१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

दुवै पुस्तामा दृष्टिभ्रम

देशको भविष्यको चिन्ता गर्ने त एउटा नभए अर्को भइहाल्छ । तर कांग्रेस नेताहरू आफ्नै भविष्यप्रति यति धेरै उदासीन किन हुन सक्छन् ?
विष्णु सापकोटा

काठमाडौँ — निर्वाचनबाट खुम्चिएको र प्रतिपक्षी दलका रूपमा समकालीन समाजका मुद्दाको नेतृत्व गर्ने धेरै सान्दर्भिकता नदेखाएको हालको नेपाली कांग्रेसको अवस्थिति राजनीतिक दृष्टिकोणबाट विमर्श गर्न त्यति रोचक र महत्त्वपूर्ण छैन । तर कांग्रेसको यही स्थिति नेपालका दल र तिनका प्रत्यक्ष लाभग्राहीको चरित्र बुझ्नका लागि प्राज्ञिक रूपमा सबैभन्दा रोचक र अर्थपूर्ण छ ।

दुवै पुस्तामा दृष्टिभ्रम

दुनियाँमा धेरै कम देश होलान्, जहाँ कुनै एउटा मुद्दामा सरकार अलोकप्रिय भएको हुन्छ, तर त्यही अलोकप्रिय मुद्दा विरुद्ध प्रमुख प्रतिपक्षी दल आन्दोलित भयो भने फेरि उल्टै सरकारलाई फाइदा पुग्छ । किनकि न जनताले उसलाई प्रतिपक्षीका रूपमा बुझ्न चाहेका छन्, न उसले आफूलाई भित्रैदेखिको प्रतिपक्षी ठान्छ ।

उदाहरण धेरै छन् । तर दुइटाको संक्षिप्त चर्चामार्फत यस आलेखको मूल ‘थेसिस’तर्फ प्रवेश गराैं । पछिल्लो पटक डा. गोविन्द केसीको आन्दोलनले जब उचाइ लिँदै थियो, त्यसमा नेपाली कांग्रेस सम्बद्ध तरुण दल पनि सडकमा मिसियो । त्यसपछि केसीको सत्याग्रही आन्दोलनका पक्षमा लागेका धेरैले एकपटक अडिए र सोच्न थाले : कांग्रेस नै सामेल हुनथालेपछि कतै यो आन्दोलन नै गलत त होइन ? आन्दोलन गलत थिएन र धन्न यो सफल पनि भयो ।

तर तुलनात्मक रूपमा बौद्धिक र कुनै दलप्रति तीव्र आशक्ति भाव नदेखाउने नागरिक वृत्तभित्र अहिलेको प्रमुख प्रतिपक्षी दल कस्तो ‘इमेज’ राख्छ भन्ने बुझ्न यो परिघटना निकै उपयोगी थियो । दोस्रो उदाहरण, संवैधानिक परिषद्ले सिफारिस गरेका दीपकराज जोशीलाई प्रधान–न्यायाधीशमा स्वीकृत नगर्नेतर्फ संसदीय सुनुवाइ समिति अग्रसर हुँदै थियो । विगत र विवादका कारण जोशी कमजोर हुँदाहुँदै पनि कतिपयले सोच्न थालेका थिए : कतै यो दुई तिहाइको ‘कम्युनिष्ट’ सरकारले अदालतभित्र खेल्न त खोजेको होइन ? पंक्तिकारको विश्लेषणमा, जोशीलाई नै बनाउनुपर्छ भनेर जब नेपाली कांग्रेस कस्सिन थाल्यो, तब कम्युनिष्ट गठबन्धनको दुई तिहाइ भएको संसदीय समितिलाई जोशीलाई अस्वीकार गर्न झन् सजिलो भयो । किनकि ती ‘कतिपय’लाई फेरि लाग्यो– शेरबहादुर देउवाले गलत छ भनेपछि कतै यो कुरा सही त होइन ?

अहिलेको कांग्रेस नेतृत्वले के कुरालाई प्रतिनिधित्व गर्छ भन्ने देखाउने यत्रो ठूलो ‘इमेज’ फेरि उक्त दलले साना दु:खले आज्र्याको होइन । त्यसमा देउवा चारपटक प्रधानमन्त्री हुँदाका पुरानादेखि सुशीला कार्कीलाई महाअभियोग लगाउनेसम्मका ताजा घटना र शैलीमात्र होइन, पार्टीमा वरिष्ठतम पदमा बसेका कम्तीमा सात–आठजना ‘शीर्ष’ तहका नेताहरूको समेत वर्षौंको मिहिनेत, लगानी र योग्यताले पार्टीलाई यो स्थानमा पुर्‍याउन सफल भएको हो । यो त सामान्य चित्रणमात्र हो ।

तर खास रोचक विषय यहीं नेरबाट सुरु हुन्छ : यति सबै हुँदा पनि, यत्रो चुनावी पराजय र त्यसपछिको प्रतिपक्षी भूमिकाको समेत यो हाल हुँदा पनि त्यो दलका नेता र सदस्यहरू किन अझै ‘आफ्नो’ केही नबिग्रेको जस्तोगरी हिँड्न–बोल्नसकेका छन् ? मानिलिउँm, देशको भविष्यबारे कांग्रेसले लिनुपर्ने जति चिन्ता इतिहासमै लिइसकेको छ र अब त्यो चिन्ता गर्ने जिम्मेवारीमा अरू नै कोही आएका छन् । तर अब पनि यही र यस्तै नेतृत्वमा रह्यो भने यो पार्टीको हाल के होला ?

आफ्नो सम्पूर्ण पेसै राजनीतिमात्र भएका भनिएकाहरूले दलसँग जोडिएको आफ्नै भविष्य अनिश्चित भएको के साँच्चै नदेखेका कि नदेखे जस्तो गरेका हुन् ? देशको भविष्यको चिन्ता गर्ने त एउटा नभए अर्को भइहाल्छ । तर मानिसहरू आफ्नै भविष्यप्रति यति धेरै उदासीन किन हुन सक्छन् ?

भविष्यको सम्भावित अँध्यारो उनीहरूले देख्दै नदेखेका भने होइनन् । देउवा आफैलाई सायद राम्रैसंँग थाहा छ– उनी कांग्रेस नेतृत्व आफ्नो हातमा ल्याउन सफल भएका हुन्, तर सफल नेतृत्वको गुण र सीप भएका नेता आफू होइनन् । र उनलाई सायद यो पनि थाहा छ : कांग्रेसको नेतृत्वमा उनी रहुन्जेल यो पार्टीको भविष्य त्यति राम्रो छैन । तर अहिले उनी आफूसंँग विकल्प नभएको स्थितिमा छन् । उनी सभापति रहिरहँंदा (सायद अर्को कार्यकाल पनि) कांग्रेस सबैभन्दा ठूलो पार्टी हुने छैन ।

त्यसबाट उनले गुमाउने भनेको के हो ? उनी सायद फेरि प्रधानमन्त्री हुनपाउने छैनन् । मानौं, उनले आफ्नो अयोग्यता स्वीकारेर पार्टीको नेतृत्वमा युवा र सक्षम व्यक्ति ल्याउन चाहे रे । त्यसबाट उनले गुमाउने के हो ? फेरि पनि उनी प्रधानमन्त्री हुनपाउने छैनन् । नयाँ नेतृत्व आएर कांग्रेस पहिलो पार्टी भयो भने प्रधानमन्त्री पनि नयाँ व्यक्ति नै हुनेछ । तसर्थ देउवाले पार्टी नेतृत्वमा बसिराखेर जे गुमाउनेवाला छन्, त्यो नेतृत्व छाड्दा त्यसै गुम्नेवाला छ । वर्तमान सभापति भएको र चार पटकसम्म सरकारको नेतृत्व गरेका कारणले देउवाको सन्दर्भसंँग जोडेर यो विषयको चर्चा गरिएको हो । तर पार्टी र सरकारको नेतृत्वमा अरू पनि थुप्रै छन्, जो अयोग्यतामा देउवा स्वयंसँग दह्रो प्रतिस्पर्धा गर्न सक्छन् ।

लाग्छ, हालको कांग्रेस नेतृत्वमा रहेका शीर्षहरूमध्ये धेरै एउटा कुरामा प्रस्ट छन् : उनीहरूले नेतृत्व कब्जा गरिरहँंदा पार्टी प्रजापरिषद् नै हुन्छ भने पनि ठिकै छ । कांग्रेसको भविष्यका लागि भनेर देउवाको त के कुरा, पार्टी वरियताको बीसौं नम्बरमा भएको कोही ‘अग्रज’ नेताले समेत बरु आफ्नो राजनीति सकिएकोमा पछुतो मान्ने छैन, तर ‘मिडियाले हिरो बनाएको’ कोही भर्खरको युवालाई आफ्नो सभापति मान्ने हीनताबोध उसले स्वीकार्नेवाला छैन । पार्टीको नेतृत्व सक्षम ठाउँमा पुग्यो भने आफ्नो पनि राजनीतिक भविष्य ठिकै हुन्छ भन्ने उनीहरूमध्ये धेरैलाई थाहा भने छ । तर त्यति भविष्यका लागि भनेर आफूभन्दा धेरैपछि राजनीति सुरु गरेको कसैलाई आफ्नो नेता मान्न कोही तयार छैनन् ।

रमाइलो के छ भने पछिल्लो पुस्ताको बाटो कस्तो छ भन्ने प्रश्नको उत्तर अघिल्लो पुस्ताको भन्दा पनि अन्यमनस्कपूर्ण छ । उनीहरूमध्ये धेरै अहिले पनि समकालीन वा आफूपछिका कसैलाई नेता मानेर आफ्नो र पार्टीको भविष्य सुदृढ गर्नुभन्दा बरु पुरानै मध्येका कोहीसँंग गुटमा टाँसिँंदा आफ्नो ‘आत्म–सम्मान’ जोगिने ठान्छन् । पुरानो पुस्ताबाट नयाँमा ल्याउनासाथ आफ्नो राजनीतिको सुरक्षा हुने स्वार्थ देख्न उनीहरू असमर्थ छन्, जसलाई यस लेखले पछिल्लो पुस्ताको दृष्टिभ्रम भनेको हो ।

एक–दुईवटा विषयहरू तार्किक रूपमा हेर्दा अकाट्य भएर स्थापित भएका छन् । तर सम्बन्धित दलका दृष्टिभ्रमले यी सपाट सत्यलाई पनि देख्नसकेका छैनन् । जस्तो– धेरै वर्षसम्मको निकम्मापनबाट बिग्रेको नेताको छवि अचानक सुध्रेर फेरि गतिलो देखिन इतिहासले ठूलै हस्तक्षेप गरेमात्र सम्भव छ ।

५० को दशकमा गिरिजाप्रसाद कोइरालाको छवि यसरी बिग्रेको थियो कि राजा ज्ञानेन्द्रले शासनसत्ता हातमा नलिएको भए र माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने भूमिकामा नपुगेको भए २०६२/०६३ पछिको उनको ‘कमव्याक’ सम्भव थिएन । इतिहासले फेरि त्यस्तै हस्तक्षेप देउवा वा रामचन्द्र पौडेल वा उनीहरूका हाराहारीमा रहेर काम गरिरहेका नेताका पक्षमा गरिदेला जस्तो लाग्दैन । तसर्थ अब यी नेताले अहिलेसम्म नदेखाएको करिश्मा देखाउलान् र ‘कमव्याक’ गर्लान् भनेर कसैले आस गरेको छ भने त्यो पूरा हुनेवाला छैन ।

अब त हुँदाहुँदा बीसौं वर्षसम्म राज्यसत्तामा वरिपरि देखिइरहेका नेताहरूका मुखमार्फत कुनै राम्रै कुरा आयो भने पनि फेरि तिनै पुराना नेताका कुरा न हुन् भनेर त्यसलाई समाजले गम्भीरतासाथ नलिने जोखिम बढेको छ । त्यसमाथि अहिलेसम्म कुनै भन्ने विषय भएको ठाउँमा पनि राम्रो भाष्य बनाएर जनतालाई व्याख्या गर्न असफल नेतृत्वले अब यो उमेरमा त्यो सीप सिकेर आफूलाई सुधार्ला भनेर अपेक्षा गर्नु अर्थहीन हो ।

अहिले संसद्को प्रतिपक्षमा प्रदीप गिरी र गगन थापा लगायतका दुई–चार जनाले बोलेको विषय बाहेक अरूले राम्रै तर्क राखेका रहेछन् भने पनि त्यसले मिडियामा ठाउँ पाउँदैन । त्यसको पछाडि पनि केही त कारण होला भनेर सोच्ने इच्छाशक्ति नेतृत्वमा हुने कुरै भएन । यस्तो स्थितिको कांग्रेसमा नयाँ ऊर्जावान, बौद्धिक र सिर्जनशील युवाहरू प्रवेश गर्लान् र दलले आफूलाई रूपान्तरण गर्ला भनेर कल्पना गर्नु कल्पनाशीलताप्रतिकै अन्याय हो ।

एउटा सशक्त लोकतान्त्रिक दलको रूपमा केही दशकसम्म आफ्नो भूमिका खोज्ने हो भने नेपाली कांग्रेसका दोस्रो पुस्ताका नेताहरू सशक्त रूपमै ध्रुवीकृत हुन जरुरी छ । एउटा यस्तो ध्रुवीकरण जसले अहिले नेतृत्व गरिरहेको पुस्ताबाट नेतृत्व पूर्णरूपमा आफ्नो पुस्तामा सार्न सकोस् र त्यसपछि आफूमध्येबाट नयाँ नेतृत्व छानोस् । र त्योसंँगै दलमा अहिले जसरी नियन्त्रित सदस्यता वितरण गरेर देशभरिका सबै तहका नेतृत्वमा गुटहरूको कब्जा हुन्छ, त्यो चंगुलबाट पार्टीलाई मुक्त गरेर वास्तविक अर्थमै ‘मास–बेस्ड’ पार्टी बनोस् ।

नत्र कतिपय कांग्रेसीले नै भन्छन् नि– ‘हाम्रो पार्टीको अरूले किन चिन्ता गरिराख्नुपर्ने’ † त्यसपछि चाहिँं आफ्नो चिन्ता अरूले गरे भनेर पनि गुनासो गर्नुपर्ने छैन । अरूले चिन्ता गर्नका लागि त्यतिबेलासम्म अरू नै पार्टी आइसकेका हुन सक्छन् ।

प्रकाशित : भाद्र ५, २०७५ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?