खाना आफैं औषधि

स्वस्थकर भोजन गरियो भने औषधि चाहिँदैन । भोजन स्वस्थकर छैन भने जति औषधि गरे पनि फाइदा हुँदैन ।
डा. अरूणा उप्रेती

काठमाडौँ — केही साताअघि ४० वर्षदेखि र ६० नाघिसकेका महिलाको रगत जचायौं । जचाउनेमा धेरैजसो मासु नखाने महिला थिए । अरू पनि सातामा एकचोटि मात्रै खानेहरू थिए । शरीरमा रगत, क्याल्सियम र भिटामिन बी १२ कति छ भनेर पत्ता लगाउनु थियो ।

अचम्म भयो, माछा, मासु, अन्डा नखानेमा क्याल्सियम, भिटामिन बी १२ को मात्रा धेरै राम्रो थियो । हेमोग्लोबिनमा समस्या थिएन । जचाउने कसैले पनि आइरन चक्की, क्याल्सियम र भिटामिनको झोल वा क्याप्सुल खाँदैनन् । स्वस्थकर खाना खान्छन् । पत्रु खाना र मिठाई प्रसादका रूपमा कहिलेकाहीं
नगण्य खान्छन् । बरु दिनदिनै योगासन गर्छन् ।

नेपालमा ४० वर्षभन्दा माथि उमेरकाले क्याल्सियम, भिटामिन डीको चक्की र रगत बढाउन केही औषधि खानैपर्छ भन्ने मान्यता चिकित्सा जगतमा स्थापित हुँदै छ तर स्वस्थकर खाना खाइयो भने त्यसले शरीरका सबै आवश्यकता पूर्ति गर्छ भन्ने अर्को विचार पनि चिकित्सा जगतमा स्थापित छ । म चाहिँ दोस्रो विचारको पक्षपाती हुँ र त्यसै अनुरूप जीवन चलाउन कोसिस गरिरहेकी छु । ‘स्वस्थकर भोजन गरियो भने औषधि चाहिँदैन, भोजन स्वस्थकर छैन भने जति औषधि गरे पनि फाइदा हुँदैन’ भन्ने मैले सिकेको ज्ञान हो ।

Yamaha

औषधि कम्पनीहरूको यति ठूलो बजार छ कि उनीहरूले जीवनका साधारण कुरालाई पनि रोग हो र औषधि खानुपर्छ भन्ने मान्यतालाई बढावा दिइरहेका छन् । प्राय: हामी त्यसको सिकार हुन्छौं । जस्तो– गर्भवती हुँदा महिलाको शरीरमा रगतको कमी हुनसक्छ र यसले भ्रूणलाई प्रभाव पार्छ, यो सत्य हो । तर गर्भावस्थामा चना, भटमास, कोदो, फापर, मकै, हरियो तरकारी, कर्कलो वा कर्कलोले बनेको मस्यौरा, आलु, साग, दूध, मोही आदिजस्ता खानेकुरा सेवन गर्ने हो भने शरीरमा प्रोटिन र भिटामिनको कमी हुन पाउँदैन ।

३० वर्ष अघि मेरा दुई छोरी जन्मिँदा क्याल्सियम आदि खाने जरुरत भएन । चिसो पेय पदार्थ र पत्रु खाना खाँदिनथेँ । बजारमा पाइने मिठाइमा अलिकता लोभचाहिँ लाग्थ्यो । जेरी–स्वारी पकाइने तेल बारम्बार तताउँदा त्यसले विषालु तत्त्व पैदा गर्छ र मुटुमा नराम्रो प्रभाव पर्छ भन्ने जानेपछि बजारका खाना ठ्याम्मै छाडिदिएँ । घरमा पकाएको सेल, पुरी कहिलेकाहीं खान्छु ।

