्रोतमाथि रजाइँ गरेकै हुनाले शास्त्र नै गलत छ र यसलाई नै फाल्नुपर्छ भन्ने तर्कमा दम छैन ।

अन्त्यमा, पूर्वीय संस्कृतिले अन्यायलाई नै प्रश्रय दिएको भए सायद आजसम्म टिक्ने नै थिएन । संसारमा भएका जीवित सभ्यताहरूमध्ये यो सबभन्दा पुरानो हो, जसको न आदि छ, न अन्त्य । यो तर्कलाई कसरी पुष्टि गर्न सकिन्छ भने क्रिष्टियानिटी आउनुभन्दा पहिले युरोपमा, पश्चिम एसियामा कुन संस्कृति थियो, हामीलाई थाहा छैन । तर यो क्षेत्रमा आजभन्दा १०–१२ हजार वर्ष पहिले जुन संस्कृति थियो, आज पनि त्यही छ । यसको मतलब यो कदापि होइन कि सबै पूर्वीय संस्कृतिबाट नै निर्देशित हुनुपर्छ । पूर्वीय संस्कृतिले यस किसिमको वकालत कहिलै पनि गरेन । यसले सत्य र असत्य, न्याय र अन्याय छुट्याउँछ । तर के गर्ने, के नगर्ने यो नितान्त व्यक्तिलाई छोडिदिन्छ । भगवदगीताको अध्याय १८ को श्लोक ६३ मा श्रीकृष्ण अर्जुनलाई यही स्वतन्त्रता दिनुहुन्छ ।

म अरु संस्कृति र समाजलाई नश्लवादी भन्ने पक्षमा छैन । मेरो त्यो लेखको उद्देश्य सामाजिक विज्ञान र समाजबीच देखिएको खाडल परिपूर्ति गर्ने र यसलाई समाज सापेक्ष कसरी बनाउन सकिन्छ भन्नेमात्र थियो । त्यही भएर मैले पूर्व र पश्चिमी विद्वानका उदाहरणहरू ल्याएको थिएँ । यो परिप्रेक्ष्यमा शासन व्यवस्था पनि समाज र संस्कृति सान्दर्भिक हुनुपर्छ भन्ने कुरा केही वर्षयता व्यापक छलफल भएको छ । प्रजातन्त्रको सम्बन्धमा फ्रान्सिस फुकुयामाले केही वर्षअघि इकोनोमिष्ट पत्रिकामा लेखेको लेख त्यसको उदाहरण हो । कुनै पनि समाज संस्कृतिमा नै टिकेको हुन्छ । इतिहास र संस्कृतिको सम्बन्धमा अमेरिकी फिल्म उत्पादक तथा निर्देशक माइकल क्रिटन भन्छन् : इतिहास र संस्कृतिको ज्ञान नभएको मानिस पातजस्तै हो, जसलाई ऊ पनि रुखको भाग हो भन्ने थाहा हुँदैन ।

इतिहास र संस्कृतिका राम्रा पक्षको प्रशंसा गर्न सिक्नुपर्छ र नराम्रोलाई सुधार्नुपर्छ । समाजको दिगोपना र सहिष्णुता यसैमा टिकेको हुन्छ । प्राज्ञहरूले ‘प्रज्ञानता’मा आधारित ज्ञानको उत्पादन गर्न जरुरी हुन्छ । किनकि यस्तो ज्ञानले समाजलाई जोड्छ । त्यसैगरी ज्ञानको भारी बोक्नेमात्र होइन, यो जीवन र जगत दुवैको लागि सार्थक हुनु जरुरी छ । त्यही भएर यसलाई ‘प्रज्ञानं ब्रह्म’ भनिन्छ ।

प्रकाशित : जेष्ठ १९, २०७५ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?