२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

लापरबाह टिपर चालक

सम्पादकीय

काठमाडौँ — टिपर दुर्घटनाका खबर दिनहुँजसो आइरहेका छन् । गिटी, बालुवा, इँटालगायत सामग्री ढुवानी गर्ने टिपर आफैं दुर्घटनाग्रस्त हुँदा वा तिनले ठक्कर दिनाले कैयौंको ज्यान गइसकेको छ । शुक्रबार मात्रै मुस्ताङमा टिपर दुर्घटनामा पर्दा २० जनाको मृत्यु भयो भने १२ जना घाइते भए, जुन नेपालको सडक दुर्घटनाको इतिहासमा मालबाहक टिपरबाट भएको सम्भवत: सबैभन्दा ठूलो मानवीय क्षति हो ।

लापरबाह टिपर चालक

गत साता टिपरले ठक्कर दिँदा झापामा दुई जनाको मृत्यु भयो । राजधानीमा मात्र पछिल्लो एक महिनामा टिपरको ठक्करबाट छ जनाको ज्यान गइसकेको छ । टिपरका कारण मानवीय क्षति बढ्दै गए पनि सम्बन्धित निकायले भने अनुगमन–नियमन कडिकडाउ गर्न अग्रसरता लिएको पाइँदैन ।

चालकको लापरबाही र फितलो नियमन नै टिपरका कारण बाक्लै दुर्घटना हुने प्रमुख कारण देखिन्छन् । मुस्ताङको लो घ्याकर दामोदरकुण्ड गाउँपालिका–३, स्याङबोचेमामा शुक्रबार भएको टिपर दुर्घटनाको खास कारण खुलिसकेको छैन । बा२क २२१९ नम्बरको टिपर सडकबाट करिब ५० मिटर तल खस्दा ज्यान गुमाउने र घाइते हुनेहरू सडक निर्माणमा खटिएका मजदुर हुन् । विभिन्न जिल्ला घर भई जोमसोम–लोमान्थाङ सडक निर्माणमा खटिएका उनीहरू खाना खाएर टिपरमा काम गर्ने ठाउँ जाँदै गर्दा दुर्घटनामा परेका थिए ।

टिपर खस्दा चालकको समेत मृत्यु भएको छ । दुर्घटनास्थलबाट हेलिकप्टरमा उद्दार गरिएका घाइतेहरू जोखिममुक्त भइसकेका छन् । उनीहरूले उचित उपचार पाउने प्रबन्ध मिलाइनुपर्छ । दुर्घटनामा ज्यान गुमाएका मजदुरहरूको परिवारलाई यथोचित राहतको व्यवस्था सरकार, सम्बन्धित निर्माण कम्पनी र टिपर व्यवसायीले गर्नुपर्छ । सवारी सञ्चालनमा असावधानीका कारण यति धेरै मानिसको मृत्यु हुनु दु:खद् छ । यस्ता दुर्घटना दोहोरिन नदिन सरकारले नीतिगत सुधार, प्रभावकारी नियमन–अनुगमन गर्दै सडकमा अनुशासन कायम गराउन बेलैमा ध्यान दिनुपर्ने देखिएको छ ।

प्राय: अल्लारे चालक हुने र गैरजिम्मेवार ढंगले तीव्र गतिमा कुदाउने हुनाले टिपरले सडकमा आतंक पैदा गरेको देखिन्छ । बढी ‘ट्रिप’ गरेर धेरै कमाउने ध्याउन्नमा चालकहरू अलि खुला सडकमा पुग्नासाथ तीव्र गतिमा टिपर कुदाउने गरेका हुन्छन् । टिपरका कारण भएका दुर्घटनालाई हेर्दा दुईपांग्रे सवारी साधन बढी जोखिममा देखिन्छन् ।

मुस्ताङमा ट्रिपर दुर्घटनाको कान्तिपुर टेलिभिजनले तयार पारेको भिडियो रिपोर्ट :

घाइतेको उपचार/भरणपोषणमा लाग्ने खर्चभन्दा कानुनअनुसार तिर्नुपर्ने जरिवाना कम पर्ने आकलनमा ठक्करले घाइते हुनासाथ जानाजान ज्यानै लिने गलत अभ्यास पनि सवारी चालकमा देखिन्छ । गत महिना भक्तपुरको जडीबुटीमा टिपरले स्कुटरलाई ठक्कर दिएर तीन मिटरसम्म घिसार्दा स्कुटर चालकको मृत्यु भयो । त्यसो त दुईपांग्रे चालकको लेन मिच्ने, गलत तरिकाले ओभरटेक गर्ने, सानो बाटो देख्नासाथ गाडी छिराउनेजस्ता प्रवृत्तिका कारण पनि दुर्घटना हुने गरेका छन् । कतिपय दुर्घटना जीर्ण सडक र नियमित मर्मतसम्भार नगरिएका सवारी साधनका कारण पनि हुने गर्छन् ।

मालबाहक टिपर बढी लापरबाह बन्दा सडक दुर्घटना बढेकाले तिनको आतंक बन्द गर्दै सडकलाई सुरक्षित बनाउनुपर्ने खाँचो छ । यसका लागि दण्डसजायसमेत पुनरावकलोन गर्दै सवारी सञ्चालन नियमन कडिकडाउ गर्न अत्यावश्यक छ । टिपरजस्ता ठूला सवारीका लागि लाइसेन्स लिने प्रक्रिया, उमेर र अनुभवको छुट्टै तथा प्रस्ट मापदण्ड चाहिन्छ । सडकको अवस्था/क्षमता, सवारी साधनको चापका आधारमा गतिको सीमा र टिपर सञ्चालन हुने समय निर्धारण गर्न जरुरी छ ।

तीव्र रूपमा गाडी चलाउने, लेन अनुशासन मिच्ने, जथाभावी ओभरटेक गर्ने, गाडी चलाइरहेका बेला मोबाइललगायतमा अलमलिने प्रवृत्ति निरुत्साहित गर्न कडाइका साथ नियमित अनुगमन गनुपर्छ । टिपर चालकसँगै सडक प्रयोग गर्ने अन्य सबै खाले गाडीका चालक, पैदलयात्री पनि अनुशासित, सडक व्यवस्थित र सवारी साधन दुरुस्त बन्न सके सडक दुर्घटना न्यूनीकरण बन्छ ।

प्रकाशित : असार २४, २०७५ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?