२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

नचिनिएको लिम्बुनी फूल

कमल मादेन

काठमाडौँ — तेह्रथुमस्थित लालीगुराँस नगरपालिकामा लिम्बु समुदायसँग सम्बन्धित चोत्लुङ पार्क (सिद्धिस्थल) बन्दैछ । त्यहाँ मेयर अर्जुन माबुहाङले लिम्बुको मुन्धुममा लिम्बुनी फूलको कुरा आउने हुनाले पार्क वरिपरि रोप्न चाहेका रहेछन् । उनले लिम्बुनी फूल कुन वनस्पति होला भनी मसँग जिज्ञासा राखे ।

नचिनिएको लिम्बुनी फूल

मैले लालीगुराँसको वसन्तपुर वरिपरि नै पाइने त्यस फूल चिनाइदिएँ । दुई महिनापछि चोत्लुङ पार्क पुग्दा वरिपरि लिम्बुनी फूल रोपिएको देखेँ ।

लिम्बु समुदायमा लिम्बुनी फूलबारे चर्चा–परिचर्चा भइरहन्छ । तर कुन वनस्पति लिम्बुनी फूल हो भनेर धेरैलाई हेक्का छैन । मैले अढाई दशकअघि पूर्वी नेपालको पहाडी तथा हिमाली जिल्लामा एक सुगन्धित पात भएको बुट्यानलाई लिम्बुनी फूल भनिन्छ भन्ने थाहा पाएको थिएँ । लिम्बुनी फूलको वनस्पतीय नाम ‘गउल्थेरिया फ्राग्राटिसिमा’ हो । त्यसलाई धसिङ्गरे पनि भनिन्छ ।

लिम्बुनी फूलबाट मगमग वास्ना आउँछ । यो फूल लिम्बुसँग मात्र सम्बद्ध छैन । यसको पात तथा मुन्टाबाट उत्पादित सुगन्धित तेल मिसाइएको खाद्यवस्तु तथा औषधि संसारभर उपभोग भइरहेको छ । लिम्बुनी फूल २–३ मिटरसम्म अग्लो हुन्छ । यो समुद्री सतहबाट १ हजारदेखि ३२ सय मिटरसम्मको भू–उचाइमा पाइन्छ । यसको पात चाम्रो, खस्रो र किनारामा मसिना दाँती हुन्छ । पात सुगन्धित हुन्छ । पात माड्दा झन्डै कपुरको जस्तो कडा वास्ना निस्कन्छ ।

नामकरण
फूल अत्यन्त सुगन्ध हुने भएकाले लिम्बुनीले कपालमा सिउरिन्थे होलान् । त्यसैले यसलाई लिम्बुनी फूल भनिएको हुनुपर्छ । वनस्पति विभागले प्रकाशन गरेको ‘नेपालका वनस्पतिजन्य सुगन्धित तेल’ (सन् २०१८) शीर्षक पुस्तकमा ‘गउल्थेरिया फ्राग्राटिसिमा’लाई ‘लिमुनीझार’ भनिन्छ भन्ने लेखिएको छ । यो वनस्पति अक्सर भिराला ढुङ्गा भएको, घामले भेट्ने, तर चिस्यान जमिनमा पाइन्छ ।

यो वनस्पतिको वैज्ञानिक पहिचान डेनिस वनस्पतिविद नाथानियल वालिचले सन् १८२० मा गरेका हुन् । वालिचले कोलकाताबाट प्रकाशन हुने ‘एसियाटिक रिसर्चेज’ जर्नलमा उक्त वनस्पतिको नामकरण ‘गउल्थेरिया फ्राग्राटिसिमा’ गरी वनस्पतिक विवरण उल्लेख गरे । विशेषत: पातबाट वास्ना अर्थात फ्राग्रान्स आइरहने भएकाले ‘गौउल्थेरिया’ समूह/जाति अन्तर्गतको यो प्रजातिलाई ‘गउल्थेरिया फ्राग्राटिसिमा’ नामकरण गरिएको हो । यो प्रजाति अन्य केही देशमा पाइन्छ ।

उपयोग
लिम्बुनी फूलको पात तथा मुन्टाबाट सुगन्धित तेल उत्पादन हुन्छ । यो वनस्पतिलाई ‘विन्टरग्रिन’ नामले पनि चिन्छन् । यसबाट उत्पादित तेललाई ‘विन्टरग्रिन ओइल’ भनिन्छ । ‘इन्डियन जर्नल अफ बायोटेक्नोलोजी’ भोलम ११, (एप्रिल २०१२) ‘गउल्थेरिया फ्राग्राटिसिमा’मा एक अत्यन्तै उपयोगी यौगिक रसायन ‘मिथाइल सोलिसिलेट’ पाइन्छ ।

उक्त यौगिक रसायन घाउ–खटिरा नियन्त्रण गर्न (एन्टिसेप्टिक), मांसपेसी सुन्निएको निको पार्न, घुँडा दुखाइ कम गर्न, पेटको ग्यास नियन्त्रण गर्नका अतिरिक्त खाद्य पदार्थमा समेत प्रयोग गरिन्छ । अमेरिकामा मात्र उक्त यौगिक रसायन मिसावटबाट शरीरको बाहिरी भागमा प्रयोग गरिने ४० भन्दा बढी औषधिजन्य वस्तु उत्पादन हुन्छ ।

