भारतीय मिडियामा पैसाको विष

सुरेशराज न्यौपाने

काठमाडौँ — कोब्रा (गोमन), संसारकै सबैभन्दा विषालु सर्प मध्येको एक । भारतमा पाइने कोब्रा त थप विषालु मानिन्छ, जसले डस्यो भने कुनै पनि प्राणी बच्ने सम्भावना करिब–करिब शून्य हुन्छ । पछिल्लो समय भारतको आमसञ्चार क्षेत्रलाई त्यस्तै एउटा कोब्राले डसेको छ । र त्यसको विषबाट घाइते हुनपुगेको छ, गरिमापूर्ण इतिहास बोकेको भारतको मिडिया क्षेत्र ।

भारतीय मिडियामा पैसाको विष

प्रसंग गत सार्वजनिक भएको ‘कोब्रा पोष्ट’ न्युजपोर्टलले गरेको ‘स्टिङ अपरेसन’को । उक्त ‘अपरेसन १३६’ ले भारतका ठूला र प्रतिष्ठित भनिएका सञ्चारगृहहरूको समाचारहरूको छनोट र प्राथमिकतालाई नराम्रो ढंगले उदांगो पारेको छ । कोब्रा पोष्टका अनुसार प्रेस स्वतन्त्रताको मामिलामा भारतको १३६ औं स्थानलाई बुझाउन उक्त स्टिङ अपरेसनलाई १३६ नाम दिएको हो । जसबाट कोब्रा पोष्टले अपरेसनमार्फत भारतको सञ्चारक्षेत्र कति स्वतन्त्र छ भन्ने अनुसन्धान गर्न खोजेको प्रस्ट हुन्छ ।

खोजी पत्रकारिताका लागि कहलिएको कोब्रा पोष्टका सम्वाददाता पुष्प शर्माले आफूलाई सत्ताधारी भारतीय जनता पार्टी (बीजेपी) को वैचारिक संगठन आरएसएस निकट एउटा हिन्दुवादी संस्थाको प्रतिनिधि ‘आचार्य अटल’का रूपमा प्रस्तुत गर्दै विभिन्न सञ्चार माध्यमहरूका उच्च पदाधिकारीहरूसँग सम्पर्क स्थापित गर्छन् । उनले आफ्नो संस्थाको एकमात्र लक्ष्य सन् २०१९ मा हुने लोकसभा चुनावमा बीजेपीको पक्षमा माहोल बनाउन हिन्दुत्वको प्रबद्र्धन गर्नु रहेको प्रस्ट ढंगले राख्छन् । उनको मौखिक प्रस्तावमा सुरुमा ‘सफ्ट हिन्दुत्व’, त्यसपछि राजनीतिक रंग दिँदै विपक्षीको चरित्रहत्या हुँदै उत्कर्षमा राजनीतिक धु्रवीकरणसम्म योजना समेटिएका हुन्छन् ।

विशेषगरी चुनावसम्ममा हिन्दु र मुस्लिमबीच प्रस्ट फाटो ल्याउने र बीजेपीलाई जिताउने योजना रहेको समेत अटलले धक फुकाएर राख्छन् । र यस उद्देश्यका लागि उनको संस्था ‘भनेजति रकम’ खर्च गर्न तयार रहेको पनि बताउँछन् । उनको यही ‘भनेजति रकम’को पासोमा भारतका नामी र ठूला भनिएका सञ्चारगृहहरूका उच्च अधिकारी एकपछि अर्को गर्दै फँस्दै जान्छन् । खुफिया तरिकाले रेकर्ड गरिएको सम्वाददाता शर्मा र सञ्चारगृहका उच्च अधिकारीहरूसँगको यिनै भेटघाट र छलफललाई नै कोब्रा पोष्टले अपरेसन १३६ नाम दिएको हो ।

दुई चरणमा गरिएको यो अपरेसनबाट पहिलो चरणमा ‘इन्डिया टिभी’, ‘दैनिक जागरण’, ‘हिन्दी खबर’, ‘अमर उजाला’, ‘युनआई’, ‘डीनीए’, ‘पन्जाब केशरी’ आदि सिकार बनेका थिए भने दोस्रो चरणमा ‘टाइम्स अफ इन्डिया’, ‘ओपन’, ‘इन्डिया टुडे’ लगायतका सञ्चारगृह यसको निसानामा परेका थिए । दुईवटा बंगाली पत्रिकाहरू ‘वर्तमान’ र ‘दैनिक सम्वाद’ले मात्र आचार्य अटलसँग कुनै पनि किसिमको कारोबार नगर्ने भन्दै सुरुमै प्रस्ताव अस्वीकार गरेका थिए । यो स्टिङ अपरेसनलाई कोब्रा पोष्टले मे २५ मा औपचारिक रूपमा घोषणा गरेको थियो । तर ‘दैनिक भाष्कर’ पत्रिकाले अदालतमा मुद्दा हालेपछि कोब्रा पोष्टले युट्युबमा सार्वजनिक गरिदियो ।

