१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

राजनीतिले जे गर्न सक्दैन फुटबलले गर्छ

सम्पादकीय

काठमाडौँ — हरेक चार वर्षमा विश्वकप फुटबल अवसर र सिर्जना लिएर आउँछ । स्वभावैले यसको बढी लाभ विश्वकप आयोजक राष्ट्रले लिन्छ कि विजेता राष्ट्रले । लाभका बाछिटाहरू भने विश्वभरै छरिन्छन् । कतिपय मुलुक/कम्पनीका लागि आर्थिक लाभको मौका हुन्छ, कोहीका लागि मनोरञ्जनको बहाना बन्छ भने कसैलाई कला सिक्ने अवसर ।

राजनीतिले जे गर्न सक्दैन फुटबलले गर्छ

विश्वकप आयोजक देशको प्रतिष्ठासँग जोडिएको हुन्छ । रूसमा आयोजना हुने टुंगो लाग्दादेखि नै सुरक्षालाई लिएर चिन्ता जनाइएको थियो, फुटबल संस्कार नभएको देश भन्ने गरिएको थियो, दर्शक कम होलान्, बरु हुलदंगा हुन सक्ला भन्ने आशंका गरिएको थियो । आयोजक राष्ट्रले देशको प्रतिष्ठा कायम गर्‍यो ।

फुटबल जति सुन्दर खेल हो, उति शक्तिशाली । विश्वकप भइन्जेल यसले विश्वको ध्यानाकर्षण गर्‍यो । भाइचारा बढायो । एकताभाव जगायो । सामूहिक भावना सिर्जना गर्‍यो । राजनीतिले जति विभाजन गरेको होस्, फुटबलले जोड्यो । राजनीतिले जे गर्न सक्दैन, फुटबलले सक्छ भनेर त्यसै भनिएको होइन ।

बीस वर्षपछि विश्वकप ट्रफी उचाल्न सफल फ्रान्सेली टोली हेरौं न । फुटबल उत्कृष्टता प्रदर्शन गर्दा उक्त युरोपेली राष्ट्रले फुटबल मैदानमा प्राप्त सफलताबाट फेरि एकजुट हुने राम्रो बहाना पाएको छ । फ्रान्सेली टोलीमा १४ जना अश्वेत खेलाडी छन् । त्यसमा अधिकांश अफ्रिकी मूलका छन् । धेरैले फ्रान्सको फुटबल टोलीलाई अफ्रिकन युनाइटेड पनि भन्छन् । फाइनलमा गोल गरेका पाउल पोग्बाका दाइ फ्लोरेन्ट पोग्बा अफ्रिकी राष्ट्र गिनीबाट खेल्छन् । फाइनलमा गोल गरेका अर्का किलियन एमबाप्पे पनि अफ्रिकी मूलका हुन् । उनका बुबा क्यामरुन र आमा अल्जेरिया मूलका हुन् । फुटबलले उनीहरूलाई फ्रान्स पुर्‍यायो, उनीहरूले फ्रान्सलाई विश्वकपमा पुर्‍याए र उपाधिसमेत दिलाए ।

विश्वकप विजेता बन्नुअघि फ्रान्सको फुटबल लगभग शून्यबाट उठेजस्तो थियो । चार वर्षअघि ब्राजिलमा भएको विश्वकपका क्रममा फ्रान्सेली टिममा एकपछि अर्को अनुशासनहीनताका घटना देखिए । टिम फुटको क्रमबाट गुज्रेको थियो । यस्तो लागेको थियो, मानौं फ्रान्सेली फुटबल आफैं फुटको संघारमा छ । ठीक त्यही बेला फ्रान्स आफैं पनि सामाजिकदेखि राजनीतिकसम्मका धेरै परिवर्तनबाट गुज्रियो । त्यही कारण फ्रान्स विखण्डनको मोडमा पुगेको अनुमान गरिएको थियो ।

३९ वर्षीय इमानुएल म्याक्रोन फ्रान्सेली राष्ट्रपति भएको एक वर्षभन्दा बढी भएको छैन । उनको कार्यकालमा धेरै फेरदबल भएको छ । सबैभन्दा ठूलो परिवर्तन फ्रान्समा देखिएको एकता हो । त्यो एकता धेरै हदसम्म फुटबलले कायम गरेको छ । राष्ट्रलाई एकीकृत गर्न फुटबल र खेलकुदको शक्ति कति हुन्छ भने फ्रान्सले गोल गरेपछि म्याक्रोनले भीआईपी बक्सबाट खुसियाली मनाइरहेको तस्बिरमा देख्न सकिन्छ । म्याक्रोन र फ्रान्स आतंकवादसँगको लडाइँमा सफल भइसकेका छैनन् । फुटबलको यो सफलताका कारण आतंकवादबाट त्रसित फ्रान्समा शान्त वातावरण छाएको छ । यही शान्त माहोलमा पेरिसस्थित आइफेल टावरअगाडि लाखौं मानिसले फ्रान्सको विजयमा स्व:स्फूर्त जुुलुस निकालेका छन् ।

क्रोएसियाको फाइनलसम्मको यात्रा पनि परीको कथाजस्तै छ । जनसंख्याका हिसाबमा पनि नेपालभन्दा क्रोएसिया धेरै सानो राष्ट्र हो । युगोस्लाभियाबाट सन् १९९१ मा स्वतन्त्र भएको क्रोएसियाले १९९३ मा आधिकारिक फुटबल खेल्न थालेको हो । ४० लाख जनसंख्या भएको यो देश २५ वर्षअघि विश्व फुटबल वरीयता क्रममा नेपालकै बराबरीमा थियो । त्यसको ५ वर्षमा पहिलो पटक विश्वकप खेल्दा सेमिफाइनल पुगेको क्रोएसिया अहिले त्यसै फाइनल पुगेको होइन ।

रूसलाई आयोजना, प्रतिस्पर्धी मुलुकलाई हार–जित तथा अरूलाई राजनीतिक, आर्थिक लाभ–हानिसँगै मनोरञ्जनका कारण अविस्मरणीय बन्दै यसपालिको विश्वकप सकियो । यस्तै, लाभ र अवसरका लागि चार वर्षपछि हुने कतार विश्वकपको कुराइ सुरु भयो ।

प्रकाशित : श्रावण १, २०७५ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?