२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

रञ्जनाको सम्झना

सम्पादकीय

काठमाडौँ — सुरुमा ब्राह्मी भनियो । ब्रह्माको बोली भनेर । शासकहरूकै भाषामा त्यसपछि लिच्छवि भनियो । त्यसैलाई पछि नेवारी भनियो । नेवारी लिपिभित्रै एउटा सुन्दर लिपि विकास भयो । बाह्रौं शताब्दीदेखि त्यो लिपिलाई रञ्जना भनियो ।

रञ्जनाको सम्झना


बौद्ध धर्मका धेरै ग्रन्थ लेखिए । कतिपय हिन्दु ग्रन्थ पनि । सरस्वती बास गर्ने अक्षरलाई सुनको मसीले लेख्न भनियो । अक्षर सुन्दर पार्न डिको दिन थालियो । हेर्दा सुन्दर र बुझ्दा आनन्द । जसले लिपिका अक्षर पढ्यो उसको मन रञ्जन हुने भएकाले रञ्जना नाम काडियो ।


इतिहासकारहरू नेपालको यो मौलिक लिपिको आफ्नै इतिहास ठोस रूपमा ठोकुवा गर्न सक्दैनन्, लिपिकै इतिहास लिपिबद्ध छैन भन्छन् । तर रञ्जना लिपिसँगै काठमाडौं सभ्यताको पहिचान गाँसियो । शताब्दीयौंसम्मका इतिहास, भाषा, संस्कृति, परम्परा, विश्वास र मान्यताका प्रमाण यही लिपिले जोगायो ।


करिब दुई हजार वर्षको इतिहास बोकेको लिपि आफैंमा मौलिक सम्पदा रह्यो । काठमाडौंबाहिर सिञ्जा र डोटीजस्ता पश्चिमी किल्लाहरूसम्म पुग्यो । उत्तरमा चीन हुँदै जापानसम्म । भारतीय सहरहरूसम्म फैलियो । तर राजनीतिक परिवर्तनहरू र बाह्य प्रभावहरूको प्रवाह थेग्न सकेन । शाहकालयता यसलाई राज्यले दुरुत्साहित पार्दै लग्यो । लिपि सुस्ताउँदै जाँदा अहिले त सम्झना मात्रै ।


मठमन्दिरमा हिन्दु, बौद्ध धर्मसम्बन्धी श्लोक, मन्त्र, तान्त्रिक विधि, स्वास्थ्य उपचार विधिलगायत हजारौं पुस्तक रञ्जना लिपिमै लेखिएका छन् । सातौं शताब्दीतिर तान्त्रिक विद्या सुरु भएसँगै मन्त्र लेखिन थालेको मानिन्छ । त्यसकारण यो लिपिको ज्ञानले काठमाडौ सभ्यताको ठूलो कालखण्डको इतिहास बुझ्न सघाउँछ ।


लेख्न गाह्रो हुने, खर्चिलो हुने यही विस्मृत लिपिको जनस्तरमा पठनपाठन भने जेनतेन जारी छ । काठमाडौंको ज्याठास्थित नेपाल लिपि गुठीमा कक्षा लिन जाने विद्यार्थी इतिहासलाई इतिहासकै लिपिले बुझ्न उत्सुक देखिन्छन् । कतिले यसको युनिकोड बनाएर सफ्टवेयरमा राख्न पहल गर्दैछन् । फन्ट बनाउन खोज्दैछन् ।


काठमाडौं उपत्यकाका विभिन्न पुस्तकालय, संग्रहालयमा गरी रञ्जनामा लेखिएका हजारौं हजार ग्रन्थ आफंैमा अथाह सम्पत्ति हुन् । मुद्रण प्रविधिको विकास हुनुअघिका यी ग्रन्थभित्र हातले लेखिएका एकएक अक्षर आफैंमा कलाका स्वरूप हुन् । यिनको अध्ययन गर्ने चाख आजका विद्यार्थी, शोधार्थी र इच्छार्थीहरूमा हुनु आफ्नो सभ्यताको सम्मान र सिकाइ हो ।
त्रिभुवन विश्वविद्यालयको नेपाल भाषा केन्द्रीय विभागले रञ्जनासहित विभिन्न लिपिबारे पठनपाठन गर्छ तर स्नातकोत्तरका दुवै सत्रमा गरी जम्मा बीस, बाइस जना विद्यार्थी हुने गर्छन् । नेपाल भाषामै पढाइलेखाइ गर्न पनि देवनागरी प्रयोग गर्नुपर्ने हुन्छ । लिपि विज्ञानअन्तर्गत लिपि यान्तरण गर्न सिकाइन्छ जसमा एउटा लिपिबाट अर्कोमा बदलेर पढ्न र बुझ्न सकिन्छ ।
त्यसकारण रञ्जनाको जगेर्ना गर्न स्थानीय जागरण जति आवश्यक छ, उति राष्ट्रिय नीति र स्थानीयताको सम्मान । कुनै पनि लिपि राजनीतिले मात्र होइन साहित्यले पनि जोगाउँछ । नेवारी साहित्य पनि देवनागरी लिपिमा लेखिन थालेपछि रञ्जनाका अभिभावक कोही भएनन् । रञ्जनामै साहित्य रचना गर्न र गराउन सोझै नसकिए पनि यसको व्यावहारिक पठनपाठनका लागि प्रविधि प्रयोग प्रोत्साहित गर्न सकिन्छ । कम्तीमा सुरुवात यसको प्रचारबाट त गर्न सकिन्छ । काठमाडौं महानगरपालिकालगायत केही स्थानीय तहले कार्यालयहरूको बोर्ड र लेटरप्याडमा रञ्जना लिपि प्रयोग थालेका छन् तर सुदीर्घ नीति तय गर्न सकेका छैनन् ।


कैयौं रैथाने भाषा जसोतसो बाँचे पनि लिपिविहीन छन् । लिपि नभए आजको छ्यासमिसे समयमा कमजोर भाषा मौलिक रहन झन् गाह्रो हुन्छ । त्यसले अन्तत: समुदायलाई हीनभावग्रस्त बनाइदिन्छ । मौलिक लिपिले समुदायको सभ्यतासँगै आत्मसम्मान बचाइरहेको हुन्छ ।

प्रकाशित : श्रावण ९, २०७५ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?