कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

मेडिकल कलेजको व्यापार

यो अध्यादेशले आलु–प्याजको व्यापारजस्तो गरी मेडिकल कलेज खोल्नलाई नियन्त्रण गरेको छ ।
गौरीबहादुर कार्की

काठमाडौँ — काठमाडौं उपत्यकाभित्र १० वर्षसम्म कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन नदिने भन्ने नेपाल सरकारले डा. केसीसँंग गरेको पूर्वसहमति विपरीत मेडिकल कलेजको सम्बन्धन खुला गर्ने, मेडिकल कलेज चलाउन अस्पताल नभए पनि हुने, एउटा विश्वविद्यालयले जतिसुकै मेडिकल कलेजलाई सम्बन्धन दिनसक्ने, नर्सिङ र स्वास्थ्य इन्स्टिच्युटलाई शिक्षामन्त्री मातहतमा खुला गरिदिने प्रावधान राखिएका छन् ।

मेडिकल कलेजको व्यापार

त्यसै पनि कला, वाणिज्य, इन्जिनियरिङ, आईटी कलेजको नियमनमा भन्दा सम्बन्धन र स्वीकृतिमै शिक्षा मन्त्रालयको ध्यान केन्द्रित छ । अहिले नर्सिङ र स्वास्थ्य इन्स्टिच्युटमा पनि ‘आफ्नो हात जगन्नाथ’ गर्न खोजिएको छ ।

डा. केसीको अभियान उनको एक्लो प्रयासमात्र नभई आम नेपालीको सरोकार र समर्थनको द्योतक हो । डा. केसी एक्लैले त्यो अध्यादेश बनाएका थिएनन् । त्रिविका पूर्व उपकुलपति केदारभक्त माथेमा नेतृत्वमा नेपाल सरकारबाट गठित कार्यदलको प्रतिवेदन र विज्ञ समूहले त्यो अध्यादेश मस्यौदा गरेका थिए । हो, यो विवादको सुरुको विधेयक र पछि अध्यादेश त्यही प्रक्रियाबाट सरकारको सहमतिमा बनेको हो । डा. केसीको स्वार्थमा बनेको होइन । नेपाली र नेपालको हितलाई हेरेर बनेको हो ।

यो अध्यादेशले मेडिकल कलेजका माफियालाई असर पार्छ । खुलमखुल्ला आलु–प्याजको व्यापारजस्तो गरी मेडिकल कलेज खोल्नलाई नियन्त्रण गरेको छ । राम्रो डाक्टर उत्पादन गराउने, जनताले सस्तो र सुलभ रूपमा उपचार पाउनेगरी मेडिकल कलेजहरूलाई नियमन गर्नुपर्छ । यो डा. केसीको मात्र भनाइ होइन, माथेमा कार्यदलको निचोड हो । डा. केसीको सत्याग्रह हो । जनसंख्या, बिरामीको चाप, भौगोलिक सन्तुलनको आधारमा मेडिकल कलेज नभएका स्थानमा मेडिकल कलेज खोल्न प्रोत्साहन दिने प्रावधान छ ।

विश्वविद्यालयहरूले मेडिकल कलेजको नियमन गर्न सक्नेगरी मात्र सम्बन्धन दिन पाउने प्रावधान छ । त्रिवि र केयुले सम्बन्धन दिएका मेडिकल कलेजहरूको नियमन गर्न नसकिरहेको अवस्थामा थप सम्बन्धन दिन रोक लगाएको छ । सम्बन्धन दिएका मेडिकल कलेजमध्ये जनकपुरस्थित जानकी मेडिकल कलेजको कक्षा हुन नसकेको, कर्मचारीले वर्षौंदेखि तलब पाउन नसकेको स्थिति छ । तर सम्बन्धित विश्वविद्यालय, मेडिकल काउन्सिल, स्वास्थ्य र शिक्षा मन्त्रालय नियमनकारी निकायहरू चुप छन् । अन्य कतिपयमा पनि शैक्षिक स्तर न्यून छ । आवश्यक मात्रामा बिरामी पाउँदैनन् । तर त्यतातिर नियमनकारी निकायले हेर्दैनन् ।

अध्यादेश, विधेयकको प्रक्रिया
माथेमा कार्यदलको प्रतिवेदनको आधारमा डा. भगवान कोइराला संयोजक रहेको चिकित्सा शिक्षा आयोगले ०७३ वैशाखमा विधेयकको मस्यौदा सरकारलाई बुझायो । साउन ११ गते राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसद् सचिवालयमा दर्ता भयो । त्यही भदौ २९ गते शिक्षामन्त्री धनीराम पौडेलले संसद्‌मा पेस गरे ।

पहिले विधेयक र पछि अध्यादेश टेबुल गर्दा सरकार सहमत भई दर्ता गरेकोमा सरकारले उक्त अध्यादेशमा संशोधन गर्नु उचित होइन । प्रतिस्थापन विधेयक भनी सरकारले नयाँ संशोधन गर्ने होइन । संसद्‌मा पेस भइसकेपछि अध्यादेश पेस गर्ने बाहेक विपक्षी दल र सरकारमा नरहेका अन्य दल तथा स्वतन्त्र सांसदले संशोधन दर्ता गराउनुपर्ने हुन्छ । छलफलको क्रममा सत्तारुढ दलका सांसदले समेत संशोधन दर्ता गराउन सक्छन् ।

अध्यादेशमा सरकारले संशोधन गरी प्रतिस्थापन विधेयक पेस गरेको सम्बन्धमा डा. केसीले जे भन्यो, त्यो पारित गर्ने होइन । सार्वभौम संसद्को अधिकारमा हस्तक्षेप गर्न पाइँदैन भन्ने कुरा उठेको देखियो । सरकारले एकपटक आफैं सहमत भई कुनै विवाद ननिकाली पेस गरेको विधेयक र पछि अध्यादेशको रूपमा पेस गरेकोमा संशोधन आवश्यक देखेमा विपक्षी दल, अन्य दल र स्वतन्त्र सांसदले संशोधन सुझाव पेस गर्ने हो, सरकारले होइन । दलीय व्यवस्थामा राजनीतिक दलहरूले संसद् चलाउने हो । सार्वभौम सांसदको अधिकार दलहरूबाट प्रयोग हुन्छ । प्रत्येक विधेयकमा दलका सांसदले स्वतन्त्र भएर मत दिन पाउँदैनन् । जतिसुकै सार्वभौमको नाम दिए पनि दलको ह्विपमा सांसद चल्नुपर्छ । ह्विप उल्लंघन गर्न पाइँदैन । यसर्थ सार्वभौम संसद्को अधिकार हनन भएको छैन ।

खोलो उल्टो बगिरहेछ
मेडिकल कलेजलाई काठमाडौं उपत्यकाभित्र १० वर्षसम्म सम्बन्धन नदिने प्रावधानले एमालेको प्रस्तावित मनमोहन स्मृति मेडिकल कलेजलाई धराशायी बनाउन लागियो । सहकारीको नाममा खुलेको अस्पताल र एमालेका नेताहरूको लगानी रहेको प्रस्तावित कलेज मर्न लाग्यो भन्ने उनीहरूको पीर हो । कांग्रेसले खोल्दा विरोध नगर्ने कम्युनिस्टले खोल्दा विरोध किन भन्ने प्रश्न उठाइएको छ । कम्युनिष्ट भनिने, समाजवादी भनिने दलहरूले निजी होइन, सरकारी मेडिकल कलेज बढाउनेतिर लाग्नुपर्ने हो । तर खोलो उल्टो बगिरहेको छ । सत्तारुढ दल बी एन्ड सी झापा र मनमोहन स्मृति मेडिकल कलेज, काठमाडौंले सम्बन्धन पाएमा डा. केसीका अन्य माग वा चिकित्सा शिक्षा विधेयकमा सहमत हुने स्थिति छ ।

नाफा कमाउने मात्र नसोचौँ
मेडिकल कलेज भनेको सुन तस्करीभन्दा पनि निरापद व्यापार हो । सुन तस्करीमा कति झमेला आउँदो रहेछ भन्ने त तत्कालीन डीआईजी नवराज सिलवालले पक्रेको ५५ किलो सुन, सनम शाक्य हत्या लगायत घटनाबाट पुष्टि भइसकेको छ । तर यो मेडिकल कलेज व्यापार भनेको एकपटक सम्बन्धन पाइसकेपछि सुन, लागूऔषध तस्करीभन्दा पनि नाफामूलक छ ।

नेपालमा एकपटक मेडिकल कलेज खोलेपछि वर्षैपिच्छे पढाउने सिट निर्धारणमा, वर्ष–वर्षमा हुने निरीक्षणमा, भारतबाट खडेबाबा फ्याकल्टी ल्याएर मेडिकल र विश्वविद्यालयको जाँच टोलीलाई देखाएर तथा खल्ती भरिदिएर मनसायपत्र लिनेदेखि सम्बन्धन पाउने, सिट बढाउन पाउने सबै काम हुन्छ । एकजना विद्यार्थीबाट पहिले–पहिले १ करोड रुपैयाँभन्दा बढी फी लिइन्थ्यो । डा. केसीको अनशनले घटाएर लगभग ५० लाख लिन थालिएको छ ।

पूर्वाधार र फ्याकल्टीबिना १५० सम्म विद्यार्थी पढाउन प्राइभेट मेडिकल कलेजलाई अनुमति दिइयो । जबकि त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज क्याम्पसमा भने ३/४ दोब्बर फ्याकल्टी भएर पनि पूर्वाधार नभएर, सरकारले बजेट नदिएर एमबीबीएसमा अहिले ७६ जना विद्यार्थी पढाइन्छ । बीडीएस सञ्चालन गरिएकै छैन । सरकारी बीपी कोइराला प्रतिष्ठान धरानमा पनि ३ दोब्बर फ्याकल्टी भएर पनि प्राइभेट कलेजसरह सिट दिइने गरेको छ ।

एक विद्यार्थीबाट ५० लाखमात्र उठाए पनि १५० सम्म विद्यार्थी पढाउने मडिकल कलेजले शिक्षा मन्त्रालयबाट मनसायपत्र र विश्वविद्यालयबाट सम्बन्धन लिन एक पटकका लागि ४०/५० करोड खर्च गर्न सक्छन् । हो, नियमनकारी निकाय तलदेखि माथिसम्म यही करोड–करोडको चास्नीमा डुबेको छ । अनि मेडिकल कलेज खोल्न के–के पूर्वाधार चाहिन्छ ? केको फ्याकल्टी चाहिन्छ ? डा. केसीले भनेझैं मेडिकल माफियाले सबैलाई किनेका छन् ।

कति मेडिकल कलेज छन् ?
काठमाडौंमा अब टोल–टोलमा मेडिकल कलेज खुल्ने अवस्था आउने भयो । अहिले त्रिवि अन्तर्गत १०, केयु अन्तर्गत ११, धरान, वीर र पाटन गरी ३ प्रतिष्ठानसमेत २४ वटा मेडिकल कलेज सञ्चालनमा छन् । राजधानी उपत्यकामा ७ वटा मेडिकल कलेज छन् भने धुलिखेलमा १ समेत आसपासमा ८ वटा सञ्चालनमा छन् ।

मेडिकल कलेज बाहेक राजधानीमा नर्भिक, बी एन्ड बी, ग्रान्डी लगायत अन्य ठूला र महंँगासमेत अस्पताल सञ्चालनमा छन् । कतिपय ठूला भनिएका थुप्रै अस्पताल सर्वसाधारणको पहुँच बाहिर छन् । देशभित्रै सुविधा सम्पन्न अस्पतालहरू हुँदाहुँदै हाम्रा राष्ट्रपति, प्रधानमन्त्री, सांसद लगायत सरकारी ढुकुटीबाट खर्च पाउने नेता र उच्च पदाधिकारीहरू अमेरिका, थाइल्यान्ड, सिंगापुर, भारत लगायत विदेशमा उपचार गर्न जान्छन् ।

मेडिकल कलेज खुला गर्न मरिमेट्ने नेताहरूले नेपालमा उपचार किन गराउँदैनन् ? यो गलत शैली रोक्नुपर्छ । नेपाललाई मेडिकल हब बनाउने हो भने आफू किन विदेशमा उपचार गर्न जाने ? विदेशमा उपचार गराउन सरकारी रकम नदिने कानुनमा व्यवस्था गर्नुपर्छ ।

२ वर्ष अघिसम्म १,६०० विद्यार्थी मेडिकल पढ्न विदेश जान्थे । विदेशमा एमबीबीएस र एमडी पढ्न जान पनि नेपाल मेडिकल काउन्सिलले लिने प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्ने पद्धति लागू भएपछि गतवर्ष ४६० विद्यार्थी विदेश पढ्न गए । त्यति नै विद्यार्थी भारतबाट नेपालमा पढ्न आएका छन् ।

निकास
मूल अध्यादेशलाई यथावत रूपमा पारित गरिए डा. केसीको माग पूरा हुन्छ । सिर्फ त्यो अध्यादेशमा छात्रवृत्तिमा एमडी पढेपछि २ वर्ष सरकारी सेवा गर्नुपर्ने प्रावधान राख्नुपर्छ । चिकित्सा शिक्षा आयोगको अधिकारमा केही थप गर्नुपर्छ । आयोगले ख्याति प्राप्त विज्ञ समूहबाट जाँचपडताल गराएर उपयुक्त ठहराएमा एक पटकका लागि बढीमा २ मेडिकल कलेजलाई सम्बन्धन दिनसक्ने प्रावधान राखिएमा अहिलेको निकास खुल्छ ।

सत्तासीनहरूको इच्छा पूरा हुन्छ । डा. केसीले पनि हठ छाडिदिनुपर्छ, ठूलो उपलब्धिका लागि । जसरी माउसुलीले संकटकालमा ज्यान बचाउन पुच्छर छाडेर भाग्छ, त्यस्तै राष्ट्रिय चिकित्सा शिक्षा ऐन ल्याउन सानो त्याग गर्नु समयोचित हुन्छ । कसैको हार र कसैको जित हुँदैन ।

कार्की विशेष अदालतका पूर्वअध्यक्ष हुन् ।

प्रकाशित : श्रावण ३, २०७५ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?