कतिले ‘बजारको खानेकुरा नखाएर त सम्भवै हुँदैन’ भन्छन् । पत्रु खाना नखाएर पनि स्वस्थकर खाजा खान सकिन्छ । चना, चिउरा, उसिनेको आलु त प्राय: सबै खाजा घरमा भइहाल्छ । पत्रु खानाले स्वास्थ्य बिस्तारै कमजोर हुन्छ । कति जनाले मैले भोजन र पोषणबारे बोलेको र लेखेको सुनेर ‘तपाईं पोषणविद् हो ?’ भन्छन् । मैले भन्ने गरेकी छु, ‘म त्यति नै पोषणविद् हो, जति मेरी निरक्षर हजुरआमा । मैले पोषणबारे साना–साना तालिम मात्र लिएकी छु । घरको दाल, भात, रोटी, चना, दूध, दही, मोही, मह, कागतीजस्ता स्वस्थकर स्थानीय खानेकुरा प्रयोग गर्नुपर्छ, हाम्रो भोजन नै हाम्रो औषधि हो भन्ने गरेकी हुँ । यो सबैले जानेको कुरा हो । नयाँ कुरा होइन ।’

विभिन्न मुलुकमा हुने पोषण र स्वास्थ्य सम्बन्धी सेमिनार र गोष्ठीमा भाग लिएपछि अनुभव गरेकी छु, पुर्खाहरूको कतिपय ज्ञानलाई आधुनिक विज्ञानको कसौटीमा राखेर हेर्दा तिनले स्वास्थ्यमा राम्रो प्रभाव पार्छ । नेपालमा पहिले फलामको भाँडामा पकाउने चलन थियो । यसरी भाँडामा पकाएको दाल वा तरकारी अमिलो अचार वा मोहीसंँग खाँदा शरीरमा लौह तत्त्व शोषण गर्न मद्दत पुग्छ ।

यो विज्ञानले सिद्ध गरेको छ । रगतको कमी भएकालाई दिने विभिन्न झोलमा भिटामिन सी पनि छ भनेर लेखिन्छ । भिटामिन सी हाम्रो भान्छामा पाइने अमिलो अचार, मही, अम्बा, अमला, सुन्तला, आरुबखडा आदिमै पाइन्छ । हामीकहाँ फलामको भाँडामा पकाउने चलन हराउँदै गएको थियो । अहिले प्रेसर कुकरमा फलामको डल्लो हालेर पकाउने राम्रो चलन आएको छ ।

अनेक प्रकारका बट्टाका प्रोटिन बेचिन्छ । ‘५० वर्षको उमेरपछि घरको खानाले मात्र शरीरमा प्रोटिन पुग्दैन’ भन्ने गलत विज्ञापन गरेर व्यवसायीले हामीलाई भ्रमित पार्न खोज्छन् । विज्ञापनको भरमा प्रोटिन किन्दा पैसामात्र खर्च हुन्छ । फाइदा गर्दैन । मांसाहारीले खानाबाटै प्रोटिन प्राप्त गरिहाल्छन् । मासु कसरी काटिन्छ, बिरामी जनावरको हो कि भन्नेमा चाहिँ विचार गर्नैपर्छ ।

शाकाहारीका लागि प्रोटिनका थुप्रै स्रोत छन् । चना, भटमास, सबै दाल आदि प्रोटिनका राम्रा स्रोत हुन् । कोदो, फापर, गहुँ, चामल आदिमा पनि केही न केही प्रोटिन पाइन्छ । बालबालिका, किशोर–किशोरीलाई बढी प्रोटिन चाहिन्छ । वयस्कलाई स्वस्थ रहन धेरै प्रोटिन पनि चाहिन्न । शाकाहरी भोजन खाएर पनि स्वस्थ रहन सकिन्छ ।

सामान्यतया ४० वर्षको ५०–५५ किलोको स्वस्थ व्यक्तिलाई प्रत्येक दिन करिब ५०– ५५ ग्राममात्र प्रोटिन चाहिन्छ । १०० ग्राम भटमासमा ४३ ग्राम प्रोटिन पाइन्छ । सिमी र गहतमा पर्याप्त प्रोटिन हुन्छ । शरीरमा रगत बढाउन प्रोटिनको भूमिका हुन्छ । प्रोटिन नभए आइरन चक्कीले मात्र काम गर्दैन ।

