अनशन सकियो, साँच्चै ?

सम्पादकीय

काठमाडौँ — संसारको सबभन्दा सुखी देश भनेर फिनल्यान्डलाई यस वर्ष राष्ट्रसंघीय दिगो विकास समाधान सञ्जालले घोषणा गर्‍यो । सबभन्दा स्थिर, सबभन्दा स्वतन्त्र र सबभन्दा सुरक्षित देश भनेर त विभिन्न संस्थाले उसलाई किटान गर्दै आएकै थिए ।

उत्तरी युरोपको त्यो देश जहाँ जनता प्राय: माइनस बीस डिग्री सेल्सियस तापक्रम झेल्छन्, कति ठाउँ त मुस्किलले घामको मुख देख्न पाउँछन् । जनता कसरी सुखी त ? वा खुसी ?

अध्येताहरू फिनल्यान्डको खुसीको एउटा रहस्य नि:शुल्क शिक्षा प्रणालीलाई मान्छन् । जनता आफ्नो सुरक्षाका लागि प्रहरी, शिक्षाका लागि नि:शुल्क व्यवस्था र स्वास्थ्यका लागि हेरचाह सुविधाप्रति सबभन्दा ढुक्क पाइन्छन् । उच्च शिक्षासमेत नि:शुल्क । राज्यले हेर्छ, विश्वविद्यालयहरूका लागि जनस्तरबाट पनि हासिल हुन्छ । शिक्षा व्यवसाय वा व्यापारको क्षेत्र मानिँदैन । जनताप्रति राज्यको कर्तव्य । जनता समान हुन् भने शिक्षाको अवसर सबैलाई समान ।

डा. गोविन्द केसीको अन्तरात्माले पहिल्यैदेखि सुनाउँदै आएको त्यही थियो । जतिपल्ट आमरण अनशन बस्नुपरोस् । पन्ध्रौंपल्ट बस्दा भने सबभन्दा धेरै दिन २७ दिन । उनको उपवासले सरकार गल्यो । भोकै बसेका त डक्टर पो थिए । गल्नै थियो भने सुरुमै वार्ताको बुटी प्रयोग गरेको भए हुन्थ्यो । हरेक प्रधानमन्त्रीले त्यही गरे । मानौं प्रधानमन्त्री भएपछि गलेको देखाउनुहुँदैन ।

पहिला त संविधानसभा थियो र पो जुन सरकार पनि प्राय: मिलिजुली । अहिले त बलियो संसद्को दुई तिहाइ सरकार । त्यसकारण उसले वार्तामा केही विलम्ब गर्‍यो । तर गर्नु त पर्‍यो । किनभने डक्टरको अनशन लोकतन्त्रको चुरोमै जोडिएको थियो । देशको विभेदकारी स्वास्थ्य शिक्षा, जसले दुईथरी नागरिक पैदा गरिरहेको छ । शिक्षाजस्तो आधारभूत अधिकारमा पहुँच असमान छ । जनतामा विभेद खडा गरिरहेको छ । लोकतन्त्र नाममा छ, व्यवहारमा भेदतन्त्र ।

शिक्षा उच्च तहसम्मै नाफाबर्द्धक बनाएपछि विश्वविद्यालयहरूले जथाभावी मेडिकल कलेज खोल्न अनुमति दिए । स्वास्थ्य शिक्षाको गुणस्तर खस्क्यो । अनुगमन भएन । पैसा नै सर्वेसर्वा । पैसा र पहुँचको बलमा चिकित्सा शिक्षा । गरिब, दुर्गम क्षेत्रका जेहेन्दार विद्यार्थीमाथि विभेद । उसमाथि प्राय: सबै काठमाडौंकेन्द्रित । उच्च शिक्षाका प्राय: सबै प्राविधिक विषयमा अंग्रेजी माध्यमको पढाइ हुनाले त्यसै पनि कमसल विद्यालयका उत्पादन पहिल्यैदेखि कमजोर ।