अपरेसन १३६ सार्वजनिक भएसँगै भारतीय सञ्चार माध्यमको व्यावसायिकता र विश्वसनीयतामाथि फेरि एकपटक गम्भीर प्रश्न उठेको छ । त्यसै पनि पछिल्ला वर्षहरूमा अस्वस्थ प्रतिस्पर्धा गरेको, ठूला व्यापारिक घरानाको पक्षपोषण गरेको, सार्वजनिक सरोकारका विषयलाई भन्दा पनि व्यक्ति र राजनीतिक दल विशेषका मुद्दालाई प्राथमिकता दिएका जस्ता आरोप भारतको मिडिया क्षेत्रमाथि लाग्दै आएको छ । यो प्रकरणलाई गतवर्ष बेलायतमा च्यानल फोरले गरेको क्याम्ब्रिज एनालिटिकाको भारतीय संस्करणसमेत भनिएको छ । त्यसो त भारतीय मिडियाको विश्वसनीयमाथि प्रश्न उठेको यो पहिलो घटना भने होइन । करिब १० वर्ष अघिको ‘टु जी स्पेक्ट्रम’ प्रकरणमा समेत पत्रकारिता क्षेत्रका चर्चित अनुहारहरूसमेत मुछिएका थिए । १.७६ लाख करोड भारु घोटालाकी सूत्रधार भनिएकी निरा राडियाको सम्पर्क सूत्रका काम गरेको भन्दै बर्खा दत्त, प्रभु चावला लगायतका भारतीय सञ्चार माध्यमका हस्ती मानिएका नामहरूसमेत विवादमा तानिएका थिए । यीमध्ये धेरैले नैतिकता आधारमा सञ्चार माध्यम नै छाड्नुपरेको थियो । त्यसपछि पनि मिडियासँग जोडिएका ससाना प्रकरण वर्षेनिजसो सतहमा आउने गरेका छन् ।

उदेकलाग्दो कुरा त के भने पुरै मिडिया क्षेत्रको विश्वसनीयतामाथि प्रश्न उठाएको पछिल्लो अपरेसनलाई एकाध पत्रिकाले मात्र समाचार बनाए । अधिकांश मिडियाले यो प्रकरणमा मौनता साँधेका छन् । केहीले भने स्टिङ अपरेसनको नियत र विश्वसनीयतामा प्रश्न उठाउँदै यस्ता सामग्रीहरूलाई आफूहरूले कहिल्यै स्थान नदिएको दाबी गरेका छन् । टाइम्स ग्रुपले त आफ्नो बचाउ गर्दै स्टिङ अपरेसन गर्न आएका पत्रकारमाथि आफूले काउन्टर स्टिङ गर्नका लागि उनको प्रस्ताव मान्ने बताएको दाबी गरेको छ ।

उनीहरूले त्यस्तो दाबी गरे पनि आचार्य अटल र सञ्चारगृहका उच्च अधिकारीहरू बीचको सौहार्द र हार्दिक भेटघाट र वार्तालापले उनीहरूको विज्ञापन वा अन्य कुनै स्रोतबाट हुने आम्दानीका लागि समाचार कक्षको पेसागत मर्यादालाई समेत दाउमा लगाउन सक्छन् भन्ने प्रस्ट हुन्छ । एउटा प्रतिष्ठित भारतीय अंग्रेजी पत्रिकाका उच्च अधिकृतले त ‘यदि तपाईंले सकारात्मक समाचारका लागि भनेर केही करोड दिनुहुन्छ भने सम्पादकीय टिममाथि नकारात्मक समाचार नबनाउन स्वत: दबाब परिहाल्छ नि’ भन्नेसमम्मको जवाफ दिएका छन् । केही संस्थाका बजार अधिकृतहरूले त सिधै पेड न्युजको प्रस्ताव नै राख्छन्, उल्टो ।

अनलाइन न्युज पोर्टल ‘द वायर’का संस्थापक सम्पादक तथा वरिष्ठ पत्रकार सिद्धार्थ बद्र्धराजन सञ्चारगृहहरू पत्रकारिताको पेसागत मूल्य–मान्यतामा अडिग थिए भने तिनले आचार्य अटलको खतरनाक प्रस्ताव सुन्नासाथ उसलाई ढोका बाहिर निकाल्नुपर्ने तर्क गर्छन् । भन्छन्, ‘स्टिङ अपरेसनको जस्तोसुकै नियत भए पनि यसले उजागर गरेको अँध्यारो पाटोलाई कसरी छल्न मिल्छ ।’ विश्वभर तहल्का मचाएका विकिलिक्स र एडवर्ड स्नोडेनले अमेरिकी कानुनहरूको उल्लंघन गरेको भए पनि सार्वजनिक भएका तथ्य र विवरणलाई केलाएर सञ्चार माध्यमहरूले समाचार बनाएको कुरा बिर्सन नमिल्ने पनि बद्र्धराजन बताउँछन् ।

