वैवाहिक बलात्कार गुपचुपै

दुर्गा कार्की

काठमाडौँ — प्रसंग १४ वर्षअघिको हो । नवलपरासीकी एक महिलाको रेडियो अन्तर्वार्ता लिनु थियो । बाहिर केहीबेर कुराकानी गरेपछि उनलाई स्टुडियोमा लगेँ । अन्तर्वार्ता सुरु भएको पाँच मिनेट मात्रै भएको थियो, उनी भक्कानिएर रोइन् । कुराकानीको विषय थियो– वैवाहिक बलात्कार । उनलाई मजाले एकछिन रुन दिएँ । हल्का भएपछि उनले व्यथा पोखिन् ।

उनका तीन छोरा रहेछन् । सबै एउटै कोठामा सुत्ने रे । ती महिलाले श्रीमान्का लागि जतिबेलै तयार हुनुपर्ने । छोराकै अगाडि कैयौं पटक श्रीमान्ले बलात्कार गरेका रहेछन् । हदै भएपछि उनी माइती गएर बसिन् । माइतीमा पनि आएर उही व्यवहार दोहोर्‍याउने । सही नसक्नु भएपछि उनले आत्महत्या प्रयास गरिन् । ‘एक पटक त राजमार्गमा दुईतिरबाट आएका ट्रकका बीचमा हुलिएर मर्नुपर्‍यो भनेर गएँ,’ उनले सुनाइन् ।

उनी नवलपरासीको पारालिगल कमिटीको सम्पर्कमा आएपछि न्यायका लागि पहल भयो । उनका श्रीमान्लाई प्रहरीले पक्राउ गर्‍यो । कानुनमा ३ देखि ६ महिना मात्रै कैद सजायको व्यवस्था थियो जसअनुसार उनी जेल बस्नै पर्दैन । यसले आफूमाथि झन् ठूलो खतरा भएको भन्दै उनले सर्वोच्च अदालत गुहारिन् । यसै क्रममा उनीसँग मेरो भेट भएको थियो ।

२०७३ कात्तिकमा एक युवतीले श्रीमान्ले आफूलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय उदयपुरमा उजुरी दिइन् । वैदेशिक रोजगारमा रहेका २८ वर्षीय युवकले श्रीमतीलाई अश्लील भिडियो र फोटो सामाजिक सञ्जालमार्फत पठाउँदारहेछन् । घर आएपछि यौन उत्तेजना बढाउने औषधि आफू खाने र श्रीमतीलाई पनि खुवाउने गरेछन् । ब्लु फिल्म देखाएर त्यहीअनुसार जबर्जस्ती यौनसम्पर्क गर्ने र भनेको नमान्दा यातना दिने गरेको ती युवतीले उजुरीमा उल्लेख गरेकी थिइन् । ओखलढुंगामा यस्तै एक पीडकलाई जिल्ला अदालतले ३ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना गराएको थियो । घटना बर्गेल्ती छन् । जतिले सहन सकेका छैनन्, ती बाहिर आएका छन् ।

भदौ १ गतेबाट लागू भएको मुलुकी अपराध संहिता ऐन २०७४ ले वैवाहिक बलात्कारमा पाँच वर्ष कैद सजाय तोक्ने व्यवस्था गरेपछि सामाजिक सञ्जालमा त्यसमा व्यंग्य गरिएका कार्टुन र श्रीमतीलाई सहवासका लागि अनुरोध गर्दै लेखिएका पत्र भाइरल भए । कानुनी व्यवस्थालाई यति हल्का लिइएपछि र श्रीमतीसँगको सम्बन्धलाई आफ्नो अधिकार ठान्नेहरूका लागि माथि केही उदाहरण प्रस्तुत गरेकी हुँ । समस्या तपाईंहरूले सोचेजस्तो समान्य छैन । जति महिला आँट गरेर श्रीमान्ले बलात्कार गर्‍यो भन्दै प्रहरीकहाँ पुगेका छन्, उनीहरूको साहसलाई सलाम छ । उनीहरू फेरि त्यो घरमा नफर्कने गरी यस्तो निर्णय लिएर न्याय खोज्न हिँडेका हुन् । श्रीमान्लाई चुनौती दिँदै घर छाडेर न्याय माग्न हिंड्नु हाम्रो समाजमा चानचुने हैन ।