सरकारले गरेको सम्झौताअनुसार चिकित्सा शिक्षा उच्चस्तरीय आयोग साँच्चै कबोलिएअनुसार योग्य गठन भयो र त्यसले गुणस्तर, सम्बन्धन, प्रवेश परीक्षा र अनुगमन गर्नेसमेत कार्यादेश पायो भने तै बिसेक हुनेछ । सातवटै प्रदेशमा सरकारले सुविधासम्पन्न ३०० भन्दा बढी शय्याको अस्पताल बनाएर मेडिकल कलेज खोल्न सक्नेछ । सरकार सम्झौतामा गरेको हस्ताक्षरमा प्रतिबद्ध हुने आशा अहिलेलाई गरौं ।

विश्वास गरिहाल्न किन सकिँदैन भने राजनीतिक नेतृत्व र स्वार्थ समूहहरूको सम्बन्ध पारदर्शी बनाउन सक्ने व्यवस्था छैन । स्वार्थ बाझिने सम्बन्धहरूप्रति नेतृत्व सजग छैन र नेताहरूलाई जवाफदेही बनाउन सक्ने प्रणाली छैन । लोकतन्त्र आफूखुसी व्याख्याको व्यवस्था बनेको छ । पहुँचमा समानता र रोजाइमा स्वतन्त्रता नागरिकको नैसर्गिक अधिकार हुन् भनेर तिनलाई सुनिश्चित गर्न संसद् स्वयम्ले पनि आत्मसात् गरेको छैन ।

डा. केसीको अनशनको उपलब्धिलाई खासमा चिकित्सा शिक्षा सुधारमात्र होइन, राज्य नीतिकै बारेमा छलफल गर्ने अवसर बनाउन सकिन्छ । त्यसको अगुवाइ संसद्ले गर्न सक्छ । असली लोकतन्त्रका लागि जनतामा समान पहुँच कसरी प्रत्याभूत गर्ने, विभेदहरू कसरी अन्त्य गर्ने । नत्र त अनशन सकिए पनि असन्तुष्टिको सिलसिला कम हुने होइन, भित्रभित्रै सल्किँदै जानेछ ।

Yamaha

प्रकाशित : श्रावण १३, २०७५ ०७:४१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

धर्मराजमाथि धारिला आँखा

मृत्युको हल्ला चलेपछि धर्मराज थापाले पोखरा र काठमाडौंमा सार्वजनिक सभा गरेर ‘म मरेको छैन, ज्युँदै छु’ भनेर भाषण गर्नुभएछ ।
भैरव रिसाल

काठमाडौँ — जनकवि केशरी धर्मराज थापा ख्वाक्कख्वाक्क खोक्न थाल्नुभो । कताकता असजिलो मान्नुभो । असभ्य भएजस्तो मुखाकृति पार्नुभो । मैले सहजै भनेँ, ‘ज्युँदो मान्छे खोक्छ, ज्युँदो मान्छेलाई खोकी लाग्छ । किन असजिलो मान्नुभएको, असहज ठान्नुभएको ?’

२०५७ मंसिर १२ गते दिउँसो रेडियो सगरमाथा एफएममा म धर्मराज थापासँग ‘उहिले बाजेको पालामा’ साप्ताहिक कार्यक्रम रेकर्ड गर्दै थिएँ । रेडियो, टेलिभिजनजस्ता सार्वजनिक सञ्चार माध्यममा छलफल, अन्तर्वार्ताजस्ता सार्वजनिक कार्यक्रममा खोक्नु, हाछ्युँ गर्नु असभ्य मानिन्छ सामान्यत: । त्यसैले उहाँले असजिलो मान्नुभएको मैले लख काटेँ । असहज र अस्वाभाविक स्थितिमा भएको मान्छेबाट स्वाभाविक अभिव्यक्ति सम्भव हँुदैन । तसर्थ मेरा अतिथिलाई अन्यन्त स्वाभाविक एवं सहज वातावरणमा ल्याउनु मेरा लागि चुनौती थियो । अन्यथा रेकर्डिङको काम दोहोर्‍याउनुपथ्र्यो ।

