वनस्पतिको विनाश

कमल मादेन

काठमाडौँ — मुस्ताङ, मनाङ, म्याग्दी, गोर्खा र डोल्पा जिल्लाका उच्च हिमाली भेगमा विश्वमा कतै नपाइने गुराँसको एक रैथाने प्रजाति पाइन्छ । सन् १९५२ मा उक्त गुराँस प्रजातिको नामकरण ‘रोडोडेन्ड्रन ल्वोन्डेसी’ भएको हो ।

वनस्पतिको विनाश

यसको बोट ४, ५ इन्च अग्लो र फूल अत्यन्त आकर्षक पहेंलो रङमा फुल्छ । बेलायतका कानुन व्यवसायी जेडिए स्टेन्टनले मनाङबाट उक्त दुर्लभ गुराँस प्रजातिको बीउ सन् १९५४ मा संकलन गरेर बेलायत लगे । जानकारहरूका अनुसार उक्त गुराँस बेलायतमा मनग्यै रोप्ने गरिएको छ । यता, अधिकांश नेपाली वनस्पतिविद् भने उक्त प्रजातिबारे बेखबर छन् ।

लालध्वज प्रजाति
बेलायतका महाराजा जर्ज पाँचौंले चन्द्रशमशेर जंगबहादुर राणालाई नेपालको उच्च भूभागबाट वनस्पतिको बीउ तथा नमुना संकलन गरी बेलायत पठाउन अनुरोध गरेका थिए । चन्द्रशमशेरले चाँजोपाँजो मिलाउन नेपाली सेनामा कार्यरत मेजर लालध्वज सुनुवारलाई खटाए । मेजर लालध्वजले पश्चिम, मध्य र पूर्वी नेपालबाट वनस्पतिको बीउ र नमुना संकलन गरे । उनी सेनाको टुकडीसहित वनस्पति संकलन गर्न जान्थे । यो कुरा पंक्तिकारसँग उनकी एक बुहारीले ६ वर्षअघि बताएकी थिइन् । उनले के कति प्रजातिका बीउ तथा नमुना संकलन गरे भन्ने जानकारी छैन तर उनले उल्लेख्य संख्यामा रैथाने प्रजाति संकलन गरे । उनको निधन वनस्पति संकलनकै दौरान सन् १९३१ मा मुक्तिनाथमा जनैपूर्णिमाको दिन भयो ।

लालध्वजले संकलन गरेको एक नमुना वनस्पतिविद सिरो कितामुरा (सन् १९०६–२००२) ले लालध्वजकै सम्झनामा ‘सौसुरिया ध्वजी’ नामकरण गरे । त्यो सहित उनैले संकलन गरेका नमुनाबाट ‘सिनोकारुम नोर्मानियएनम,’ ‘ओनोस्मा बेरुकुलसोसम’, ‘कोलुटिआ मल्टिफ्लोरा’, ‘जेन्टिनिया पेन्टास्टिक्टा,’ ‘मेकोनोप्सिस ग्रासिलिप्स,’ ‘प्रिमुला डिडिमा’ नामकरण गरिएका हाम्रा रैथाने वनस्पति हुन् । ‘एकोनिटम ध्वजी,’ ‘टेट्राटाइनियम लल्ली,’ ‘मेकोनोप्सिस ध्वजी’, ‘सेक्सिफ्रागा स्फेइराडेना उपप्रजाति ध्वजी’ लालध्वजकै सम्झनामा नामकरण गरिएका गैररैथाने प्रजाति हुन् । लालध्वजबाट लालध्वजिया नामक एक जिनस (जात) नै नामकरण गरिएको छ । उक्त जातका संसारभरमा ४ प्रजाति नामकरण भएका छन् ।