नारायणप्रसाद मानन्धर लिखित ‘प्लान्ट्स एन्ड पिपुल्स अफ नेपाल’ (सन् २००२) पुस्तकमा उल्लेख गरिए अनुसार ‘गउल्थेरिया फ्राग्राटिसिमा’को पातको रसलाई तातो पानीमा मिसाएर पिउँदा खोकी निको हुन्छ । शरीरभित्र जुका परेको व्यक्तिलाई यसको पातको रस करिब २ चम्चा पिउन दिनुपर्छ । कलिलो पात चपाएर खाए पनि जुका मर्ने उल्लेख छ । हिजोआज कुनै वनस्पतिलाई कच्चा रूपमै औषधि–उपचारका निम्ति उपभोग गर्न उपयुक्त हुँदैन भन्ने मान्यता छ ।

पातमा हुने रसायनको मात्रा तलमाथि भयो भने ज्यानलाई खतरा हुन्छ । मानन्धरले पातको रस माडेर मर्किएको ठाउँमा दल्दा निको हुन्छ भन्ने लेखेका छन् । तर हिजोआज उपचार पद्धतिको मान्यता अनुसार मर्किएको भागमा बेस्सरी मसार्नुहुन्न । पेटमा अपचजस्तो समस्या हुँदा यो वनस्पतिको फल चपाउँदा सन्चो हुन्छ भन्ने पनि लेखेको पढ्न पाइन्छ ।

यो वनस्पतिबाट उत्पादित सुगन्धित तेल दैनन्दिन खानपिनमा प्रयोग हुन्छ । दन्तमञ्जनमा यसैको सुगन्धित तेल मिश्रण गरिएको हुन्छ । आइसक्रिम, क्यान्डी, चकलेट, बिस्कुट, चुइङगम आदिमा सोही वनस्पतिबाट उत्पादन गरिने सुगन्धित तेल प्रयोग हुन्छ । विडम्बना भन्नुपर्छ, जुन चिज हाम्रा पहाडी तथा हिमाली भेगमा भेटिन्छन्, तिनलाई हामीले चिन्नैसकेका छैनौं ।

त्यसबाट निस्कने रसायन प्रयोग भएको वस्तु भने उपभोग गरिरहेका हुन्छौं । ‘गउल्थेरिया फ्राग्राटिसिमा’ नेपाल, भारत, श्रीलंका, भूटान, चीन, मलेसिया, म्यान्मारमा पाइन्छ । यसमा पाइने रसायन यसैको अर्को प्रजाति ‘गउल्थेरिया प्रोकुम्बेन्स’मा पनि पाइन्छ । तर त्यो प्रजाति उत्तर अमेरिकाको हो ।

मूल्य
लिम्बुनी फूलको पात र मुन्टालाई रक्सी पार्न प्रयोग गरिने जस्तै विधि अर्थात डिस्टिलेसन प्रक्रियाबाट सुगन्धित तेल उत्पादन गरिन्छ । त्यो खर्चिलो पद्धति होइन । खोटाङ, दोलखा, सिन्धुपाल्चोक, ओखलढुङ्गा, मकवानपुर, रसुवा र पर्वत जिल्लामा व्यावसायिक रूपमा ‘गउल्थेरिया फ्राग्राटिसिमा’को सुगन्धित तेल औसत ५ हजार किलोग्राम प्रतिवर्ष उत्पादन हुने गरेको अनुमान छ ।

उत्पादित तेलमध्ये करिब २० प्रतिशत आन्तरिक रूपमा खपत हुन्छ । बाँकी मूलत: युरोप र अमेरिका निर्यात हुने गरेको छ । भारतमा ‘गउल्थेरिया फ्राग्राटिसिमा’ तेलको प्रतिकिलो ४५ सय भारुसम्ममा कारोबार हुने बताइन्छ ।

हामी पनि लिम्बुनी फूलबाट सुगन्धित तेल उत्पादन उद्योगहरू ठाउँ–ठाउँमा स्थापना गर्न सक्छौं । यसतर्फ स्थानीय तथा प्रदेश सरकारको ध्यान जानुपर्छ । लिम्बु समुदायले ‘गउल्थेरिया फ्राग्राटिसिमा’लाई परापूर्व कालमा प्रयोग गर्थे होला । तर यथेष्ट अध्ययन, अनुसन्धान भएको छैन । यस वनस्पतिमा लिम्बु समुदायको मौलिक ज्ञान थियो भन्ने अभिलेख हुनसकेको भए त्यसबाट उत्पादन हुने वस्तुमा ‘प्याटेन्ट राइट’ दाबी गर्न सकिन्थ्यो होला । त्यो राष्ट्रकै गर्वको कुरो हुन्थ्यो ।

नेपालमा भएका जैविक विविधता तथा त्यसउपर विभिन्न जातजाति तथा समुदायको मौलिक ज्ञान, अभ्यास र अनुभव अभिलेखन भएको छैन । जसबाट विभिन्न जातजाति तथा समुदायले सयौं वर्षदेखि अभ्यास गर्दै आएका मौलिक तथा परम्परागत कुरा लोप भइरहेका छन् । तर तिनै कुरा विदेशीले खोज, अनुसन्धान गर्छन् ।

आधुनिक प्रविधि उपयोग गरी महत्त्वपूर्ण वस्तु तथा औषधि उत्पादन गरिएको हुन्छ । सरोकारवालालाई थाहै हुँदैन । त्यो अन्तर्राष्ट्रिय मूल्य र मान्यता विपरीत हो । कुनै जैविक स्रोतमा कुनै जातजातिको ज्ञान, अभ्यास र सीप भए त्यसबाट हुने उत्पादन र त्यसबाट प्राप्त हुने लाभांश सरोकारवालाले पनि पाउनुपर्छ ।

प्रकाशित : भाद्र १२, २०७५ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?