दोहोर्‍याएर अन्तर्वार्ता गर्नुपर्‍यो भने त्यसको आत्मा मर्छ, सास नभएको लास सिँगारेजस्तो हुन्छ । अतिथिको उत्साह, उमंग खस्कन्छ । यसकारण मैले धर्मराज थापाको खोकीलाई सामान्यीकरण गर्नैपथ्र्यो । त्यसै गरेँ मैले । नभन्दै उहाँ सामान्य हुनुभो, सहज हुनुभो । त्यति मात्र हो र, धर्मराज थापा हौसिनु पनि भएछ मैले ‘ज्युँदो मान्छे खोक्छ के अनौठो भो र !’ भन्दा । ‘तपार्इं मर्नुभो रे’ धर्मराज थापा हौसिनुभो र भन्न थाल्नुभो, ‘कहाँ भैरवजी † देशका सकेसम्म धेरैतिरका लोकगीत संकलन गर्ने हुटहुटीले मनाङ भोटतिर लागेको थिएँ । फर्कन समय लाग्यो ।’ त्यो घटना २०११ साल फागुन–चैततिरको रहेछ ।

६४ वर्षपहिले पोखराबाट मनाङ आउजाउ गर्दा बास बस्न कस्तो थियो होला ? बाटोघाटो कस्तो थियो होला ? तै धर्मराज थापा गैछाड्नुभएछ । लामो समयसम्म उहाँ काठमाडौं नफर्कंदा हल्ला चलेछ काठमाडौंमा– धर्मराज थापा लोकगीत खोज्न मनाङ गएको, मरेछ उतै । यो हल्ला नेपाल बैंकका प्रबन्ध समितिका सदस्य नरप्रताप शमशेर थापाले समाज दैनिकमा छापियो भन्ने सुन्नुभएको रहेछ । नरप्रताप पोखरामा नेपाल बैंकको शाखा खोल्न जानुभएको ।

२०१२ वैशाख १ नव वर्षका दिन पोखरामा बैंकको शाखा उद्घाटन थियो । धर्मराज थापा पनि रमिता हेर्न त्यहाँ पुग्नुभएको । नरप्रतापको आँखा धर्मराजमाथि परेपछि उहाँ छक्क पर्नुभएछ । छक्क पर्नु नितान्त स्वाभाविक भयो । तब नरप्रतापले धर्मराजलाई ‘तपार्इं मरेको खबर समाज पत्रिकामा छापिएको छ रे । तुरुन्त काठमाडौं गई खण्डन गर्नुस्’ भन्नुभएछ । २०११ चैततिर काठमाडौंमा गोरखापत्रबाहेक समाज दैनिक मात्र निस्कन्थ्यो जसको सम्पादक मणिराज उपाध्याय हुनुहुन्थ्यो । नरप्रतापले धर्मराज थापाको मृत्यु भएको खबर समाजमा छापिएको भन्ने बुझ्नुभएको रहेछ ।

धर्मराज थापाले रेडियो सगरमाथामा सुनाउनुभयो, ‘नरप्रताप शमशेरले मलाई तपाइंका बारेमा कनिष्ट सूचक खबर छ, सकेसम्म छिटो अनिष्ट हल्लाको खण्डन गर्नुस् भन्नुभयो ।’धर्मराज थापा आफ्नो जन्मथलो बाटुलेचौरमा घर बनाउँदै हुनुहुँदोरहेछ । तसर्थ काठमाडौं आउनको साटो पोखरामै सार्वजनिक सभा गरी आफू नमरेको, जीवितै रहेको भाषण गर्नुभएछ । त्यसको खबर उही समाज दैनिकमा छापिएको रहेछ । त्यसको पुष्टि उक्त दैनिकका व्यवस्थापक मेरा परम मित्र ब्रजेशराज शर्माले समाज दैनिकको फाइल पल्टाएर गर्नुभएको हो ।