गर्भवती महिलालाई आइरन चक्कीमात्र दिएर पुग्दैन । स्वस्थकर प्रोटिन खाना दिनुपर्छ । पौष्टिकताले भरिपूर्ण भोजन गर्नुपर्छ । यो सस्तोमा हुन्छ । धेरै खर्च लाग्ने पत्रु खानामा धेरै पौष्टिक पाइन्छ भन्ने भ्रममा पर्नु हुँदैन ।

प्रकाशित : भाद्र ११, २०७५ ०८:१२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

हराए सुत्केरी मसला

सुत्केरी मसला वा गुँद, दालचिनी, मरिच, सुकमेल, जाइफल, ल्वाङ, मेथी, ज्वानो, किसमिस, बत्तिसाको धूलो, ओखर, काजु, नरिवल, गाईको घिउ, दूध हालेर बनाइने मसला पौष्टिकताले भरिपूर्ण हुँदैन भनी कसले भन्न सक्छ ?
डा. अरूणा उप्रेती

काठमाडौँ — हामी सानो हुँदा हजुरआमाले बनाउनुहुने सुत्केरी मसलाको सुगन्धले भान्छा नै सुवासित हुन्थ्यो । हामी पनि घुटुक्क थुक निल्दै सुत्केरी मसला कहिले पाक्छ भनेर हेरिरहन्थ्याैं। पाकेपछि हजुरआमाले एक–एक चम्चामात्रै चाख्न दिनुहुन्थ्यो ।

‘केटीहरूले यस्तो मसला धेरै खानु हुँदैन, पेटमा टाँसिन्छ’, हजुरआमाले तर्साउनु पनि हुन्थ्यो । डरसँगै सुत्केरी मसलाको स्वाद लिइन्थ्यो । ‘सुत्केरी मसला’ भनेर महिलासँंग जोडिएका हुनाले होला, केटाहरूले यसको स्वाद लिएको चाहिँ मलाई थाहा छैन । पहिले–पहिले घरमा वा छिमेकी घरमा गर्भवती महिलाका लागि हजुरआमाले तयार पारेको सुत्केरी मसलाले महिलाको शरीरमा कति पौष्टिकता पर्दाेरहेछ भन्ने धेरैपछि मात्र थाहा भयो ।

मेरी हजुरआमालाई चाहिँ परम्परागत ज्ञान प्रचुर थियो । सुत्केरी मसलाले सुत्केरीको शरीर तङग्रिन मद्दत गर्छ । सुत्केरीको स्तनबाट दूध निकाल्न मद्दत गर्छ । यसमा मिसाएका पौष्टिक तत्त्वले रगतको कमी हुन दिँदैन । यस्ता कुरा आफ्नो हजुरआमाबाट थाहा पाउनुभएकै होला । अहिले चाहिँ धेरै युवती सुत्केरी मसला खान रुचाउँदैनन् । सायद त्यसैले घर–घरमा बन्न पनि छाडे । अहिलेका नवआमाहरू त बट्टाको खानेकुरा खान रुचाउँछन् । ‘बट्टाको खानाले महिलाको हड्डी बलियो हुन्छ, रगतको कमी हुन दिँदैन’ भन्नेजस्ता झुटा विज्ञापनमा विश्वास गर्छन् ।

१००–१५० रुपैयाँको १ किलो जौंको पिठो खानुको सट्टा १५०० किलो (१० गुणा महँंगो) बट्टाको खाना किनेर मुर्खतापूर्ण काम गर्छन् । यदि ती महिलाहरूले सुत्केरी मसला भनेको के हो ? यसमा कति पौष्टिक तत्त्व हुन्छ ? थाहा पाएका भए आफूमात्र होइन, सायद आफ्ना श्रीमानलाई पनि ख्वाउँथे होलान् । नाम सुत्केरी मसला भए पनि घरका सबै परिवारका लागि सूक्ष्म पौष्टिक प्रदान गर्ने वस्तु बन्थ्यो होला, सुत्केरी मसला । सायद पहिला–पहिला ‘सुत्केरी मसला’ नाम नदिएको भए घरका पुरुषले सबै खाइदिने डर थियो कि ? सुत्केरीले खाने भनेपछि त पुरुषले नछोओस् भनेर यो नाम दिइएको हो कि ?

सुत्केरी मसला वा सुत्केरी औषधि गुँद, दालचिनी, मरिच, सुकमेल, जाइफल, ल्वाङ, मेथी, ज्वानो, किसमिस, बत्तिसाको धुलो र ओखर, काजु, नरिवल, गाईको ध्यु, दूध आदि हालेर बनाइने मसला पौष्टिकताले भरिपूर्ण हुँदैन भनी कसले भन्न सक्छ ? बत्तिसाको धुलोबारे चाहिँ के–के मिसाइन्छ भनेर मलाई पनि थाहा छैन । असनमा पाइने बत्तिसा बत्तीसवटा जडीबुटी मिसाएर बनाइन्छ रे भन्नेचाहिँ सुनेको छु । आफैले चाहिँ प्रयोग गरेको छैन ।

गुँदमा पाइने कार्वोहाइड्रेड, दूध, काजु, नरिवल र खुवामा पनि शक्तिका स्रोत हुन्छन् । मेथीले आमाको दूध निकाल्न मद्दत गर्छ र रगतको कमीबाट बचाउँछ । ध्यु शरीरमा चाहिने नै भयो, किनभने बोसो नभई त शरीरमा भिटामिन ए, डी र के राम्रोसँंग घुल्दैन ।

हेर्नोस् त हाम्रा पुर्खाहरू कति बुद्धिमान † भोजनलाई औषधि नै बनाइदिए । सायद आमालाई स्याहार गर्न उत्तम छ भनेर होला भोजनमा वास्ता नगरे पनि ‘औषधि’ भनेपछि घरका मान्छेले महिलालाई दिइहाल्छन् भनेर होला ।

सायद लैङ्गिक दृष्टिकोणले पनि सुत्केरी मसला बनाउन उत्प्रेरणा गरेका रहेछन् । यदि स्वादिष्ट र स्वस्थकर मात्रै भएको भए लोग्नेमानिसले नै खाइदिन्थे होलान्, तर उनीहरूले छोएनन्, सुत्केरी शब्द जोडिएपछि । सुत्केरीलाई चिसो लाग्ला भनेर मालिस गर्ने, तातो लुगा लगाइदिने, कपालमा तेल लगाइदिने र केही समय बाहिरै जान नदिने चलन पनि छ । यसले सुत्केरीलाई तङग्रिन मद्दत गर्छ ।

त्योसंँगै सुत्केरी मसला समय–समयमा दिएको भोजनले एक महिनामा सुत्केरी स्वस्थ हुन्छिन् । अपशोच, यस्तो राम्रो चलनको सट्टा सुत्केरीलाई छाउगोठमा राखेर रोटी र नुनमात्र खान दिने चलन छ, सुदूर पश्चिममा । हरेकपल्ट त्यहाँ जाँदा सुत्केरीहरूको खानाबारे सुनेर दिक्दार लाग्छ । पूर्वतिर र काठमाडौंतिर चाहिँ सुत्केरीले राम्रोसँंग नखाए स्याहार नभएपछि जीउ दुख्छ, शरीर बिग्रन्छ भन्ने चलन छ । सायद सुदूर पश्चिमका महिलाको स्वास्थ्य खराब भएको कारण पनि सुत्केरीलाई पौष्टिक खानेकुरा नदिएको हुनाले हो कि ?

सुत्केरी मसलाको घट्दै गइरहेको चलनले गर्दा परम्परागत स्वस्थकर खाना र त्योसंँग जोडिएको महिलाको स्वास्थ्यबारे अब फेरि सिंहावलोकन गर्नुपर्छ । नत्र त केही समयपछि ती विदेशीहरूले सुत्केरी खानाको प्याकेट गरेर हामीलाई नै बेच्न सक्छन्, योगलाई ‘योगा’ बनाएर हामीलाई सिकाएझैं ।

केही महिना अघि एक माओवादी नेतासंँग भेट भयो । पहिले मन्त्री भइसकेको मान्छे राजनीतिबाट दिक्क लागेर अहिले कृषिमा लागेको उनले खुलाए । आफूले उत्पादन गरेको ‘कालो चामल’ उपहार दिए । ‘कालो चामल’ कसरी खाने होला, विचार गर्दै थिएँ । सायद मेरो मनको कुरा बुझेर होला, उनले भने, यो ‘कालो चामल’ एक किलोको प्याकेट झन्डै ५ किलोको अन्य चामलमा मिसाएर पकाउनुहोस् ।

असाध्यै स्वस्थकर र स्वादिलो हुन्छ । एकचोटी चाखेर त हेर्नुस् भनी सल्लाह दिए । मैले उनलाई धन्यवाद दिई त्यो चामल लिएँ । लामो समयसम्म भान्छामा रहिरह्यो । एकदिन विदेशबाट आएका एक साथीकहाँ खान बोलाएका बेला कालो र सेतो चामल मिसाएर पकाएको पुलाउ खाएँ । उनले पनि कालो चामलबारे वर्णन गरे । उनले भने–‘१०० ग्राम कालो चामलको भातमा झन्डै ३४ ग्राम कार्वोहाइड्रेड, ८.५ ग्राम प्रोटिन, झन्डै ५ ग्राम रेशादार पदार्थ, ३.५ लौह तत्त्व र अन्य चामलको तुलनामा प्रोटिन, रेशादार पदार्थ बढी हुन्छ ।’

‘कालो चामल’बारे केही अध्ययनले देखाएको छ : यसले रोगसँग लड्ने शक्ति प्रदान गर्छ । साथै शरीरमा आउने बुढ्यौलीलाई केही हदसम्म रोक्न पनि मद्दत गर्छ । रेशादार पदार्थ पर्याप्त पाइने हुनाले यो खाँदा लामो समय भोक लाग्दैन । साथै कब्जियतको समस्या रोक्छ । कब्जियत पेटको समस्याको कारण हुनसक्ने भएकाले कब्जियत हुनेलाई तरकारी र फलफूलका साथै कालो चामलको प्रयोग राम्रो हुन्छ । रेशादार पदार्थ सेतो चामल वा मैदामा हुँदैन ।

त्यसैले मैदाबाट बनेका बिस्कुट, चाउचाउ, पाउरोटी आदिको प्रयोग गर्न छाड्नुपर्छ । कालो चामलमा ‘ग्लुटेन’ नहुने भएकाले गहुँको प्रयोग गर्दा पेट फुल्ने, दुख्ने समस्या भएकालाई पनि यो प्रयोग गर्न सकिन्छ भनी केही वैज्ञानिकले लेखेका छन् । अहिले अमेरिकातिर ‘ग्लुटेन’ नभएको खाना खाने चलन बढेको छ । सायद कालो चामलमा अध्ययन भएको कारण पनि यही होला ।

कालो चामलको एक रमाइलो इतिहास छ । हजारांै वर्षअघि प्राचीन चीनमा कालो चामल उच्च घरानाका मानिसहरूले मात्र खान पाउँथे । सामान्य मानिसलाई त कालो चामल नउब्जाउने आदेश थियो रे । सायद उच्च वर्गका मानिसहरूमात्र स्वस्थ हुन् भनेर हो कि ? अमेरिकामा पनि कालो चामल सन् १९९० तिर मात्र आयो । जबकि एसियामा यो लामो समयदेखि प्रयोग भइरहेको थियो ।

कालो चामल पकाउँदा ६/७ घन्टाचाहिँ भिजाउनुपर्छ । अन्य सेतो चामलभन्दा यसको बाहिरको बोक्रा कडा हुने भएकाले भिजाएपछि यो सहजसंँग पाक्छ । कालो चामललाई पिसेर सुपमा हालेर पनि खान सकिन्छ । आँटामा पनि मिसाउन सकिन्छ । पुलाउ बनाएर खान सकिन्छ ।

सायद सबैले कालो चामलमात्रै पचाउन सक्दैनन्, उनीहरूले एक भाग कालो चामल र ३ भाग साधारण चामल मिसाएर खाए हुन्छ । मार्सी चामलसँग कालो चामल मिसाए त झनै राम्रो ।

प्रकाशित : भाद्र २, २०७५ ०८:०५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT