कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

रामसारपछि सिमसार

सम्पादकीय

काठमाडौँ — इरानको रामसार सहरमा सन् १९७१ मा त्यस्तो पहिलो सम्मेलन भयो जसले सिमसारसम्बन्धी छलफल गर्‍यो । सिमसार भनेको त्यस्तो ठाउँ ‘जहाँ पानी सुक्दैन, जमिन लुक्दैन’ । अझै पनि सिमसारलाई रामसार, रामसारलाई सिमसार भनिन्छ । झुक्किएर होस् वा नझुक्किई । प्रकृतिको यो महत्त्वपूर्ण सम्पदा भने हामीसँग झुक्किँदै सुक्दै गएको छ र हामीलाई झुक्याउँदै लुक्दै गएको छ ।

रामसारपछि सिमसार

सिमसार भनेको पोखरी । यसले दूषित वस्तु सोसेर पानीलाई शुद्ध बनाइदिन्छ । मुहान शुद्ध पार्छ । कुवा शुद्ध हुन्छ । त्यसैले यसलाई ‘प्रकृतिको मृगौला’ पनि भनिन्छ । सिमसार हिमालयदेखि समुद्रसम्म हुन्छ । ६ मिटरभन्दा कम गहिराइका सामुद्रिक किनारलाई पनि सिमसार भनिन्छ । संसारभरि कुल क्षेत्रफलको ९ प्रतिशत सिमसारले ओगटे पनि नेपालमा भने अहिल्यै जम्मा ५.५ प्रतिशत क्षेत्रफल छ ।

सिमसार जीवन हो र जगत् पनि । पानीको स्रोत भएकाले पारिस्थितिकीय चक्रको संरक्षक । यसले खाद्य सुरक्षा गर्छ । सिँचाइ दिन्छ । जैविक विविधता जोगाउँछ । आस्था पनि । जस्तो– घोडाघोडी ताल, गोसाइँकुण्ड, चतरा क्षेत्र, तालबाराही मन्दिरमा पूजा–आराधना हुन्छ । पर्यटक गन्तव्य हुनाले आय र रोजगारीका पनि मुहान । तर नजिकका तालतलैया हेला हुन थाले । मरेका जनावर गड्ने, फोहोर फाल्ने ठाउँमा परिणत हुन थाले । वेटल्यान्डलाई वेस्टल्यान्ड बनाउन थालियो । दलदले, जलजले, धाप भएर होला सरकारले पनि हेप्न थाल्यो । जग्गाको वर्गीकरण गर्दा अब्बल, दोयम, सिम र चाहार भनी सिमसारलाई तेस्रो दर्जा दियो ।

जनताले पनि सर्प, भ्यागुता, लामखुट्टे बस्ने, काम नलाग्ने जग्गा भन्ने बुझे । सेपिलो भूमि होइन, सडेको भूमि । जनचेतना अभाव र मानिसमा लालसाको वृद्धिले प्रकृति मासिन थाल्यो । शरीरको मृगौला बेच्ने विकृति सुरु भयो । पहिलेका स्थानीय निकायहरूले जहाँ जस्तो ठाउँ पनि सडक खन्न र जमिन खोस्रन खुला गरे । अहिलेका स्थानीय सरकारहरूले त्यही सिको राखेका छन् । वातावरणीय प्रभाव मूल्यांकन कतै पनि गर्ने गरिएको छैन । फलत: पहाडी क्षेत्रमा कुलो, कुवा र पैनीहरू हराए, लुके । त्यस्ता ठाउँ त्यसै पनि ढुंगा, गिट्टी, बालुवा दोहनले नासिँदै आएका थिए । तराईतिर पनि त्यस्तै ।

सन् १९७६ मा कोसीटप्पुलाई सिमसार क्षेत्र घोषणा गरिएको थियो । यस्ता क्षेत्र जम्मा १० वटा घोषित छन् । अब दुई वर्षमा चार वटा थप्ने भनिएको छ । तर ऐन छैन । राष्ट्रिय नीति बनेको पनि ६ वर्षमात्र भएको छ । सिमसारबारे अतिचार जारी रहेका बेला नवलपरासीका सुनवलवासीले हालै एउटा कृत्रिम सिमसार निर्माण गरेका छन् जसलाई आकाशे पानीले भर दिँदा स्थानीय जलचरमात्र होइन, जनावरहरूले पनि तिर्खा मेट्न पाउनेछन् । ताल संरक्षण गर्न गण्डकी प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा प्राधिकरण बनाउने घोषणा गरेको छ । पहिलो भएकाले कार्यान्वयन कसरी गर्ला, चुनौतीपूर्ण छ । कानुन चाहियो र कारबाही ।

दक्षिण कोरियाको सिचुवान वेस्थित खेतमा रसियादेखि उडेर आएका चराले धान खाइदिन्थे । किसानको गुनासोपछि सरकारले निर्णय गर्‍यो– उत्पादनको ज्याला किसानलाई दिने र धानजति चरालाई । किसान खुसी, चराहरू पनि । पछि त पर्यटकहरू आउन थाले, राजस्व बढ्यो । प्रकृतिमा गरेको लगानीले प्रतिफल दिन्छ । जस्तो– नेपालकै कपिलवस्तुको जगदीशपुर तालमा पनि त्यस्तै भएको थियो । जिविसले माछा मार्ने ठेक्का दिएर रामसार क्षेत्र तहसनहस पारिदियो । सर्वोच्च अदालतमा मुद्दा परेपछि बल्ल जोगियो ।

प्रकाशित : श्रावण २७, २०७५ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?