खोकीलाई धन्यवाद
धर्मराज थापाले भन्नुभो, ‘त्यसपछि म काठमाडौं आएँ र मणिराजजीलाई भेटेँ । त्यतिले चित्त बुझेन । अनि केही बुज्रुकसँग सल्लाह गरेर काठमाडौंको भूगोलपार्कमा त्यतिबेलाका बौद्धिक कम्युनिस्ट गोविन्दप्रसाद लोहनीको सभापतित्वमा आमसभा आयोजना गरेँ । म मरेको छैन, ज्युँदै छु भन्ने फुर्तिलो भाषण गरेँ ।’ ४६ वर्षअघिको अनौठो घटनाको रहस्योद्घाटन भो । धर्मराज थापालाई खोकी नलागेको भए र मैले ‘ज्युँदो मान्छेलाई खोकी लाग्छ, खोकेर के फरक पर्छ र †’ भनी नहौस्याएको भए रुचिकर एवं दुर्लभ त्यो घटना इतिहासको गर्भमै हराउँथ्यो । ‘उहिले बाजेका पालामा’ कार्यक्रममा छलफल गर्दा धर्मराज थापा ७७ वर्षमा हिँड्दै हुनुहुन्थ्यो । त्यो उमेरको मान्छेलाई खोकी लाग्नु अनौठो हो र ? त्यसमाथि मंसिर १२ गतेको काठमाडौं खाल्डोको चिसो । कार्यक्रम सञ्चालक म पनि ७२ वर्षको थिएँ ।

‘म ज्युँदै छु’
‘नमरेको मान्छे मर्‍यो’ भन्ने खबर संसारका अरू मुलुकमा पनि यदाकदा छापिने रहेछन् । मैले पत्रकारिता थाल्दा २०१३–१४ तिर पुराना केही पत्रकारले भनेका सम्झना उदाहरणका रूपमा राख्न अनुमति चाहन्छु । बेलायतबाट निस्कने प्रसिद्ध ‘गार्जियन’ भन्ने एउटा पत्रिकाले एकजना प्रसिद्ध मान्छे मरेको समाचार छापेछ । त्यो खबर पढेर मरेको भनिएको मान्छे आफैं आई ‘म मरेको छैन, ज्युँदै छु कसरी र किन यस्तो खबर छापियो ?’ भनी गम्भीर प्रश्न गरेछन् र चर्को आलोचना गरेछन् ।

तर गार्जियनका सम्पादकले भने रे, ‘हाम्रो पत्रिकाले तपाईं मर्नुभो भनेपछि मर्नुभो । तपार्इं मर्नुभएको छैन भनी हाम्रो पत्रिकाको विश्वसनीयतामाथि प्रश्न गर्ने, शंका गर्ने अवस्था हाम्रा लागि मान्य छैन । तसर्थ तपाईं मर्नुभएको छैन भनी खण्डन गर्न असमर्थ छौं । तर एउटा कुरा भने गर्न सकिन्छ त्यो हो, तपाईं फेरि बाँच्नुभो भनेर छाप्ने ।’ नभन्दै त्यसै गरे रे । खबरको विश्वसनीयता साँच्चै कति र कस्तो हुने रहेछ । त्यस्तै संयुक्त राज्य अमेरिकामा पनि यस्तो नमरेको मान्छे मर्‍यो भन्ने छापिने रहेछ बिरलै । ‘मार्क ट्विन’ नाम गरेका प्रसिद्ध मान्छे मरे भन्ने छापिएछ पत्रिकामा । उनी प्रतिक्रिया दिँदै थिए रे, ‘मेरो मृत्युको खबर अलि अतिशयोक्तिपूर्ण रूपमा छापिएछ ।’ यस्ता कुरा संसारका अन्यत्र पनि कहिलेकहिले छापिन्छन् रे ।

करफोक धर्मराज बनाउने माटो
जनकवि केशरी धर्मराज थापाका बारे केही घटना उल्लेख गरूँ । उहाँको उत्थानको प्रारम्भिक कालखण्डमा इलाम जिल्लाको ‘करफोक’ भन्ने परम सुन्दर ठाउँलाई नेपालको शिक्षाको उज्यालो फैलाउने पावन स्थान छनोट गर्नुभएछ शिक्षाविद, शिक्षासेवी, महामनीषी महानन्द सापकोटाले । त्यसको पूर्वांग २००९ सालमा बृहद् कवि सम्मेलनको माध्यम रोज्नुभएछ । अहिले पनि करफोक विद्यामन्दिर नाममा विद्यालय सञ्चालित छ । स्थान साँच्चै अत्युत्तम छ ।

