करेसाबारी पो कक्षाकोठा

सम्पादकीय

काठमाडौँ — विद्यालयले विद्यार्थीलाई व्यावहारिक बनाउनुपर्छ कि पर्दैन भन्ने बहस गर्‍यौं भने अहिल्यै जवाफ नआउन सक्छ । हाम्रो विद्याको निश्चित दिशा छैन । योग्य उत्पादन भए भने विदेश निर्यात, नभए देशमै अल्झिन यसो यताउति कामकाज । त्यति पनि नभए बेकार ।

करेसाबारी पो कक्षाकोठा

विद्यालय केका लागि भन्ने प्रश्नको जवाफ विद्यार्थीको भविष्यसँग जोडिएको हुन्छ । विद्यार्थीलाई भविष्यको कर्णधार भन्ने तर कुनै जिम्मेवारी नदिने शिक्षा संस्कारले सबैथोक बिगारेको छ । विद्यालय भनेका बेकारीका स्थलजस्ता हुन पुगेका छन् । विद्यार्थीलाई पास गराएर पठाए पुग्यो । नम्बर दिलाउने, प्रमाणपत्र जुराउने ।

स्याङ्जाको ध्रुवज्योति माध्यमिक विद्यालयले कक्षाकोठा र खेतबारीबीच व्यावहारिक ज्ञानको संयोजन गर्न थालेको समाचारले बरु केही सन्देश दिन खोजेको छ । कक्षाकोठासँग करेसाबारी जोड्दा बिरुवाको जरादेखि हाँगाबिँगासम्म, पातपतिङ्गरदेखि माटोसम्म, अन्न उब्जनीदेखि बजार भाउसम्मका विषयवस्तु विद्यार्थीले बुझ्न सक्नेछन् । यतिका विधि विद्यालयले विशेष केही नगरिरहेका बेला कम्तीमा विद्यार्थीलाई केही व्यावहारिक गृहकार्य त दियो ।

हुन त आफ्नो बारीमा तरकारी फलाउने केटाकेटी नै विद्यालयमा सक्रिय भएका हुन् । घरबारीमा काम गरेर अन्न फलाएबापत केटाकेटीले पैसा पाउँदैनन्, हिसाबकिताब, रखनधरन आफैं गर्न सक्दैनन्, त्यही सूत्र विद्यालयमा सिको गर्दा खासै फाइदा हुँदैन । किनभने कापीकिताब किन्न र फुर्मास गर्न पनि उनीहरूले अभिभावकको मुख हेर्नुपर्छ । कमाउने तर आफूले खर्च गर्न नपाउने तरिकाबाट विद्यार्थी व्यावहारिक हुन सक्ने होइनन्, विषयवस्तु बोध गर्नसम्म सक्ने होलान् ।

केही वर्षयता कृषिविद् मदन राईले खोटाङका विद्यालयमा करेसाबारी कज्याउने, विद्यार्थीका आय बढाउने र अभिभावकलाई सहयोग गर्ने गरेको अनुकरणीय छ । त्यसैगरी ‘टिच फर नेपाल'ले सिन्धुपाल्चोकमा सिकाएका विद्यार्थी च्याउ खेतीबाट आयआर्जन गर्न र आफैं विद्यालय महसुल तिर्न, कापीकलम किन्न सक्ने भएका उदाहरण पनि छन् । विद्यार्थीलाई व्यवहारमार्फत शिक्षा दिनु उनीहरूलाई भविष्यका निम्ति तयार गर्नु हो ।

काठमाडौं उपत्यकाभित्रै पनि कति यस्ता समुदाय छन् जसले बालबालिकालाई काममा लगाउँछन्, बेचेर आएको पैसा अभिभावकले आफ्नै खल्तीमा राख्छन् । विद्यार्थीले आफैं आय गर्ने, आफैं सिक्ने र आफैं रमाउने क्रियाकलाप गर्न पाए भने बल्ल व्यावहारिक शिक्षा पाए भन्ने मानिन्छ । उनीहरूले काम गरेबापत आर्जेको रकम बचत गर्ने संस्कार पनि पाउँछन् । सीप भएर पुग्दैन । पुग्ने भए सबैभन्दा धेरै सीप भएका दलित समुदाय किन पछाडि पर्नुपथ्र्यो ?

सीपलाई बजारसँग जोड्ने क्षमता र बजार शैलीको कमी भविष्यका पुस्ताले मेट्न सक्नुपर्छ । तर हाम्रा सामुदायिक विद्यालय बेरोजगार उत्पादन गर्ने केन्द्र हुन पुगेका छन् । पाठ्यक्रम कोरा सैद्धान्तिक छ । कक्षाकोठासँग करेसाबारी जोडिएको छैन वा विज्ञान प्रयोगशाला । शिक्षकले विद्यार्थीलाई किताबमा भएको मात्र पढाए, घोकाए, जाँचमा नम्बर ल्याउन उत्प्रेरित गरे । व्यावहारिक बन्न सिकाएनन् ।

युरोपका कति लोकतान्त्रिक देशमा ७० प्रतिशतसम्म विद्यार्थीलाई विद्यालय तहमै व्यावहारिक शिक्षा दिइन्छ । बाँकी ३० प्रतिशत अन्यत्र लाग्छन् । १५ वर्षको उमेरभित्रै कमाउन थाल्छन् । प्राविधिक र व्यावसायिक शिक्षालय प्रवेश गरेपछि झन् व्यावहारिक हुन्छन् ।

विद्यालय खासमा विद्यार्थीलाई व्यावहारिक विश्वको ज्ञान दिलाउने प्रयोगशाला हुन् भन्ने सावित गर्नुपर्नेछ । विद्यालय घोकन्तेशाला होइनन्, रचनाशाला हुन् । पढन्तेशाला होइनन्, ज्ञानशाला हुन् । विद्यालय आफू वरिपरिको समाज र बाहिरको संसारले सामना गरिरहेका समस्याबारे सिर्जनशील बन्न सिकाउने स्थल हुन् । विद्यालय हाम्रा भविष्य हुन् । तपाईंको टोल, छिमेकको विद्यालय कस्तो छ ?

प्रकाशित : श्रावण २१, २०७५ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?