उनको निधनपछि उनको कामको जिम्मा खडानन्द शर्मालाई दिइयो । शर्माका नाममा एक रैथाने वनस्पतिले ‘प्रिमुला शर्मी’ नाम पाएको छ । त्यो वनस्पतिको बीउ शर्माले सन् १९३१ मा मुक्तिनाथ क्षेत्रबाट संकलन गरेका थिए । त्यसको बीउ बेलायतस्थित तत्कालीन रोयल पार्कमा उमारियो । वनस्पतिविद् एचआर फ्लेट्चरले उक्त बीउबाट उमारिएको वनस्पति विश्वको निम्ति नयाँ पाए र सन् १९४१ मा त्यसको नाम शर्माको सम्मानमा ‘प्रिमुला शर्मी’ लेखे । शर्माले संकलन गरेका नमुनाबाट नामकरण गरिएका अन्य रैथाने प्रजाति ‘सायन्यान्थस हेयनस’, ‘साइलिन हेल्लेबोरिफ्लोरा’, ‘जेन्टिनिया रेडिकान्स’, ‘इयुफ्रासिया नेपालेन्सिस’ हुन् । वनस्पति अध्ययन, अनुसन्धान क्षेत्रमा खडानन्द शर्माको योगदान महत्त्वपूर्ण छ तर उनीबारे थोरै मात्र जानकारी छ ।

जन्तु तथा वनस्पतिको नेपाली रैथाने सूची विभिन्न प्रकाशनमा पाउन सकिन्छ । त्यसमध्ये फूल फुल्ने वनस्पतिको रैथाने सूची निकै पटक वन मन्त्रालयको वनस्पति विभागले प्रकाशन गरेको छ । पछिल्ला प्रकाशनहरूअनुसार नेपालमा ३ सय १३ प्रजातिका फूल फुल्ने रैथाने वनस्पति प्रजाति सूचीकृत छन् । यहाँ लगभग ६ हजार प्रजातिका फूल फुल्ने वनस्पति भएको अनुमान छ । फूल फुल्ने वनस्पतिमध्ये करिब ५ प्रतिशत रैथाने छन् । तिनीहरूमध्ये २० प्रतिशत अर्थात ६३ प्रजाति अन्नपूर्ण संरक्षण क्षेत्रमा छन् । रैथाने प्रजाति बाहुल्यका कारण अन्नपूर्ण संरक्षण क्षेत्र जैविक भूगोलका लागि ‘हब एरिया’ हो । यो क्षेत्र मुस्ताङ, मनाङ, म्याग्दी, कास्की, लम्जुङ जिल्लामा फैलिएको छ । मुस्ताङमै मात्र ३५ प्रजाति अर्थात ११ प्रतिशत रैथाने प्रजाति छन् ।

मुस्ताङमा फूल फुल्ने वनस्पति समूहको ३५ प्रजाति मात्रै रैथाने छन् भन्नु अन्यथा हुन्छ । अहिले सूचीकृतमध्ये नै मुस्ताङबाट संख्या थप हुन सक्छ । किनभने अनुसन्धानकर्ताहरूले सूचीकृत गरेका ३१३ प्रजातिमध्ये २७ प्रजाति कुन जिल्लाबाट संकलन गरिएका थिए, यकिन भइसकेको छैन । संकलन गरेको ठाउँको नाम मात्र छ । २७ मध्ये २२ प्रजातिमध्ये नेपालबाट संकलन भएका हुन् । नमुनामा उल्लिखित स्थान पोङसिङ, खहरे खोला, बिर्ता खर्क, तेते, पंजेन, मुल्मुले खोला, भूत पोखरी, सेर्माबी, बरबुङ खोला, चिसे, बाङ्गा खोला, बास्ता भन्ज्याङ मध्यनेपालका कुनकुन जिल्लामा पर्छन्, थप अध्ययन आवश्यक छ ।