यो घटनाले राजनीतिज्ञहरूलाई मिडिया विरुद्ध एकपक्षीय आरोप लगाउन थप प्रेरित गर्ने जोखिम पनि देखिएको छ । त्यसै पनि आलोचनात्मक हिसाबले प्रस्तुत हुने सञ्चार माध्यमहरूलाई ‘फेक’ वा ‘पेड’को संज्ञा दिएर आफ्ना कमजोरी र बेथितिको ढाकछोप गर्ने प्रवृत्ति विश्वव्यापी बन्दै गएको छ । चाहे भ्लादिमिर पुटिन हुन् वा डोनाल्ड ट्रम्प दुवैले पछिल्लो समय यही रणनीति अख्तियार गर्दै आएका छन् । भारत पनि यसबाट अछुतो छैन । अझ यहाँ त सञ्चार माध्यममा लगानी नभएका ठूला व्यापारी घराना र राजनीतिज्ञ भेट्टाउन मुस्किल हुनथालेको छ । जसका कारण समाचार कक्षको गरिमा र प्रतिष्ठा विज्ञापनदाता र प्रायोजकको बन्धक बन्दै गएका छन् । त्यसैले होला, लेखक तथा विश्लेषक प्रताप भानु मेहताले यो प्रकरणबाट सबैभन्दा बढी लाभ राजनीतिक वर्गलाई भएको दाबी गरेका छन् । भारतीय अंगं्रजी दैनिक इन्डियन एक्सप्रेसमा प्रकाशित लेखमा सञ्चार माध्यमको विश्वसनीयता जति तल झर्‍यो, त्यति नै राजनीतिज्ञहरूलाई फाइदा पुग्ने उनले उल्लेख गरेका छन् । मेहता भन्छन्, ‘यो प्रकरणबाट सबैभन्दा बढी लाभ राजनीति गर्नेहरूलाई भएको छ । त्यसैगरी भारतीय मिडियाले नागरिकलाई कति अवहेलना गर्दारहेछन् भन्ने प्रस्ट हुन्छ । सञ्चार माध्यमका मालिकहरूका लागि नागरिक त मात्र अपरिपक्व बेवकुफ मात्र रहेछन् ।’

तर वरिष्ठ पत्रकार बद्र्धराजन भने यस्ता प्रकरणबाट हतोत्साही हुनेभन्दा पनि पत्रकारहरूले पाठ सिक्नुपर्ने बताउँछन् । उनी पत्रकारलाई सुझाव पनि दिन्छन्, ‘पत्रकारहरूमाथि विभिन्न दबाब आउनु स्वाभाविक पनि हो । कहिलेकाहीँ माथिबाट प्रत्यक्ष निर्देशनहरू पनि आउने गर्छन् । जुन पत्रकारको स्वाभिमान र पेसागत मर्यादाका खिलाफ पनि हुन सक्छन् । इमानदार र निष्ठावान पत्रकारले हार मान्नु हुँदैन, त्यस्तोमा संघर्ष जारी राख्नुस् ।’ उनले भने, ‘संघर्ष भन्नाले आफ्नो मूल्य–मान्यता र निष्ठामा प्रतिबद्ध रहनु भन्ने हो । यदि कुनै सूचना गलत छ भन्ने लाग्छ भने त्यसमाथि समाचार नबाउन सकिन्छ । तर महत्त्वपूर्ण घटना र सूचनालाई भने कहिल्यै बेवास्ता गर्नु हुँदैन । यति गरियो भने विषलाई फैलन नदिनुस् ।’ र यसमा सम्पादकहरूको भूमिका सबैभन्दा अहं हुने भएकाले सम्पादकहरूले पनि आफू स्वतन्त्र छु मात्र नभनेर त्यसको अभ्यास पनि गर्नुपर्ने बद्र्धराजनको सुझाव छ । उनी थप्छन्, ‘जबसम्म समाचार कक्षमा सम्पादक र पत्रकारले दिनहुँ यस किसिमको विद्रोह जारी राख्छन् भने तबसम्म मिडिया मालिकहरूले पत्रिका र टिभीलाई बद्नाम गर्न जतिसुकै प्रयास गरे पनि पत्रकारिता बाँचिनै रहनेछ ।’

बद्धराजनले दिएको सुझावलाई गम्भीरतापूर्वक नलिने हो भने भारतीय मिडियामाथि फेरि अर्को कोब्राले डस्नेछ र त्यो डसाइ अहिलेको भन्दा विषालु हुने निश्चित पनि छ । त्यसै पनि भारतीय राजनीति तीव्र ध्रुवीकरण उन्मुख देखिन्छ । आगामी लोकसभाको चुनाव नजिकिँदै जाँदा यो ध्रुवीकरण थप बढ्नेछ । र यसैबीच भारतीय सञ्चार माध्यमहरूले फेरि अर्को कोब्राले डस्नबाट आफूलाई जोगाउन पेसागत मूल्य–मान्यतामा अटल रहन्छन् वा सम्झौता गर्छन्, त्यो अबको केही महिनामै प्रस्ट होला । अन्यथा कोब्राको विषबाट सम्पूर्ण आमसञ्चार क्षेत्र नै विषाक्त बन्नेछ ।

प्रकाशित : जेष्ठ १९, २०७५ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?