आमाको असजिलो

सम्पादकीय

काठमाडौँ — आमा हुन सजिलो छैन । हाम्रा जस्ता गाउँसहरमा त अझ । सार्वजनिक स्थलतिर शिशु कम देखिन्छन् भने स्तनपान असहज छ भन्ने बुझे हुन्छ । काखमा बच्चा लिएर घरबाहिर हत्तपत्त निस्कन गाह्रो मानिन्छ भने हाम्रो समाजमा समस्या छ । रोइरहेका शिशुलाई फकाउन गाह्रो हुन्छ । उनीहरूलाई फुलाउन जहीँतहीँ रोकिएर दूध चुसाउन संकोच हुन्छ ।

आमाको असजिलो

स्वास्थ्य सेवा विभागले बुधबार आफ्नो भवनमा स्तनपान कक्ष स्थापना गर्दा अस्पताल तथा विमानस्थलतिर यस वर्ष ३० वटा त्यस्ता कक्ष बनाउने योजना सार्वजनिक गरेको छ । यो सांकेतिक अभियान हो । विभागका कर्मचारी र नजिकको अस्पताल आउने आमाहरूलाई ध्यान दिएर सुरु गरिएको । देशभरि यसको सही अनुकरण हुनसके सार्वजनिक स्थल आमामैत्री हुन सघाउ पुग्नेछ । आमामैत्री भनेका शिशुमैत्री । भविष्यका लागि स्वस्थ पुस्ता ।


बालरोग विशेषज्ञहरूले स्तनपानलाई सार्वजनिक स्वास्थ्यको एउटा महत्त्वपूर्ण मुद्दा भन्दै आएका छन् । जबसम्म स्तनपानलाई व्यक्तिको रोजाइ मात्र ठानिन्छ, तबसम्म यस्ता मुद्दाको सुनुवाइ हुँदैन । स्तनपान छनोट होइन, कर्तव्यको विषय हो । स्तनपानलाई सार्वजनिक हितको विषयका रूपमा स्वीकार गर्ने र नागरिक जिम्मेवारीका रूपमा अथ्र्याउने संस्कार बसाल्नुपर्ने हुन्छ । स्तनपान शिशुको स्वास्थ्य मात्र होइन, आमाको पनि स्वास्थ्यसँग जोडिएको हुन्छ । समाजकै स्वास्थ्यसँग पनि । देशकै स्वास्थ्य ।


स्तनपान नगराउने आमाहरू आफैँ अस्वस्थ रहने मात्र होइनन्, शिशुको स्वास्थ्यप्रति गैरजिम्मेवार हुन्छन् । स्तनपान मातृ दायित्व हो । त्यसका लागि कामकाजी महिलालाई मातृत्व बिदा बढाउने, लचिलो कार्य अवधि उपलब्ध गराउने, कार्यस्थलमा शिशु दिवासेवा सुविधा राख्नेजस्ता नीतिप्रति बहस हुनुपर्छ । आमाहरूलाई स्तनपानप्रति सजग बनाउन समाजले मातृमैत्री कर्तव्य पनि ख्याल राख्नुपर्छ । सरकारी तथ्यांकअनुसार हाम्रो मुलुकमा अहिले पनि जम्मा ५५ प्रतिशत महिलाले स्तनपान गराउँछन् ।


जन्मेको एक घण्टाभित्र शिशुलाई स्तनपान आवश्यक हुन्छ । जन्मेको छ महिनासम्म पानी पनि नदिई स्तनपान गराउनुलाई पूर्ण स्तनपान भनिन्छ । त्यसपछि अलिअलि ठोस आहारका साथै दुई वर्षसम्म आमाको दूध खुवाउनुपर्छ । यस्ता तीन तहका स्तनपान गर्न अझै पनि ४५ प्रतिशत नेपाली शिशुले पाएका हुँदैनन्, यो आफैँमा चिन्ताजनक हो ।


बच्चाको रोगनिरोधक क्षमता बढाउने, संक्रामक रोग लाग्नबाट बचाउने, पाचन कार्यमा सहयोग गर्ने हुनाले स्तनपानलाई चिकित्सकहरू अमृतपान भन्छन् । त्यस्तो सुविधा नपाउने बच्चाको मृत्युदर बढी हुन्छ । स्तनपानले आमा र बच्चाको सम्बन्ध हार्दिक बनाउँछ । आमालाई मनोवैज्ञानिक फाइदाका साथै स्तन क्यान्सर, पाठेघर खुम्चने रोगबाट समेत बचाउँछ ।


आजकल अस्पतालहरूले शल्यक्रियाद्वारा जन्म गराउने सजिलो प्रक्रियालाई बढावा दिएका छन् । शिशुलाई बोतलका दूधमा बानी पार्न उक्साइदिने गरेका समेत छन् । यसलाई रोक्न २०४९ सालमा कानुन बने पनि कार्यान्वयन हुन सकेको छैन ।


कामकाजी आमाहरूले कम समय दिने र स्तनपान पनि कमै गराउने गर्छन् भने देशले चिन्ता मान्नुपर्छ । आफ्नो शारीरिक सुन्दरताका लागि स्तनपान नगराउनेहरू सन्तानप्रति मात्र होइन, आफ्नै स्वास्थ्यप्रति समेत बेपर्वाह हुन् । शिशु लिएर हिँड्ने असुविधाका कारण पनि सहरी आमा र शिशुको सम्बन्ध बदलिएको छ । शिशुप्रति वात्सल्यमा सम्झौता हुँदै गएको छ । यस्तो जीवनशैली र संस्कारले भविष्यका पुस्ताको जीवन अस्वस्थ पार्दै जाने डर छ ।


गाउँ/देहाततिरका सुत्केरी जो मेलापात, पानी–पँधेरो जानुपर्छ, तिनले पनि त्यत्तिकै चुनौती सामना गर्ने गरेका छन् । तिनका लागि सामुदायिक सहयोग केन्द्र बनाउनेतर्फ स्थानीय सरकारहरू जागृत हुनुपर्छ । सार्वजनिक ठाउँमा स्तनपान संकोचको विषय होइन, आमाको कर्तव्य हो र त्यस्तो सुविधा तयार गरिदिनु समाजको दायित्व भन्ने संस्कार जरुरी छ । बच्चालाई बोतल चुसाउनु अस्वस्थ हुर्काउनु ।

प्रकाशित : श्रावण १८, २०७५ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?