सामान्यत: अभिलेख राख्ने क्रममा वनस्पति पाइएको जिल्ला, ठाउँको नाम, भूसतहको उचाइ, अक्षांश, देशान्तर, वनस्पतिको सटिक विवरण, संकलनकर्ता, पहिचानकर्ता लेख्नुपर्छ । नेपालको वनस्पतिको वैज्ञानिक अध्ययन अनुसन्धान सन् १८०२ मा सुरु भएको हो । त्यसबेला अहिलेका जिल्ला नामकरण भएकै थिएनन् । त्यसैले उहिले संकलन गरिएका नमुना कुन जिल्लाबाट संकलन भएका थिए भन्ने थाहा पाउन वरिष्ठ वनस्पतिविद केशवराज राजभण्डारीसहित वनस्पति विभागका वनस्पतिविद सञ्जीवकुमार राई, गंगा भट्ट, रीता क्षत्री, सुवास खत्रीले मिहिनेत गरेका छन् । उनीहरूको अथक अध्ययनको परिणामबाट रैथाने ३१३ प्रजातिमध्ये २८६ प्रजाति कुन जिल्लाबाट संकलन गरिएका थिए भन्ने पहिचान भइसकेको छ ।

विभागको अव्यवहारिक नीति
हाम्रा सबै रैथाने प्रजातिका नमुना छैनन् । विदेशमा संगृहीत छन् । वनस्पतिका नमुना वनस्पति विभागअन्तर्गत रहेको ‘नेसनल हर्वारियम तथा वनस्पति प्रयोगशाला’ गोदावरीमा संगृहीत छ । नेपालमा ६ हजार प्रजाति फूल फुल्ने वनस्पति हुन सक्ने अनुमान छ । त्यसमध्ये ४ हजार ४ सय ४३ प्रजातिका नमुना ‘नेसनल हर्वारियम तथा वनस्पति प्रयोगशाला’ मा संगृहीत छन् भन्ने जानकारी वनस्पति विभागले प्रकाशन गरेको ‘क्याटलग अफ नेप्लिज फ्लावरिङ प्लान्ट्स, पार्ट १–३ र सप्लिमेन्ट एक’ बाट पुष्टि हुन्छ । अर्को जानकारीअनुसार उक्त संग्रहालयमा ४ हजार ४ सय ४३ प्रजातिका करिब १ लाख ६० हजार थान नमुना छन् । त्यसमध्ये १३० प्रजाति रैथानेका नमुना संगृहीत रहेको कार्यालय स्रोतले जनाएको छ ।

नेपालको रैथाने सम्बन्धित तथ्यांक प्रकाशित पुस्तक तथा वैज्ञानिक लेखबाट तयार गरिएका हुन् । ती रैथाने प्रजाति तिनका प्राकृतिक बासस्थानमा के कस्तो अवस्थामा छन् भन्ने जानकारी शून्य बराबर छ । यस अर्थमा नेपालमा वनस्पतिसम्बन्धी अध्ययन, अनुसन्धान एकदमै कम भएको मान्नुपर्छ । सन् १८०२ देखि १९६० सम्म नेपालको वनस्पति विदेशीले मात्रै अध्ययन, अनुसन्धान गर्थे । लालध्वज सुनुवार र खडानन्द शर्मा नेपाली भए पनि उनीहरूले बेलायतका लागि वनस्पति संकलन गरेका थिए । नेपाल सरकारले नेपालको वनस्पति अध्ययन, अनुसन्धान सन् १९६१ मा ‘डिपार्टमेन्ट अफ मेडिसिनल प्लान्ट्स’ स्थापना गरेयता सुरु गर्‍यो । उक्त विभाग हिजोआज वनस्पति विभागको एक शाखा ‘राष्ट्रिय हर्वारियम तथा वनस्पति प्रयोगशाला’ का रूपमा छ । वनस्पति संकलन, अध्ययन, अनुसन्धान कार्य त्यही शाखाले गर्दै आएको छ । जापान तथा बेलायतका वनस्पतिविद बर्सेनिजसो १/१ महिना नेपालका विभिन्न भागमा वनस्पति संकलन गर्न आउने गरेका छन् ।

वनस्पति विभागको अहिले प्रावधान कस्तो छ भने जहाँ गए पनि १ साताभित्र अनुसन्धानकर्ता काठमाडौं आइपुग्नैपर्छ । यसअनुसार पूर्व ओलाङचुङगोला होस् अथवा हुम्लाको लिमी क्षेत्र वनस्पति संकलन, अध्ययन गर्ने काम १ सातामा सम्पन्न गर्नुपर्ने हुन्छ । यसका लागि काठमाडांैबाट वनस्पति अध्ययन, अनुसन्धान गर्ने टोली दुर्गम ठाउँमा जहाँसम्म हवाईजहाजबाट जान सकिन्छ, त्यहाँसम्म जहाजमा जान्छन्, त्यसपछि पैदल हिंड्दै तोकेको ठाउँ पुगेर १ सातामा टुप्लुक्क कार्यालय हाजिर गर्न आइपुग्छन् । यसैले अहिलेसम्म हुम्लाको लिमी क्षेत्रमा वनस्पति विभागले कसैलाई वनस्पति संकलन गर्न पठाउन सकेको छैन । त्यहाँ पुग्न हुम्लाको सदरमुकाम सिमकोटबाट कम्तीमा ५ दिन लाग्छ । त्यो पनि जाने बाटो सधैंभरि हुँदैन । हिउँले पुरिएको हुन्छ । चैत–वैशाखदेखि असारसम्म जान सहज हुन्छ ।

नेपालमा रैथाने प्रजातिबारे विशेष खोज, अनुसन्धान भएकै छैन । केही प्रजाति करिब २ सय वर्षअघि पत्ता लागेका हुन् । तिनीहरू अहिले अस्तित्वमा छन्/छैनन् कुनै खोज भएको छैन । सरकार वन तथा भूसंरक्षण मन्त्रालयले प्रकाशन गरेको ‘वन नीति’ (२०७१) मा लेखिएको छ– ‘नेपालको कुनै पनि जैविक विविधता र जैविक स्रोत नष्ट हुन नदिने व्यवस्था मिलाइनेछ’ (पृष्ठ १०) । हाम्रा रैथाने वनस्पति लोप भए विश्वबाटै लोप हुने यथार्थ छ । यसैले तिनको सुरक्षा गर्ने जिम्मा नेपालीकै हो । अब ‘वन नीति’ मा लेखिएअनुसार हाम्रा रैथाने प्रजातिप्रति राज्यले विशेष ध्यान पुर्‍याउन जरुरी छ ।

वनस्पति वा जन्तु प्रजाति कुनै खास भूगोल अथवा एक देश विशेषमा मात्र पाइए त्यस्ता प्रजातिलाई जीवन विज्ञानअन्तर्गत उल्लिखित भूगोल वा देशको रैथाने प्रजाति (इन्डेमिक स्पेसिस) भनी बुझिन्छ । यसर्थ, रैथाने प्रजाति कुनै देश, टापु, उच्च भूशृंखला, मरुभूमि विशेषका हुन्छन् । बासस्थानको विशिष्ट बनावटका कारण मौजुदा बासस्थानबाट रैथाने प्रजाति अन्यत्र फैलिन नसकिरहेको अवस्था हुन्छ । मानिसले जानीजानी एक देशका रैथाने प्रजातिलाई अन्य देशमा लगे त्यो जुन देशमा प्राकृतिक रूपमा मात्र पाइन्छ, त्यो त्यही देशको रैथाने मानिन्छ । जस्तो– चीनमा पाइने संसारकै ठूलो पान्डा प्रजाति विश्वका कतिपय चिडियाघरमा भए पनि त्यो चीनको रैथाने मानिन्छ ।

मादेन वनस्पतिविद् हुन् ।

प्रकाशित : श्रावण २०, २०७५ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?