कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

खाना आफैं औषधि

स्वस्थकर भोजन गरियो भने औषधि चाहिँदैन । भोजन स्वस्थकर छैन भने जति औषधि गरे पनि फाइदा हुँदैन ।
डा. अरूणा उप्रेती

काठमाडौँ — केही साताअघि ४० वर्षदेखि र ६० नाघिसकेका महिलाको रगत जचायौं । जचाउनेमा धेरैजसो मासु नखाने महिला थिए । अरू पनि सातामा एकचोटि मात्रै खानेहरू थिए । शरीरमा रगत, क्याल्सियम र भिटामिन बी १२ कति छ भनेर पत्ता लगाउनु थियो ।

खाना आफैं औषधि

अचम्म भयो, माछा, मासु, अन्डा नखानेमा क्याल्सियम, भिटामिन बी १२ को मात्रा धेरै राम्रो थियो । हेमोग्लोबिनमा समस्या थिएन । जचाउने कसैले पनि आइरन चक्की, क्याल्सियम र भिटामिनको झोल वा क्याप्सुल खाँदैनन् । स्वस्थकर खाना खान्छन् । पत्रु खाना र मिठाई प्रसादका रूपमा कहिलेकाहीं
नगण्य खान्छन् । बरु दिनदिनै योगासन गर्छन् ।

नेपालमा ४० वर्षभन्दा माथि उमेरकाले क्याल्सियम, भिटामिन डीको चक्की र रगत बढाउन केही औषधि खानैपर्छ भन्ने मान्यता चिकित्सा जगतमा स्थापित हुँदै छ तर स्वस्थकर खाना खाइयो भने त्यसले शरीरका सबै आवश्यकता पूर्ति गर्छ भन्ने अर्को विचार पनि चिकित्सा जगतमा स्थापित छ । म चाहिँ दोस्रो विचारको पक्षपाती हुँ र त्यसै अनुरूप जीवन चलाउन कोसिस गरिरहेकी छु । ‘स्वस्थकर भोजन गरियो भने औषधि चाहिँदैन, भोजन स्वस्थकर छैन भने जति औषधि गरे पनि फाइदा हुँदैन’ भन्ने मैले सिकेको ज्ञान हो ।

औषधि कम्पनीहरूको यति ठूलो बजार छ कि उनीहरूले जीवनका साधारण कुरालाई पनि रोग हो र औषधि खानुपर्छ भन्ने मान्यतालाई बढावा दिइरहेका छन् । प्राय: हामी त्यसको सिकार हुन्छौं । जस्तो– गर्भवती हुँदा महिलाको शरीरमा रगतको कमी हुनसक्छ र यसले भ्रूणलाई प्रभाव पार्छ, यो सत्य हो । तर गर्भावस्थामा चना, भटमास, कोदो, फापर, मकै, हरियो तरकारी, कर्कलो वा कर्कलोले बनेको मस्यौरा, आलु, साग, दूध, मोही आदिजस्ता खानेकुरा सेवन गर्ने हो भने शरीरमा प्रोटिन र भिटामिनको कमी हुन पाउँदैन ।

३० वर्ष अघि मेरा दुई छोरी जन्मिँदा क्याल्सियम आदि खाने जरुरत भएन । चिसो पेय पदार्थ र पत्रु खाना खाँदिनथेँ । बजारमा पाइने मिठाइमा अलिकता लोभचाहिँ लाग्थ्यो । जेरी–स्वारी पकाइने तेल बारम्बार तताउँदा त्यसले विषालु तत्त्व पैदा गर्छ र मुटुमा नराम्रो प्रभाव पर्छ भन्ने जानेपछि बजारका खाना ठ्याम्मै छाडिदिएँ । घरमा पकाएको सेल, पुरी कहिलेकाहीं खान्छु ।

कतिले ‘बजारको खानेकुरा नखाएर त सम्भवै हुँदैन’ भन्छन् । पत्रु खाना नखाएर पनि स्वस्थकर खाजा खान सकिन्छ । चना, चिउरा, उसिनेको आलु त प्राय: सबै खाजा घरमा भइहाल्छ । पत्रु खानाले स्वास्थ्य बिस्तारै कमजोर हुन्छ । कति जनाले मैले भोजन र पोषणबारे बोलेको र लेखेको सुनेर ‘तपाईं पोषणविद् हो ?’ भन्छन् । मैले भन्ने गरेकी छु, ‘म त्यति नै पोषणविद् हो, जति मेरी निरक्षर हजुरआमा । मैले पोषणबारे साना–साना तालिम मात्र लिएकी छु । घरको दाल, भात, रोटी, चना, दूध, दही, मोही, मह, कागतीजस्ता स्वस्थकर स्थानीय खानेकुरा प्रयोग गर्नुपर्छ, हाम्रो भोजन नै हाम्रो औषधि हो भन्ने गरेकी हुँ । यो सबैले जानेको कुरा हो । नयाँ कुरा होइन ।’

विभिन्न मुलुकमा हुने पोषण र स्वास्थ्य सम्बन्धी सेमिनार र गोष्ठीमा भाग लिएपछि अनुभव गरेकी छु, पुर्खाहरूको कतिपय ज्ञानलाई आधुनिक विज्ञानको कसौटीमा राखेर हेर्दा तिनले स्वास्थ्यमा राम्रो प्रभाव पार्छ । नेपालमा पहिले फलामको भाँडामा पकाउने चलन थियो । यसरी भाँडामा पकाएको दाल वा तरकारी अमिलो अचार वा मोहीसंँग खाँदा शरीरमा लौह तत्त्व शोषण गर्न मद्दत पुग्छ ।

यो विज्ञानले सिद्ध गरेको छ । रगतको कमी भएकालाई दिने विभिन्न झोलमा भिटामिन सी पनि छ भनेर लेखिन्छ । भिटामिन सी हाम्रो भान्छामा पाइने अमिलो अचार, मही, अम्बा, अमला, सुन्तला, आरुबखडा आदिमै पाइन्छ । हामीकहाँ फलामको भाँडामा पकाउने चलन हराउँदै गएको थियो । अहिले प्रेसर कुकरमा फलामको डल्लो हालेर पकाउने राम्रो चलन आएको छ ।

अनेक प्रकारका बट्टाका प्रोटिन बेचिन्छ । ‘५० वर्षको उमेरपछि घरको खानाले मात्र शरीरमा प्रोटिन पुग्दैन’ भन्ने गलत विज्ञापन गरेर व्यवसायीले हामीलाई भ्रमित पार्न खोज्छन् । विज्ञापनको भरमा प्रोटिन किन्दा पैसामात्र खर्च हुन्छ । फाइदा गर्दैन । मांसाहारीले खानाबाटै प्रोटिन प्राप्त गरिहाल्छन् । मासु कसरी काटिन्छ, बिरामी जनावरको हो कि भन्नेमा चाहिँ विचार गर्नैपर्छ ।

शाकाहारीका लागि प्रोटिनका थुप्रै स्रोत छन् । चना, भटमास, सबै दाल आदि प्रोटिनका राम्रा स्रोत हुन् । कोदो, फापर, गहुँ, चामल आदिमा पनि केही न केही प्रोटिन पाइन्छ । बालबालिका, किशोर–किशोरीलाई बढी प्रोटिन चाहिन्छ । वयस्कलाई स्वस्थ रहन धेरै प्रोटिन पनि चाहिन्न । शाकाहरी भोजन खाएर पनि स्वस्थ रहन सकिन्छ ।

सामान्यतया ४० वर्षको ५०–५५ किलोको स्वस्थ व्यक्तिलाई प्रत्येक दिन करिब ५०– ५५ ग्राममात्र प्रोटिन चाहिन्छ । १०० ग्राम भटमासमा ४३ ग्राम प्रोटिन पाइन्छ । सिमी र गहतमा पर्याप्त प्रोटिन हुन्छ । शरीरमा रगत बढाउन प्रोटिनको भूमिका हुन्छ । प्रोटिन नभए आइरन चक्कीले मात्र काम गर्दैन ।

गर्भवती महिलालाई आइरन चक्कीमात्र दिएर पुग्दैन । स्वस्थकर प्रोटिन खाना दिनुपर्छ । पौष्टिकताले भरिपूर्ण भोजन गर्नुपर्छ । यो सस्तोमा हुन्छ । धेरै खर्च लाग्ने पत्रु खानामा धेरै पौष्टिक पाइन्छ भन्ने भ्रममा पर्नु हुँदैन ।

प्रकाशित : भाद्र ११, २०७५ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?