श्रीमान्को ज्यादतीविरुद्ध बोल्ने, जाने ठाउँ नभएकाहरू सहेरै बसिरहेका होलान् । श्रीमान्ले कुट्यो भनेर आउने महिलासँग नजिक भएर कुरा गर्दै जाने हो भने जरा यौन व्यवहारमा पुग्छ । श्रीमान्ले तरकारीमा नुन नपुगेको वा तातो पानी माग्दा चिसो पानी ल्याएको जस्ता निहुँमा श्रीमतीलाई यातना दिन्छ भने यसको पछाडि कहीं न कहीं यौन व्यवहार जोडिन्छ । उसले चाहेजस्तो यौन व्यवहार श्रीमतीबाट पाइरहेको हुँदैन। त्यसैले यो समस्यालाई कानुनी रूपमा सम्बोधन गर्न अति जरुरी थियो ।

यो समस्या भयावह भएरै २०५८ सालमा अधिवक्ता मीरा ढुंगानाले वैवाहिक बलात्कारलाई दण्डनीय बनाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट हालेकी थिइन् । २०५९ वैशाख १९ गते तत्कालीन न्यायाधीश लक्ष्मण अर्यालसहित तीन जनाको इजलासले यो अपराधविरुद्ध कानुन बनाउन सरकारका नाममा परमादेश दियो । सर्वोच्चको त्यो आदेशले समाजमा निकै ठूलो हलचल ल्याएको थियो । कानुन बन्न भने पाँच वर्ष लाग्यो । २०६३ सालमा कानुन बन्यो तर अत्यन्तै कमजोर ।

लैंगिक समानता कायम तथा लैंगिक हिंसा अन्त्य गर्ने सम्बन्धमा केही नेपाल ऐन संशोधन गर्ने ऐन २०६३ ले पीडकलाई ३ महिनादेखि ६ महिनाको सजाय व्यवस्था गर्‍यो । यो व्यवस्थाले पीडक जरिवाना तिरेर सजिलै निस्कन सक्छ जसका कारण श्रीमती झन् असुरक्षित हुन्छिन् । दुई वर्षभन्दा कम सजायका मुद्दामा पीडक धरौटीमा छुट्छ । त्यसैले उक्त ऐन २०७२ मा संशोधन गरियो र सजायलाई पाँच वर्ष बनाइयो । यो संशोधनपछि श्रीमान्बाट श्रीमतीलाई सुरक्षा खतरा भयो भने श्रीमान्लाई अलग्गै बस्ने आदेशसमेत दिन सक्ने व्यवस्था आयो । जुन अहिलेको मुलुकी ऐन अपराध संहितामा पनि उल्लेख छ ।

कानुन बने पनि यसलाई टेकेर मुद्दा परेको देखिएको छैन । प्रहरीले मुद्दाको अभियोजन वैवाहिक बलात्कार नभई जबर्जस्ती करणीअन्तर्गत गरिदिन्छ । सर्वोच्च अदालतको आर्थिक वर्ष २०७३/०७४ को वार्षिक प्रतिवेदनमा करणी मात्रैको तथ्यांक छ । वैवाहिक बलात्कारका घटनालाई अभियोजन प्रक्रियादेखि अलग्गै बढाउनुपर्ने खाँचो देखिन्छ ।

Yamaha

यसले समाजमा वैवाहिक बलात्कारको अवस्था बाहिर ल्याउन सघाउँछ । समस्याको गम्भीरताअनुसार कानुन संशोधन गरी सजाय बढाउन मद्दत पुर्‍याउँछ । कुनै पनि बलात्कार गम्भीर अपराध हो । यो क्षम्य हुनु हुँदैन । वैवाहिक बलात्कारमा धेरै जोखिम छ । श्रीमान्ले श्रमितीलाई आफ्नो सम्पत्ति ठानेर दैनिक दुव्र्यवहार गरिरहेको हुन्छ । यसमा कानुन झन् कडा हुनुपर्छ ।

प्रकाशित : भाद्र १०, २०७५ ०८:१९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

किन लगाउने जनै ?

भवानीशंकर भट्टराई

काठमाडौँ — जनै (यज्ञोपवित) लगाउने कुरा उप्कायो भने हिजोआजका सनातनी युवाले भन्ने गर्छन्– जिउमा फाल्तु धागो किन लगाउने ? धागो लगाउँदा के पाइन्छ ? ज–जसलाई जनै अल्झन मात्र लाग्छ, तिनलाई कि यज्ञोपवितको महत्त्व थाहा छैन, कि त उनीहरू यसलाई काँचो धागो मात्र ठान्छन् ।

जनैलाई संस्कृतमा यज्ञोपवित भनिन्छ, जसको अर्थ हुन्छ यज्ञ गरेर पवित्र बनाइएको । जनै पूर्णिमाका दिन वेदपाठ, रुद्राभिषेक आदि गरेर वैदिक मन्त्रबाट अभिषेक/अभिमन्त्रणा गरी यज्ञोपवित निर्माण गरिने शास्त्रीय विधान छ । जनैको अर्को नाउँ ब्रह्मसूत्र हो ।

ब्रह्माले निर्माण गरेकाले यसलाई ब्रह्मसूत्र भनिएको हो । स्मृतिमा ब्रह्माले निर्माण गरी विष्णुले तीन गुण (ज्ञान, उपासना तथा कर्मकाण्ड) युक्त बनाएको तथा शिवले तीन ग्रन्थि (गाँठा) पार्नु भएपश्चात् गायत्रीमाताले अभिमन्त्रित गरी रक्षाकवच बनाएको उल्लेख पाइन्छ । तसर्थ जनैमा ब्रह्मा, विष्णु र महेश तीनै देवता एवम् गायत्रीमाताको निवास रहन्छ भन्ने शास्त्रीय मान्यता पाइन्छ ।

जनैको महत्त्व वेद, उपनिषद्, पारस्करगृह्यसूत्र, स्मृतिहरू सबैतिर उल्लेख भएको पाइन्छ । ऋग्वेदको मन्त्रलाई उद्धृत गर्दै पारस्करगृह्यसूत्रमा लेखिएको छ– जसरी बृहस्पतिले इन्द्रलाई यज्ञोपवित दिएर आयु (इन्द्रासनको आयु), बल, बुद्धि तथा समृद्धि प्रदान गरे त्यसरी तिमी पनि आयु, वर्चस् (तेज), शौर्य, बल, बुद्धि र समृद्धि प्राप्तिका लागि जनै लगाऊ । ऋग्वेदका अरू मन्त्रमा पनि भनिएको छ– यज्ञोपवितको शक्ति महान् छ, यसले मानिसलाई सत्कर्मको प्रेरणा, शुद्ध चरित्र, अनुशासन, निष्ठा, कठिन कर्तव्यपालनका लागि सामथ्र्य प्रदान गर्छ । यसलाई धारण गर्ने व्यक्तिले सहजै मोक्ष प्राप्त गर्छ ।

अग्निसमान तेजस्विता, सूर्यसमान शौर्य, चन्द्रसमान शीतलता, दिव्यगुण एवम् सदा प्रसन्नता र उच्च मनोवल प्राप्त गर्न सधैं जनै लगाउनुपर्छ भन्ने वेदवाक्यबाट पुष्टि हुन्छ । सधंै सत्य बोल्ने प्रेरणा प्राप्तिका लागि पनि जनै लगाउनुपर्ने वेद र गृह्यसूत्रले भन्छन् । यसलाई मनोवैज्ञानिक कोणबाट पनि प्रमाणित गर्न सकिन्छ । जो सधंै जनै धारण गर्छ, जो सधैं सत्यनिष्ठामा रहन्छ, उसको मनोविज्ञान सधैं उँचो रहने व्यवहारबाट बुझ्न सकिन्छ ।

पवीतमा ९ डोरा हुन्छन् । तीमध्ये पहिलामा ॐकार, दोस्रामा अग्नि, तेस्रामा नाग, चौथामा चन्द्र, पाँचौंमा पितृहरू, छैटौंमा प्रजापति, सातौंमा अग्नि (कतै वायु पनि लेखिएको), आठौंमा सूर्य एवम् नवौं तन्तुमा विश्वदेवको आवाहन गरिन्छ साथै तीन ग्रन्थि (गाँठा) मा ब्रह्मा, विष्णु र महेश्वरलाई आवाहन एवम् पूजा गरिन्छ । यसकारण अभिमन्त्रित जनैमा बस्ने यी देवताले धारकलाई आफूमा विद्यमान शक्ति र सामथ्र्य प्रदान गर्छन् भन्ने शास्त्रीय वचन पाइन्छ ।

जनैलाई शौचका समयमा दाहिने कानमा बेर्ने चलन छ । जनैमा मलमूत्रको स्पर्श नहोस् भन्ने यसको मूल मर्म हुनुपर्छ । केही परम्परावादीले चिकित्साविज्ञानलाई उद्धृत गर्दै कानका नसाको सिधा सम्पर्क अण्डकोषसँग हुने बताउँछन् । बसेर मलमूत्र त्याग गरिँदा कानमा जनै बेरियो भने त्यहाँका नसा दबिई प्रत्यक्ष–अप्रत्यक्ष शुक्राणु पिसाबसँगै बाहिरिनबाट जोगिने, पाचनप्रणाली सहज हुने उनीहरूको भनाइ छ । तर यसलाई अमेरिकाको युनिभर्सिटी अफ इलिनोइमा कार्यरत न्युरोलोजिस्ट (एमडी) डा. द्रोणाचार्य लामिछानेले प्रमाणित गर्न अस्वीकार गरेका छन् ।

यज्ञोपवित कति डोराको लगाउने भन्ने विषयमा शास्त्रमा फरक–फरक व्यवस्था देखिन्छ । हेमाद्रि लगायतका ग्रन्थमा ब्रह्मचारी र संन्यासीले ३ डोरा, वानप्रस्थी तथा उत्तरीय वस्त्र (गाम्छा आदि) लगाउने गृहस्थले ६ डोरा एवम् उत्तरीय नलगाउने गृहस्थले चाहिं ९ डोराको जनै धारण गर्नुपर्ने उल्लेख छ ।

ब्रह्मचारीले समावर्तनपश्चात् ६ डोराको जनै लगाउनुपर्ने हो तर नेपाली समाजमा व्रतबन्धकै दिन समावर्तन विधि पूरा गरिन्छ । त्यसै दिनदेखि उनीहरू ६ डोराका जनै लगाउने गर्छन् । जनै कम्मरभन्दा मुनि जानु हुन्न र माथि पनि उठेको हुनु हुन्न भन्ने ऋषि वशिष्ठले उल्लेख गरेका छन् । जनै पुरानो भएपछि कति दिनमा विसर्जन गर्ने भन्ने विषयमा पनि स्मृतिकारबीच मतभेद देखिन्छ । एक थरीले ६ महिनामा फेर्ने भनेका भए पनि नेपालमा चाहिं सुतकबाट चोखिएपछि, मरणको आशौचपछि अथवा चार महिना पुगेपछि जनै फेर्ने मान्यता देखिन्छ ।

व्यावहारिक दृष्टिबाट हेर्ने हो भने ऋषिहरूले आर्यलाई अरूबाट छुट्याउन शिखा र सूत्र (जनै) व्यवस्था गरेका हुन् । त्यसैले यो आर्यत्वको चिनारी हो । आर्यत्वका त्यस्तै चिह्न शिखा र सूत्र हुन् । जनैको सिधा सम्बन्ध व्रतबन्धसँग देखिन्छ । यज्ञोपवित धारण व्रतबन्धमै सुरु हुन्छ । व्रतबन्धको अर्थ हो– अनुशासनमा बाँधिनु । जनैको अर्को सम्बन्ध शिक्षारम्भसँग पनि गाँसिएको छ । प्राचीनकालमा ७–८ वर्ष पुगेका बालकलाई जनै लगाइदिएर गुरुकहाँ पढ्न पठाउने चलन थियो ।

गुरुले बालकका प्रज्ञाचक्षु खोलिदिन्थे । त्यसैले व्रतबन्धलाई उपनयन अर्थात् दोस्रो आँखा खोल्नु भनिएको हो । मानिस जन्मँदा पशुसरह हुन्छ जब उसमा संस्कारहरू गरिन्छन्, जब उसले शिक्षा प्राप्त गर्छ, तब मात्र उसको प्रज्ञाजन्म हुन्छ । यसैलाई द्विज भनिएको हो । शास्त्रमा ब्राह्मण, क्षत्रिय र वैश्यलाई मात्र द्विजत्वको अधिकार प्राप्त भए पनि व्यवहारमा विद्याविचक्षण स्वामी प्रपन्नाचार्य, योगी नरहरिनाथ आदि थुप्रै मनिषी द्विज ठहरिएका उदाहरण छन् ।

आज समाजले द्विजत्वलाई जातिसँग नभएर ज्ञानसँग जोडेको छ । उसले ग्रहण गरेको पेसाका आधारमा ब्राह्मण, क्षत्रिय, वैश्यादि छुट्याउनुपर्छ भन्ने बहस सुरु भएको छ । मनु, वशिष्ठ र याज्ञवल्क्यहरूको समाजभन्दा आजको समाज धेरै भिन्न छ ।

परम्पराले श्रावणशुक्ल पूर्णिमा (जनैपूर्णिमा) लाई ब्राह्मणको, दसैंलाई क्षत्रियको र तिहारलाई वैश्यको पर्व भनेर वर्गीकृत गरेको भए पनि सबै वर्गका सनातनीले तिहारलाई सर्वाधिक महत्त्व दिइरहेका छन् । आज समाजको साध्य– आदर्श, ज्ञानार्जन, चिन्तन एवम् अध्यात्मसाधना नभएर द्रव्योपार्जन बन्न पुगेको छ । यसैले जनैपूर्णिमा ओझेल परेको हुुनुपर्छ ।

प्रकाशित : भाद्र १०, २०७५ ०८:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT