१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

इतिहासमा हरेक दिन

सम्पादकीय

काठमाडौँ — इतिहासमा एक दिन हरेकपल्ट आउँदैन । जहिले आउँछ, थाहै नपाई विगतलाई डामेर जान्छ । भविष्यका लागि कुनै कीर्ति राखेर । इतिहास फुत्त उम्केर भविष्य बनिसक्छ जसलाई सपना देखाउनेहरू उपयुक्त शब्द खोजिरहन्छन् ।

इतिहासमा हरेक दिन

अमेरिकी नेता थोमस जेफरसनले कुनै बेला भनेका थिए, ‘मलाई विगतको इतिहासभन्दा भविष्यको सपना प्रिय लाग्छ ।’


नेपाली क्रिकेटका लागि आज त्यस्तै दिन हो । यो दिनको ऐतिहासिकता विगतका राष्ट्रिय
खेलकुद प्रयासहरूको एउटा उपलब्धि हो भने अन्तर्राष्ट्रिय भविष्यका लागि एउटा मुहूर्त । नेदरल्यान्डमा नेपाली टोली पहिलोपल्ट एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा सहभागी हुँदा त्यस्तै
एउटा छाप छाड्नेछन् ।


चार महिनाअघि जिम्बावेमा भएको विश्वकप छनोटमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउँदा नै इतिहासको शिलालेख कुँदेको थियो । अहिले त्यही आधारमा प्रतिस्पर्धामा उत्रिँदै एकदिवसीय खेल्ने आधिकारिक राष्ट्र बन्न लागेको हो ।


नेपाली खेलकुदको गौरवको यस क्षणको नेतृत्व साविक क्रिकेट टोलीले गर्दै छ । नेदरल्यान्डसँग उसकै घरेलु मैदानमा । कप्तान पारस खड्का नेतृत्वको टोलीले सगर्व बोक्ने झन्डाले इतिहास बनाउने पाइला चाल्दै छ ।


मैदान प्रवेश गरेपछि नेपाल विश्व क्रिकेटको एउटा एलिट राष्ट्र बन्नेछ । हाल खेलिरहेका १६ राष्ट्रलाई मात्र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता छ । नेपाल कम्तीमा अगामी चार वर्ष त्यही १६ राष्ट्रभित्र रहनेछ ।


भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशजस्ता छिमेकी भए पनि नेपालका लागि यी देशको क्रिकेटमा छिर्नु असम्भवजस्तै थियो । दक्षिण एसियाका यी देश आफैं क्रिकेटका शक्तिपिण्डहरू हुन् । क्रिकेटको संस्कारले भरिपूर्ण ।


पहिला नेपालले भारतमा जाँदा अभ्यासका लागि एउटा क्लबसँग खेल्नुपर्ने हुन्थ्यो । अहिले एकदिवसीय अन्तर्राष्ट्रियले भारतसँग खेल्ने हैसियत बनेको छ । यी राष्ट्रसँगै समान हैसियत बनाए पनि नेपालले तत्कालै भारत, पाकिस्तानसँग खेल्न पाइहाल्ने भने होइन । अन्तर्राष्ट्रिय एकदिवसीय मान्यताले भने त्यो पुल जोड्ने काम गर्न सक्छ ।


अहिले नेपालले नेदरल्यान्ड्स, स्कटल्यान्ड, यूएईजस्ता देशसँग अधिकतम खेलेर एकदिवसीय अन्तर्राष्ट्रिय उपयोग गर्न सक्छ । अफगानिस्तान, आयरल्यान्डसँग समेत । त्योभन्दा उपल्लो श्रेणीका प्रतिद्वन्द्वी भेटाए नेपालका लागि बोनसै हुनेछ । लक्ष्य पनि त्यही बनाएको जाती ।


पहिलो खेलको ऐतिहासिक क्षण कुनै पनि राष्ट्रले आफ्नो गृह मैदानमा होस् भन्ने चाहन्छ । नेपालको एकमात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुर त्यसका लागि जे जस्तो स्थितिमा भए पनि तयार थियो । तर नेपाली क्रिकेटले अहिले चाहेर के हुन्थ्यो ?


अन्तर्राष्ट्रिय क्रिकेट परिषद्बाट नेपाल क्रिकेट संघ निलम्बित छ । नेपाली क्रिकेटको चाबी अन्तर्राष्ट्रिय क्रिकेटकै मुठीभित्र लुकेको छ । यस्तो बेला नेदरल्यान्ड्स क्रिकेट बोर्डबाट
प्राप्त निमन्त्रणा आफैंमा बलियो सहारा भयो । नेपालले यति चाँडो एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न पायो ।


प्रतिकूल अवस्थामा पनि एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्न लागेको नेपाली क्रिकेट टोलीलाई शुभकामना दिन लागेको यस घडीमा हामी विगतका संघर्ष सम्झिन सक्छौं । नेपाली क्रिकेटका धेरै समस्या अझै घरभित्रकै छन् । आन्तरिक रूपमा मिल्न नसक्दा दुई वर्षभन्दा अघि अन्तर्राष्ट्रिय क्रिकेटले लगाएको निलम्बन फुकुवा अझै हुन सकेको छैन । देशकै क्रिकेट संघ छैन ।


चुचुरोमा पुग्न जति सजिलो छ, त्यहाँ अडिन उति गाह्रो । एकदिवसीय अन्तर्राष्ट्रियमा टिकिरहनु आफैंमा चुनौती हो । आफूभन्दा पछाडि आएको अफगानिस्तान टेस्ट राष्ट्र बनिसकेको छ ।


एकदिवसीय अन्तर्राष्ट्रियबाट अघि बढेर अब नेपालले पनि टेस्ट खेल्ने सपना देखेको छ । विगतको इतिहासभन्दा भविष्यको सपना कति प्यारो हुन्छ, नेपाली क्रिकेट खेलाडी र यसको अभियानमा सक्रियहरूले भन्न सक्छन् ।

प्रकाशित : श्रावण १६, २०७५ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?