त्यो सम्मेलनमा धर्मराज थापाले ‘हो हो माले हो हो, हो हो झाले हो हो’ भन्ने गीत गाउँदा करफोक डाँडै नाचेको थियो रे । त्यति बेला गीतकार र गायक सुन्दर २८ वर्षे जल्दोबल्दो युवक धर्मराज थापा जनताको आँखाको ‘रातीगेडी’ नै भएको थियो रे । ती महामनीषी महानन्दजीसँग मैले पनि करफोक, धरान र काठमाडौंमा भेटी कुरा गर्ने अवसर पाएको थिएँ । आफूलाई धन्य सम्झन्छु । साँच्चै महामना ऋषिकल्प थिए महानन्द । नाम नै महानन्द किम् अधिकम् । धर्मराज थापालाई ‘जनकवि केशरी’ बनाउने आधारभूत एवं पावन माटो त्यही करफोक हो र ‘तिनै हो हो माले हो हो’ हरू हुन् भन्न मन लाग्छ । करफोक र महानन्द सापकोटाले शिक्षाको पवित्र एवं समुज्ज्वल अजस्र ज्योति वास्तवकै नेपालभरि फैलाए भन्नु बढी नहोला ।

जन्ती र घरगाउँले
धर्मराज थापा २०६३ वैशाख १७ गते मेरो गाउँ दधिकोटमा जन्त आउनुभएछ । हाम्रा मित्र भाइ हरिशरण तथा गीता विष्टकी छोरी सम्झनाको बिहेमा। बेहुला रामजी बोगटीका दाजुपट्टिका नजिकैका नाताले जन्ती भएर आउँदा झ्वास्स भेट भो अप्रत्याशित एवं अकस्मात् । धर्मराज थापा जन्ती, म घरगाउँले । त्यसरी भएको आकस्मिक भेटको अर्कै महत्त्व हुने रहेछ । मैले आफ्नो गाउँका विशेषताबारे किटान गरेर परिचय दिने मौका पाएँ । जन्त आएका धर्मराज थापा परिपक्व हुनुहुन्थ्यो । विषय र प्रसंग हेरेर कहिले गम्भीर बन्नुहुन्थ्यो, कहिले उन्मुक्त हाँसो हाँस्नुहुन्थ्यो । कहिलेकहिले जन्तीको स्वभाव पनि कोट्याउन खोज्ने । म पनि काँठे घरगाउँलेको स्वभाव र व्यवहारको सुषुप्त परिचय दिने चेष्टा गर्थें । अन्य सभा, समारोह एवं जन्तको माहोल निकै फरक हुने रहेछ । त्यो हाम्रो भेट साँच्चै अर्कैखालको भो ।

सत्ताको न्यानो
धर्मराज थापा अन्ततोगत्वा सत्ताको तातोन्यानो बढी मन पराउनेजस्तो लाग्छ । सत्ता फेरिनासाथ उहाँका गीत र प्रस्तुति पनि सहजै फेरिने हुन् कि ? पञ्चायत ढलेपछि थापाको एउटा गीत आयो ‘प्रजातन्त्रको काफल पाक्यो’ हो क्यार । ज्ञानेन्द्रकालमा उहाँलाई निकै संकट पर्‍यो जस्तो लाग्छ । मलाई मन नपर्ने कामचाहिं उहाँका नामको पुरस्कार छोरी ज्ञानु राणालाई दिनु हो । ज्ञानु राणाप्रति मेरो आपत्ति होइन । उहाँको योगदान सानो छैन तर बाआमाको पुरस्कार छोरीलाई दिनु राम्रो हो र ? मात्र जिज्ञासा ।

प्रकाशित : श्रावण १३, २०७५ ०७:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT